के भएको थियो म राम्रोसँग सम्झिन पनि सक्दिनँ। अकस्मात् एउटा ठूलो शक्तिले हुत्याए जस्तो लागेको थियो, त्यसपछि अन्धकार, अनि प्रकाश अनि फेरि अन्धकार।
आँखा खुल्दा म कुन ठाउँमा छु थाहा पाउन सकिरहेको थिइनँ। अन्धकारै थियो चारैतिर। रोटेपिङ खेल्दा माथिबाट तल र तलबाट माथि जाँदा जस्तो सिरिङ सिरिङ अनुभूति हुन्छ, भर्खरै त्यस्तैबाट गुज्रिए जस्तो लागिरहेको थियो।
बत्ती बल्यो। आँखै तिर्मिरायो।
दर्शन थियो मेरो अगाडि। चश्मा लगाएको, अलि उमेर गएको जस्तो देखिएको थियो।
“सब ठीक छ नि”, उसले भन्यो। टाउकोको हेल्मेट फुकालेर एकातिर राख्दै मैले मुन्टो हल्लाएँ।
जाउँ हिँड बाहिर। आज्ञाकारी छात्र झैँ म उसको पछि लागेँ।
****
पाल्पामा ऊ र मसँगै ४ कक्षासम्म सँगै पढेका थियौँ। ५ मा उसलाई उसको बुबाले काठमाडौँ पढ्न पठायो। बूढानिलकन्ठ स्कूलमा प्रवेश परीक्षामा सर्वोत्कृष्ट नम्बर ल्याई त्यहीँ स्कूलको अध्ययन पूरा गर्योा। त्यसपछि पढ्नकै लागि अमेरिका गयो। भौतिक रुपमा टाढा भए पनि हाम्रो आत्मीय मायालाई टाढा गराउने ल्याकत कसैको थिएन।
उपलब्ध भएसम्मका प्रविधिको सहयोगले हामीले भौतिक दूरीलाई चुनौति दिइ नै रह्यौँ।
*****
त्यो रात म निकै खुसी भएको थिएँ। आइन्सटाइनको सय वर्ष पुरानो भविष्यवाणीलाई सही ठहर्याउउने खोज भएको थियो। नेपाली मिडियाले पटक्कै चासो नदिए पनि त्यो कार्यक्रमको विश्वभरका प्रमुख मिडियाले लाइभ प्रसारण गरेका थिए। विज्ञानमा मलाई पहिलेदेखि नै रुचि थियो। आइन्सटाइन बूढा त मेरा आइडियल नै थिए। उनको टाट्टु नै मैले हातमा खोपेको थिएँ।
दर्शन र म उनको थ्यौरी अफ रिलेटिभिटीप्रति ज्यादै आकर्षित थियौँ। विभिन्न कल्पना गरिरहेका हुन्थ्यौँ। आज उनै दर्शन हजार वैज्ञानिकहरु संलग्न खोजको एक अंश बनेका थिए। तर मलाई थाहा थियो, यो विषयमा उनको रुचि धेरै नै भएकोले उनले यसमा सार्वजनिक भएको भन्दा बढी केही बुझेको र गरेको हुनुपर्छ।
“म नेपाल आउँदैछु अर्को हप्ता”
त्यो रात उनले भाइबरमा उत्साहित हुँदै सुनायो। भाइबरको भिडियो च्याटमा उसले विशेष किसिमले आँखा सन्कायो। मलाई थाहा थियो त्यसको अर्थ। केही गजब हुन लागेको छ।
******
“म तयार छु।”
‘कथा पढेको र फिल्म हेरेको जस्तो हुन्न है। म कुनै जिम्मेवारी लिन सक्दिनँ,’ उसले प्रष्ट शब्दमा मलाई सचेत गराएको थियो।
नेपाल आएको एक हप्तासम्म ऊ आफ्नो बूढानिलकण्ठभन्दा माथि, शिवपुरी जंगलभन्दा मुनि तीन वर्षअघि किनेको जग्गामा बनाइएको एक तल्ले टहरामा निकै व्यस्त रह्यो। नेपाल आउने बित्तिकै उसले आफूले अरु कसैले थाहा नपाएको चिज पत्ता लगाइसकेको, आइन्सटाइन बूढाले पनि सपनामा देखाइसकेको र प्रयोगात्मक रुपमा यसको उपयोग गरी हेर्न मात्र बाँकी रहेको खुसुक्क सुनाएको थियो। म उत्साहित भएको थिएँ।
ग्राभिटेसनल वेभ पत्ता लागेपछि नै केहीले साइन्स फिक्सनमा जस्तो टाइभ ट्राभल संभव हुनसक्ने बताइसकेका थिए। दर्शन भने तीन कदम अघि बढेर त्यसको प्रक्रियाबारे समेत जानकार भइसकेको रहेछ।
साले, तेरो कुनै कुरालाई मैले अविश्वास गरेको छु? जिम्मेवारीको कुरा कहाँबाट आयो?
