लकडाउनका बेला वाणिज्य आपूर्ति तथा उपभाेक्ता संरक्षण विभागले निगरानी गरिरहेको छ। महामारीको यो बेला उपभोक्ता संरक्षण ऐन विपरीत काम गर्नेहरुलाई कारबाही गरेको सूचना पढ्न पाइएको छ।
यसै क्रममा यो साता एउटा रोचक घटना भयो भाटभटेनी सुपरमार्केटसँग सम्बन्धित। देशका विभिन्न सहरमा स्टोर भएको यो सुपरमार्केट प्रख्यात छ। तर अनुगमनका क्रममा विभागले एमआरपी (अधिकतम खुद्रा मूल्य) भन्दा बढी रकम असुलेको भेटिएपछि वैशाख १५ गते कारबाही गरेको थियो।
खासमा काष्ठमण्डप खाद्य उद्योगले उत्पादन गरेको लाखमरीमा बढी मूल्य लिएको भन्दै विभागले कारबाही गरेको थियो। भएको के थियो भने यो उद्योगले उत्पादन गरेको २५० ग्रामको लाखमरीको मूल्य कम्पनीले १२० रुपैयाँ तोकेको उसकै कम्पनीको स्टिकरमा उल्लेख थियो। तर भाटभटेनीले आफ्नो बारकोडसहितको मूल्यमा भने त्यही सामानको मूल्य २२० रुपैयाँ लेखेको थियो। भाटभटेनीले यही आफ्नो बारकोडमा रहेको मूल्य नै ग्राहकसँग लिने गर्छ। विभागले छड्के गर्दा पनि २२० रुपैयाँ नै लिएको थियो।
विभागले भाटभटेनीलाई ३ लाख रुपैयाँ जरिवाना तिराउँदै कारबाही गर्यो।
भाटभटेनीले बढी मूल्यमा सामान बेचेको भन्दै कारबाही गरेको समाचार आएपछि भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले विज्ञप्ति जारी गर्दै आफूले नभई उद्योगले गल्ती गरेको स्पष्टीकरण निकालेका थिए। भाटभटेनीको बारकोड सोही उद्योगलाई टाँस्न दिएकोमा टाँस्नेले गल्ती गरेको दावी त्यसमा थियो। तर पनि प्राविधिक र कानुनी रुपले यो गल्ती नै हो भनी स्वीकार गरिएको थियो।
काष्ठमण्डप खाद्य उद्योगले पनि विज्ञप्ति निकाली आफूहरुको गल्तीले भाटभटेनीलाई कारबाही भएको उल्लेख गरेको थियो। विज्ञप्ति पत्रपत्रिकामा पनि विज्ञापनका रुपमा छापिएको थियो।
भाटभटेनीको होइन मेरो गल्ती हो भन्ने काष्ठमण्डप खाद्य उद्योग पनि आज विभागको कारबाहीमा परेको छ। यो उद्योगलाई भने विभागले म्याद नाघेकाे तयारी खाद्य पदार्थ बिक्रि गरेकाे पाइएकाे भन्दै कारबाही गरेको हो। यो उद्योगलाई पनि विभागले ३ लाख रुपैयाँ नै कारबाही गरेको छ।
भाटभटेनीमात्र हैन सेलवेज सुपरमार्केटले पनि डिटोल ह्यान्डवास बढी मूल्यमा बेचेको भन्दै वैशाख १६ गते विभागले कारबाही गरेको छ।
उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार गर्न नहुने कामहरु यस्ता छन्-
१६. अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गर्न नहुनेः
(१) कसैले पनि अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गर्न वा गराउन हुँदैन।
(२) कसैले उपदफा (१) को प्रयोजनको लागि देहायको कुनै काम गरेमा अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरेको मानिनेछः–
(क) वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट आदि ढाँटी, लुकाई, छिपाई वा झुक्याई त्यस्तो वस्तु वा सेवा बिक्री वा प्रदान गर्ने,
(ख) झुठा वा भ्रमपूर्ण विज्ञापन गर्ने वा भ्रमपूर्ण विज्ञापन गरी वस्तु बिक्री गर्ने,
(ग) वस्तु वा सेवाको हकमा मौखिक, लिखित वा दृश्यबाट देहायका कुनै काम गर्नेः–
(१) कमसल वस्तुलाई विशिष्ठ वा गुणस्तर भएको स्तरमान, गुणस्तर, मात्रा, श्रेणी, संरचना, डिजाइन देखाई बिक्री गर्ने,
