Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

छापा पत्रिकालाई डिजिटल प्रविधिले मार्दैछ कि पत्रिका आफैँले?

Posted on October 13, 2026October 13, 2026 by सुशील कार्की

अरूलाई जवाफदेहिताको पाठ पढाउने मिडियाले आफ्नै पाठकलाई चाहिँ किन जवाफ दिनुपर्दैन? यो जम्मा १,७०० रुपैयाँको होइन, पाठकको विश्वासको कुरा हो।

बाहिर जिल्लातिर गएको बेला स्वाभाविक रूपमा सोधिने प्रश्न हो, ‘घर कहाँ हो?’

‘काठमाडौं।’

‘अनि काठमाडौं कता?’

‘भक्तपुर।’

‘एऽऽ! भक्तपुर रहेछ, काठमाडौं पो भन्नुहुन्छ!’

धेरैपटक ‘काठमाडौं भनेको काठमाडौं हो, भक्तपुर होइन’ भन्ने छेडखानी भेटेपछि मैले घर सिधै भक्तपुर भन्न थालेँ।

तैपनि कतिले ‘ए! काठमाडौं नै रहेछ त’ पनि भन्छन्।

जे होस्, म बस्ने मेरो बाको घर भक्तपुरको एउटा काँठमा छ। पछिल्लो दशकमा सहर गाउँ पस्न थालेपछि यो ठाउँ न सहर हुन सक्यो, न गाउँ नै रह्यो। तर भयो ‘नगरपालिका’।

नगरपालिकामा प्रमोसन भए पनि घरको ढल सार्वजनिक ढलमा जोड्न छिमेकी राजी नहुँदा पौँठेजोरी खेलिरहनुपरेको छ।

जे होस्, यही ठिमाहा ठाउँमा दुई दशकअघिदेखि नै घरघरमा बिहानै पत्रिका आउन थालेको थियो।

बाउबाजेको अखबार पढ्ने बानी

बाउबाजेको अखबार पढ्ने बानी आफूमा पनि सर्‍यो। पहिले लिन जानुपर्ने पत्रिका घरमै आउन थालेपछि झन् सजिलो भयो।

पहिले त साप्ताहिक पत्रिकाकै दबदबा थियो। कान्तिपुरलगायतका दैनिक प्रकाशन हुन थालेपछि बिस्तारै साप्ताहिकबाट दैनिकतिर सरियो।

पहिले स्थानीय बिक्रेताको मासिक ग्राहक बनियो। पछि पत्रिकाकै कार्यालयबाट, कहिलेकाहीँ अफरसहित।

कहिलेकाहीँ विदेश रहँदासमेत ई-पेपर नपढी चित्त बुझ्दैनथ्यो। पछिल्लो समय कान्तिपुर र नयाँ पत्रिकाले पीडीएफ संस्करण निःशुल्क उपलब्ध गराउँदा झन् सजिलो भएको थियो। अहिले त कान्तिपुरको पीडीएफ सित्तैमा हेर्न नमिल्ने भइसक्यो।

हाम्रो घरमा काठमाडौं पोस्ट, कान्तिपुर, नयाँ पत्रिका, अन्नपूर्ण पोस्ट र नागरिक धेरै वर्षदेखि नियमित आउँछन्। सबै पत्रिका लिन र पढ्न सम्भव नभएर मात्र हो, नत्र अरू पत्रिकाको अवमूल्यन गरेको होइन।

कहिलेकाहीँ कुनै पत्रिका आउँदैनन्। बिना पूर्वसूचना।

कहिले हकरको कारण, कहिले डेलिभरी गर्नेको कारण, कहिले पत्रिकाको आन्तरिक आन्दोलनका कारण।

केही दिन पत्रिका नआउनुलाई सामान्य मान्नुपर्‍यो। मानियो पनि। नगरिएर के गर्ने? सुनुवाइ हुने ठाउँ भए पो!

फेरि पाँच–दस रुपैयाँको पत्रिका दुई–चार दिन आएन भनेर कता उजुर गर्न जाने?

तर यसपालि असार–साउन–भदौमा के भयो कुन्नि, केही पत्रिका आउनै बन्द भए। जेठ–असारदेखि नै फाट्टफुट्ट बन्द हुन थालेका लक्षण थिए। भदौसम्ममा त पूरै बन्द।

पहिले नयाँ पत्रिका आउन छाड्यो। त्यसपछि नागरिक।

प्रकाशन त जारी छ। तर हाम्रो काँठमा डेलिभरी हुन छाडेको रहेछ।

नयाँ पत्रिकाले कम्तीमा इमानदारिता त देखायो

नयाँ पत्रिका नआएपछि स्थानीय वितरकलाई सोधेँ।

सुरुमा ‘भरेभोलि आउँछ’ भने। त्यसपछि आउनै छाड्यो।

कार्यालयमा फोन गरेँ। कर्मचारीले पनि प्रस्ट कुरा नगर्ने। ‘मिलाउँदै छौँ’ भनेर टार्ने।

दिन बित्दै गए।

अति भएपछि फेरि फोन गरेर भनेँ, ‘जे हो, सिधै भन्नुस् न।’

अन्ततः भने, ‘अब त्यता पत्रिका आउनेजस्तो छैन। तपाईंको बिलमा कति बाँकी छ हिसाब गरेर पैसा फिर्ता गरिदिन्छौँ।’

अरे बाबा, पैसा चाहिएको होइन। पत्रिका पठाइदिनुस् भनेको!

तर पत्रिका नआउने भएपछि के गर्ने?

रसिद हेर्दा लगभग वर्ष पूरा हुन लागेको रहेछ। दुई–तीन हप्ताको के हिसाब गर्नु भनेर चुप लागेर बसेँ।

हेर्नै परे अनलाइन ई-पेपर पनि पाइन्छ। विदेश जाँदासमेत निःशुल्क ई-पेपर हेर्न पाइएको थियो। त्यसका लागि नयाँ पत्रिकालाई धन्यवाद दिए पनि अलि बढी इमानदारिता देखाउनुपर्ने अपेक्षासहित यो प्रसङ्ग टुङ्ग्याएँ।

तर नयाँ पत्रिका बिदा लिने तरखरमा हुँदा नागरिक दैनिकले उहिल्यैदेखि लुकामारी खेल्न थालिसकेको थियो।

नागरिकको नागरिक सेवा : फोन उठाउने सुरक्षागार्ड !

किनकि सबैभन्दा अनियमित आउने पत्रिका यही थियो। यसपटक पनि अस्थायी बिराम होला भन्दाभन्दै निकै दिन बित्यो। पत्रिका आएन।

पहिला सोध्ने हकर भाइलाई नै हो।

‘पैसा नै दिएको छैन, त्यसैले नल्याएको,’ उनले भने।

यो नौलो कहानी थिएन। पहिलेजस्तै फेरि आउला नि त भन्दाभन्दै आउँदै आएन। हकर भाइले फोन उठाउनसमेत छाडे।

दुई हप्ता बितिसक्यो।

अब नागरिकको कार्यालयमै फोन गरेँ। बल्लबल्ल फोन उठ्यो।

ग्राहक सेवासम्बन्धी शाखामा फोन दिनुस् भन्दा उताबाट जवाफ आयो, ‘म यहाँको सेक्युरिटी गार्ड हुँ।’

लौ!

रिसेप्सनमा दिनुस् न त।

‘यहाँ अफिस यताउति परेको छ। अलि भद्रगोल छ। काम हुँदै छ। रिसेप्सन छैन। सिधै अफिसमा कसैको पनि फोन जाँदैन।’

अनि उनले यो विषय हेर्ने भन्दै तेजेन्द्र दाहालको मोबाइल नम्बर दिए।

लौ ठीकै छ।

दाहालजीलाई फोन गरेँ। मोबाइलको रेकर्ड हेर्दा भदौ १५ गते परेको रहेछ। धन्न! दोस्रो दिनको दोस्रो प्रयासमा फोन उठ्यो। दुई मिनेट कुराकानी भएछ। मैले समस्या राखेँ।

उनले भने, ‘त्यस्तो त हुन नपर्ने। म सोधपुछ गरेर मिलाउँछु।’

‘तपाईंहरूले पैसा नै दिएको छैन रे त हकरलाई, कसरी आउला पत्रिका?’

