Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

संस्थापकको अन्तिम ब्लग

Posted on October 12, 2026October 12, 2026 by सुशील कार्की

म माइसंसारबाट अलग भएँ, तर माइसंसारको यात्रा रोकिँदैन

२२ वर्षदेखिको साथ। हजारौँ ब्लग। असङ्ख्य सम्झना। अनि आज एउटा यस्तो निर्णय, जुन गर्न मलाई सजिलो थिएन।

कहिलेकाहीँ जीवनमा यस्तो मोड आउँदो रहेछ, जहाँ आफूले सबैभन्दा माया गरेको चिजबाटै केही समयका लागि टाढिनुपर्ने हुन्छ।

आज म त्यही मोडमा उभिएको छु।

मैले माइसंसार छाड्ने निर्णय गरेको छु।

तर नआत्तिनुस्, माइसंसार बन्द हुन लागेको होइन। माइसंसार चलिरहनेछ। बरु एउटा नयाँ यात्राको सुरुवात हुँदैछ। 

सन् २००५ मा माइसंसार सुरु गर्दा मैले सोचेको पनि थिइनँ, यो मेरो जीवनको यति ठूलो हिस्सा बन्ला भनेर।

त्यतिबेला न अहिलेको जस्तो सामाजिक सञ्जाल थियो, न हातहातमा स्मार्टफोन। आफ्ना कुरा राख्ने ठाउँ सीमित थिए। अरूले नलेखेका कुरा लेखौँ, अरूले नदेखाएका कुरा देखाऔँ, आफ्ना अनुभव बाँडौँ भन्ने रहरबाट सुरु भएको थियो माइसंसार।

बिस्तारै यो मेरो मात्र रहेन।

माइसंसारमा लेख्ने साथीहरू थपिए। कमेन्टमा बहस गर्नेहरू थपिए। कहिले सहमति, कहिले असहमति। कहिले प्रशंसा, कहिले गाली। कहिले एउटा ब्लगले ठूलै बहस जन्माउँथ्यो, कहिले कमेन्टमा लेखिएका कुराले मलाई नै नयाँ कुरा सिकाउँथे।

माइसंसारका पाठकहरू पाठक मात्र थिएनन्। उनीहरू यसका सहयात्री थिए।

मेरो आफ्नै जीवनमा पनि कति परिवर्तन आए। जागिर फेरिए। जिम्मेवारी फेरिए। खुसीका दिन आए, दुःखका दिन आए। तर यी सबैका बीच एउटा कुरा लगभग निरन्तर रह्यो- माइसंसार।

कहिले राति अबेरसम्म बसेर ब्लग लेखेँ। कहिले बिहान उठ्नेबित्तिकै पहिलो चिन्ता आज के लेख्ने भन्ने हुन्थ्यो। कतै यात्रा गर्दा पनि पाठकसँग के बाँड्न सकिन्छ भन्ने सोचिरहन्थेँ।

माइसंसार मेरो दैनिकी थियो। बानी थियो। कतिपय अवस्थामा त मनका कुरा पोख्ने साथी पनि थियो।

त्यसैले होला, यसबाट टाढिने कल्पना पनि सजिलो थिएन।

अनि जीवनमा एउटा आँधी आयो

पछिल्लो दुई वर्षदेखि माइसंसार नियमित हुन सकेन।

नियमित पाठकहरूले पक्कै याद गर्नुभएको होला। कुनै बेला दिनमै धेरैवटा ब्लग आउने ठाउँमा कैयौँ दिनसम्म नयाँ ब्लग आउन छाडे।

किन यस्तो भयो भन्ने कुरा पुराना पाठकहरूबाट लुकेको छैन।

व्यक्तिगत जीवनमा केही यस्ता परिस्थिति आए, जसको मैले कहिल्यै कल्पना गरेको थिइनँ। ती परिस्थितिले मेरो समय मात्र खोसेनन्, लेख्ने ऊर्जा र मनस्थिति पनि खोसे।

तीन वर्ष बितिसक्दा पनि ती विषयको टुङ्गो लागिसकेको छैन।

कहिलेकाहीँ आफ्नै जीवनको कथा आफैँलाई पत्याउन गाह्रो हुँदो रहेछ।

माइसंसारमा अरूका कथा लेख्ने मान्छे आफ्नै जीवनको कथा लेख्न नसक्ने अवस्थामा पनि पुग्दो रहेछ।

तर समयसँगै एउटा कुरा सिकेँ- सबै समस्या समाधान भएपछि मात्र बाँच्न थाल्छु भनेर हुँदैन रहेछ। समस्याहरू सँगसँगै रहँदा पनि बाँच्न सिक्नुपर्ने रहेछ। हाँस्न सिक्नुपर्ने रहेछ। अगाडि बढ्नुपर्ने रहेछ।

मैले पनि बिस्तारै त्यही सिकेँ।

यो बीचमा माइसंसारलाई नियमित बनाउन नसकेकोमा पाठकहरूसँग माफी माग्न चाहन्छु। कतिपयले के भयो, किन लेख्न छाडेको भनेर सोध्नुभयो। कतिपयले फेरि नियमित लेख्न आग्रह गर्नुभयो।

ती सन्देशहरूले मलाई सधैँ सम्झाइरहे- माइसंसारलाई माया गर्ने मान्छेहरू अझै हुनुहुँदो रहेछ।

नयाँ जिम्मेवारी, पुरानो माया

यसैबीच गएको असार २९ गते मैले प्रेस काउन्सिल नेपालको अध्यक्षको जिम्मेवारी सम्हालेँ।

यो मेरो जीवनको बिल्कुलै नयाँ अध्याय हो।

दुई दशकभन्दा बढी समय मिडिया र पत्रकारितासँग जोडिएर काम गरेको मान्छे अहिले त्यही क्षेत्रको आचारसंहिता अनुगमन गर्ने नियामक निकायको नेतृत्वमा पुगेको छ।

नयाँ जिम्मेवारीमा अभ्यस्त हुँदै गर्दा माइसंसारको चिन्ता भने मनबाट हटेको थिएन।

२२ वर्षदेखिको सम्बन्ध थियो। यत्तिकै कसरी बिर्सन सकिन्थ्यो र?

सुरुमा सोचेँ- आफ्ना अनुभव र अनुभूति त लेख्न सकिन्छ नि। ब्लग लेख्नै किन छाड्नुपर्‍यो?

तर फेरि अर्को प्रश्नले मलाई रोक्यो।

माइसंसारका धेरै ब्लग मिडियासँगै सम्बन्धित हुन्थे। कुनै समाचारको समीक्षा, कुनै पत्रकारिताको प्रवृत्तिमाथि टिप्पणी, कुनै सञ्चारमाध्यमको गल्तीमाथि प्रश्न।

अब म आफैँ मिडियाको नियामक निकायको नेतृत्वमा छु।

एकातिर नियामकको कुर्सीमा बसेर निर्णय गर्ने, अर्कोतिर आफ्नै ब्लगमा मिडियाबारे टिप्पणी गर्ने- के यो उचित हुन्थ्यो?

मलाई लाग्यो, हुँदैन।

आफूले वर्षौंदेखि अरूलाई पारदर्शिता, जवाफदेहिता र नैतिकताको कुरा सिकाउने प्रयास गरेको छु भने त्यो कुरा आफ्नै हकमा पनि लागू गर्न सक्नुपर्छ।

कानुनले के गर्न दिन्छ वा दिँदैन भन्नेभन्दा पनि आफ्नो विवेकले के गर्न उचित ठान्छ भन्ने कुरा महत्त्वपूर्ण लाग्यो।

तर निर्णय गर्न सजिलो थिएन।

एउटा कुर्सीको जिम्मेवारी निश्चित अवधिका लागि हुन्छ। माइसंसारसँगको सम्बन्ध त जीवनको ठूलो हिस्सा बनिसकेको छ।

धेरै दिनसम्म म यही द्विविधामा रहेँ।

अन्ततः एउटा निर्णयमा पुगेँ।

प्रेस काउन्सिल नेपालको अध्यक्षको जिम्मेवारीमा रहुन्जेल म माइसंसारको सम्पादकीय जिम्मेवारीबाट पूर्ण रूपमा अलग रहनेछु।

यतिसम्म कि भोलि मैले कुनै ब्लग लेखेँ भने पनि त्यो स्वतः प्रकाशित हुने छैन। नयाँ सम्पादकले पढ्नेछन्, सम्पादन गर्नेछन् र प्रकाशनयोग्य ठाने मात्र प्रकाशित गर्नेछन्।

माइसंसारमा मेरो नाम भएर मात्र कुनै सामग्रीले विशेष सुविधा पाउने छैन।

भन्न सजिलो छ। तर आफूले जन्माएको, हुर्काएको र २२ वर्षसम्म आफ्नै हातले चलाएको ब्लगको सम्पादकीय अधिकार अर्कैलाई सुम्पिने कुरा भावनात्मक रूपमा सजिलो थिएन।

तर मलाई लाग्यो, माइसंसारलाई साँच्चै माया गर्छु भने यसलाई मबाट स्वतन्त्र हुन पनि दिन सक्नुपर्छ।

तर कसलाई सुम्पिने?

