Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

शनिबार साहित्य : प्रशंसिका (कथा)

Posted on March 14, 2026March 14, 2026 by Salokya
शनिबार साहित्य — प्रशंसिका
शनिबार साहित्य

शनिबार साहित्य

कथा
साप्ताहिक स्तम्भ
शनिबार, फागुन २०८२
प्रतीक्षा
कथा

प्रशंसिका

लेखक : शुषमा चित्रकार  ·  ललितपुर

सेता कपाल अब पातलिन पनि थाले । आँखाका छेउमा समयले रोपेका मसिना धर्साहरू उमेरका मूक साक्षी थिए । त्यसमाथि अहिले लगाउन थालेको पावरको चस्माले अझ बढी गम्भीर देखाउँथ्यो मलाई । किताबको आवरणमा छापिने श्याम–श्वेत तस्बिरको युवा “मनमोहन” अब मभित्र कतै थिएन; समयले उसलाई धेरै अघि नै धुमिल बनाइ सकेको थियो ।

पाठकहरूका लागि म अब केवल “मृदुल” थिएँ—शब्दभित्र बस्ने, शब्दमै सीमित रहने एउटा नाम । त्यो छद्म नामभित्र शरीर, अनुहार, विगत—ती सबै अनावश्यक विवरणजस्तै भएका थिए ।

मेरो पछिल्लो उपन्यास “मनको कुनो” मा पहिलोपटक आफ्नो इमेल ठेगाना छाप्न दिएको थिएँ । पुस्तक बजारमा पुगेको केही दिनमै सन्देशहरूको ओइरो लाग्यो । प्रशंसा, आलोचना, सुझाव, भावुकता—सबै मिसिएका ।

तर तीमध्ये एउटा सन्देशले मलाई अस्वाभाविक रूपमा तान्यो ।

“मृदुलजी, मेरो नाम अर्पिता हो । म तपाईंको डाइहार्ट फ्यान हुँ । तपाईंको नपढेको सायदै कुनै किताब होला ।”

“अर्पिता… ।” नाम पढ्नेबित्तिकै मनको कुनै बन्द कोठाको झ्याल आफैँ खुलेझैँ भयो । वर्षौँअघिको एउटा कक्षाकोठा, चक र धूलाम्मे ब्ल्याकबोर्ड, झ्यालबाट छिरेको दिउँसोको घाम—सबै एकाएक उज्याला भए ।

ऊ छैंठौं कक्षामा भर्ना हुन आएकी थिई । घुम्रिएका छोटा कपाल, गम्भीर आँखा । धेरै नबोल्ने, तर पढाइमा तीक्ष्ण । केही समयमै ऊ शिक्षकहरूको मात्र होइन, सहपाठीहरूको पनि केन्द्र बन्न थाली ।

म उसलाई टाढैबाट नियाल्थेँ । समूहमा हुँदा ऊ सहज सबैसँग हाँसेर कुरा गर्थी । एक्लै भेटिएको बेला भने उसको मुस्कानमा अलि गहिरो शान्ति हुन्थ्यो—जसको अर्थ म बुझ्न चाहन्थेँ, तर बुझ्ने साहस जुटाउँदिनथेँ ।

त्यो वर्ष ऊ कक्षामा प्रथम भई । एकदिन थाहा भयो—उसको बुवाको सरुवा भयो र उसले स्कूल छोड्ने भई । विदाइका दिन उसका आँखामा आँसु थिए कि थिएनन्, अहिले सम्झना भएन । तर मेरा भने आँखा रसाएका थिए । त्यस दिनपछि ऊ समयको भीडमा हराई—तर मेरो स्मृतिबाट भने कहिल्यै हटिन ।

नेपाली वर्षौँ पहिलेको त्यो कक्षाकोठा — जहाँ एउटा नाम मनमा बस्यो

स्मृतिको कुनो

के यो इमेल पठाउने अर्पिता उही हो ? यो प्रश्नले मलाई धेरै दिनसम्म सतायो । यदि उही भए पनि, उसले मलाई चिन्न सक्ने सम्भावना थिएन । म त वर्षौँदेखि “मृदुल” थिएँ—आफ्नै नामबाट निर्वासित ।

लेखुँ कि नलेखुँ — धेरै दिनको दोधारपछि मैले छोटो जवाफ फर्काएँ । धन्यवाद सहित आएको उसको प्रत्युत्तर लामो थियो—उत्साहले भरिएको, आत्मीयताको न्यानोले ओतप्रोत ।

“तपाईंको ‘मनको कुनो’ मा सविताले आफ्नो छोरालाई माफ गर्ने दृश्यमा म घण्टौं रोएँ । त्यो पीडा मैले आफ्नै आमाको अनुहारमा देखेकी थिएँ । तपाईंले त्यो दृश्य लेख्नुभयो कि मेरो जीवन नै पढ्नुभयो — थाहा भएन ।”

ती शब्दहरू पढ्दा मनमा अनौठो कम्पन भयो । यस्तो लाग्यो, ऊ केवल पाठक र प्रशंसिका मात्र होइन, कुशल समीक्षक पनि थिई । उसका हरेक इमेलमा मेरा लेखाइको विश्लेषण हुन्थ्यो । मैले ख्यालै नगरेका कुरा पनि औंल्याएको देख्दा लाग्थ्यो—ऊ मेरा किताबहरू पढिरहेकी मात्र हैन, तीभित्र बाँचिरहेकी पनि थिई ।

महिनौं बित्दै गए । एकदिन एउटा इमेलमा उसले अलि फरक कुरा लेखी —

“सानोमा एउटा स्कूल छोड्दा धेरै रोएकी थिएँ । त्यो दिन पनि आज जस्तै असोजको पानी थियो ।”

ती शब्दहरू पढ्दा औंलाहरू किबोर्डमाथि रोकिए । थरथर काँपे । असोजको पानी — ठ्याक्कै त्यही महिना जब उसले स्कूल छोडेकी थिई ।

“के तिमी उही अर्पिता हौ ?” — सोध्न मन लाग्यो । तर म लेख्दिनथेँ । लेख्न डराउँथेँ — कतै आउने उत्तरले मभित्र बुनिंदै गरेको सपना चकनाचुर पारिदिन्छ कि भनेर ।

बिस्तारै उसका इमेलहरू मेरो दिनचर्याको हिस्सा बन्दै गए । जीवनसँग थाकिसकेको मनलाई ती सन्देशहरूले सानै भए पनि उज्यालो आश्रय दिन थाले ।

कहिलेकाहीँ मनमा प्रश्न आउँथ्यो — के म अर्पितालाई खोज्दैछु, कि आफ्नो हराएको युवावस्थालाई ? त्यो प्रश्नको उत्तर खोज्ने साहस पनि जुटाउँदिनथेँ ।

एकदिन उसका इमेलहरू आउन बन्द भए । अचानक आएको त्यो मौनताले अनौठो खालीपन जन्मायो । दुई तीन दिन कुरेपछि छोटो सन्देश पठाएँ — केवल एउटा प्रश्नचिन्ह । केही दिनपछि जवाफ आयो — ऊ बिरामी परेकीले लेख्न नसकेकीमा माफी मागेकी थिई । नजानिँदो गरी आँखा रसाए ।

त्यसपछि उसले भेट्ने प्रस्ताव राखी । कल्पनामा बाँचेकी अर्पितालाई यथार्थको उज्यालोमा उभ्याउन चाहेको थिइनँ मैले । उसले भने हरेक इमेलमा भेट्ने आग्रह दोहोर्याइरही । अन्ततः राजी हुन बाध्य भएँ ।

जावलाखेलको एउटा क्याफेमा दुई बजे भेट्ने सहमति भयो । आउँदा मेरो उपन्यास “अल्पबिराम” पनि साथै ल्याउने कुरा लेखी उसले ।

दूरी ढोका एउटै क्याफे — दुई फरक प्रतीक्षाहरू

जावलाखेलको क्याफे

म समयभन्दा अगाडि नै पुगेँ । कफीको बास्ना, हल्का सङ्गीत, वरिपरि अपरिचित अनुहारहरू । टेबुलमा राखिएको कफी चिसिँदै थियो — म पिउन सकिरहेको थिइनँ ।

मनभित्र अनौठो उत्साह थियो, उत्सुकता, रोमान्च र डर मिश्रित भाव — के म अधुरो प्रेमलाई भेट्न जाँदैछु, कि आफ्नो बितेको समयलाई ?

ठीक दुई बजे कुर्ता–सुरुवाल लगाएकी एक युवती भित्र छिरी । ऊ अलि नर्वस देखिन्थी । चारैतिर सरसर्ती नजर दौडाई ऊ मेरो छेउको टेबुलमा बसी । कफी अर्डर गर्दै उसले ब्यागबाट एउटा किताब निकालेर टेबुलमा राखी ।

त्यो मेरो उपन्यास “अल्पविराम” थियो — पानाहरू यति धेरै पल्टाइएका थिए कि कभर कुप्रिएको थियो, कुनै कुनाका पाना मोडिएका थिए । वर्षौँको माया त्यो किताबका थिचिएका पानाहरूमा थियो ।

मुटु जोडले धड्कियो ।

हेर्दा आकर्षक देखिए पनि ऊ मेरो कल्पनाभित्र स्मृतिमा बाँचेकी घुम्रिएको कपालकी अर्पिता थिइन । मनभित्र वर्षौँदेखि सुरक्षित राखिएको एउटा आशा बिस्तारै भत्किँदै गयो — आवाज नगरी, धुलो नउडाई ।

हठात् उठूँझैँ लाग्यो । तर कुर्सीबाट उठिहाल्न पनि सकिनँ । पत्रिका पल्टाएँ र देखाउन खोजें, मानौँ म कसैको प्रतीक्षामा थिइनँ ।

ऊ भने ढोकातिर हेरिरही । कहिले घडी, कहिले मोबाइल, कहिले वरपरका अनुहारहरूमा उसले नजर दौडाइरही । रित्तिंदै फर्कने प्रत्येक पल उसको अनुहारबाट उज्यालो खस्कन्थ्यो ।

केही बेरपछि ऊ काउन्टरमा उभिई । उसले किताब देखाउँदै केही सोधी । जवाफमा म्यानेजरले दायाँ बायाँ टाउको हल्लायो ।

हाम्रा आँखा जुधे । तर त्यो दृष्टिमा कुनै भाव थिएन । उसको लागि, म अर्को टेबुलमा बसेको एक अपरिचित पुरुष मात्र थिएँ ।

ऊ मलाई खोजिरहेकी थिइन — ऊ खोजिरहेकी थिई त्यो लेखक, जसका शब्दहरूमा ऊ आफूलाई भेट्थी, आत्मियता पाउँथी ।

अर्पिता अझै त्यहीं थिई — उदास मनले दोस्रो कफीको चुस्की लिँदै, सायद अझै केही आशा बाँकी थियो उसमा ।

उसको मलिन अनुहारको पीडाले मलाई पनि छोयो । आफ्नो परिचय दिएर उसको प्रतिक्षाको अन्त्य गर्न सक्थें म । तर त्यसो गर्नु भनेको उसको मनमा वर्षौँदेखि उज्यालो बनेर बसेको “मृदुल” को आकर्षणलाई निभाउनु जस्तो पनि हुन सक्थ्यो ।

बढ्ने हिम्मत भएन मेरो । उसको नजिकै सामान्य व्यक्तिको रूपमा बसिरहेको मैले आफ्नो नाम र आफ्नो अस्तित्वबीचको दूरी स्पष्ट देखें ।

भारी मनले उठेँ । काउन्टरमा बिल तिरेँ ।

बाहिर निस्किँदा ढोकामा एकपटक पछाडि फर्केर हेरेँ — ऊ अझै ढोकातिरै हेरिरहेकी थिई, “मृदुल” लाई, जो कहिल्यै आउँदैनथ्यो ।

चुपचाप बाहिरिएँ म — लेखक “मृदुल” लाई उसको अपेक्षामा सुरक्षित छोडेर ।

शुषमा चित्रकार

ललितपुर निवासी लेखक। कथा र कवितामा उनको दख्खल छ। मानवीय सम्बन्ध, स्मृति र पहिचानका विषयमा रचना गर्छिन्।

शनिबार साहित्य माइसंसारको पुरानो लोकप्रिय स्तम्भ हो जहाँ विशेष गरी कथा, लघुकथा प्रकाशन हुन्छ। पुराना कथाहरु पढ्न यहाँ क्लिक गर्नुस् अर्काइभमा रहेका ती भन्दा पुराना कथाहरु यहाँ क्लिक गरी पढ्न सकिन्छ तपाईँ पनि आफ्ना कथा प्रकाशन गर्न चाहनु हुन्छ भने पठाउनुस्- [email protected] मा

3 thoughts on “शनिबार साहित्य : प्रशंसिका (कथा)”

  1. कृष्णपक्ष थापा says:
    March 14, 2026 at 5:48 pm

    सुष्माजीको कथा, शैली अनि चित्रात्मक प्रस्तुति सबै मिठो लाग्यो । शनिबार स्तम्भमा साहित्यिक सिर्जनाहरु पढ्दा पुराना दिनहरुको सम्झना गाढा भएर आए । श्रस्टाका लागि मन्च उपलब्ध गराइदिनु हुने उमेश “सालोक्य’ जी धन्यवादका पात्र हुनुहुन्छ ।

    Reply
  2. Roopendra Joshi says:
    March 14, 2026 at 1:35 pm

    उमेश ‘शालक्य’ जी!
    तपाईंलाई फेरि नियमित रूपमा देख्न पाउँदा म धेरै खुसी छु !
    roopie

    Reply
  3. राम says:
    March 14, 2026 at 11:35 am

    होइट! खतरा ! सुन्दर ! उमेशजी। कस्तो कला!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme