अहिले म रसुवाको सदरमुकाम धुन्चेमा छु। पहिलो पटक यहाँ आएको हुँ। त्यसैले रमाइलो लागिरहेको छ। अपराह्नतिर यहाँ आइपुगेका थियौँ। आजै यहाँ अञ्चलस्तरीय महिला भलिबल प्रतियोगिता पनि भइरहेको रहेछ। त्यहीँ खिचेका केही फोटोसहितको यो फोटो ब्लग।
शुक्रबार राति अबेर सुतेर शनिबार विदाको दिन अबेर उठ्नु मेरो दिनचर्या हुन्थ्यो। तर असार १ गतेको शुक्रबार राति अबेर सुते पनि शनिबार भने एकाबिहानै उठ्नु पर्यो। अर्लाम लगाउनु परेन, शरीरभित्रैको जैविक अर्लामले बिहान पाँचै बजे उठाइदियो।
मेरो यात्राको तयारी सँधै हतारमा हुन्छ। केही सामान छुट्यो कि छुट्यो कि भन्ने लाग्दालाग्दै हतारहतारमा सामान प्याक गरी हिँडियो कलंकी। त्यहाँ साथी उत्तमलाई भेटेपछि लागियो बालाजु माछापोखरी। हाम्रो यात्राका अर्का सहयात्री अच्युतलाई त्यहाँ भेट्नु थियो। जडिबुटीको अनुसन्धान गर्न हिँडेको यो टोलीसँग म मिसिनुको कारण भने नयाँ ठाउँमा घुम्नुमात्रै हो।
माछापोखरीको काउन्टरमा टिकट काटेपछि हामी स्याफ्रुसम्मैका लागि हिँड्ने तय भएको थियो। बालाजुबाट ककनी पुग्दा चीसो र जाडो महसूस भएको थियो। तर रानीपौवा-बटार बजार हुँदै त्रिशुलीमा खाना खानका लागि रोकिँदा काठमाडौँभन्दा गर्मी महसूस भयो। त्यहाँबाट बेत्रावती हुँदै अघि बढ्दा योजना परिवर्तन भयो र हामी धुन्चे पुग्यौँ र यहीँ बास बस्यौँ।
२०१० मिटरको उचाइमा रहेको धुन्चेमा बागमती अञ्चलस्तरीय महिला भलिबल प्रतियोगिता भइरहेको रहेछ। त्यसका कारण यहाँका होटलहरु भरिएका रहेछन्। अर्को पनि समस्या थियो- पानीको। दुई वटा होटलले हामीलाई नुहाउन र मुख धुन समेत पानी छैन भनेर फर्काइदिए। जसोतसो एउटा होटलमा हामीले कोठा पायौँ रात बिताउन। अब भोलि सबेरै हामी यहाँबाट लाग्नेछौँ लौरीविनायकतर्फ। त्यहाँ जडिबुटी अध्ययनका काम सकाएपछि बल्ल हामी कतातिर लाग्ने भन्ने टुङ्गो हुनेछ।
यहाँका होटलमा मैले एउटा अर्को अनौठो विशेषता पनि देखेँ। सबै होटलका मुख्य ढोका बन्द गरिएका हुने रहेछन्। यसो हेर्दा होटलै बन्द जस्तो देखिने। सडकसँगै जोडिएको भएर धुलो भित्र आउँछ भनेर पो त्यसो गरेका हुन् कि कुन्नि !
एकछिन हामी भलिबल प्रतियोगिता पनि हेर्न गयौँ। काठमाडौँ र ललितपुरबीच भिडन्त रहेछ। काठमाडौँले जित्यो। काठमाडौँलाई युरो कपले तताइरहँदा धुन्चे भने भलिबल फिभरमा रहेछ। घरघरमा समेत मानिस भलिबल खेलिरहेको देखेँ। प्रतियोगिता हेर्न स्थानीयहरुको ठूलो भीड उर्लिएको थियो। यहाँका स्थानीय बासिन्दा तामाङहरु आफ्नो परम्परागत भेषभुषामा सजिएका हुँदा रहेछन्। ससुराली गाउँमा समेत मैले यस्तो देखेको थिइनँ। यहाँका केटाकेटीहरुको छालामा एक किसिमको चमक देखिन्थ्यो।
धुन्चेमा जाडै रहेछ। काठमाडौँबाट ११७ किलोमिटर उत्तरतर्फ पर्ने धुन्चेमा राति पानी पर्यो। आज त आकाश पूरै छोपिएको थियो तुँवालोले। भोलि शायद् यो पानीले तुँवालो हटेर नीलो आकाश हेर्न पाउँछौँ कि !
इन्टरनेट र समयले साथ दिए यात्राका थप विवरण यसरी नै अपडेट गर्ने प्रयास गर्नेछु।