निर्णय त गरेँ। तर अब अर्को अप्ठेरो आयो।

माइसंसारको जिम्मा कसलाई दिने?

यो कुनै ठूलो व्यापारिक संस्था होइन। न यहाँ ठूलो कार्यालय छ, न कर्मचारीको लर्को। यो त पाठकहरूको विश्वासले टिकेको एउटा ब्लग हो।

त्यसैले मलाई केवल लेख्न जान्ने मान्छे चाहिएको थिएन। माइसंसारको आत्मा बुझ्ने मान्छे चाहिएको थियो।

असहमतिलाई सम्मान गर्न सक्ने, सार्वजनिक सरोकारका विषयमा प्रश्न गर्न सक्ने र कसैको दबाबमा नपरी सम्पादकीय निर्णय लिन सक्ने साथी चाहिएको थियो।

त्यस्तो साथी खोज्नु सजिलो थिएन।

लामो समयसम्म मैले उपयुक्त पात्र भेट्टाउन सकिनँ। आज भने खुसीका साथ भन्न सक्छु- मैले त्यो साथी भेट्टाएको छु। उनी हुन्, सुशील कार्की।

माइसंसारका पुराना पाठकहरूका लागि यो नाम नयाँ नहुन सक्छ। माइसंसारका सुरुवाती दिनदेखि नै उनी ‘सुबिक कार्की’ र कहिलेकाहीँ ‘भक्तपुरे’ नाममा ब्लग लेख्थे। अर्थात् उनी माइसंसारमा बाहिरबाट आएका नयाँ मान्छे होइनन्। माइसंसारको सुरुवाती यात्राकै एक सहयात्री हुन्।

सामाजिक, कानुनी तथा सार्वजनिक सरोकारका विषयमा लेख्न रुचाउने उनका लेख विभिन्न अनलाइन र छापा पत्रपत्रिकामा प्रकाशित छन्।

पेसाले अधिवक्ता उनी विशेषगरी सार्वजनिक सरोकारका मुद्दामा वकालत गर्दै आएका छन्। संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायसँग आबद्ध भएर नेपालसहित अफ्रिका, युरोप र मध्यपूर्वका विभिन्न मुलुकमा काम गरेको अनुभव पनि उनीसँग छ।

तर यी सबै योग्यताभन्दा मेरा लागि महत्त्वपूर्ण कुरा अर्को छ। उनले माइसंसारको सुरुवाती समय देखेका छन्। यसको स्वभाव बुझेका छन्। यसको यात्रा चिनेका छन्। मलाई विश्वास छ, उनले माइसंसारको मौलिक पहिचान जोगाउँदै यसलाई नयाँ समयअनुसार अगाडि बढाउन सक्नेछन्।

अब माइसंसारको सम्पादकीय निर्णय उनकै हुनेछ।

कुन विषयमा लेख्ने, के प्रकाशन गर्ने, के नगर्ने, कसको लेख स्वीकार गर्ने, कसको नगर्ने- यी सबै विषयमा उनी स्वतन्त्र हुनेछन्। म यसमा हस्तक्षेप गर्ने छैन। मेरो विचारसँग उनको विचार नमिल्न पनि सक्छ। माइसंसारमा मेरो आलोचना हुने सामग्री पनि आउन सक्छ।

आउनुपर्छ।

किनभने कुनै पनि सञ्चारमाध्यमको वास्तविक स्वतन्त्रता त्यसले आफ्नै संस्थापकसँग समेत असहमत हुन सक्ने अवस्थामा देखिन्छ।

माइसंसार अब तपाईंहरूकै जिम्मामा

यो ब्लग लेखिरहँदा मनमा अनौठो अनुभूति भइरहेको छ। २२ वर्षमा माइसंसारमा कति कुरा लेखिए होलान्? कति मान्छेका कथा आए होलान्? कति बहस भए होलान्? कतिले माइसंसारबाट पहिलोपटक कुनै विषय थाहा पाए होलान्। कतिले यहाँ कमेन्ट गरेर पहिलोपटक सार्वजनिक रूपमा आफ्ना विचार राखे होलान्।

कतिले मलाई चिने, कतिले मन पराए, कतिले मन पराएनन्।

तर ती सबै मिलेर बनेको हो माइसंसार।

कहिलेकाहीँ सोच्छु, २००५ मा सुरु गरेको एउटा सानो ब्लगले दुई दशकभन्दा लामो यात्रा तय गर्ला भनेर कसले सोचेको थियो होला? त्यो सम्भव भएको तपाईंहरूकै कारणले हो। माइसंसार मैले सुरु गरेको हुँ। तर यसलाई यहाँसम्म ल्याउने तपाईंहरू हुनुहुन्छ।