‘होइन, त्यस्तो हुँदैन। आउँछ। ढुक्क हुनुस्।’ लौ, यस्तो जिम्मेवार मानिसले भनेपछि त आउला नि!

तर अहिलेसम्म कुरेकै छु।

यो कुराइका बीचमा पटकपटक फोन गरेँ। तर अहँ, कहिल्यै उठाएनन्।

असोज ६ गते फेरि कार्यालयमै फोन गरेँ। अर्कै स्वरका गार्डले उठाए। समस्या सुनाएपछि भने, ‘सर भित्रै हुनुहुन्छ। उहाँसँग कुरा गर्नुस् न, म एक्स्टेन्सन जोडिदिन्छु।’

फेरि उस्तै।

पूरा रिङ जाँदासमेत फोन उठेन। पुनः गार्डले उठाए।

मैले भनेँ, ‘तपाईं आफैँ गएर भनिदिनुस् न त।’

त्यसो गर्न मिल्दैन रे!

‘अरू कसैलाई दिनुस् न। उहाँका माथिका वा मुनिका कोही होलान्। सम्पादक, पत्रकार, ज्ञवाली सर, म्याडमहरू होलान्। जसलाई भए पनि एकजनालाई दिनुस्।’

त्यसो पनि गर्न मिल्दैन रे!

‘यो हेर्ने भनेको उही दाहाल हुन्, अरू कोही छैनन्,’ भनेर टारे।

खासमा उनी असाध्यै इमानदार र नुनको सोझो गर्ने कर्मचारी परेछन्!

मैले छाड्ने छाँटकाँट नदेखेपछि उनले नै सल्लाह दिन थाले।

‘सर, खासमा रिङरोड बाहिर अब वितरण नगर्ने जस्तो बुझेको छु। बरु यतै अफिसमा आउनुस् न। आफैँ आएर भन्नुभयो भने बाँकी पैसा दिन सक्छन्। नत्र यहाँबाट पैसा फिर्ता दिने चलन छैन। फोनबाट त झन् हुँदै हुँदैन। अरू केहीले पनि त्यसै गरिरहेका छन्। आफैँ आएर बैंक खाता नम्बर दिनुस्।’

जुँगा चल्यो, कुरा बुझियो।

३,४०० तिरेको, १,७०० बाँकी, जवाफ शून्य

रसिद हेरेँ।

पोहोर माघमा ३ हजार ४ सय रुपैयाँ तिरेर नवीकरण गरेको रहेछु।

पत्रिका आउन बन्द भएदेखिको हिसाब गर्ने हो भने अझै झन्डै छ महिना बाँकी छ। अर्थात् सोझो हिसाबले करिब १ हजार ७ सय रुपैयाँ फिर्ता पाउनुपर्ने।

कुनै किसिमले पनि नागरिकका कर्मचारी वा व्यवस्थापनसँग कुरा गर्न नपाइने भयो।

ग्राहकसँग साक्षात्कार शून्य नै हुने गरी पूर्णतः ब्लक गरेर बसेको जस्तो लाग्यो।

अब गर्ने के त?

सम्झेँ– प्रेस काउन्सिल!