मैले यसो भनेपछि ऊ मुस्कुरायो।
बाक्लो लुगा लगाउन भन्यो। मलाई एउटा हेल्मेट दियो। टाउको पूरै छोपिने त्यस्तो हेल्मेट उसले आफै पनि लगायो। त्यसअघि नै ऊ र म एउटा साँघुरो कोठाभित्र प्रवेश गरिसकेका थियौँ। अनेक बटनहरु थिए त्यो कोठाभन्दा अगाडि। उसले रातो र हरियो रंगबाट बटन थिचेपछि हामी कोठाभित्र गयौँ र हेल्मेट लगायौँ।
मेरो हात समातेर उसले सोध्यो- रेडी ?
मैले जवाफ दिनै भ्याएको थिइनँ, उसले आफ्नो हातमा भएको रिमोट जस्तो कुनै चिजको बटन थिचिसकेको थियो।
********
के टोलाइरहेको? बस।
उसले मोटरसाइकल स्टार्ट गरिसकेको थियो। म फेरि आज्ञाकारी छात्र झैँ उसको निर्देशन पालन गर्दै मोटरसाइकल पछाडि बसेँ।
उसले कुदायो।
६ लेनको बाटोमा मोटरसाइकलमा कुददासम्म मलाई नौलो केही लागेको थिएन। जब तीनकुने हुँदै माइतीघरतिर अघि बढ्यौँ, तब मलाई केही नौलो लाग्यो। वरपर झण्डाहरु भारतीय फहराइरहेका थिए। मैले सोचेँ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि नेपाल भ्रमण आए कि क्या हो। तर ती झण्डा नजिकै त नेपाली झण्डा पनि हुनुपर्ने हो। नेपाली झण्डा चैँ किन नराखेका रहेछन्? अचम्म लाग्यो।
न्युरोडमा उसले बाइक रोक्यो। मैले पिपलबोटमा पत्रिका हेरेँ। अहो, यो त सन् २०३० को जनवरी २५ को दिन पो रहेछ। भोलि टुँडिखेलमा मुख्यमन्त्रीसहितको उपस्थितिमा रिपब्लिक डे मनाइने रे।
मेरो दिमाग फन्फनी घुम्यो। जनवरी २६ को दिन टुँडिखेलमा रिपब्लिक डे मनाउने?
पत्रिकामा १२ वर्षको उपलब्धि शीर्षकमा प्रायोजित सामाग्री पनि रहेछ। त्यो हेर्दा पो थाहा भयो, सीमाङ्कनको लफडामा गुज्रिरहेको तत्कालीन नेपालबाट आएको हामी अहिले त राज्य हैन प्रान्तमा परिणत भइसकेको रहेछ। नेपाल एउटा प्रान्तका रुपमा छिमेकी देशमा गाभिसकेको रहेछ।
सुरुमा छिमेककै गोटी रहेका नेताले प्रधानमन्त्री भएपछि नाटक गरेर छिमेकको चर्को विरोध गर्दै अन्ततः प्रजातन्त्र दिवसका दिन छिमेकी देशको भ्रमणका क्रममा नेपाललाई गाभ्ने गोप्य सम्झौता गरेका रहेछन् जसको कार्यान्वयन २ वर्षपछि भएको रहेछ। विरोध भए पनि दिक्क भएका जनता सडकमा उत्रिएका रहेनछन्। जसका कारण स्वतन्त्रता हराइसकेको रहेछ।
ठूल्ठूलो आँखा पारी पत्रिका हेरिरहेको मलाई तान्दै उसले सोध्यो- के बुझिस्?
मैले जवाफ फर्काउनै पाएको थिइनँ, उसले फेरि भन्यो- बस पछाडि। फेरि मोटरसाइकल कुद्यो।
“देखिहालिस्, यही देखाउन मैले तँलाई टाइम ट्राभल गराएको हो। नेपालको सार्वभौमसत्ता र स्वतन्त्रता गुमिसकेको छ। मान्छे खुसी भए त तै केही थिएन। मान्छे झन् पीडित भएका छन्। १४ वर्षअगाडिको कुरा तैँले देखिस्। अब यसलाई सच्याउन के गर्नुपर्छ, तँ आफै सोच”, उसले मोटरसाइकल चलाउँदा चलाउँदै भन्यो।
मेरो दिमाग सून्य भयो। म केही सोच्न सकिरहेको थिइनँ।
**************
तेरो मेसिनले टाइम ट्राभल भविष्यमा मात्र गराउन सक्छ कि विगतमा पनि ?
हामी फेरि उसको टहरामा आइपुगिसकेका थियौँ।
मेरो प्रश्नको जवाफमा उसले भन्यो, ‘विगतमा पनि सक्छ, तर एउटा प्राविधिक समस्या छ। फ्युचर टाइम ट्राभल जस्तो पास्ट टाइम ट्राभल सजिलो छैन। पास्टका लागि अर्कै फ्रिक्वेन्सी युज गर्नुपर्छ। त्यसलाई अलि पावरफूल बनाउन सकिएको छैन। जसरी हामी सजिलै दुई जना फ्युचरमा आइपुग्यौँ, त्यसरी पास्टमा जान सकिन्न। पावर अलि कम भएकोले एक जना पनि मुश्किलले जान सकिन्छ। अथवा जाँदाजाँदै बीचैमा हराएर अनन्तसून्यमा विलीन हुन सक्ने सम्भावना पनि छ।”
“म जोखिम मोल्न तयार छु”, मैले भनेँ।
“ओके गुड, तैँले विद्यार्थी राजनीति पनि गरेको छस्, नेतृत्व क्षमता पनि तँसँग छ। तँ मलाई भन्, विगतको कुन क्षणमा जान चाहन्छस्? जहाँबाट तैँले नेपालको बेटरमेन्टका लागि कुरा सच्याउन सक्छस्? उपयुक्त समयबारे रिसर्च गर र मलाई भन। त्यतिन्जेल म पास्ट टाइम ट्राभल कम जोखिमयुक्त बनाउने रिसर्चमा लाग्छु।”
अहिले म इतिहासका पुस्तक पढ्दैछु- इतिहासको कुन मोडमा नेपालले मिस्टेक गर्योछ र कहाँबाट सुधार गर्न सकिन्छ? म त्यहाँ पुगेर नेपाललाई सच्याउन चाहन्छु। नेपालका भावी सन्ततिलाई खुसी बनाउने अभिभारा मेरो काँधमा आइपुगेको महसूस गरेर छाती गर्वले फुल्यो। उठेर दर्शनको कोठामा जान खोज्दै थिएँ, बत्ती निभ्यो- सन् २०३० मा पनि लोडसेडिङ कायमै रहेछ।
(तपाईँले पनि विज्ञानमा आधारित यस्ता काल्पनिक कथा लेख्नुभएको छ र माइसंसारका पाठक समक्ष बाँड्न चाहनुहुन्छ भने पठाउनुस् [email protected] मा। अथवा हाम्रो फेसबुक पेजबाट पनि पठाउन सक्नुहुन्छ।)
we can start correction from 2046, since we got so called democracy, I mean neta haro ko luttantra
ल अब बिज्ञान तिर पनि हात हालियो हैन ?अलि अलि त् अरुलाई छोडी दिएको भए हुने , समाबेसी हुनु पर्दैन ?