Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

परदेश गएपछि हुने रोमिङको लफडा

Posted on July 11, 2026July 11, 2026 by Salokya

देश छाडेर परदेश लागेपछि सबैभन्दा पहिले टुट्ने कुरा के होला?

घरको खाना? नेपाली भाषा? चिनजानका मान्छे?

होइन, सबैभन्दा पहिले टुट्ने त मोबाइलको इन्टरनेट कनेक्सन पो रहेछ।

नेपालबाट विमान उडुन्जेलसम्म मोबाइलमा इन्टरनेट हुन्छ। विमान अवतरण गरेपछि भने मोबाइलको स्क्रिनमा नेटवर्कको साटो अनेकथरी अपरिचित नाम देखिन थाल्छन्।

एयरपोर्टले फ्री वाइफाइ दिएको हुन्छ नि भन्ने लाग्न सक्छ। तर एयरपोर्टको फ्री इन्टरनेटमा धेरै भर पर्नु पनि ठीक हुँदैन।

उदाहरणका लागि, यस पटक युरोप जाँदा मैले दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा लामो ट्रान्जिट बिताउनु परेको थियो। त्यहाँको इन्टरनेट चल्थ्यो। वेबसाइट खुल्थ्यो, मेसेज पनि जान्थ्यो। तर ह्वाट्सएप वा फेसबुक मेसेन्जरबाट अडियो र भिडियो कल भने गर्न नमिल्ने।

कुन देशमा कुन एप चल्छ, कुन सेवा रोकिएको छ, कहाँ कस्तो नियम छ, यात्रा गर्नुअघि सबै कुरा थाहा पाइराख्न पनि सम्भव हुँदैन।

त्यसो भए विदेश पुगेपछि मोबाइलमा इन्टरनेट चलाउने कसरी त?

सामान्यतया दुई वटा उपाय हुन्छन्।

पहिलो, पुगेको देशमै स्थानीय सिम किन्ने।

दोस्रो, नेपालमै चलाइरहेको मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ एक्टिभ गर्ने।

तर यस पटकको मेरो युरोप यात्रामा मैले तेस्रो उपाय पनि प्रयोग गरेँ इसिम।

गुगल म्याप नभए परदेशमा बिजोग

मैले यो यात्राका क्रममा सोसल मिडियामा प्रशस्तै फोटो र भिडियो अपलोड गरेँ। तर विदेशमा डेटा चाहिने मुख्य कारण फेसबुकमा फोटो हाल्नु मात्र होइन रहेछ।

अन्जान सहरमा कता जाने?  कुन बस चढ्ने? कुन स्टेसनमा ओर्लिने? होटल फर्किने बाटो कुन हो? हिँडेर जाँदा कति समय लाग्छ?

यी सबै प्रश्नको जवाफका लागि गुगल म्याप नभई नहुने।

गुगल म्यापको नक्सा पहिल्यै डाउनलोड गरेर अफलाइन पनि चलाउन सकिन्छ। तर समस्या के भने अफलाइन म्यापले गाडी चलाउने बाटो त देखाउला, पैदल हिँड्ने र सार्वजनिक यातायातको वास्तविक समयअनुसारको बाटो राम्रोसित देखाउँदैन।

युरोपमा म धेरै ठाउँ पैदलै घुमेँ। कहिले बस, कहिले मेट्रो, कहिले रेल। त्यसैले मोबाइलमा इन्टरनेट हुनु विलासिता होइन, आवश्यकता नै थियो।

एनटिसी कि एनसेल?

म नेपालमा दुई वटा मोबाइल अपरेटरका सिम चलाउँछु, नेपाल टेलिकम र एनसेल।

दुवैको अन्तर्राष्ट्रिय रोमिङबारे बुझ्दा एनसेलको प्रक्रिया अलि सहज लाग्यो।

एनसेलको सिममा अन्तर्राष्ट्रिय रोमिङ चलाउन खासै झन्झटिलो प्रक्रिया अपनाउनु नपर्ने रहेछ। नेपाल टेलिकममा भने रोमिङ एक्टिभ गर्न पाँच हजार रुपैयाँ ब्यालेन्स हुनुपर्ने प्रावधान रहेछ।

आखिर सेवा प्रयोग गरेअनुसार पैसा काट्ने हो। त्यसका लागि ब्यालेन्समा पाँच हजार रुपैयाँ नै किन हुनुपर्ने? एनटिसीले यस्तो हदबन्दी किन लगाएको हो, बुझिनँ।

त्यसका बाबजुद मैले एनटिसीको रोमिङ पनि एक्टिभ गरेर गएको थिएँ।

कारण थियो ओटीपी।

नेपालका बैंक, वालेट वा अन्य सेवाबाट कहिलेकाहीँ मोबाइलमा आउने ओटीपी अत्यन्तै आवश्यक हुन्छ। रोमिङ एक्टिभ नभए विदेशमा त्यस्ता एसएमएस नआउन सक्छन्। रोमिङमा इनकमिङ एसएमएसका लागि सामान्यतया पैसा नलाग्ने भएकाले एनटिसीको सिम ओटीपीका लागि काम लाग्यो।

तर रोमिङबाट फोन गर्न वा डेटा चलाउन खोज्यो भने चाहिँ खल्तीले नधान्ने !

म जान लागेको लिथुआनियामा एनटिसीबाट ५०० एमबी डेटा तीन दिनका लागि लिन एक हजार रुपैयाँ लाग्ने रहेछ।

एनसेलमा चाहिँ ६३३ रुपैयाँ ९३ पैसामा २४ घण्टाका लागि एक जीबी हाइस्पिड डेटा र त्यसपछि कम गतिमा अनलिमिटेड डेटा पाइने रहेछ।

एनटिसीको तुलनामा एनसेल सस्तो देखिए पनि नेपाली यात्रुका लागि त्यो पनि खासै सस्तो होइन। अझ समस्या प्याकेजको अवधि २४ घण्टा मात्र।

एक दिन सकियो, जति डेटा बाँकी भए पनि सकियो। खेल खत्तम पैसा हजम।

आयोजकले दिएको तीन जीबी

यस पटक म लिथुआनियामा ग्लोबलफ्याक्ट सम्मेलनमा सहभागी हुन गएको थिएँ। सम्मेलनको आयोजक इन्टरनेसनल फ्याक्ट-चेकिङ नेटवर्क (आईएफसीएन)ले सहभागीका लागि तीन जीबी निःशुल्क मोबाइल डेटाको व्यवस्था गरेको रहेछ।

ग्लोबलफ्याक्टका मुख्य प्रायोजकमध्ये एक थियो नोर्ड भीपीएन। यही कम्पनीको अन्तर्राष्ट्रिय यात्रामा डेटा चलाउन मिल्ने इसिम सेवा रहेछ Saily।

मैले यसअघि कहिल्यै इसिम चलाएको थिइनँ।

इसिम भनेपछि कुनै प्राविधिक झन्झट होला, सेटिङ मिलाउन नसकेर हैरान भइएला भन्ने लागेको थियो। धन्न मेरो मोबाइलले इसिम सपोर्ट गर्ने रहेछ।

एप डाउनलोड गरेँ। इसिम इन्स्टल गरेँ। केही सेटिङ मिलाएँ।

बस्, चलिहाल्यो।

न प्लास्टिकको सिम खोज्नुपर्ने, न विमानस्थलको पसलमा लाइन बस्नुपर्ने, न पुरानो सिम निकालेर नयाँ सिम हाल्नुपर्ने। दुई चार क्लिकमै चलिहाल्ने रहेछ।

तीन जीबीले पाँच दिन मज्जाले पुग्यो

लिथुआनियामा मेरो पाँच दिनको बसाइ थियो। त्यसका लागि तीन जीबी डेटा दिइएको थियो।

होटलमा वाइफाइ थियो। कार्यक्रमस्थलमा पनि वाइफाइ थियो। त्यसैले मोबाइल डेटा बाटोमा हिँड्दा, गुगल म्याप हेर्दा, कुनै ठाउँको बारेमा जान्न खोज्दा मात्र हैन, कहिलेकाहीँ त भिडियो अपलोड गर्न पनि चलाएँ।

तीन जीबीले मज्जाले पुग्यो।

त्यही इन्टरनेटको भरमा नजानेका ठाउँमा एक्लै टाढाटाढासम्म घुम्न गएँ। कुन बाटो कता जाने, फिल्म हल कता छ, घुम्नै पर्ने ठाउँ कता हो, त्यहाँ जाने कसरी, खुट्टा दुख्यो होटल फर्कन- उबर बोलाउने कसरी- सबै मोबाइलमै हेर्न पाइयो।

लिथुआनियाबाट फर्किने बेलासम्म त केही एमबी डेटा बाँकी नै थियो।

तर त्यसपछि अर्को समस्या आयो।

त्यो निःशुल्क तीन जीबी डेटा लिथुआनियाभित्र मात्र चल्ने रहेछ। मेरो यात्रा भने त्यतिमै सकिनेवाला थिएन।

लिथुआनियापछि जर्मनी, बेल्जियम, लक्जमबर्ग हुँदै फ्रान्ससम्म पुग्ने योजना थियो।

अब के गर्ने?

सात दिनका लागि एक जीबी

Saily को एप खोलेर हेर्दा एउटा देशका लागि मात्र होइन, पूरै युरोप क्षेत्रमा चल्ने प्याकेज पनि रहेछ। सात दिनसम्म चल्ने एक जीबी डेटाको मूल्य ४.९९ अमेरिकी डलर। मैले किन्दाको विनिमय दरअनुसार त्यो झन्डै ७६२ रुपैयाँ पर्न आयो।

झट्ट हेर्दा एनसेलको ६३३ रुपैयाँभन्दा यो महँगो देखिन्छ। तर एनसेलको प्याकेज २४ घण्टामात्र चल्ने। यसको अवधि चाहिँ सात दिन।

डेटा जोगाएर चलाउने हो भने सात दिन चल्ने प्याकेज नै फाइदाजनक लाग्यो।

त्यसैले किनेँ।

यो ५जी नेटवर्कमा पनि चल्ने रहेछ। आवश्यक परे मोबाइलबाट हटस्पट बनाएर ल्यापटप वा अर्को फोनमा पनि इन्टरनेट बाँड्न मिल्ने।  एनसेलको रोमिङ प्याकेजमा चाहिँ हटस्पट चलाउन नमिल्ने थियो।

अरू बेला होटल, क्याफे, कार्यक्रमस्थल र साथीहरूको घरको वाइफाइ चलाएँ। बाहिर निस्कँदा र बाटो खोज्नुपर्दा मात्र मोबाइल डेटा अन गरेँ।

यसरी जोगाएर चलाउँदा त्यो एक जीबी डेटाले के-कति ठाउँ धान्यो थाहा छ?

जर्मनी धान्यो।

बेल्जियम धान्यो।

लक्जमबर्ग धान्यो।

फ्रान्ससमेत धान्यो।

अर्थात्, चार देश घुम्दा पनि एक जीबी सकिएन।

फेसबुक र टिकटकमा लगातार भिडियो हेर्ने हो भने एक जीबी केही घण्टामै सकिन सक्छ। तर गुगल म्याप, मेसेज, इमेल, टिकट र अत्यावश्यक जानकारीका लागि मात्र प्रयोग गर्ने हो भने थोरै डेटाले पनि लामो यात्रा धान्न सक्ने रहेछ।

विदेश जाँदै हुनुहुन्छ भने…

तपाईँ पनि छोटो विदेश यात्रामा जाँदै हुनुहुन्छ र तपाईँको मोबाइलले इसिम सपोर्ट गर्छ भने स्थानीय सिम खोज्ने वा महँगो रोमिङ प्याकेज लिने विकल्पसँगै इसिमको मूल्य पनि तुलना गर्न सक्नुहुन्छ।

विशेष गरी एकभन्दा बढी देश घुम्ने योजना छ भने पूरै क्षेत्र समेट्ने इसिम प्याकेज उपयोगी हुन सक्छ।

तर किन्नुअघि आफ्नो मोबाइलमा इसिम सपोर्ट हुन्छ कि हुँदैन, कुन-कुन देशमा प्याकेज चल्छ, कति दिन मान्य हुन्छ र कति डेटा पाइन्छ भन्ने चाहिँ राम्ररी हेर्नुस्। मूल्य र सुविधा समयअनुसार परिवर्तन हुन सक्छन्।

Saily मा रिफरल योजना पनि रहेछ। मेरो रिफरल कोड UMESHE9327 प्रयोग गर्नुभयो भने तपाईँले पहिलो खरिदमा पाँच अमेरिकी डलर छुट पाउन सक्नुहुने रहेछ।

यसका लागि सुरुमा Saily को एप डाउनलोड गर्नुपर्छ।

एप्पलको एप स्टोरबाट डाउनलोड गर्न यता क्लिक गर्नुस्।

एन्ड्रोइडको प्ले स्टोरबाट डाउनलोड गर्न यता क्लिक गर्नुस्।

अन्त्यमा एउटा कुरा—

विदेश यात्रामा पासपोर्ट, पैसा र टिकटजत्तिकै महत्त्वपूर्ण भइसकेछ मोबाइलको इन्टरनेट पनि।

किनभने पैसा भएर पनि बाटो थाहा भएन भने के गर्नु?

पासपोर्ट बोकेर पनि होटल फर्किने बाटो भेटिएन भने के गर्नु?

अनि गुगल म्यापले गलत दिशातिर घुमाइदियो भने चाहिँ इसिमलाई दोष नदिनुस् है! 🙂

🙏 ब्लग मन पर्‍यो? निरन्तरता चाहनुहुन्छ?

मलाई मोमो किनिदिन सहयोग गर्न सक्नुहुन्छ 👇


🍜 Buy Me Momo

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme