हार्दिक श्रद्धाञ्जलि,
हुवावे
६ वर्षको साथ · बिदाइ
धेरै प्रयास गरेँ। चार्जर फेरें, केबल फेरें, डकमा राखेर पनि हेरेँ, सिस्टम रिकभर गर्ने अप्सनसम्म पुगेँ। तर अब स्वीकार्नै पर्ने भयो कि आशा सकियो।
६ वर्षसम्म मेरो दिनचर्याको हिस्सा बनेको त्यो मोबाइलले अन्ततः साथ छाड्यो।
हुनत यो संसारमा केही पनि स्थायी छैन भन्ने कुरा हामी सबैलाई थाहा छ। सब अनित्य ! तर थाहा हुनु र भोग्नु दुई फरक कुरा रहेछन्। अझ त्यस्तो बेला, जब सबैभन्दा धेरै चाहिएको हुन्छ। कुनै संकेत नै नदिई एकाएक बन्द भइदियो।
मान्छेले त “म जान्छु” भनेर जान्छ, यसले त्यो पनि गरेन।सन् २०२०। नयाँ वर्षको सुरुवात।
दीपक भट्टराईको निम्तो मान्न म्यान्मार घुमेर फर्कँदै गर्दा ट्रान्जिटमा परेको सिंगापुरमा किनेको थिएँ यो Huawei को मोबाइल। त्यतिबेला शायद थाहा थिएन, यो केवल एउटा ग्याजेट मात्र हैन, मेरो जीवनको धेरै अध्यायहरूको साक्षी बन्नेछ।
त्यसबीचमा संसार नै बदलियो। COVID-19 pandemic आयो। लकडाउन आयो। शहर सुनसान भयो। त्यो सुनसान सडकहरूमा खिचिएका फोटोहरू त्यसैले कैद गर्यो, त्यो मोबाइलले।
साँच्चै भन्ने हो भने, यसको क्यामेरा यस्तो गजबको थियो कि मैले आफ्नो DSLR झोलामा राखेर बोक्नै छाडेँ। कुनै बेला ठूलो लगानी गरेर किनेको DSLR, त्यसपछि घरमै “बेरोजगार” जस्तो भयो।
DSLR लाई बेरोजगार बनाउने मोबाइल — सानो कुरा हो र?
कोरोनाले दुईपटक आक्रमण गर्दा, आइसोलेसनको कोठामा एक्लै बस्दा त्यो मोबाइल नै साथी थियो। मानिससँग नभेट्दा पनि संसारसँग जोड्ने एउटा झ्याल थियो।
त्यो मोबाइलसँगै मैले धेरै कुरा लेखेँ। धेरै कुरा बोलेँ। धेरै कुरा रेकर्ड गरेँ।
कहिल्यै कसैलाई नदेखाउने, तर आफैलाई सधैं काम लाग्ने नोटहरू। अचानक दिमागमा आएका विचारहरू। भविष्यका योजना। अधुरा ड्राफ्टहरू। अधुरा सपनाहरू। आज ती सबै एकैचोटि हराए।
गए ती नोटहरू जुन कहिल्यै कसैलाई देखाउने थिइनँ, तर आफैलाई चाहिँ सधैं काम लाग्थे।मोबाइल बन्द हुनु भनेको आजको समयमा केवल एउटा डिभाइस बिग्रनु मात्र होइन रहेछ। त्यो त एउटा डिजिटल पहिचान नै गुमाउनु जस्तै रहेछ। Facebook, X, इमेल — सबैमा राखिएको टू-फ्याक्टर अथेन्टिकेसन। अथेन्टिकेटर एपहरू। ब्याकअप कोडहरू कता गए, कहिले हराए, थाहा नै भएन।
डिजिटल परिचय बोकेर गयो — पासपोर्ट हराएजस्तै भयो।बैंकिङ एपहरू त झन् अझ कडा। डिभाइस परिवर्तन भयो भने — पासवर्ड थाहा भएर पनि काम नलाग्ने।
सोच्दा अचम्म लाग्छ — हामीले एउटा सानो डिभाइसमा कति धेरै “आफू” राखेका हुन्छौँ। मोबाइल मात्र बन्द भएन… मेरो जिन्दगीको एउटा ठूलो हिस्सा नै अचानक log out भयो।
यति लामो समयसम्म साथ दिएकोमा,
कहिल्यै गुनासो नगरी काम गरेकोमा,
मेरो सम्झनाहरू सुरक्षित राखेकोमा…
धन्यवाद।