तीन करोड जनसङ्ख्या भएको देश। सुनका असर्फी जम्मा १४ हजार वटा। बेच्ने ठाउँ एउटा। समय दुई दिनको आठ घण्टा। अनि नियम चाहिँ ‘फर्स्ट कम, फर्स्ट सर्भ्ड’ !
यो कुनै निजी व्यापारीले ग्राहक तान्न आयोजना गरेको सेल होइन। देशको मौद्रिक नीति बनाउने, वित्तीय प्रणालीको नियमन गर्ने र अर्थतन्त्रको स्थायित्व हेर्ने जिम्मेवारी पाएको नेपाल राष्ट्र बैंकको कार्यक्रम हो।
पचास वर्षदेखि चल्दै आएको परम्परा भन्दै हरेक तिहारमा राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका सिक्का बेच्ने गर्छ। तर समय बदलियो, प्रविधि बदलियो, देशको शासन व्यवस्था बदलियो। राष्ट्र बैंकको असर्फी बेच्ने तरिका भने बदलिएन।
जनतालाई घण्टौँ घाममा लाइन लगाएर, सीमित सङ्ख्यामा असर्फी बेचेर, हजारौँलाई रित्तो हात फर्काएर आखिर राष्ट्र बैंकले के उपलब्धि हासिल गरिरहेको छ?
यो प्रश्न केवल असर्फीको होइन। यो सार्वजनिक संस्थाको व्यवस्थापकीय क्षमता, नागरिकप्रतिको व्यवहार र जिम्मेवारीबोधको प्रश्न हो।
हरेक वर्ष उही तमासा
असर्फी बिक्रीका नाममा हरेक वर्षझैँ यसपालि पनि तिहार छेका दुई दिन उपत्यकावासीलाई घाममा टट्याएर तमासा देखाउन राष्ट्र बैंक पुनः लागिपरेको उसको सूचनाबाट देखिन्छ। उसले सुनको असर्फी र चाँदीको मेडालियन उसको अड्डामा यही कात्तिक १९ र २० गते दुई दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म लाम लाग्नेहरूलाई ‘फर्स्ट कम, फर्स्ट सर्भ्ड’ आधारमा मौज्दात बाँकी रहेसम्म बेच्ने रे।
हरेक साल तिहार आएपछि राष्ट्र बैंक जाग्छ, असर्फी बिक्री गर्न।
तिहारको पञ्चकको पहिलो दिन वा धनतेरसको दिनमा नयाँ धातु खरिद गर्नु र घरमा हुल्नु शुभ मानिने हिन्दू परम्परा छ। यही परम्परालाई निरन्तरता दिन राष्ट्र बैंकले असर्फी र चाँदीका सिक्काहरू बिक्री गर्दै आएको पाँच दशक नाघिसकेको छ।
५० वर्षअघि जुन परिवेशमा यो छापेर बिक्री गरिन्थ्यो, त्यो बेला त्यसको अर्कै महत्त्व हुन्थ्यो भने अहिलेको डिजिटल युगमा पनि बिना कुनै व्यवस्थापकीय सुधार उही ३० को दशकको पुरातनवादी ढर्रामा बिक्री गर्दैछ। त्यसले यसको औचित्यमै ठूलो प्रश्नचिह्न खडा गरेको छ।
प्रश्नहरू अनेक छन्।
राष्ट्र बैंकले जनताको मागबमोजिम यो गर्दैछ कि राष्ट्रिय आवश्यकताको आधारमा? मागबमोजिम उत्पादन र बिक्री गर्दैछ? सम्पूर्ण माग पूरा गर्ने क्षमता राख्दछ? माग सम्बोधन गर्न के के बन्दोबस्त गरेको छ? कुन कुन ठाउँ वा निकायबाट कति बिक्री गर्छ? यसबाट लाभ निकाल्ने यो व्यापार हो कि सेवा हो? यो किन आवश्यक छ?
यसले अर्थतन्त्र, राष्ट्र निर्माण वा आर्थिक तथा वित्तीय क्षेत्रमा के कति लाभ पुर्याएको छ? कुन क्षेत्रमा के कस्तो उत्पादकत्व बढाएको छ? कुन जनसमुदायलाई के लाभ पुर्याएको छ?
त्यसैले यसको औचित्य के छ? के परम्परा धान्नकै लागि श्राद्ध गर्दा बिरालो बाँध्नुपरेझैँ यो गर्न जरुरी छ त?
यस्ता प्रश्न हरेक साल उठ्छन् र तिहारसँगै सेलाउँछन्। यसको प्रस्ट जवाफ ऊ आफैँले दिन सकेको छैन।
कति असर्फी बिक्री हुन्छ?
यसपालि राष्ट्र बैंकले निजी बैंकसँग ३५ किलो सुन खरिद गरेर २.५ ग्रामको दरले बनाइने असर्फी सोझो हिसाबमा १४ हजारवटा हुनेछन्।
लाइन लागेका एक जनाले एउटा मात्र किन्न पाइने हुँदा दुई दिनमा १४ हजार जनाले किन्नेछन्। र, विगतमा झैँ मैले किन्न पाइनँ भन्ने पनि हजारौँ हुनेछन्।
कति पर्ला मूल्य?
सुन प्रति दस ग्रामको २ लाख ३६ हजार जति मान्दा प्रति २.५ ग्रामको १० प्रतिशत निर्माण लागतसहित रु. ६५ हजार आसपास पर्न आउँछ।
यसको मतलब बजारभन्दा सस्तोमा पाइने पनि होइन।
कति छ माग?
असर्फीको माग र आपूर्तिसँग राष्ट्र बैंकको कुनै सरोकार छैन। नत्र हरेक साल राष्ट्र बैंक प्राङ्गणमा लाइन बसेर पनि सिक्का किन्न नपाई रित्तो हात फर्किने हजारौँ हुने थिएनन्।
न यसको माग कति छ भनेर निर्धारण गर्छ, न यति प्रतिशत मागको सम्बोधन गर्ने उसको इरादा हुन्छ। न एकभन्दा बढी ठाउँबाट सुलभ रूपमा बिक्री गर्ने योजना नै हुन्छ।
यो उसका लागि सरोकारको विषय नै होइन।
३ करोड जनसङ्ख्यामा १ करोड नै देशबाहिर रहेको मान्दा र बाँकी रहेका २ करोडमध्ये एक प्रतिशतले मात्र किन्न चाहे पनि २ लाखवटा आवश्यक पर्दछ।
३ करोड जनसङ्ख्या भएको मुलुकमा दिनको ४ घण्टाको दरले दुई दिन वा जम्मा ८ घण्टामा १४ हजारवटा सिक्का, त्यो पनि काठमाडौँको उसकै एउटा आँगनबाट मात्र!
१४ हजारवटा सिक्काले माग सम्बोधन गर्छ त? यो कति जायज छ?
उपत्यकाको त कुरै छाडौँ, उपत्यकाबाहिरका जनताले कसरी चित्त बुझाउने? केन्द्रीय बैंकले यसरी पक्षपात गर्न सुहाउँछ? मिल्छ?
स्रोतसाधनको अनावश्यक खर्च
हेर्दा असर्फी बिक्रीजस्तो सरल काम देखिए पनि यति गर्न निकै स्रोत र साधनको खर्च हुनेमा दुईमत छैन।
किनकि, सुन खरिद गर्नु, टकमरी वा सिक्का निर्माण गर्नु, त्यो पनि चाहे जति वा मागबमोजिम उत्पादन गर्न नसक्नु, गुणस्तर कायम गर्नु, बिक्री प्रबन्ध गर्नु, हजारौँको अत्यधिक भीड व्यवस्थापन गर्नु, सामान्यभन्दा ठूलो सङ्ख्यामा सुरक्षा संयन्त्रको परिचालन गर्नु, खरिद गर्नेले घामपानी नभनी घण्टौँ लाइन बसी सास्ती खेप्नु, खरिदकर्ता आफैँ उपस्थित हुनुपर्ने, मूल्यमा दैनिक उतारचढावका कारण लागत मूल्यभन्दा कमबेसी पर्न सक्नुजस्ता अनेक विषयका लागि बैंक, सुरक्षा संयन्त्र र लाइन बस्नेहरूको समयलगायत स्रोतसाधनको खर्चबाट हुने लाभ चाहिँ के हो?
कहाँ किन्ने? देशभरिका लागि जम्मा एक ठाउँ
नेपाल राष्ट्र बैंकको सूचनाअनुसार उसको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखा, बबरमहलबाट रे।
बरु दुई वर्षअघि यसका अलावा प्रदेशस्थित कार्यालयहरूबाट पनि किन्न सकिन्छ भनी सूचना निकालेको थियो तर यसपालि दायरा बढ्नुपर्नेमा झन् घटाएर एक ठाउँबाट मात्र बिक्री गरिने उल्लेख छ।
राष्ट्र बैंक उच्च व्यवस्थापनले कुन जिनिस खाएर यस्ता निर्णय गर्न सक्छन्, जान्न मन छ मलाई।
उहाँ भने सङ्घीय मुलुक रे!
अलिअलि भेडा त हामी पनि हौँ
हामी जनता पनि अलिअलि त भेडै हौँ भन्दा फरक नपर्ला।
पैसा तिरेर भेडा बन्ने जातका जनता हामी। सुनचाँदीलगायत धातुका सामान जताबाट खरिद गरे पनि त हुन्थ्यो नि, तर हामीलाई राष्ट्र बैंककै असर्फी चाहिने!
बरु यो एउटा सिक्काका लागि दिनभर भोकैपेट किन घाममा टट्टिनै किन नपरोस्।
न सस्तो वा डिस्काउन्टमा पाइने हो। बरु तौलका आधारमा मूल्य हरेक दिन तोकिन्छ।
कत्रो आस्था हो हाम्रो!
एउटा असर्फी किनेर धनी हुने भएको भए त्यो पनि तिहार सुरु नहुँदै राष्ट्र बैंकले असर्फी बिक्री गर्न थालेको यो ५० वर्षमा गरिबी त उन्मूलन नै हुनुपर्थ्यो होला।
तर…
बहिष्कार गरौँ राष्ट्र बैंकको यो निर्णय
तर धन्य हाम्रो अन्धविश्वास!
साइत हेरेर र पूजापाठ गरेर मात्र कार्यालय र क्वार्टर छिरेका हरेक नयाँ प्रधानमन्त्रीले असमयमै छाड्नुपरेको वा राजीनामा दिनुपरेको देखिएकै हो भने कालो बोकाको बलि दिएर आकाश भैरवको पूजा गरेर मात्र सञ्चालन गरिएका नेवानीका नयाँ विमानले के कति लाभ हासिल गरिरहेका छन्, त्यो पनि देखिएकै छ।
त्यसैले हामी नै भेडा हुन तयार छौँ भने राष्ट्र बैंकले नबनाओस् पनि किन?
नत्र हामीले अलिकति सम्मान खोज्ने हो, बैंकको हेपाहा र अविवेकी निर्णय अस्वीकार गर्ने हो भने त राष्ट्र बैंकको यो रवैयालाई बहिष्कार गर्नुपर्छ।
पोहोर असर्फी नबेच्दा कसलाई कति घाटा लाग्यो त?
गत वर्ष सुनको अभावका कारण राष्ट्र बैंकले असर्फी बनाएन र चाँदीका सिक्का मात्र बेच्यो। यसबाट कसलाई के कति घाटा भएको छ? कतिलाई नकारात्मक असर परेको छ? कसले विरोध गरेको छ?
कुनै अध्ययन भएको छ र कारण छ भने राष्ट्र बैंकले सार्वजनिक गरोस्। औचित्यपूर्ण रहेछ भने अर्को साल हामी पनि समर्थन गरौँला।
केन्द्रीय बैंकको फाल्तु काम
देशमा तरलता मौज्दात इतिहासमै सबैभन्दा बढी भएर खर्च गर्न सकिएको छैन। ऋणको माग अत्यन्त न्यून छ। समग्र अर्थतन्त्र चलायमान हुन सकेको छैन।
राष्ट्र बैंकको काम यस्तै झिना मसिना फाल्तु काम गरेर बस्ने हो? गर्ने हो?
यसैले जनतालाई धनी बनाउँछ र यही नै निष्कर्ष हो भने सुनै किनेर असर्फी बनाई बेचे भैहाल्यो त।
यदि होइन भने यस्तो दुईदिने नौटङ्की किन गर्नु?
सुनको मूल्यअनुसारको भ्यालु हुने हो, आम सिक्कासरह बजारमा सामान खरिदबिक्रीमा विनिमय हुने पनि होइन। बरु जसले किन्छ उसले थन्क्याएर राख्ने मात्र हो।
त्यो पनि निर्माण लागतका कारण बजारमूल्यभन्दा १०–१५ प्रतिशत बढी मूल्य पर्ने भनिएको छ।
तर राष्ट्र बैंकको ध्यान असर्फी बनाएर बेच्ने अनुत्पादक काममा छ।
यसरी समय खेर नफालोस्।
बजारमा पनि पाइन्छन् त असर्फी
राष्ट्र बैंकले सिक्काको रूपमा छाप्ने असर्फी निजी क्षेत्रका बिक्रेताले छाप्न वा बनाउन पाउँदैनन्।
नत्र झन्डै उस्तै डिजाइनमा बजारमा उही पैसाले खरिद गर्न पाइन्छ भने राष्ट्र बैंकले यस्तो अनुत्पादक क्षेत्रमा किन यत्रो स्रोतसाधन खर्च गर्नुपरेको होला?
राष्ट्र बैंकले सार्वजनिक हितका लागि गर्न खोजेको हो भने मागअनुसार पुग्ने गरी उत्पादन गरे भयो।
उत्पादनलाई अरू निजी क्षेत्रका बैंकमार्फत पनि बिक्री गर्न नसकिने होइन वा व्यापारिक प्रयोजनबाट लाभसहित बिक्री गर्ने हो भने तिहार नकुरी वर्षैभरि उपलब्ध गराए पनि भयो।
नत्र श्राद्ध गर्दा बिरालो बाँध्नेबाहेकको प्रयोजन नभएको यो तमासा बन्द गरेकै राम्रो।
अन्त्यमा : असर्फी होइन, सोच बदल्नुस्
राष्ट्र बैंकले बुझ्नुपर्ने कुरा के हो भने परम्परा जोगाउनु र परम्पराका नाममा जनतालाई सास्ती दिनु एउटै कुरा होइन।
कुनै नागरिकले आफ्नो आस्थाअनुसार धनतेरसमा सुन किन्न चाहन्छ भने त्यो उसको अधिकार हो। तर उसलाई त्यो अधिकार प्रयोग गर्न बिहानैदेखि घाममा उभिनुपर्ने, सीमित समय र सीमित ठाउँमा तँछाडमछाड गर्नुपर्ने, अनि अन्त्यमा रित्तो हात फर्किनुपर्ने अवस्था सिर्जना गर्नु कुनै सार्वजनिक संस्थाको उपलब्धि होइन।
५० वर्ष पुरानो परम्परा कायम राख्न सक्ने राष्ट्र बैंकले ५० वर्षमा बिक्री प्रणाली सुधार्न किन सकेन?
आज मोबाइलबाट बैंक खाता खोल्न सकिन्छ। अनलाइनबाट अर्बौँको कारोबार हुन्छ। डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने निकाय स्वयं राष्ट्र बैंक हो। तर त्यही राष्ट्र बैंक एउटा असर्फी बेच्न जनतालाई भौतिक लाइनमा उभ्याउँछ।
आफू डिजिटल अर्थतन्त्रको भाषण गर्ने, जनतालाई चाहिँ पञ्चायतकालीन लाइनमा राख्ने?
राष्ट्र बैंकले असर्फी बेच्नैपर्ने कुनै ठोस सार्वजनिक हितको कारण छ भने त्यसको हिसाब देखाओस्। कति लागत लाग्छ, कति आम्दानी हुन्छ, कति माग छ, कति नागरिकले पाउँछन्, कति फर्किन्छन् र यसबाट देशलाई के लाभ हुन्छ, सार्वजनिक गरोस्।
त्यसपछि बिक्री गर्ने हो भने अनलाइन बुकिङ गराओस्। मागअनुसार उत्पादन गरोस्। देशभर वितरणको व्यवस्था गरोस्। नागरिकलाई ग्राहकका रूपमा सम्मान गरोस्।
होइन, परम्परा धान्नकै लागि मात्र हो भने त्यस्तो परम्परा बन्द गर्दा पनि आकाश खस्दैन।
असर्फी किन्ने नागरिकले सुन पाउँछ। तर यसरी बेचेर राष्ट्र बैंकले के पाउँछ?
पचास वर्षदेखि असर्फी बेचेर राष्ट्र बैंकले देशलाई कति धनी बनायो, त्यो त थाहा भएन।
तर एउटा कुरा प्रस्ट छ— जनतालाई लाइनमा उभ्याउने मामिलामा भने राष्ट्र बैंक अझै गरिब सोचबाट माथि उठ्न सकेको रहेनछ।