फोनमा कुरा भयो सूचना अधिकारी बोहोराजीसँग। मेरो कुरा सुनेपछि उहाँले भन्नुभयो, ‘प्रकाशित सामग्री वा समाचारले असर पारेको बाहेक यो कुरा हाम्रो कार्यक्षेत्रभित्र पर्दैन। सीडीओ वा उपभोक्ता अदालततिर पो जानुपर्ला। उतै सोध्नुस् न।’

लौ भनेर उपभोक्ता अदालतका सूचना अधिकारीसँग कुरा गरेँ।

उहाँले भन्नुभयो, ‘ठीकै छ, यो मुद्दाकै रूपमा अगाडि बढाउनुपर्छ। पत्रिकाको ग्राहक बनेको, डेलिभरी नभएको, सुनुवाइ नभएको प्रमाणसहित क्षतिपूर्ति माग गरेर मुद्दा हाल्नुस्। अनि हामी हेरिहाल्छौँ।’

अब सोच्न थालेँ।

१ हजार ७ सय रुपैयाँको मुद्दा हाल्न वकिल लगाउने? कति खर्च लाग्ला?

मुद्दा सकिन कति समय लाग्ला?

वकिल र अदालत कति धाउनुपर्ला?

झन्डै डेढ महिनाको तनावको र मुद्दामामिलाको समेत हिसाब गर्दा कति क्षतिपूर्ति माग्ने होला?

फेरि हारे के हुने होला?

जिते उनीहरू पुनरावेदन गर्न जालान्। त्यसपछि के हुने होला?

सोच्दै जाँदा यो त ‘पुच्छरले कुकुर हल्लाउने’ खालको देखियो।

पार लाग्ने पनि देखिनँ।

अस्ति भर्खर रसुवा बाढीपीडितलाई नगद र जिन्सी गरेर राम्रै रकम उपलब्ध गराइएको थियो। यी बिचरा गरिबले पनि १ हजार ७ सय खाऊन्, दान नै भो यिनलाई।

यतिले म धनी हुने हैन जस्तो लागेर त्याग्ने निधो गरेँ। तर त्याग्दा त्याग्दै आफ्नो अनुभव साझा गर्न मन लाग्यो।

यिनका मालिक, व्यवस्थापन र कर्मचारी मात्र होइन, पाठकहरू र आईपीओ जारी गर्ने पहिलो मिडिया हाउसका सेयरधनीले पनि थाहा पाऊन् भनेर।

यसमा कम्पनी बिगार्ने, सेयरधनीको नाफा घटाउने जस्तो कुनै दुराशय छैन। कम्पनीले उत्तरोत्तर प्रगति गरोस्। अरूलाई यस्तो नपरोस्।

नागरिकको मितव्ययिता : ग्राहक र लेखक दुवैलाई मार?

एउटा मिडियामा चासो राख्ने पाठकका नाताले मेरो अर्को अब्जर्भेसन छ।

पछिल्लो समय नागरिकले अँगालेको मितव्ययिता (austerity measure) को तरिका अन्य मिडियाभन्दा पृथक् देखिन्छ।

केही महिनाअघिसम्म प्रायः दैनिक पत्रिकाहरू कुपोषण लागेर दुब्लाउँदै गएर हाडछाला मात्रै बाँकी भएका थिए। अर्थात् छ–आठ पृष्ठभन्दा नबढ्ने।

आजकल अलिअलि पोषण पुगेजस्ता देखिन्छन्। तर नागरिक अझै फरक छ।

पहिलो त आइतबारको छपाइ नै बन्द। वार्षिक ग्राहकलाई आइतबारको पत्रिका नदिएबापत के कसरी क्षतिपूर्ति दिने हो, त्यसबारे पूर्णतः मौन।

दोस्रो, लेखकको पैसा बचाउने उद्देश्यले होला, विचार, अर्थ, शनिबारलगायतका पानाका लेख आधाउधी त घरकै लेखकले कभर गर्नुहुन्छ। अर्को आधीको आधी अरू म्याडमहरू र बाँकी एक चौथाइ अरू सरहरूले।

