यो लिथुआनिया यात्राको कथा कम, भिसा यात्राको कथा बढी हो।
नेपालफ्याक्टचेक इन्टरनेसनल फ्याक्ट चेकिङ नेटवर्क (IFCN) को सिग्नेटरी बनेपछि पनि विभिन्न कारणले विश्वभरका फ्याक्ट चेकरहरूको वार्षिक सम्मेलनमा सहभागी हुन पाइएको थिएन। सारायभोमा भएको सम्मेलनमा त प्रस्तुतिका लागि छनोट भएर पनि अन्तिममा जान सकिएन। त्यसैले यसपालि भने धेरै पहिलेदेखि नै योजना बनाएको थिएँ। सम्मेलन हुने देश थियो– लिथुआनिया।
सम्मेलन लिथुआनियामा थियो, तर यात्रा दिल्लीबाट सुरु भयो।
त्यति धेरै मैले याद नगरेको देश रहेछ। त्यसैले भिसा प्रोसेस के हो पनि बुझ्न सकिएन। यस्तो अवस्थामा गर्ने भनेको गुगल सर्च नै हो। खोज्दै जाँदा नेपालमा यो देशको एम्बेसी नै रहेनछ। एक जना अवैतनिक दूत त रहेछन्। तर वेबसाइटमा भएको सम्पर्क फोनमा जति गर्दा पनि कल लागेन। अरु युरोपेली देशमा जस्तो VFS ले नै प्रोसेसिङ गर्ने भन्ने बुझेपछि काठमाडौँको छायाँ सेन्टरमा रहेको VFS को कार्यालयमा पुगेँ।
त्यहाँका गार्डलाई सोध्दा थाहा भयो, पहिले लिथुआनियाको त्यताबाट हुँदो रहेछ। अहिले भने नहुने रे। दुई वर्ष जति भइसक्यो रे बन्द भएको। गुगलमा खोज्दा लिथुआनियाको भिसा काठमाडौँको VFS बाट हुने भन्ने समाचारहरु पनि भेटिए। तर किन बन्द भयो र कहिलेदेखि बन्द भयो भन्ने विषयमा भने कुनै जानकारी भेट्टाउन सकिएन।
थप सोधखोज गर्दा थाहा भयो, दिल्लीमा गएर नै भिसाको आवेदन बुझाउनु पर्ने रहेछ। एउटा देशमा जान अर्को देशमा गएर भिसा निवेदन दिनु पर्ने ! कति झण्झट !!
एक त दिल्लीमा अहिले चर्को गर्मी, त्यसमाथि युद्धको कारण इन्धन भाउ आकासिएकोले हवाई टिकट पनि महँगो भएको बेला। तर के गर्नु ! नियम त्यस्तै रहेछ। नेपाल मात्र हैन बंगलादेशीहरुले पनि दिल्लीमा नै आउनु पर्ने रहेछ।
एउटा अनलाइन फर्म पनि भर्नु पर्ने रहेछ। त्यसपछि अनेक डकुमेन्टहरु जुटाउनु पर्ने झण्झट बेग्लै। बल्ल बल्ल डकुमेन्ट जुटाएर अनलाइन फर्म भरियो लिथुआनियाको दिल्लीस्थित दूतावासबाट आवेदन भर्ने भनी।
यसका लागि दिल्लीस्थित नेपाली दूतावासले पनि सहयोग गरिदियो। लिथुआनियाको दूतावासले त्यताको VFS बाट निवेदन दिन भन्यो। तर VFS को अप्वाइन्टमेन्ट पाउन भने फेरि अर्को महाभारत रहेछ। सबै मिति प्याक !
धन्न दूतावासको सहजीकरणले आफूले भनेको एउटा मिति पाइयो। भिसा आवेदनभन्दा पहिले नै आधा यात्रा पूरा भएको अनुभूति हुन थाल्यो।

एयरपोर्ट पछि एअर इन्डियाको प्लेन अगाडि गरिने चेकिङ पार गरेर प्लेनमा बसी दिल्लीको चर्को गर्मी खान पुगियो। भोलिपल्ट सब डकुमेन्ट बोकेर VFS कार्यालयमा गइयो। त्यहाँ फेरि एक्सप्रेस सर्भिस भनेर धेरै पैसा तिर्नेलाई छिटो सुविधा दिने रहेछ। मैले नर्मल नै गर्छु भनेँ।
लिथुआनियाको डेस्कमा गएर डकुमेन्ट बुझाउँदा अर्को आपत आइलाग्यो। म रुन मात्र सकिनँ। त्यति हैरान भइयो।
भएछ के भने अनलाइन फाराम भर्दा “VFS” छान्नुपर्नेमा मैले “Embassy” मा टिक लगाएको रहेछु।
कहिलेकाहीँ सबैभन्दा ठूलो समस्या एउटा सानो टिकमार्कले बनाइदिन्छ।
डेस्ककी नानीले फेरि फर्म भर्नुस् नआत्तिकन भनेर राम्रै मुखले सम्झाइन्। समस्या के पर्यो भने सेक्युरिटी टाइट हुने भएकोले ल्यापटप लिएर नजा भनेर एआईले सुझाएको मानेर डकुमेन्ट मात्र बोकेर गएको थिएँ। अब सब फर्म फेरि भर्नुपर्ने त्यो पनि मोबाइलबाट। इन्टरनेट पनि नदिने रहेछ त्यहाँको। धन्न मैले एनसेलको रोमिङ लिएर गएको थिएँ। त्यो चलाएर फर्म भर्न थालेँ।
वेबसाइट भर्खरै नयाँ अपडेट भएको भनेर भन्दै थिइन् ती नानी। समस्या के भने लिथुआनियाली भाषा मैले नबुझ्ने, त्यहाँ अङ्ग्रेजीको अप्सन नभएको। भर्यो, भर्यो – सबमिट नहुने। किन नभएको भनेर एक डेढ घण्टापछि बल्ल पत्ता लाग्यो- पहिलेको डिलिट नगरी नहुने रहेछ। बल्ल बल्ल पहिलेको डिलिट गरी फेरि भर्न थालियो। लिथुआनिया भाषा नबुझेपछि के भनेको भनेर अर्को ब्राउजर खोलेर गुगलमा ट्रान्सलेट गरी गरी भरियो।

भर्ने क्रममा बीचमा गायब हुने, राम्रोसित लोड नभएर अप्सनहरु नदेखिने भएर झण्डै रुन परेको थियो।
बल्ल बल्ल फर्म सबमिट भयो। अब त्यो प्रिन्ट गर्नुपर्ने रहेछ। धन्न प्रिन्ट गर्ने सुविधा त्यहाँ रहेछ। १५० रुपैयाँ लाग्छ भनेर भन्यो। लौ त नि भनेँ। तर त्यहाँ नगद दिन नपाइने रहेछ Cash is not allowed here भने। विकल्प paytm गर्ने रहेछ जुन नेपालबाट आएकासित हुने कुरै भएन। भारतीयहरु नेपाल आएर क्युआर पेमेन्ट सजिलै गर्न सक्छन्। तर हाम्रो भने म त्यहाँ जाँदासम्म त्यो सुविधा थिएन।
एक जनाको मोबाइलबाट तिरेर त्यसलाई क्यास दिने भए हुन्छ भन्यो। तर त्यसका लागि चाहिँ २५० दिनु पर्ने रे। मरता क्या नहीँ करता। लौ त नि भनेर २५० दिएर प्रिन्ट लिएँ।
अब ११ हजार चानचुन भिसा प्रोसेसिङ खर्च तिर्नुपर्ने रहेछ। कार्डबाट तिर्दा हुन्छ भनेर सोध्दा इन्टरन्यासनल कार्ड चल्दैन रे। मेरो नेपाली ब्याङ्कको कार्ड नेपाल र भुटानमा चल्छ भनेर लेखेको छ भनेर भन्दा पनि भएन।
धन्न पर्समा आइसी बोकेको रहेछु। त्यही तिरेँ। अनि बायोमेट्रिक्स दिएपछि काम सकियो।
त्यसपछि मेरो मनमा एउटा प्रश्न भने अझै बाँकी रह्यो।

यदि अन्तिम निर्णय दूतावासले नै गर्ने हो र आवेदन संकलन मात्र VFS ले गर्ने हो भने काठमाडौंको VFS बाटै किन नहुने?
अथवा नेपालका अवैतनिक वाणिज्यदूतलाई कम्तीमा आवेदन संकलन गर्ने अधिकार दिए पनि त नागरिकलाई यस्तो दुःख हुँदैनथ्यो।
अर्काको देश हो। उनीहरूले आफ्नो सुविधा अनुसार व्यवस्था बनाउने नै भए। तर हाम्रो कूटनीतिक निकायले कम्तीमा नेपाली नागरिकलाई सहज हुने गरी पहल गर्न सक्दैनथ्यो र?
किनभने यो सेवा पहिले काठमाडौंमा थियो, पछि बन्द भएको रहेछ।
जे होस्, धेरै दौडधुप, तनाव र धैर्यको परीक्षा पार गरेपछि अन्ततः भिसा आयो र अहिले म युरोप यात्रामा छु। यो ब्लग युरोपमा हुँदा नै लेखेको हुँ।
केही यात्राले ठाउँ चिनाउँछन्, केही यात्राले प्रणाली। यसपालि मैले युरोपभन्दा पहिले एउटा भिसा प्रणालीलाई नजिकबाट चिनेँ।
पासपोर्टमा एउटा भिसा थपिएको छ। तर अनुभवमा एउटा नयाँ अध्याय।
यात्राका बाँकी कथा फेरि अर्को ब्लगमा।
(नोट : फिचर इमेज एआईबाट तयार पारिएको हो)

Nepali ho ni, yeti dukha nakhai kaha nai po pugincha ra! 🙂
Salokya sir,
Nepal may nai VFS kholna process gar vanera Nepal government lai vannu parlaa jasto 6.