माइसंसार · यात्रा
२२ औँ वर्षमा
पाइला टेकिँदा
22
कहिलेकाहीँ नलेखिएको कथा नै
सबैभन्दा ठूलो कथा हुन्छ।
सन् २००५ को अप्रिल ६ — जानी नजानी सुरु भएको एउटा ब्लगको यात्रा। आज ढिला गरी सम्झिँदा थाहा भयो, त्यो दिन आजै रहेछ। अर्थात् माइसंसारले २१ वर्ष पूरा गरेर २२ औँ वर्षमा पाइला टेकेको छ।
यो यात्रा केवल पोस्टहरूको संख्या होइन, समयसँगै बदलिँदो जीवन, अनुभव र भोगाइको दस्तावेज पनि हो।
तर यो वर्ष… स्वीकार्नै पर्छ— उपलब्धिको हिसाबले कमजोर रह्यो। ब्लग सुरु भएयताको सबैभन्दा निष्क्रिय वर्ष। अघिल्लो वर्ष ४७ पोस्टमै सीमित भएको थियो, यसपटक त्यो पनि घटेर ४४ मा झर्यो। जुलाई, जनवरी, फेब्रुअरी—पूर्ण मौन। अक्टोबर, नोभेम्बर, डिसेम्बर—पाहुना पोस्टले मात्र “शून्य” हुनबाट जोगाएको महिना।
लेख्न नसक्नु केवल आलस्य थिएन, त्यो भित्रैको अव्यक्त अवस्था थियो—जहाँ शब्दभन्दा भारी पीडा हुन्छ।
समस्या उस्तै छ। कानुनी झमेला सकिने टुङ्गो छैन। नलिएको ऋणको भारी टाउकोमा छ। जिल्ला अदालतको गत जेठको फैसला — त्यो एउटा मोड थियो, जहाँ शब्दहरू नै रोकिए। बारम्बार फैसला पढ्दा एउटै प्रश्न उठिरह्यो—
तर प्रश्नहरूको जवाफ नआउँदा कहिलेकाहीँ मान्छे लेख्न पनि सक्दैन।
त्यसमाथि सेप्टेम्बरको जेनजी आन्दोलन— गोली, आगजनी, मृत्युका दृश्यहरू… पहिल्यै अस्थिर मनलाई झन् हल्लाउने। हल्का सक्रिय हुन खोज्दा पनि फेरि पाँच महिनाको मौनता। त्यो मौनता केवल ब्लगमा थिएन—मनमै थियो।
तर समय फेरि घुम्यो। निर्वाचनपछि मतगणनाको चहलपहल सुरु भयो। त्यही बीचबाट फेरि केही शब्दहरू फर्किए। जस्तो सुकै भए पनि—बाँच्न बानी पर्दै गएको छ।
अनि भएको के थियो?
मेरो जीवनको कथा मैले ब्लगमै सक्ने जति पोखेको छु, किनभने मलाई ब्लग नै परिवार जस्तो लाग्छ।
वार्षिक पोस्ट संख्या · २१ वर्ष
"कहाँ हराएँ म?"
जहाँ सबै कुरा भत्किँदै थियो। परिवार, अर्थ, सम्बन्ध—सबै। आफ्नै जीवन "सस्पेन्स, थ्रिलर, हरर" जस्तो लाग्ने अवस्था।
८२ दिनको मौनता
जहाँ बाहिर शान्त देखिए पनि भित्र ठूलो चीत्कार चलिरहेको थियो। डिप्रेसन, एन्जाइटी, असन्तुलन… र अन्ततः एउटा स्वीकृति—औषधि, थेरापी र सहयोग कमजोरी होइन, बाँच्ने प्रयास हुन्।
"माइनसको मान्छे"
जहाँ कानुनी निर्णयले जीवनलाई शून्यभन्दा तल, "माइनस" मा पुर्यायो। नलिएको ऋण, गुमेको घर, चर्किएको अस्तित्व… र एउटा कडा सत्य—पीडाको कुनै जेंडर हुँदैन, तर त्यसको आवाज सधैँ सुनिँदैन।
अन्तिम कुरा
यो वर्ष ब्लग कम लेखियो।
तर जीवनले धेरै लेख्यो।
आज मसँग धेरै छैन—
तर एउटा कुरा छ, जुन सुरुमा पनि थियो र अझै बाँकी छ—
बाँच्ने आँट।
त्यही आँट लिएर माइसंसार २२ औँ वर्षमा प्रवेश गरेको छ।
कृपया मलाई आशीर्वाद दिनुस्, यो वर्ष सक्रिय हुन सकुँ। कृपया मलाई फेसबुक मेसेज, इमेल वा ह्वाट्सएप मा अहिले झैँ गरी उत्साह बढाउने सन्देशहरुबाट साथ दिइरहनुस्। किनभने यो वर्ष अघिल्ला वर्षभन्दा उपलब्धिमूलक बनाउनु छ।