लेखकलाई पारिश्रमिक आजकल दिइन्छ कि दिइँदैन, थाहा छैन।

तर एकाध वर्षअघि लेखकलाई पारिश्रमिक दिन बन्द गरिएको थियो भन्ने अनुभव सुनेको थिएँ।

मेरा एक आफन्त छन्, जो पत्रपत्रिकामा बराबर लेख्छन्। चाहिए नाम पनि दिउँला।

उनी भन्दै थिए, ‘मेरा आठ–दसवटा लेखको पैसा नै दिएनन्। धेरैपटक सम्झाएँ। भरेभोलि भनेर टारे। त्यसपछि माया मारेँ र भन्नै छाडिदिएँ। गुणराज सम्पादक हुँदा उनीसँग प्रत्यक्ष भेटमा सम्झाउँदासमेत जवाफ नदिएरै टारे। कान्तिपुरले कहिल्यै त्यसो गरेन। त्यसैले नागरिकलाई लेख दिनै छाडेँ।’

त्यसैले होला, नागरिक व्यवस्थापनका म्याडमलाई अलि बढी लेख्नुपर्ने प्रेसर छ। यसो गर्दा पारिश्रमिक दिनुपरेन वा दिए पनि आफ्नै पोल्टामा पर्ने।

यी मेरा देखाइ, सुनाइ र अनुमान हुन्। वास्तविकता फरक हुन पनि सक्छ।

तर लेखकको पैसा र ग्राहकको पैसा दुवैमा मितव्ययिता देखिन थालेको हो भने कुरा गम्भीर छ।

अरूलाई जवाफदेहिता सिकाउने, आफू जवाफ नदिने?

साँच्चै भन्ने हो भने स्वतःस्फूर्त रूपमा नगरे पनि आफैँले सम्पर्क गर्दा नयाँ पत्रिकाले कमसेकम इमानदारिता देखायो।

तर नागरिकले?

अलि बढी नै गरेको छ।

यी यस्ता पत्रपत्रिका अरूको जवाफदेहिताको प्रश्न त बडो ठूला अक्षरमा उठाउँछन्। तर आफू जवाफदेही हुनुपर्ने कुरा चाहिँ बिर्सिन्छन्।

अरूलाई जवाफदेहिताको प्रश्न सोध्न जान्दछन्, तर आफू जवाफ दिन जान्दैनन्।

अरूले आफूलाई प्रश्न गर्ने बाटो थुनेर त्यसो गर्ने अधिकार आफूलाई मात्रै छ भन्ने मनोवृत्ति यिनमा देखिन्छ। कि चौथो अङ्ग भनिएकै आधारमा आफूले जवाफ दिनुपर्दैन भन्ने ठान्छन्?

यिनले दैनिक उठाउने सवालहरू हेर्ने हो भने पर्दापछाडि आफैँले यस्तो खेलो गर्लान् भनेर पत्याउनसमेत सकिन्न।

हामी पनि बुझ्छौँ। यो व्यापार पनि हो। नाफा गर्नुपर्छ। नत्र कसरी चल्ने? व्यवसाय व्यावसायिक रूपमा गर्नुपर्‍यो। तर अरूलाई अन्याय गरेर होइन।

हेक्का रहोस्, सबैलाई सधैँ मूर्ख बनाउन सकिँदैन। सधैँ सान्दर्भिक रहन र टिक्न आफू पनि बेलैमा सच्चिन र परिष्कृत हुनुपर्छ भन्ने कुरा समय घर्किनुअघि नै बुझ्नुपर्ला।

रिङरोड बाहिर पत्रिका पुर्‍याउनै हम्मे?

काठमाडौंमा सहर वा रिङरोड बाहिर डेलिभरी दिन नै हम्मे हुने हो भने नागरिक मात्रै होइन, एकसाथ चार, पाँच वा सातै प्रदेशबाट प्रकाशित हुन्छन् भनिएका अरू पत्रिकाको हालत के होला?

केही दिनअघि सुधीर शर्माले लेखेको सम्झिन्छु– काँकडभिट्टामा भारतीय पत्रिका पुग्छ, नेपाली पुग्दैन भनेर।

समस्या कहाँ होला? डेलिभरी खर्च नै उठाउन नसक्ने हो भने विकल्प सोच्नुपर्ने होइन?

हुन त आजकल हाम्रो घरमा आउने धेरै पाहुना अझै छापा पत्रिका आउँदै छ, अझै पत्रिकै पढ्दै हुनुहुन्छ भनेर आश्चर्यचकित हुने पनि बढ्दै छन्।

घरमा पत्रिका लिनेहरू पनि धेरै कम देख्छु म।

यस्तो अवस्थामा छापा पत्रिकाको भविष्य कति बाँकी छ होला? अनि दुःख चाहिँ अलिअलि बाँकी भएको छापालाई असामयिक मृत्युको मुखमा पुर्‍याउन छापा आफैँले आफ्नै हुर्मत लिँदै छ भन्दा अत्युक्ति नहोला।

बिक्तै नबिक्ने पत्रिकामा बम्पर छुट

उता “बिक्तै नबिक्ने पत्रिका” भनी नारा बनाएको स्वघोषित “लोकप्रिय राष्ट्रिय दैनिक” पत्रिका ‘राजधानी’ ले डेढ वर्ष अघि आफ्नो मूल्य एक्कै पटक ४००% बढाएर रु १० बाट रु ५० पुर्यायो । रु ५० मा कतिले कहिलेसम्म किने त्यो त थाहा भएन तर अहिले भने मूल्य रु ५० भनी प्रिन्ट भएपनि मूल्यको २०% मात्र तिरेर वा ८० % छुटमा रु १० मै बजारमा किन्न सकिन्छ ।

त्यसैले, पाठक/ग्राहकले ब्रोडशीट दैनिक पत्रिका मध्ये सबैभन्दा बढि आर्थिक फाइदा उठाउने हो भने यहि “बिक्तै नबिक्ने पत्रिका” रु ५० को साटो रु १० मात्र तिरेर गर्न सक्छन् ।

डिजिटल सदस्यताको अर्को रमाइलो कथा

अब अन्त्यमा अलिकति डिजिटल पत्रिकाको कुरा गरौँ।

कान्तिपुरले पनि गत महिनादेखि ‘वान कान्तिपुर’ बनायो। यो बन्नुभन्दा केही हप्ताअघि मात्रै छापा पत्रिका नवीकरण गरेको थिएँ।छापाका यथावत् ग्राहकलाई निःशुल्क डिजिटल पहुँच दिने भनेर लेखेको थियो।

होला त नि भनेको, त्यसो होइन रहेछ।

डिजिटल पहुँचका लागि पुरानाले अवधि थपेर वा नयाँ डिजिटल सदस्यता १ हजार २ सय रुपैयाँमा खरिद गर्नुपर्ने रहेछ। आफूले ३ हजार ४ सय रुपैयाँमा वार्षिक ग्राहक नवीकरण गर्नेबित्तिकै पत्रिकाको भाउ दोब्बर भएको थियो।

डिजिटलका लागि अर्को १ हजार २ सय थप्नु पूरा शुल्क ६ हजार ८ सयभन्दा त सस्तै पर्‍यो भनेर चित्त बुझाएँ।

खाली सूचना दिँदा दोहोरो तरिकाले नदिएको भए हुने भन्ने गुनासो रह्यो।

कान्तिपुर, काठमाडौं पोस्ट र अन्य प्रकाशनका ई-पेपर वर्षौँअघिदेखि विदेशबाट समेत चाहिएको बेला हेरेको थिएँ। कान्तिपुरले डिजिटल संस्करणलाई सशुल्क गर्नु उसले दिने गुणस्तरसँग तुलना गर्दा दुःख मनाउ गर्नुपर्ने कारण चाहिँ म देख्दिनँ।

अरू पत्रिकाले दैनिक बढीमा दुईवटा लेख–विचार छाप्दा कान्तिपुरले चार–पाँचवटा छाप्छ। विभिन्न विषयगत विचारहरूले राम्रो ठाउँ पाएका देखिन्छन्।

त्यसैले बढेको शुल्क तिर्न कन्जुस्याइँ गर्नुपर्ने देख्दिनँ। तर डिजिटलमा पैसा तिरेर राम्रो अनुभव चाहिँ खासै भएको छैन।

पछिल्लो समय सेतोपाटीको पनि वार्षिक ग्राहक बनेको थिएँ। तर नबनेकाले केही ‘मिस’ गर्नुपर्ने जस्तो लागेन। पैसा तिरेर केही विशेष पाइयो भन्ने दाबी गर्न सकिनँ। सानै सही, रकम चाहिँ गयो जस्तो महसुस भयो।

सेतोपाटीले पैसा तिर्ने ग्राहकलाई कस्तो विशेष वा एक्स्क्लुसिभ सामग्री दियो? मैले खासै अनुभव गर्न पाइनँ।

सम्भवतः उसले सदस्यता कार्यक्रम नै बन्द गरिसकेको छ। सेतोपाटीबाटै विश्वास उडेको कारण उकेराको चाहिँ सदस्यता लिइनँ।कान्तिपुरको चाहिँ कन्टेन्टले उत्प्रेरित गर्‍यो।

हेरौँ, कस्तो गर्छ।

पैसा तिर्ने पाठक आखिर कहिलेसम्म ठगिने?

पुरानो कुरा पनि सम्झिन्छु।

‘समय’ म्यागेजिनको वार्षिक ग्राहक बनेको केही समयपछि पत्रिका बन्द भयो। पछि दैनिक वा अरू अखबार छापेपछि त्यसैमा मिलाउँछौँ भनेर सूचना निकालियो। तर त्यो दिन कहिल्यै आएन।

फिर्ता नगरिएको त्यो पैसा चलाउनेहरू आज निकै धनी भए होलान्। तिनले बिर्से होलान्, मजस्ताले छैन। हिमाल, नेपालजस्ता अरू साप्ताहिक म्यागेजिनको पनि त्यही हालत भयो।

बन्द हुने, छापिने क्रम जारी रहने रहेछ। तर धेरैथोर मूल्य चाहिँ हामी पाठकले चुकाउनुपर्ने रहेछ।

उनीहरूले ठगेनन्, तर हामी ग्राहक चाहिँ ठगियौँ भन्नुपर्ला।

अनि सबैभन्दा रमाइलो कुरा त के भने, यो सब भइरहेको छ तिनै मिडियामा, जसले दिनहुँ अरूलाई जवाफदेहिता, सुशासन, पारदर्शिता र उपभोक्ताको अधिकारबारे पाठ पढाउँछन्।

आफ्नै ग्राहकले पैसा तिरेर किनेको पत्रिका माग्दा फोनसमेत उठाउन नसक्ने मिडियाले अरूलाई कुन नैतिक धरातलबाट प्रश्न सोध्ने?

पत्रिका नआउनु समस्या हो। तर त्योभन्दा ठूलो समस्या हो– नआउनुको कारण नसुनाउनु।

पैसा फिर्ता नदिनु समस्या हो। तर त्योभन्दा ठूलो समस्या हो– पैसा तिरेको पाठकको प्रश्नको जवाफसमेत नदिनु।

अनि यस्तो व्यवहारबाट वाक्क भएर बचेका पाठकले पनि छापा पत्रिका पढ्न छाडे भने फेरि दोष कसलाई दिने?

इन्टरनेटलाई? फेसबुकलाई? युट्युबलाई? कि पाठकलाई?

१ हजार ७ सय रुपैयाँ माया मार्न सकिएला। तर पाठकले विश्वास नै माया मारिदिए भने?

त्यसको हिसाबचाहिँ कुनै मिडियाको लेखा शाखाले निकाल्न सक्दैन।

[email protected]

(Disclaimer : फिचर्ड इमेज र ब्लग सम्पादनमा एआईको सहयोग छ)

 

1 thought on “छापा पत्रिकालाई डिजिटल प्रविधिले मार्दैछ कि पत्रिका आफैँले?”

  1. दीन श्रेष्ठ says:
    October 15, 2026 at 9:23 am

    लेखहरु अलि छाेट्याउनु पर्ला कि ? धेरै लामाे हुँदा अत्यास लाग्छ र बीचमै छाेड्न पाे वाध्य हाेइन्छ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme