Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सर्वोच्चका न्यायाधीशको दिनदहाडै गोली हानी हत्या

Posted on May 31, 2012June 2, 2012 by Salokya

सूचनाः माइसंसारका पुराना ब्लग पोस्ट र त्यसमा रहेका कमेन्टहरुलाई आर्काइभ गरी अर्कै साइट (यहाँ क्लिक गर्नुस‌) मा राख्ने क्रममा यो पोस्टमा रहेका पुराना कमेन्टहरु हराएका छन्। त्यसलाई खोजेर पुनः राख्ने प्रयास जारी छ। असुविधाका लागि क्षमा चाहन्छौँ- माइसंसार एडमिन
_________________________________________________

अपडेटः उपचारकै क्रममा न्यायाधीश बमको मृत्यु भएको छ। गोली लागेका बडिगार्डसहित अन्यको भने उपचार हुँदैछ।
IMG_3061
देशमा राजनीतिक अन्यौल छाइरहेको बेला आज काठमाडौँ एउटा ठूलो अपराधको घटनाले हल्लिएको छ। ललितपुरको शंखमुल नजिकैको युएन पार्क छेउमा सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई मोटरसाइकलमा आएका दुई जनाले गोली हाने। न्यायपरिषद्‌ले महाभियोगको सिफारिस गरेदेखि सर्वोच्चमा न्याय सम्पादनको कामबाट वञ्चित रहेका बम आज बगलामुखीबाट फर्कँदै गरेको बेला गोली हानिएको थियो।  गोलीले न्यायाधीश बम र उनका बडिगार्ड तथा बमका साथी र कलाकार दीपकराज गिरीका पिता राम गिरी घाइते भएका छन्। न्यायाधीश बमको घाँटीमा र बडिगार्डको छातीमा गोली लागेको भनिएको छ। न्यायाधीशको उपचार नर्भिक अस्पतालमा भइरहेको एनटिभीले जनाएको छ। घटनास्थल वरपर अमर नेपाल संयोजक रहेको नेपालवाद एन जे एस एस आर पार्टी नामको पर्चा भेटिएको हिमालय टिभीले बताएको छ। यस्तो नामको पार्टी अहिलेसम्म सुनिएको थिएन। 

सर्वोच्चका न्यायाधीश बमलाई गत मंसिरमा न्यायपरिषद्‌ले सर्वसम्मतिले महाभियोगको प्रस्तावमार्फत कारबाही गर्न सिफारिस गरेको थियो। तर संसदले महाभियोग प्रस्तावसम्बन्धी कुनै कारबाही अघि बढाउन सकेको थिएन।

बमको विवादास्पद फैसला डा भक्तमान श्रेष्ठको चर्चित अपहरण कान्डसँग पनि जोडिन्छ। भरतपुर क्यान्सर अस्पतालका डा. भक्तमान श्रेष्ठका अपहरणकर्ताले अघिल्लो अपहरण र हातहतियार मुद्दाबाट छुट्न खर्च गरेको ७० लाख रुपैयाँ उठाउन उनलाई अपहरण गरेको बयान प्रहरीमा दिएका थिए। त्यो तथ्य सार्वजनिक भएपछि प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठको सक्रियतामा न्यायाधीशमाथि छानबिन प्रारम्भ भई न्यायपरिषद्ले सर्वोच्च अदालतकै न्यायाधीश बलराम केसीको समितिबाट छानबिन गरायो।

विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्कीले यस विषयमा कान्तिपुरमा लेख लेखेका थिए। त्यसमा लेखिएको थियो-

सञ्जय श्रेष्ठ, रोहित पालिवाल अग्रवाल र भीमसेन पण्डितलाई ३ वर्ष कैद र जरिवानासमेत गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंको २०६४ चैत २० को फैसलाउपर प्रतिवादीहरूको पुनरावेदनमा सरकारी वकिलबाट पुनरावेदन पर्ने म्याद बाँकी छँदै १ लाख रुपैयाँ जरिवाना मात्र गरेर कैद गर्न नपर्ने गरी पाटन पुनरावेदन अदालतका तत्कालीन मुख्य न्यायाधीश रणबहादुर बम र न्यायाधीश हरिबहादुर बस्नेतको इजलासबाट सुरु फैसला २०६५ साउन २३ मा केही उल्टी गरी अपहरणकारीलाई जेलमुक्त गराएको अभियोग न्यायाधीशहरूमाथि लागेको छ। यी तीनैजनाले कैदबाट छुटेको २ वर्षपछि २०६७ जेठ ४ मा भरतपुर मेडिकल कलेजका प्रमुख श्रेष्ठलाई अपहरण गरेका थिए।

न्यायाधीशको कामकारबाही सम्बन्धमा कार्यक्षमता अभाव, खराब आचरण, इमानदारीपूर्वक पदीय कर्तव्य पालना नगरेको र कानुनको त्रुटिपूर्ण व्याख्या गरेको भन्ने न्यायाधीश बलराम केसीको छानबिनको प्रतिवेदनलाई न्यायपरिषद्ले अनुमोदन गरी कारबाही प्रक्रिया अघि बढायो । प्रयोग हुनै नसक्ने कानुनको प्रयोग, कानुनको संदिग्ध व्याख्या र तजबिजी अधिकार दुरुपयोग, पदीय कर्तव्य इमानदारीपूर्वक निर्वाह नगरेको र बलपूर्वक व्याख्या गरी अभियुक्तहरूलाई जरिवाना मात्र र न्यून धरौटीमा सुविधा दिएको भन्ने तीनैजना न्यायाधीशमाथि परिषद्ले आरोप लगाएको छ ।

छानबिन गर्दाको अवस्थामा भने न्यायाधीश बम सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा बहाल भएको अवस्था छ । सर्वोच्च अदालतको न्यायाधीशमाथि महाभियोगबाहेक अन्य कारबाही गर्न सकिने संवैधानिक व्यवस्था रहेको पाइँदैन ।
पूरा पढ्नुस्

अर्कोतर्फ सोझा न्यायाधीश बमलाई फँसाइएको भन्नेहरु पनि छन्। त्यो विवादास्पद फैसलामा उनले म यसमा सहमत छु भनी हस्ताक्षर मात्र गरेको पनि भनिन्छ। केहीले आफूलाई चोखो देखाउन उनलाई बदनाम गराउन खोजेको आरोप उनी लगाउँथे।

पृष्ठभूमि जे भए पनि गोली हानी अर्काको ज्यान लिन खोज्ने नेपालको कानुन अनुसार गम्भीर अपराधी हुन्। कसैले अपराध गर्‍यो वा अपराध गरेको आरोप लाग्यो भन्दैमा अर्को अपराध गर्न पाइँदैन। अपराध गरेको भए कानुनी प्रक्रिया अनुसार नै त्यसको सुनुवाई हुन्छ। गोली हानेर कानुन हातमा लिन खोज्नेलाई अवश्य पनि कानुनले कडा कारबाही गर्नेछ। यो स‌ंक्रमणकालीन अवस्थामा समाजमा आतंक फैलाउन उनको हत्या गरेको हुनुपर्छ।

1 thought on “सर्वोच्चका न्यायाधीशको दिनदहाडै गोली हानी हत्या”

  1. योगेश आदी, न्यूयोर्क says:
    June 2, 2012 at 5:30 am

    हेर्दै जा माओबादीका नेताहरू, जनतामा हतियारको पहुँच भएपछी समाज कस्तो बन्दोरहेछ !!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme