Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एनआरएनलाई दोहोरो नागरिकता दिँदाको एउटा ‘साइड इफेक्ट’ : नेपाल तयार छ ?

Posted on October 27, 2026October 27, 2026 by सुशील कार्की

विदेशमा बसेका नेपालीलाई दोहोरो नागरिकता दिने कि नदिने ? यो बहसमा प्रायः सुनिने तर्क हो—विदेशमा कमाएको पैसा नेपाल आउँछ, ज्ञान र सीप भित्रिन्छ, लगानी बढ्छ र देशलाई फाइदा हुन्छ। कुरा सही हो। तर यसका फाइदामात्रै छन् कि केही साइड इफेक्ट पनि हुन सक्छन् ?

यसको एउटा रोचक अनुभव मसँग छ। त्यो पनि नेपालमा होइन, इजिप्टमा भएको। त्यहाँ दोहोरो नागरिकताको व्यवस्थाले देशलाई फाइदा पुर्‍याएको त देखेँ, तर आफ्नै देशका नागरिकबीच एउटा यस्तो प्रतिस्पर्धा पनि सिर्जना गरेको रहेछ, जसको मूल्य तिर्नुपर्नेहरू अर्कै थिए।

नेपालमा अहिले एनआरएन (गैरआवासीय नेपाली) लाई वंशजको नागरिकताको निरन्तरता दिने बहस चलिरहेका बेला त्यो अनुभव र त्यसबाट नेपालले सिक्नुपर्ने पाठ सान्दर्भिक हुन सक्छ।

⏱️ पूरा पढ्ने समय छैन ? १ मिनेटमा मुख्य कुरा

  • इजिप्टको अनुभव : दोहोरो नागरिकता भएका इजिप्सियनहरू विकसित देशमा पढेर स्वदेश फर्किँदा राम्रो रोजगारी पाउन सफल भएको देखियो।
  • देशलाई फाइदा : दोहोरो नागरिकताले विदेशको पुँजी, ज्ञान, सीप र दक्ष जनशक्ति स्वदेश भित्र्याउन सहयोग गर्छ।
  • नदेखिएको साइड इफेक्ट : विदेशमा गुणस्तरीय शिक्षा पाएकाहरूसँग आफ्नै देशका सामान्य शिक्षण संस्थामा पढेकाहरूलाई प्रतिस्पर्धा गर्न कठिन हुने रहेछ।
  • नेपालमा पनि यही चुनौती : एनआरएनलाई वंशजको नागरिकताको निरन्तरता दिँदा विदेशमा पढेका नेपाली र स्वदेशमै पढेका नेपालीबीच रोजगारीको प्रतिस्पर्धा अझ तीव्र हुन सक्छ।
  • राजनीतिक प्रतिबद्धता : रास्वपा, कांग्रेस, राप्रपालगायतका दल एनआरएनको नागरिकतासम्बन्धी मागप्रति सकारात्मक देखिन्छन्।
  • एनआरएनको अधिकार : विदेशमा रहेका नेपालीबाट लगानी र सीप चाहने राज्यले उनीहरूलाई उचित अधिकार र सुविधा दिन पनि कञ्जुस्याइँ गर्नु हुँदैन।
  • समाधान के त ? नेपालका सामुदायिक विद्यालयको गुणस्तर उकासेर सबैलाई स्तरीय शिक्षामा पहुँच दिनुपर्छ। केही उत्कृष्ट स्कुल मात्रै भएर पुग्दैन।

निचोड : एनआरएनलाई अधिकार दिनु समस्या होइन। तर विदेशमा पढेर फर्किने नेपालीसँग नेपालमै पढेका नेपालीलाई पनि प्रतिस्पर्धा गर्न सक्ने बनाउने तयारी खोइ ?

पूरा ब्लग तल छ।

इजिप्टमा देखेको दोहोरो नागरिकताको प्रभाव

सन् २०१५–१६ मा इजिप्टको राजधानी कायरो बसेर दुई वर्ष काम गर्दा त्यहाँका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत ‘राष्ट्रिय कर्मचारी’ सम्बन्धी अनुभव विशेष रह्यो।

राष्ट्रिय कर्मचारीमध्ये पनि सिनियर पदमा कार्यरत एकथरी कर्मचारी साह्रै स्मार्ट हुन्थे। संगतबाट थाहा पाइयो, उनीहरूको रहनसहन नै बेग्लै। मर्सिडिजजस्ता महँगा ब्रान्डेड गाडी प्रयोग गरेको देखिन्थ्यो।

उनीहरू प्रायः अमेरिका, क्यानडा, स्विडेन, बेलायत, फ्रान्स, जर्मनी, इटाली, अस्ट्रेलियाजस्ता विकसित मुलुकका राम्रा विश्वविद्यालयबाट शिक्षित–दीक्षित भएका हुन्थे।

यूएनका आधिकारिक ६ भाषामध्ये अरबी र अंग्रेजीसहित कम्तीमा दुई वा अझ बढी भाषामा दखल भएका बहुभाषिक हुन्थे भने कतिपयसँग त्यतै काम गरेको अनुभव पनि।

यस्तो अवसर उनीहरूले कसरी प्राप्त गरे ? त्यसको कारण थाहा पाउँदा झन् चकित भएँ।

खासमा उनीहरूमध्ये प्रायःसँग दोहोरो नागरिकता (Dual Citizenship) हुँदो रहेछ। इजिप्टसहित अर्को देशको।

उता उच्च शिक्षा लिएपछि वा केही कार्यानुभव लिएर काम गर्न यता फर्किने। यही कारणले गर्दा पनि दोहोरो नागरिकता लिएका वर्गका व्यक्तिहरू इजिप्टमै मात्र पढेका भन्दा अगाडि पर्ने देखिन्थ्यो। कतिपय छनोट प्यानलमा आफैँ सहभागी हुँदा पनि यस्तै महसुस गरेँ।

संगतबाटै थाहा पाइयो, दोहोरो नागरिकता प्राप्त उनीहरू प्रायः दोस्रो वा तेस्रो पुस्ताका हुन्थे।

सन् १९७५ मै इजिप्टमा दोहोरो नागरिकतालाई वैध बनाइएकोले उनीहरूका बाबुबाजेकै पालामा विकसित मुलुकको पनि नागरिकता लिएका कारण यिनले उतै पढ्न र हुर्किन पाएका हुँदा रहेछन्।

गैरआवासीय नागरिकका सन्ततिले दोहोरो नागरिकताको व्यवस्थाको प्रचुर लाभ यसरी पनि उठाउन सक्दा रहेछन् भन्ने राम्रो उदाहरण यहाँ पाइयो।

स्तरीय शिक्षा र अनुभव लिएपछि स्वाभाविक रूपमा राम्रो संस्थामा रोजगारी पाउने सम्भावना बढ्ने नै भयो। त्यसैगरी विदेशमा आर्जन गरेको धन ल्याएर आफ्नो उत्पत्तिको मुलुक (Country of Origin) मा लगानी गर्न पनि सहज हुने नै भयो।

यसरी वैदेशिक लगानीबाहेक पनि इजिप्टले बिना वा कम लगानीमै दक्ष र स्तरीय जनशक्ति भित्र्याइरहेको थियो।

सार्वजनिक क्षेत्रबाहेक निजी व्यावसायिक क्षेत्रले पनि यसैगरी दक्ष जनशक्तिको उपयोग गरेको बुझियो।

त्यसैले यसको प्रचुर लाभ जसरी मुलुकले पायो, त्यसैगरी त्यस्ता व्यक्तिहरूले पनि पाए।

दोहोरो नागरिकताको साइड इफेक्ट : शिक्षा र रोजगारीमा

जसरी दोहोरो नागरिकताको व्यवस्थाले गैरआवासीय नागरिकहरूलाई उपलब्ध गराउने अवसर र लाभ देखेर सकारात्मक र उत्साहित बनायो, त्यसैगरी यसको एउटा साइड इफेक्टले भने नराम्ररी झस्कायो पनि।

दोहोरो नागरिकताका कारण राम्रो अवसर पाउने यो एउटा वर्ग थियो भने त्यस्तो अवसर नपाई इजिप्टमै हुर्कीबढी त्यहीँका सामान्य विश्वविद्यालयमा शिक्षा प्राप्त गरेको वर्गले त्यो वर्गसँग प्रतिस्पर्धा गर्न कठिन हुँदा विभिन्न संघसंस्थाको राम्रो रोजगारीमा पहुँचको अवसरबाट वञ्चित हुनुपरेको देखियो।

हुन त दोहोरो नागरिकता नलिए पनि देशमै उपलब्ध स्तरीय (जो महँगा हुन्छन्) शिक्षामा पहुँच हुने सीमित वर्गका लागि यो लागू हुँदैन।

इजिप्टकै सन्दर्भमा पनि राज्यको तर्फबाट हेर्दा दोहोरो नागरिकता लिएका वा राम्रो शैक्षिक संस्थाबाट उत्पादित र त्यस्तो शिक्षामा पहुँच नपाएका, जोसुकै भए पनि आफ्नै नागरिकले रोजगारीको अवसर प्राप्त गरेकोलाई अन्यथा मान्नुपर्ने देखिन्न।

तर पनि असमान स्थितिमा रहेका दुईथरीमध्ये एकथरी नागरिकले भने मूल्य चुकाउनुपरेको तीतो अनुभव मैले गरेँ।

देशमै उपलब्ध दुईथरी शिक्षाको गुणस्तर एउटा मुद्दा हो भने दोहोरो नागरिकतामार्फत गुणस्तरीय शिक्षा प्राप्त गर्ने अर्को वर्ग पनि थपिँदा मुलुकका लागि लाभ हुँदाहुँदै त्यस्तो अवसर नपाउने एउटा वर्गलाई भने अझै ठूलो चुनौती थपिँदो रहेछ।

अन्ततः यो प्रतिस्पर्धा स्तरीय शिक्षा पाउने र नपाउनेबीचमा हुन पुग्दो रहेछ।

दोहोरो नागरिकताधारी र स्वदेशी प्रतिस्पर्धी दाँज्दा यो असमानताको प्रमुख कारण इजिप्ट र दोस्रो नागरिकताको मुलुकबीचको असमान आर्थिक र सामाजिक स्तर रहेको मेरो निचोड रह्यो।

कस्तो छ इजिप्टको आर्थिक स्थिति ?

सन् १९७५ देखि इजिप्सियन र तिनका परिवारले सरकारसँग अनुमति लिएर दोहोरो नागरिकता स्वीकारेका जुनसुकै मुलुकको नागरिकता लिन पाउँछन्।

त्यस्ता नागरिकको अधिकार सम्बन्धमा इजिप्टले बढी नै उदारता अपनाएको पाइन्छ। किनकि दोहोरो नागरिकताधारीले केही प्रमुख सरकारी पदबाहेक सरकारी सेवालगायतमा काम गर्न पाउँछन्। गैरसरकारी तथा निजी संस्थाको त कुरै भएन।

हामीभन्दा धेरै माथिल्लो आर्थिक स्तर भएको र भौतिक पूर्वाधार तथा औद्योगिकीकरण पनि हाम्रोभन्दा धेरै विकसित र उच्च देखिए पनि इजिप्ट आफैँमा विकसित मुलुक भने होइन।

अफ्रिकाका शीर्ष तीन अर्थतन्त्रमध्येको हुँदा पनि यो विकासोन्मुख र हामीजस्तै निम्न मध्यम आय भएको मुलुकको रूपमा परिचित छ।

करिब ११ करोड जनसंख्या भएको यस मुलुकको प्रतिव्यक्ति आय करिब ३,९०० डलर र शिक्षा, स्वास्थ्य तथा प्रतिव्यक्ति आयको संयुक्त सूचकमा नेपालभन्दा करिब ४१ स्थान माथि अर्थात् १०५ औँ स्थानमा रहेको तथ्यांक मैले हेर्दाको थियो।

तथापि चरम गरिबीबाट यो मुलुक पनि अछुतो रहेको छैन।

राजधानी कायरोकै सडकमा आफूले खाँदाखाँदैको जुठो स्यान्डविच देऊ न भनेर बालबालिकाले माग्दै पछिलागेको कटु अनुभव मसँग छ। त्यस्ता बालबालिका त्यहाँ असंख्य छन्।

अकुत धनसम्पत्ति भएका र सम्भ्रान्तहरूको बसोबासका लागि अमेरिकाकै जस्तो बेभर्ली हिल्स नाम गरेका वा त्यस्ता कैयौँ विलासी हाउजिङ कम्पाउन्डमा बसोबास गर्ने एकथरी छन् भने त्यस्ता कम्पाउन्डबाहिर सडक बालबालिका पनि असंख्य देखिन्छन्।

असाध्यै धनीदेखि बिहानबेलुका हातमुख जोर्न धौधौ पर्नेहरू रहेको इजिप्टमा धनको असमान वितरण र आर्थिक असमानता चरम रहेको देखिन्छ।

इजिप्टले दोब्बरभन्दा बढीको चरम मुद्रास्फीति खेपेको म आफैँले देखेँ।

सन् २०१५ मा म त्यहाँ पुग्दा त्यहाँको प्रमुख आयको स्रोत पर्यटन डामाडोल स्थितिमा थियो, अरब स्प्रिङपछिको राजनीतिक कारणले।

त्यसबेला अमेरिकी डलरसँगको सटही दर नेपाली रुपैयाँको १०४ जति हुँदा इजिप्सियन पाउन्ड अति सबल, जम्मा ७.५ मात्र थियो। त्यसको डेढ वर्षमै भारी अवमूल्यन भई १६ पुग्दा नेपाली रुपैयाँ १०७ कायम थियो।

११ वर्षअघि हाम्रोभन्दा १४ गुणाले बलियो इजिप्टको मुद्रा हाल करिब ३ गुणा मात्र बलियो छ।

यस्तो मुलुकका नागरिकले लिएका दोस्रो नागरिकता भने अघि उल्लेख गरिएका अमेरिका, क्यानडालगायतका पहिलो दर्जाका विकसित मुलुकका छन्।

त्यस्ता विकसित मुलुकका नागरिकको हैसियतले ती र तिनका सन्ततिले स्वाभाविक रूपमा त्यहाँ उपलब्ध स्तरीय शिक्षामा सहजै पहुँच पाउने भएका कारण विकासोन्मुख वा अल्पविकसित मुलुकमा उपलब्ध शिक्षाका उत्पादनले अपवादबाहेक प्रतिस्पर्धा गर्न हम्मे नै पर्ने देखिन्छ।

तसर्थ यी दुई समूहबीचको प्रतिस्पर्धामा कसले कसलाई पछाडि पार्छ भनिरहनु परेन।

हाम्रा कुरा : एनआरएनका माग

अब हाम्रो कुरा गर्दा, गैरआवासीय नेपाली वा एनआरएनका प्रमुख मागहरूमध्ये एउटा महत्त्वपूर्ण माग भनेको वंशजको नागरिकताको निरन्तरता रहेको छ।

यसको अर्थ दोहोरो नागरिकताको वैधानिकीकरण पनि हो।

अर्थात् पीआर त परको कुरा, अर्को देशको नागरिकता नै लिए पनि समानान्तर रूपमा नेपालको वंशजको नागरिकताको निरन्तरता।

किनकि हाल उपलब्ध एनआरएन नागरिकता अपुरो र अपर्याप्त रहेको उनीहरूको गुनासो छ।

एनआरएनलाई कुन प्रकारको नागरिकता दिने, वंशजकै नागरिकताको निरन्तरता दिने वा नदिने, दिने हो भने कुनै बन्देज लगाउने–नलगाउने वा कुन हदसम्म लगाउने, राज्यको नीति र इच्छाको कुरा हो।

राज्यको नीति संविधानको परिधिभित्र रही सरकार चलाउने दलको नीतिबाट प्रेरित हुने हुन्छ।

यस अर्थमा हाम्रा राजनीतिक दलले एनआरएनका मागलाई कसरी लिएका छन्, त्यो पनि हेरौँ संक्षिप्त रूपमा।

हाम्रा राजनीतिक दलका प्रतिबद्धता

‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने एनआरएनको नारालाई रास्वपा, नेपाली कांग्रेस र राप्रपाले सुनिश्चित गर्ने प्रतिबद्धता आफ्ना चुनावी घोषणापत्रमा गरेका छन्।

अझ रास्वपाले त विशिष्ट अपवादबाहेक सिद्धान्ततः ‘दोहोरो नागरिकताको पक्षमा उभिने’ वाचा गर्दा राप्रपाले वंशजको नागरिकतालाई निरन्तरता दिने र कांग्रेसले नेपाली नागरिकताको निरन्तरता दिने उल्लेख गरेको छ।

श्रम संस्कृति पार्टीले ‘गैरआवासीय नेपालीहरूको नागरिकता निरन्तरता दिने’ गोलमटोल भाषा प्रयोग गरेको छ।

नेकपाले एनआरएन नागरिकतालाई थप अधिकारसम्पन्न बनाउन आवश्यक कानुन बनाइने उल्लेख गर्दा एमाले भने पूर्णतः मौन बसेको पाइन्छ।

यसर्थ, एनआरएनको नागरिकतासँग सम्बन्धित मागका सन्दर्भमा एमालेबाहेक रास्वपालगायत अन्य दल पनि अत्यन्त सकारात्मक रहेको देखिन्छ।

नेपालले एनआरएनको यो माग पूरा गर्ने हो भने वा वर्तमान संविधान र मौजुदा एनआरएन ऐन, २०६४ ले व्यवस्था गरेको आर्थिक अधिकार कुन हदसम्म प्रदान गर्ने हो, त्यसअनुसारको प्रभाव वा साइड इफेक्ट कैयौँ क्षेत्रमा पर्ने निश्चित छ।

तीमध्ये एउटा साइड इफेक्ट अघि इजिप्टको बारेमा उल्लेख गरिएझैँ प्रत्यक्ष रूपमा रोजगारीको क्षेत्रमा पर्नेछ, जुन शिक्षाको गुणस्तरसँग प्रत्यक्ष रूपमा जोडिएर आउने हुन्छ।

तसर्थ नेपालमा निजी र सरकारी शैक्षिक संस्थाले दिने शिक्षाको गुणस्तर उस्तै नभएको आम रूपमा स्वीकारिएको अवस्थामा त्यो साइड इफेक्टलाई न्यूनीकरण गर्न सरकारले विशेषतः सरकारी शिक्षण संस्थाले प्रदान गर्ने शिक्षाको गुणस्तर उकास्ने योजना बनाउन र यथाशीघ्र काम सुरु गर्न जरुरी देखिन्छ।

एक हैन, दुवै हातले लिने

एनआरएनबाट लिने र उनीहरूलाई दिने सम्बन्धमा राज्यको व्यवहार हेर्दा एउटा हातले लिने, अर्को हातले दिने हुनुपर्नेमा केही अधिकार दिइए पनि व्यवहारतः दुवै हातले लिने जस्तो हुन पुगेको छ।

एनआरएनबाट लगानी भित्र्याउन उत्प्रेरित गर्ने राज्यले अधिकार र सुविधा दिन भने कञ्जुस्याइँ गरेको देखिन्छ, जुन मनासिब होइन।

त्यसको लागि राज्यले उचित वातावरण तयार गरिदिनै पर्छ।

उनीहरूले वा उनीहरूमार्फत आउने लगानी, स्तरीय ज्ञान, सीप र अनुभवी जनशक्तिको खाँचो नेपाललाई सधैँ नै छ।

बिना वा कम लगानीमा प्राप्त हुने यस्तो सम्पत्तिलाई स्वीकार्नै पर्छ।

के गर्ने त ? कस्ता हुनुपर्‍यो हाम्रा स्कुल ?

यहाँ लेखकको उद्देश्य एनआरएनका मागको विरोध गर्नु कदापि होइन र यो नाजायज छ भन्नु पनि होइन।

बरु यसको साइड इफेक्टको रूपमा यसले पार्न सक्ने प्रभावलाई प्रस्तुत गरेर नेपालका सरोकारवालाहरूलाई ऐना देखाइदिनु मात्र हो। ताकि यस प्रकारको साइड इफेक्ट आउन नदिन स्तरीय शिक्षाको स्तरोन्नतिका लागि राज्यले बेलैमा काम गर्न सुरु गरोस्।

दोहोरो नागरिकता स्वीकारेको अवस्थामा यो लिएका भए पनि वा नभए पनि दुवै आफ्नै नागरिक नै भए तापनि दोहोरो नागरिकता नभएका र यहीँ स्वदेशमै पढाइ गर्नेहरूलाई पनि उत्तिकै प्रतिस्पर्धी बनाउने चुनौती राज्यको हुनेछ।

त्यसको लागि यहाँका उत्पादनलाई उता विकसित मुलुकबाट शिक्षा लिएर फर्किनेहरूसँग जुध्न सक्ने प्रतिस्पर्धी बनाउन बेलैमा शिक्षाको गुणस्तर उकास्नेतर्फ काम सुरु गर्न जरुरी छ।

केही स्तरीय निजी विद्यालय र सरकारको अनुदान वा लगानी रहेको बुढानीलकण्ठ, सैनिक, प्रहरी, सशस्त्र प्रहरीले सञ्चालन गर्ने स्कुलका उत्पादनले त सक्लान्, तर अरूले कसरी सक्छन् ?

नेपाली सैनिक, प्रहरी, सशस्त्र प्रहरीका सन्ततिले तिनै संस्थाले खोलेका र नेपाल सरकारको लगानी रहेका विद्यालयमा छात्रवृत्ति वा सहुलियतमा पढ्न पाउने, अनि अधिकांश अरूले नि ?

तसर्थ सिधा भाषामा भन्दा, नेपालका सबै स्कुल बुढानीलकण्ठ, सैनिक वा प्रहरीका स्कुलबराबर हुनुपर्नेछ।

र सबै नेपाली नागरिकका लागि यस्तै विद्यालयमा सहज पहुँच हुने व्यवस्था राज्यले गरे मात्र यहाँबाट शिक्षित र उत्पादित जनशक्ति विकसित मुलुकबाट यहाँ आउने वा विश्वबजारमा प्रतिस्पर्धी (Competitive) हुन सक्छन्।

अन्त्यमा : नागरिकता दिने तयारी छ, प्रतिस्पर्धा गराउने तयारी खोइ ?

इजिप्टको अनुभवले मलाई एउटा कुरा सिकायो, दोहोरो नागरिकता केवल पासपोर्ट वा कानुनी पहिचानको विषय होइन रहेछ। यसले दुई देशबीच मात्र होइन, एउटै देशका नागरिकबीच पनि अवसरको नयाँ समीकरण सिर्जना गर्दो रहेछ।

एकातिर विदेशका उत्कृष्ट विश्वविद्यालयमा पढेका, अन्तर्राष्ट्रिय अनुभव बटुलेका र विभिन्न भाषामा पोख्त नागरिक स्वदेश फर्किन्छन्। उनीहरू आउनु देशका लागि राम्रो कुरा हो। तर अर्कोतिर आफ्नै देशको कमजोर शिक्षा प्रणालीबाट उत्पादित युवाले तिनैसँग एउटै रोजगारीका लागि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ।

दोष विदेशमा पढेर फर्किनेको होइन। दोष दोहोरो नागरिकताको पनि होइन। प्रश्न त राज्यले आफ्नै देशमा पढ्ने नागरिकलाई कस्तो शिक्षा र अवसर दिएको छ भन्ने हो।

हामीले एनआरएनलाई वंशजको नागरिकताको निरन्तरता दिने कि नदिने भन्ने बहस गरिरहँदा सँगसँगै अर्को बहस पनि गर्नुपर्छ—भोलि विदेशका उत्कृष्ट विश्वविद्यालयबाट पढेर फर्किने नेपालीसँग नेपालको सामुदायिक विद्यालयमा पढेको विद्यार्थीले कसरी प्रतिस्पर्धा गर्ने ?

नागरिकताको ढोका खोल्नु गलत होइन। बरु विदेशमा रहेका नेपालीको पुँजी, सीप, ज्ञान र अनुभव देशमा भित्र्याउन त्यो आवश्यक पनि हुन सक्छ।

तर ढोका खोल्नुअघि वा खोल्दै गर्दा घरभित्रका आफ्नै छोराछोरीलाई पनि प्रतिस्पर्धा गर्न सक्ने बनाउने जिम्मेवारी राज्यले बिर्सन मिल्दैन।

नत्र भोलि एउटै देशका, एउटै नागरिकता भएका, एउटै जागिरका लागि प्रतिस्पर्धा गर्ने दुई नेपालीबीचको वास्तविक फरक उनीहरूको क्षमता मात्र नभएर उनीहरूले पाएको शिक्षाको अवसर हुन सक्छ।

त्यसैले यो बहस एनआरएनलाई अधिकार दिने कि नदिने भन्नेमा मात्रै सीमित नराखौँ।

प्रश्न एनआरएनले के पाउने भन्ने मात्र होइन, नेपालमै बसेर पढ्ने नेपालीले के पाउने भन्ने पनि हो।

र, सबैभन्दा महत्त्वपूर्ण प्रश्न, ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने नारा पूरा गर्दै गर्दा ‘नेपालमै बसेको नेपाली सधैँ पछाडि पर्ने’ अवस्था आउन नदिन हामीले के तयारी गरेका छौँ ?

(डिस्क्लेमर : फिचर्ड इमेज र तथ्य यकिन गर्न एआईको सहयोग छ)

_______________________________________________________

(यो ब्लगका संस्थापक सालोक्य प्रेस काउन्सिल नेपालको पदमा रहुन्जेल माइसंसारबाट अलग हुने भएकोले हाल सुशील कार्कीले सम्पादकीय जिम्मेवारी सम्हालिरहेका छन्। तपाईं पनि ब्लग पठाउन चाहनु हुन्छ भने [email protected] मा पठाउन अनुरोध छ)

 

 

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme