प्रधानमन्त्री कार्यालयलाई थाहा छैन। सत्तारुढ दललाई थाहा छैन। प्रहरी प्रवक्तालाई आफ्नै प्रहरी कहाँ गयो भन्ने थाहा छैन। तर पत्रकार पक्राउ परेका छन्। अनि मध्यरातमा आएको प्रहरीको स्पष्टीकरणसमेत बिहानसम्म गायब!
नेपालमा एउटा नयाँ किसिमको प्रहरी अनुसन्धान सुरु भएको छ।
पहिले प्रहरीले अपराधको अनुसन्धान गर्थ्यो। अब प्रहरीले आफ्नै प्रहरीको अनुसन्धान गर्नुपर्ने भएको छ।
किनभने पत्रकार पक्राउ परेका छन्। तर प्रहरी प्रवक्तालाई कसले पक्राउ गर्यो भन्ने थाहा छैन। किन पक्राउ गर्यो भन्ने पनि स्पष्ट छैन। कसको निर्देशनमा पक्राउ गर्यो भन्ने त झन् रहस्यमय छ।
अब प्रहरी प्रवक्ताले पहिले आफ्नै प्रहरीलाई सोध्नुपर्ने भएको छ, हिजो तपाईंहरू कहाँ जानुभएको थियो? किन जानुभएको थियो? कसले पठाएको थियो? कसलाई समात्नुभएको थियो?
यो कुनै काल्पनिक व्यङ्ग्य होइन। २०८३ साल कात्तिक १३ गते शुक्रबार काठमाडौंमा भएको घटनापछिको वास्तविक अवस्थाबाट निस्किएको व्यङ्ग्य हो।
शुक्रबार नेपाल प्रेसका विश्वमणि सुवेदी, डीएनए खबरका धीरज बस्नेत र मोटिभेट न्युजका शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लियो। नयाँ पत्रिकाका नवराज मैनालीलाई खोज्न प्रहरी कार्यालयमै पुग्यो। दियोपोस्टका पत्रकारहरूलाई पनि खोजियो।
सादा पोसाकका प्रहरी समाचार कक्षमा पसे। कतै मोबाइल जाँचिएको खबर आयो। कतै पत्रकारलाई खोजियो। कतै नियन्त्रणमा लिइयो।
तर रमाइलो त्यसपछि सुरु भयो।
प्रहरीको नयाँ शब्द : पक्राउ होइन, बुझ्न गएको !
सेतोपाटीले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेलाई सोध्यो, कार्यालय समय सकिएपछि पत्रकारमाथि धरपकड किन?
प्रवक्ताले भने, ‘को गएको भन्ने बुझौँला।’
अहो!
नेपाल प्रहरीका प्रवक्तालाई आफ्नै संगठनबाट को गएको भन्ने बुझ्न बाँकी छ।
फेरि सोधियो, समाचार कक्षमै किन पसेको?
जवाफ आयो, ‘न्युजरूम भित्र छिरेको भन्ने विषयमा जानकारी गराएका छैनन् मलाई।’
भिडियो आएको छ नि?
‘त्यस विषयमा बुझौँला नि।’
अर्थात् अब घटना बुझ्न छुट्टै अनुसन्धान हुनुपर्ने भयो। अनुसन्धानको विषय के हो भने अनुसन्धान गर्न गएको प्रहरी किन अनुसन्धान गर्न गयो?
प्रहरीको भाषामा पक्राउ होइन रहेछ। ‘बुझ्न’ गएको रहेछ।
अब हामीले पनि शब्दकोश संशोधन गर्नुपर्ने भयो।
सादा पोसाकमा समाचार कक्षमा पुग्नु = बुझ्न जानु। पत्रकारलाई नियन्त्रणमा लिनु = जानकारी लिनु। साइबर ब्युरो पुर्याउनु = अनौपचारिक भेटघाट। पत्रकारको मोबाइल जाँच्नु = सामान्य परिचय। अनि पक्राउ परेका पत्रकारलाई छाड्नु = बुझ्ने कार्यक्रम सम्पन्न।
यसरी हेर्दा नेपालको प्रहरी अनुसन्धान प्रणाली विश्वमै अनौठो हुने भयो। अरू देशमा प्रहरीले अनुसन्धान गर्न व्यक्तिलाई बोलाउँछ। हाम्रोमा प्रहरी आफैँ समाचार कक्षमा पुग्छ, मान्छे समात्छ, अनि भन्छ, हामी त बुझ्न आएका थियौँ।
प्रवक्ता काफ्लेले अर्को महत्त्वपूर्ण शब्द पनि प्रयोग गरे, ‘इनफर्मल्ली।’
वाह!
कानुनमा औपचारिक प्रक्रिया हुन्छ। पक्राउका कानुनी आधार हुन्छन्। अनुसन्धानका विधि हुन्छन्। तर पत्रकारको विषयमा चाहिँ ‘इनफर्मल्ली’ बुझ्न मिल्ने रहेछ!
कल्पना गर्नुस्, भोलि तपाईंको घरमा प्रहरी आएर तपाईंलाई नियन्त्रणमा लियो भने प्रश्न गर्नुभयो, के अपराध गरेँ?
जवाफ आउँछ, अपराध होइन हजुर, इनफर्मल्ली बुझ्न आएको।
यस्तो सुविधाजनक शब्द रहेछ ‘इनफर्मल्ली’!
प्रधानमन्त्रीको चासो : पक्राउ गर्दा थाहा छैन, छुटाउन निर्देशन !
अब कथा प्रहरीबाट प्रधानमन्त्री कार्यालयतिर मोडिन्छ। शुक्रबार पत्रकारमाथि धरपकड भयो। प्रधानमन्त्री बालेन शाहको सचिवालयले भन्यो, यो घटनाबारे हामीलाई पूर्वजानकारी थिएन। हाम्रो कुनै संलग्नता छैन।
त्यति मात्र होइन, प्रधानमन्त्रीले पत्रकारलाई तत्काल रिहा गर्न र समाचार कक्षमा धरपकड नगर्न निर्देशन दिएको पनि सचिवालयले बतायो।
यहाँसम्म ठिकै थियो।
तर मध्यरातपछि प्रहरीको एउटा स्पष्टीकरण आयो। त्यसमा भनियो, प्रधानमन्त्री कार्यालयबाट भएको ‘चासो’ प्रति क्रियाशील हुँदै पत्रकारहरूलाई साइबर ब्युरोमा बोलाइएको हो।
अब यो ‘चासो’ भन्ने शब्द पनि कम रहस्यमय छैन। प्रधानमन्त्री कार्यालयले कस्तो चासो राखेको थियो?
‘प्रहरीबारे के समाचार आएको छ?’ भनेर सोधेको थियो कि ‘पत्रकारलाई समातेर ल्याउनू’ भनेर भनेको थियो?
यी दुई कुरा एउटै होइनन्।
तर कसले, कसलाई, कहिले र के शब्दमा चासो व्यक्त गरेको थियो भन्ने विवरण सार्वजनिक भएको छैन। प्रधानमन्त्री कार्यालय भन्छ, हामीलाई थाहा थिएन। प्रहरी भन्छ, प्रधानमन्त्री कार्यालयको चासोपछि गरेका हौँ। प्रधानमन्त्री भन्छन्, पत्रकारलाई छाड।
प्रहरी भन्छ, समातेकै छैन। इनफर्मल्ली बुझ्न बोलाएको मात्र हो।
यसबाट एउटा नयाँ प्रशासनिक सिद्धान्त जन्मिएको छ जस्तो देखिन्छ।
सरकारलाई आफूले के चासो राखेको हो थाहा नहुन सक्छ। प्रहरीलाई चाहिँ त्यो चासो कार्यान्वयन गर्नुपर्ने हुन्छ। अनि विवाद भएपछि सरकारलाई थाहा हुँदैन, प्रहरीलाई निर्देशन होइन चासो मात्र हुन्छ।
कस्तो सुन्दर समन्वय!
आफ्नै सरकारविरुद्ध सत्तारुढ दलको आन्दोलन !
अब अझ रोचक दृश्य हेरौँ।
प्रधानमन्त्री रास्वपाको नेतृत्वमा सरकार चलाइरहेका छन्। पत्रकारमाथि धरपकड हुन्छ। अनि सत्तारुढ रास्वपा नै विज्ञप्ति निकालेर विरोध गर्छ।
पार्टीका प्रवक्ता जगदीश खरेलले समाचार लेखेकै आधारमा पत्रकार नियन्त्रणमा लिनु विधिको शासनविपरीत हुने भन्दै निष्पक्ष छानबिन र गैरकानुनी रूपमा नियन्त्रणमा लिइएकाको रिहाइ माग गरे।
यो त लोकतन्त्रको नयाँ प्रयोग भएन र?
सरकार आफ्नै। प्रहरी सरकार मातहतकै। विरोध गर्ने पार्टी पनि सरकार चलाउने।
अब जनताले गुनासो कसलाई गर्ने?
सरकारलाई गरौँ भने पार्टी विरोधमा छ। पार्टीलाई गरौँ भने सरकार उसकै नेतृत्वमा छ। प्रहरीलाई गरौँ भने प्रहरी प्रवक्ता आफैँ बुझ्दैछन्। यस्तो अवस्थामा एउटा उपाय देखिन्छ, सरकारविरुद्ध सरकारकै दलले धर्ना दिने, अनि सरकारले धर्ना नियन्त्रण गर्न प्रहरी पठाउने। फेरि प्रहरीले किन पठाएको भनेर बुझ्ने।
तर मजाक एकातिर, यहाँ गम्भीर प्रश्न छ, सरकारको निर्णय र कार्यसम्पादनमाथि राजनीतिक तथा प्रशासनिक नियन्त्रण कसको छ?
सत्तारुढ दलले पनि घटनाको विरोध गर्नुपर्ने अवस्था किन आयो? यसको जवाफ विज्ञप्तिको प्रतिस्पर्धाले होइन, जिम्मेवारीको स्पष्ट पहिचानले मात्र दिन सक्छ।
राति १:४० मा जन्मिएको, बिहानै बेपत्ता भएको विज्ञप्ति !
अब यो प्रकरणको सबैभन्दा रहस्यमय पात्रतिर लागौँ।
त्यो हो, प्रहरीको विज्ञप्ति।
पत्रकार पक्राउ गरेको विषयमा प्रहरीलाई चौतर्फी प्रश्न सोधियो। प्रहरी प्रवक्तालाई सोधियो। प्रधानमन्त्री कार्यालयलाई सोधियो। सत्तारुढ दलले पनि प्रश्न गर्यो। अन्ततः प्रहरीले स्पष्टीकरण दियो।
तर कहाँ?
प्रहरीको वेबसाइटमा?
फेसबुक पेजमा?
औपचारिक पत्रकार सम्मेलनमा?
होइन।
ह्वाट्सएप ग्रुपमा!
त्यो पनि मध्यराति १ बजेर ४० मिनेटमा।
अनि बिहान के भयो?
त्यो विज्ञप्ति पनि गायब!
अनलाइनखबरले कात्तिक १४ गते बिहान ११:५१ मा समाचार प्रकाशित गरेर प्रहरी प्रवक्ताले राति ह्वाट्सएपमा राखेको वक्तव्य बिहान हटाएको जनाएको छ।
यो ब्लग लेख्दासम्म मैले प्रहरीको आधिकारिक वेबसाइट र फेसबुक पेजमा पनि त्यो स्पष्टीकरण भेट्टाउन सकिनँ।
अब यहाँ फेरि प्रहरीलाई नै सोध्नुपर्ने भयो। विज्ञप्ति कसले लेखेको हो? कसको स्वीकृतिमा ह्वाट्सएपमा राखिएको हो? किन राति १:४० बजे राखिएको हो? अनि किन हटाइएको हो?
वक्तव्यमा भएको कुरा सत्य हो भने हटाउनुपर्ने कारण के हो? गलत हो भने सच्याएर अर्को वक्तव्य किन नआएको?
प्रहरीले पत्रकारलाई समाचारको सत्यता, तथ्यपरकता र कानुनी आधार बुझ्न बोलाएको बताएको छ। तर आफ्नै वक्तव्यको सत्यता, तथ्यपरकता र आधिकारिक हैसियतबारे कसले बुझ्ने?
अचम्म त के भने, पत्रकारको समाचारको स्रोत पत्ता लगाउन प्रहरी सक्रिय छ। तर प्रहरीको आफ्नै विज्ञप्तिको आधिकारिक स्रोत खोज्न पत्रकारलाई हम्मेहम्मे!
अब समाचार लेख्दा यस्तो लेख्नुपर्ने भयो, ‘नेपाल प्रहरीले एउटा विज्ञप्ति निकालेको थियो भन्ने जानकारी प्राप्त भएको छ। उक्त विज्ञप्ति ह्वाट्सएपमा देखिएको बताइएको छ। पछि हटाइएको समाचार आएको छ। त्यसको आधिकारिक प्रति कहाँ छ भन्नेबारे अनुसन्धान जारी छ।’
प्रहरीको वक्तव्य पनि अब ‘स्रोतका अनुसार’ लेख्नुपर्ने दिन आयो!
जुन प्रहरीले समाचारको सत्यता जाँच्न पत्रकार खोज्दै थियो, त्यही प्रहरीको आफ्नै स्पष्टीकरण नै बिहानसम्म टिक्न सकेन।
यस्तो अवस्थामा पत्रकारले समाचारको प्रमाण सुरक्षित राख्नुपर्छ भन्ने पाठ प्रहरीलाई नै पढाउनुपर्ने भयो कि क्या हो!
निष्कर्ष : अब प्रहरीलाई प्रहरीकै खोजीमा पठाउनुपर्यो !
यो सम्पूर्ण घटनामा सबैभन्दा चिन्ताजनक कुरा पत्रकार पक्राउ पर्नु मात्र होइन। त्यसको जवाफदेहिता कतै स्पष्ट नदेखिनु हो।पत्रकार पक्राउ पर्छन्। प्रवक्तालाई को गएको भन्ने थाहा छैन। समाचार कक्षमा प्रहरी पुग्छ। प्रवक्तालाई थप बुझ्नुपर्छ।
प्रधानमन्त्री कार्यालय पूर्वजानकारी नभएको बताउँछ। प्रहरी प्रधानमन्त्री कार्यालयको चासोपछि खटिएको भन्छ।
सत्तारुढ दल सरकारकै कार्यशैलीको विरोध गर्छ।
प्रहरीले सामान्य जानकारी लिन बोलाएको भन्छ। तर पत्रकारहरूलाई कार्यालयबाट नियन्त्रणमा लिएको समाचार सार्वजनिक छन्।
मध्यरातमा प्रहरीले स्पष्टीकरण दिएको भनिन्छ। बिहान त्यो पनि हटाइन्छ। अनि आइजिपी पत्रकारितामा बाधा नपुर्याउने प्रतिबद्धता दोहोर्याउँछन्।
अब यो देशमा नागरिकले कसलाई विश्वास गर्ने?
ह्वाट्सएपमा राखेर हटाइएको स्पष्टीकरणलाई?
आफ्नै टोली कहाँ गयो भनेर बुझ्न बाँकी रहेका प्रवक्तालाई?
पूर्वजानकारी थिएन भन्ने प्रधानमन्त्री कार्यालयलाई?
कि आफ्नै सरकारको विरोधमा विज्ञप्ति निकाल्ने सत्तारुढ दललाई?
यसको समाधान कठिन छैन।
पत्रकारलाई नियन्त्रणमा लिन कसले आदेश दिएको थियो, कुन कानुनअन्तर्गत, कुन कसुरको अनुसन्धानका लागि, कुन निकायले र कुन आधारमा काम गरेको थियो, त्यसको आधिकारिक विवरण सार्वजनिक गरियोस्।
प्रधानमन्त्री कार्यालयको ‘चासो’ को वास्तविक अर्थ स्पष्ट गरियोस्।
ह्वाट्सएपबाट हटाइएको प्रहरीको वक्तव्य किन हटाइयो, त्यो पनि बताइयोस्।
प्रहरीले आफ्नो कामको जवाफ दिनु भनेको प्रहरीलाई कमजोर बनाउनु होइन। जवाफदेहिताले संस्था बलियो हुन्छ।
तर त्यतिन्जेल नेपाल प्रहरीका लागि एउटा विनम्र सुझाव छ।
पत्रकारलाई खोज्न समाचार कक्षमा प्रहरी पठाउनुभन्दा पहिले, पत्रकार खोज्न प्रहरीलाई कसले पठायो भनेर पत्ता लगाउन एउटा प्रहरी टोली गठन गरे कसो होला?
त्यो टोलीले प्रतिवेदन बुझाएपछि अर्को टोलीले प्रतिवेदन कसले लेखेको भनेर बुझ्न सक्छ।
अनि त्यसको स्पष्टीकरण राति १:४० बजे ह्वाट्सएपमा राखेर बिहान डिलिट गर्न सकिन्छ।
आखिर ‘इनफर्मल्ली’ बुझ्ने लोकतन्त्रमा के नै असम्भव छ र!
__________________________
(यो ब्लगका संस्थापक सालोक्य प्रेस काउन्सिल नेपालको पदमा रहुन्जेल माइसंसारबाट अलग हुने भएकोले हाल सुशील कार्कीले सम्पादकीय जिम्मेवारी सम्हालिरहेका छन्। तपाईं पनि ब्लग पठाउन चाहनु हुन्छ भने [email protected] मा पठाउन अनुरोध छ)