(२) पुर्ननिर्मित वा पुराना वस्तुलाई नयाँ हो भनी देखार्इ वा झुक्याई बिक्री गर्ने,
(३) घोषित गरिएका कुनै फाइदा नहुने अवस्थामा पनि वस्तु वा सेवाको बिक्री गर्दा झुठा र भ्रमपूर्णरूपमा विज्ञापन वा सूचना प्रसार गर्ने,
(४) तथ्यगत आधारबिना कुनै वस्तुको उपभोग वा प्रयोगबाट त्यस्तो वस्तुको दावी वा प्रत्याभुति गर्ने वा बिक्री गर्ने।
(घ) कुनै वस्तु वा सेवाको वास्तविक लागतको आधारभन्दा फरक आधारमा उपभोक्ता मूल्यमा भार पर्ने गरी मूल्य निर्धारण गर्ने वा कुनै प्रतियोगिता, चिट्ठा, अवसर आदिको लागत समेत समावेश गरी मूल्य तय गर्ने वा त्यस्तो मूल्यमा बिक्री गर्ने,
(ङ) कुनै वस्तु वा सेवाको मूल्यमा दान, इनाम वा निःशुल्क पाइने अन्य वस्तुको मूल्य वा लागत समावेश गरी मूल्य निर्धारण गर्ने वा त्यस्तो मूल्यमा त्यस्तो वस्तु वा सेवाको बिक्री गर्ने,
(च) कुनै वस्तु वा सेवामा तोकिएको गुणस्तर वा मानकभन्दा घटी हुने वा बढी हुने गरी वा त्यस्तो वस्तु वा सेवा उपभोगबाट उपभोक्तालाई हानि, नोक्सानी पुर्याउने गरी त्यस्तो वस्तु उत्पादन, मिश्रण वा आपूर्ति वा ओसारपसार वा सञ्चय वा बिक्री गर्ने,
(छ) कुनै वस्तुको कृत्रिम अभाव सृजना, जम्माखोरी गर्ने वा बिक्री गर्ने,
(ज) त्रुटिपूर्ण उत्पादनबाट नष्ट भएको वस्तुको मूल्य वा व्यापारिक कारोबारको सिलसिलामा करार भएको वस्तुको मूल्य समेत अन्य वस्तुको लागत मूल्यमा समावेश गरी बिक्री गर्ने,
(झ) कुनै वस्तुलाई विस्थापित गर्न नक्कली वस्तु उत्पादन वा पैठारी गर्ने वा त्यस्तो वस्तुको बिक्री गर्ने,
(ञ) बिक्री गरेको वस्तु वा सेवाको बिल वा बिजक जारी गर्न इन्कार गर्ने वा बिल वा बिजक जारी नगर्ने वा बिल बिजक जारी गर्दा थप रकम माग गर्ने,
(ट) कुनै वस्तु उपभोग गर्दा उपभोक्तालाई हानि, नोक्सानी वा क्षति पुग्ने गरी बिषादी वा कुनै रसायनको प्रयोग गर्ने वा त्यसरी प्रयोग भएको वस्तु बिक्री गर्ने,
(ठ) उपभोग गरिसक्नु पर्ने अवधि व्यतित भइसकेको उपभोग्य वस्तु वा उपभोग गर्न नमिल्ने वस्तुमा नयाँ लेबल लगाई त्यस्तो वस्तु बिक्री गर्ने,
(ड) उपभोग गर्न नसकिने गुणस्तरहीन वस्तु पैठारी, उत्पादन वा बिक्री गर्ने,
(ढ) व्यवसायिक सेवा प्रदायकले सेवाको मूल्य, गुणस्तर, सेवा उपलब्ध गराउने स्थान र समय उल्लेख नगरी सेवा प्रदान गर्ने,
(ण) उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता वा बिक्रेता वा त्यस्ता व्यक्ति र अन्य व्यक्ति, संघ संस्थाको मिलेमतोबाट दफा १७ को उपदफा (१) को प्रतिकूल हुने गरी बिक्री गर्ने,
(त) कुनै वस्तु वा सेवा बिक्री वा प्रदान गर्दा तोकिएको व्यापारिक तहभन्दा बढी तह वा श्रृंखला खडा गरी बिक्री वा प्रदान गर्ने,
(थ) कुनै वस्तु वा सेवा बिक्री वा प्रदान गर्न कुनै संरचना, मानक वा मापदण्ड तोकिएकोमा त्यस्तो संरचना, मानक वा मापदण्ड पूरा नगरी बिक्री गर्ने।
सम्बन्धित ब्लगहरु :
भाटभटेनी सुपरमार्केटमा सपिङ गर्नुहुन्छ? यो कुरामा ध्यान दिनुस् है
भाटभटेनी सुपरमार्केटमा गाईको हड्डीको सुप भएको चाउचाउ, थाहै नपाई खानुभो कि?
गैरकानुनी सामानसमेत बेचिने रहेछ भाटभटेनी सुपरमार्केटमा
भाटभटेनीमा किनेको सामानको यो हालत !