शनिबार साहित्य
प्रशंसिका
सेता कपाल अब पातलिन पनि थाले । आँखाका छेउमा समयले रोपेका मसिना धर्साहरू उमेरका मूक साक्षी थिए । त्यसमाथि अहिले लगाउन थालेको पावरको चस्माले अझ बढी गम्भीर देखाउँथ्यो मलाई । किताबको आवरणमा छापिने श्याम–श्वेत तस्बिरको युवा “मनमोहन” अब मभित्र कतै थिएन; समयले उसलाई धेरै अघि नै धुमिल बनाइ सकेको थियो ।
पाठकहरूका लागि म अब केवल “मृदुल” थिएँ—शब्दभित्र बस्ने, शब्दमै सीमित रहने एउटा नाम । त्यो छद्म नामभित्र शरीर, अनुहार, विगत—ती सबै अनावश्यक विवरणजस्तै भएका थिए ।
मेरो पछिल्लो उपन्यास “मनको कुनो” मा पहिलोपटक आफ्नो इमेल ठेगाना छाप्न दिएको थिएँ । पुस्तक बजारमा पुगेको केही दिनमै सन्देशहरूको ओइरो लाग्यो । प्रशंसा, आलोचना, सुझाव, भावुकता—सबै मिसिएका ।
तर तीमध्ये एउटा सन्देशले मलाई अस्वाभाविक रूपमा तान्यो ।
“अर्पिता… ।” नाम पढ्नेबित्तिकै मनको कुनै बन्द कोठाको झ्याल आफैँ खुलेझैँ भयो । वर्षौँअघिको एउटा कक्षाकोठा, चक र धूलाम्मे ब्ल्याकबोर्ड, झ्यालबाट छिरेको दिउँसोको घाम—सबै एकाएक उज्याला भए ।
ऊ छैंठौं कक्षामा भर्ना हुन आएकी थिई । घुम्रिएका छोटा कपाल, गम्भीर आँखा । धेरै नबोल्ने, तर पढाइमा तीक्ष्ण । केही समयमै ऊ शिक्षकहरूको मात्र होइन, सहपाठीहरूको पनि केन्द्र बन्न थाली ।
म उसलाई टाढैबाट नियाल्थेँ । समूहमा हुँदा ऊ सहज सबैसँग हाँसेर कुरा गर्थी । एक्लै भेटिएको बेला भने उसको मुस्कानमा अलि गहिरो शान्ति हुन्थ्यो—जसको अर्थ म बुझ्न चाहन्थेँ, तर बुझ्ने साहस जुटाउँदिनथेँ ।
त्यो वर्ष ऊ कक्षामा प्रथम भई । एकदिन थाहा भयो—उसको बुवाको सरुवा भयो र उसले स्कूल छोड्ने भई । विदाइका दिन उसका आँखामा आँसु थिए कि थिएनन्, अहिले सम्झना भएन । तर मेरा भने आँखा रसाएका थिए । त्यस दिनपछि ऊ समयको भीडमा हराई—तर मेरो स्मृतिबाट भने कहिल्यै हटिन ।
स्मृतिको कुनो
के यो इमेल पठाउने अर्पिता उही हो ? यो प्रश्नले मलाई धेरै दिनसम्म सतायो । यदि उही भए पनि, उसले मलाई चिन्न सक्ने सम्भावना थिएन । म त वर्षौँदेखि “मृदुल” थिएँ—आफ्नै नामबाट निर्वासित ।
लेखुँ कि नलेखुँ — धेरै दिनको दोधारपछि मैले छोटो जवाफ फर्काएँ । धन्यवाद सहित आएको उसको प्रत्युत्तर लामो थियो—उत्साहले भरिएको, आत्मीयताको न्यानोले ओतप्रोत ।
ती शब्दहरू पढ्दा मनमा अनौठो कम्पन भयो । यस्तो लाग्यो, ऊ केवल पाठक र प्रशंसिका मात्र होइन, कुशल समीक्षक पनि थिई । उसका हरेक इमेलमा मेरा लेखाइको विश्लेषण हुन्थ्यो । मैले ख्यालै नगरेका कुरा पनि औंल्याएको देख्दा लाग्थ्यो—ऊ मेरा किताबहरू पढिरहेकी मात्र हैन, तीभित्र बाँचिरहेकी पनि थिई ।
महिनौं बित्दै गए । एकदिन एउटा इमेलमा उसले अलि फरक कुरा लेखी —
ती शब्दहरू पढ्दा औंलाहरू किबोर्डमाथि रोकिए । थरथर काँपे । असोजको पानी — ठ्याक्कै त्यही महिना जब उसले स्कूल छोडेकी थिई ।
“के तिमी उही अर्पिता हौ ?” — सोध्न मन लाग्यो । तर म लेख्दिनथेँ । लेख्न डराउँथेँ — कतै आउने उत्तरले मभित्र बुनिंदै गरेको सपना चकनाचुर पारिदिन्छ कि भनेर ।
बिस्तारै उसका इमेलहरू मेरो दिनचर्याको हिस्सा बन्दै गए । जीवनसँग थाकिसकेको मनलाई ती सन्देशहरूले सानै भए पनि उज्यालो आश्रय दिन थाले ।
कहिलेकाहीँ मनमा प्रश्न आउँथ्यो — के म अर्पितालाई खोज्दैछु, कि आफ्नो हराएको युवावस्थालाई ? त्यो प्रश्नको उत्तर खोज्ने साहस पनि जुटाउँदिनथेँ ।
एकदिन उसका इमेलहरू आउन बन्द भए । अचानक आएको त्यो मौनताले अनौठो खालीपन जन्मायो । दुई तीन दिन कुरेपछि छोटो सन्देश पठाएँ — केवल एउटा प्रश्नचिन्ह । केही दिनपछि जवाफ आयो — ऊ बिरामी परेकीले लेख्न नसकेकीमा माफी मागेकी थिई । नजानिँदो गरी आँखा रसाए ।
त्यसपछि उसले भेट्ने प्रस्ताव राखी । कल्पनामा बाँचेकी अर्पितालाई यथार्थको उज्यालोमा उभ्याउन चाहेको थिइनँ मैले । उसले भने हरेक इमेलमा भेट्ने आग्रह दोहोर्याइरही । अन्ततः राजी हुन बाध्य भएँ ।
जावलाखेलको एउटा क्याफेमा दुई बजे भेट्ने सहमति भयो । आउँदा मेरो उपन्यास “अल्पबिराम” पनि साथै ल्याउने कुरा लेखी उसले ।
जावलाखेलको क्याफे
म समयभन्दा अगाडि नै पुगेँ । कफीको बास्ना, हल्का सङ्गीत, वरिपरि अपरिचित अनुहारहरू । टेबुलमा राखिएको कफी चिसिँदै थियो — म पिउन सकिरहेको थिइनँ ।
मनभित्र अनौठो उत्साह थियो, उत्सुकता, रोमान्च र डर मिश्रित भाव — के म अधुरो प्रेमलाई भेट्न जाँदैछु, कि आफ्नो बितेको समयलाई ?
ठीक दुई बजे कुर्ता–सुरुवाल लगाएकी एक युवती भित्र छिरी । ऊ अलि नर्वस देखिन्थी । चारैतिर सरसर्ती नजर दौडाई ऊ मेरो छेउको टेबुलमा बसी । कफी अर्डर गर्दै उसले ब्यागबाट एउटा किताब निकालेर टेबुलमा राखी ।
त्यो मेरो उपन्यास “अल्पविराम” थियो — पानाहरू यति धेरै पल्टाइएका थिए कि कभर कुप्रिएको थियो, कुनै कुनाका पाना मोडिएका थिए । वर्षौँको माया त्यो किताबका थिचिएका पानाहरूमा थियो ।
मुटु जोडले धड्कियो ।
हेर्दा आकर्षक देखिए पनि ऊ मेरो कल्पनाभित्र स्मृतिमा बाँचेकी घुम्रिएको कपालकी अर्पिता थिइन । मनभित्र वर्षौँदेखि सुरक्षित राखिएको एउटा आशा बिस्तारै भत्किँदै गयो — आवाज नगरी, धुलो नउडाई ।
हठात् उठूँझैँ लाग्यो । तर कुर्सीबाट उठिहाल्न पनि सकिनँ । पत्रिका पल्टाएँ र देखाउन खोजें, मानौँ म कसैको प्रतीक्षामा थिइनँ ।
ऊ भने ढोकातिर हेरिरही । कहिले घडी, कहिले मोबाइल, कहिले वरपरका अनुहारहरूमा उसले नजर दौडाइरही । रित्तिंदै फर्कने प्रत्येक पल उसको अनुहारबाट उज्यालो खस्कन्थ्यो ।
केही बेरपछि ऊ काउन्टरमा उभिई । उसले किताब देखाउँदै केही सोधी । जवाफमा म्यानेजरले दायाँ बायाँ टाउको हल्लायो ।
हाम्रा आँखा जुधे । तर त्यो दृष्टिमा कुनै भाव थिएन । उसको लागि, म अर्को टेबुलमा बसेको एक अपरिचित पुरुष मात्र थिएँ ।
ऊ मलाई खोजिरहेकी थिइन — ऊ खोजिरहेकी थिई त्यो लेखक, जसका शब्दहरूमा ऊ आफूलाई भेट्थी, आत्मियता पाउँथी ।
अर्पिता अझै त्यहीं थिई — उदास मनले दोस्रो कफीको चुस्की लिँदै, सायद अझै केही आशा बाँकी थियो उसमा ।
उसको मलिन अनुहारको पीडाले मलाई पनि छोयो । आफ्नो परिचय दिएर उसको प्रतिक्षाको अन्त्य गर्न सक्थें म । तर त्यसो गर्नु भनेको उसको मनमा वर्षौँदेखि उज्यालो बनेर बसेको “मृदुल” को आकर्षणलाई निभाउनु जस्तो पनि हुन सक्थ्यो ।
बढ्ने हिम्मत भएन मेरो । उसको नजिकै सामान्य व्यक्तिको रूपमा बसिरहेको मैले आफ्नो नाम र आफ्नो अस्तित्वबीचको दूरी स्पष्ट देखें ।
भारी मनले उठेँ । काउन्टरमा बिल तिरेँ ।
बाहिर निस्किँदा ढोकामा एकपटक पछाडि फर्केर हेरेँ — ऊ अझै ढोकातिरै हेरिरहेकी थिई, “मृदुल” लाई, जो कहिल्यै आउँदैनथ्यो ।
चुपचाप बाहिरिएँ म — लेखक “मृदुल” लाई उसको अपेक्षामा सुरक्षित छोडेर ।

सुष्माजीको कथा, शैली अनि चित्रात्मक प्रस्तुति सबै मिठो लाग्यो । शनिबार स्तम्भमा साहित्यिक सिर्जनाहरु पढ्दा पुराना दिनहरुको सम्झना गाढा भएर आए । श्रस्टाका लागि मन्च उपलब्ध गराइदिनु हुने उमेश “सालोक्य’ जी धन्यवादका पात्र हुनुहुन्छ ।
उमेश ‘शालक्य’ जी!
तपाईंलाई फेरि नियमित रूपमा देख्न पाउँदा म धेरै खुसी छु !
roopie
होइट! खतरा ! सुन्दर ! उमेशजी। कस्तो कला!!