त्यसैले आज म सम्पादकीय जिम्मेवारी छाड्दै गर्दा सबैभन्दा ठूलो भरोसा पनि तपाईंहरूमाथि नै छ।

नयाँ सम्पादकलाई साथ दिनुहोला। लेख पठाउनुहोला। कमेन्ट गर्नुहोला। गल्ती भए औँल्याइदिनुहोला। राम्रो काम भए हौसला दिनुहोला।

माइसंसार कसैको व्यक्तिगत प्रशंसाको मञ्च नबनोस्। कुनै शक्ति वा संस्थाको पक्षमा उभिनुपर्ने बाध्यतामा नपरोस्। प्रश्न गर्ने, तथ्य खोज्ने र फरक विचारलाई ठाउँ दिने स्वतन्त्र थलो बनिरहोस्।

मेरो चाहना यत्ति हो।

अन्त्यमा…

आज यो निर्णय सार्वजनिक गर्दा अलिकति दुःख लागेको छ। तर त्योभन्दा बढी मन हलुका भएको छ।

आफूले यति लामो समयसम्म सम्हालेको जिम्मेवारी विश्वासिलो हातमा सुम्पन पाउनु पनि एउटा सन्तोष रहेछ।

माइसंसारमा मेरा अक्षरहरू केही समय कम देखिएलान्। मेरो नियमित उपस्थिति नहोला। तर यसका हरेक पुराना पानामा मेरो जीवनका थुप्रै वर्षहरू जोडिएका छन्।

ती सम्झनाहरू कहाँ जान्छन् र?

कुनै दिन प्रेस काउन्सिलको जिम्मेवारीबाट मुक्त भएपछि फेरि पहिले जसरी स्वतन्त्र भएर ब्लग लेख्ने दिन पनि आउला।

अहिलेका लागि भने माइसंसारलाई एउटा नयाँ यात्राका लागि शुभकामना दिन चाहन्छु। सन् २००५ मा पहिलोपटक ब्लग लेख्दाको उत्साह सम्झिरहेको छु। त्यो उत्साह आज नयाँ सम्पादक र नयाँ पुस्ताका लेखकहरूमा सरोस्।

यति लामो समयसम्म साथ दिनुहुने, गल्तीमा खबरदारी गर्नुहुने, अप्ठेरोमा हौसला दिनुहुने र माइसंसारलाई माया गर्नुहुने सबैप्रति म ऋणी छु।

म माइसंसारबाट अलग भएको हुँ। माइसंसारप्रतिको मेरो माया अलग भएको होइन।

आखिर माइसंसार भनेकै मेरो संसार मात्र कहाँ थियो र?

यो त तपाईंहरूको पनि संसार थियो।

र, रहिरहनेछ।

माइसंसारको यात्रा जारी छ।

– उमेश श्रेष्ठ (सालोक्य)

 

माइसंसारको यात्रा जारी छ।
ब्लग पठाउने इमेल [email protected]
माइसंसारको सम्पादकीय जिम्मेवारी लिने साथीको फेसबुक facebook.com/sushilkarki

 

4 thoughts on “संस्थापकको अन्तिम ब्लग”

  1. विष्णुबाबु says:
    November 3, 2026 at 7:59 pm

    ऊ बेलाको कुरै बेग्लै थियो । माईसंसार हेरेपछि मोटामोटी घटनाक्रमहरुबारे थाहा पाईन्थ्यो, ज्ञानगुनका नयाँ कुराहरु थपिन्थे । तर अब धेरै श्रोतहरु छन् । यूट्युब, टिकटक र रिलहरुमा लगभग सबै कुरा आईहाल्छन् । नियमित हेरिने माईसंसार वर्षौंपछि याद आएर हेर्दैछु मैजस्तो नियमित पाठक पनि । अब ब्लगहरुको जमाना गयोजस्तो लाग्छ मलाई चाहिं ।

    Reply
  2. Devi Prasad Ghimire says:
    October 13, 2026 at 10:02 am

    माइसंसारसँगको सम्बन्ध केवल एउटा ब्लग पढ्ने सम्बन्ध मात्र होइन, यो त वर्षौंदेखिको वैचारिक यात्रा र आत्मीयताको सम्बन्ध हो। सन् २००५ देखि आजसम्म माइसंसारले नेपाली अनलाइन पत्रकारिता र सचेत पाठक निर्माणमा पुर्‍याएको योगदान सधैँ स्मरणीय रहनेछ। उमेश श्रेष्ठ (सालोक्य) जी, तपाईंले सुरु गर्नुभएको यो यात्राले हामीजस्ता पुराना पाठकलाई धेरै कुरा सोच्न, बुझ्न र प्रश्न गर्न सिकाएको छ। आज सम्पादकीय जिम्मेवारी हस्तान्तरण गर्नुभएको निर्णयमा तपाईंको इमानदारी, नैतिकता र संस्थाप्रतिको सच्चा माया झल्किन्छ। सुशील कार्की जीलाई नयाँ जिम्मेवारीका लागि हार्दिक शुभकामना। माइसंसारको मौलिकता, स्वतन्त्रता र प्रश्न गर्ने साहस अझ सशक्त हुँदै जाओस्। संस्थापकको भूमिका परिवर्तन भए पनि तपाईंको लेखनी फेरि पढ्न पाइने आशा जीवितै छ। माइसंसार हिजो पनि हाम्रो थियो, आज पनि हाम्रो हो र भोलि पनि हाम्रो साझा वैचारिक चौतारी बनिरहोस्। ❤️

    Reply
  3. कार्की बि says:
    October 13, 2026 at 7:28 am

    बास्तबमै माईसंसारले तत्कालिन समयमा बिदेशमा छरिएर रहेका नेपालिहरुलाई सुचनाको बलियो बिकल्प र बिश्वासिलो गन्तब्य बनाएको थियो र जस्को भरपूर आनन्द लिने पाठकहरु मध्ये म पनि थिएँ भन्दा गर्वले आंङ्ग सिरिङ्ग हुन्छ ती दिन सम्झदा।सालोक्यले भन्नू भए झै ती पाठक मध्ये धेरैको भुमिका र जिम्बेवारी निश्चितैरुपमा परिवर्त्न भएकैछ।तर माईसंसार मानसपटलमा ताजै रहेकोछ।ब्यबस्था परिवर्तनलाई परदेशियका नेपालिले कसरी मुल्यांकन गर्दैछन र के चाहन्छन भन्ने बुझ्न माईसंसार टहलिए सहजै बुझ्न सकिन्थ्यो।म त भन्छु सामाजिक संजालले छोपेको बर्तमान अबस्थाको नेपाली पाराको सुरुवात माईसंसारले उतिबेलै गरेको थियो।कमेन्टिय द्वन्द,मिठास र अर्को ब्लगको पर्खाईको सकारात्मक मानसिक सकृयताले धेरैको मानसिक जीवनमा कायापलट त नभनौ विश्लेषण र आलोचनात्मक चेतको भरपुर बिकाशमा सकृय योगदान दिएको भुल्नु हुदैन।
    अहिले पनि तत्कालिन समयका कमेन्टकर्ता सहपाठिहरु संम्झदा खुसिको अनुभूति हुन्छ जो संग जीबनमा कहिल्यै भेट नभएपनी।तसर्थ माईसंसारको पहिलो कालखण्डको ती पात्रहरुको कमेन्टमा रहेको नाम र कमेन्टहरु संकलन गरि प्रकाशन गर्नु भएमा ती मित्रहरु पुलकित हुनेथिए।भलै ती सबै हाल माईसंसारबाट विभिन्न कारणले टाढा भएका होलन र पुन जोडिने पुल बनोस माईसंसारको एक ब्लग।
    धन्यवाद

    Reply
  4. Rishi A. says:
    October 13, 2026 at 1:10 am

    उमेशजी, मैले पनि माइसंसार (मेरो संसार) शुरुवाती दिनदेखि नै पढ्थे। विशेषगरी हामी विदेशमा रहेका नेपालीहरुको त भेटघाट मा हुने छलफलमा पनि माइसंसार को ब्लग को बारेमा हुन्थ्यो। कहिल्यै कुनै ब्लग छुटाइएन। मन् नपरेका लेखहरू स्मृतिमा छैनन्।
    आजकल जस्तो फेसबुक थिएन, माइसंसार मै गएर पढिन्थ्यो। अहिले अल्छि भइयो, फेसबुकबाटै हेरिन्छ, वेबसाइट त हेर्नै छोडियो।

    तपाईंको लगनशीलता र निष्पक्षता लाई जति बखान गरेपनि कम् हुन्छ। विगत दुई चार वर्ष देखि परेका अप्ठ्याराहरू लाई पार गर्दै अगाडि बढ्ने शक्ति मिलोस्, अनि माइसंसार मा तपाईंका लेखहरू, प्रेस काउन्सिल को प्रमुख को हैसियतमा, हामीले पनि पढ्न पाइयोस्।
    अनि सुबिक जी लाई हृदय देखि शुभकामना।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme