Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रवि–बालेनको उदय र गगनको संकट: कांग्रेस अब कता?

Posted on March 13, 2026March 13, 2026 by सूर्य खड्का

राजनीतिमा कहिलेकाहीँ एउटा प्रश्न नै यति भारी हुन्छ कि त्यसको जवाफ नदिएर पनि मानिसले धेरै कुरा बोलिसकेको हुन्छ। कांग्रेस सभापति बनेपछि पहिलो सार्वजनिक कार्यक्रममा गगन थापालाई सोधिएको त्यस्तै एउटा प्रश्न थियो— राजसंस्थाबारे उनको स्पष्ट अडान के हो? गगनले सिधा उत्तर दिएनन्। तर अहिलेको नेपाली राजनीतिमा परिस्थिति यस्तो मोडमा पुगेको छ कि त्यो प्रश्न टारेर बस्न गाह्रो हुँदै गएको छ। किनकि उता रवि लामिछाने र बालेन साहजस्ता नयाँ शक्ति उक्लिरहेका छन्, यता कांग्रेस आफ्नै इतिहास र भविष्यबीचको द्विविधामा उभिएको छ। यस्तो बेलामा गगनले बनाउने ‘नयाँ कांग्रेस’ आखिर कस्तो हुनेछ भन्ने प्रश्न झन् पेचिलो बनेको छ। सूर्य खड्काको ब्लग।

राजसंस्थाबारे गगनलाई सोधिएको ‘यक्ष प्रश्न’

विशेष महाधिवेशनबाट पार्टी सभापति भएपछिको पहिलो सार्वजनिक प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय सरोकार मञ्चका अध्यक्ष सोमविक्रम सिंहले गगन थापालाई सिधै सोधेका थिए— राजसंस्थाको मुद्दामा गगनको अडान, विचार वा नीति के हुनेछ? जननायक बीपी कोइरालाले जस्तै राजसंस्थासहितको प्रजातन्त्रको नीतिमा गगन कांग्रेस फर्कन्छन् कि?

प्रत्युत्तरमा सभापति थापाले यसबारे केही भनेनन्। व्याख्यात्मक शैलीमा कांग्रेसले देशको बृहत्तर हितका लागि आफू हारेर पनि सबै राष्ट्रिय शक्तिलाई समेट्दै आएको भन्ने प्रकारको जवाफ फर्काए।

निर्मलनिवाससँग पनि सिधा सम्बन्ध रहेका रासम अध्यक्ष अर्थात् राजसंस्था पुनर्स्थापनाका हार्डलाइनर अभियन्ता सिंहको प्रश्न सभापति थापाका लागि घाँटीमा अड्किएको हड्डी जस्तै थियो। किनकि गगन नेतृत्वको कांग्रेस बीपीकालीन बनाउने कि गिरिजाकालीन बनाउने भन्ने यो यक्ष प्रश्नमा गगनलाई स्पष्ट उत्तर दिन सजिलो थिएन।

गगनका लागि असहज प्रश्न किन?

कारण, सबैलाई थाहा छ— अहिले जुन गणतान्त्रिक कांग्रेसका नेता छन् गगन, त्यो उनले विद्यार्थी कालमा ढुंगा हानेर ल्याएको गणतन्त्र हो। गिरिजा प्रसाद कोइरालाले गणतन्त्र नेपालका पहिलो राष्ट्रपति हुने उदारो सपनासँग साटेको गणतन्त्र हो।

मौजुदा गणतन्त्रले देशको राष्ट्रियता कति मजबुत बनायो, जनहितमा कति योगदान गर्‍यो, सुशासन र विकास के दियो— अहिले त्यतातिर नलागौं। त्यो सबैका सामु छर्लंग छ।

रवि र बालेनको उदय: कांग्रेसको संकट

यो प्रसंग अहिले किन सान्दर्भिक हुँदैछ भने सभापति थापाको राजीनामा मागिँदैछ। गगन थापा पार्टी र आफ्नै चुनावी पराजयको प्रहारबाट घाइते, बेहोस भैरहेका केही दिनमै देशले उनले विगतमा अदालत र संसदीय छानबिनको कठघरामा उभ्याएका रास्वपा सभापति रवि लामिछाने देशको सत्ता विधिपूर्वक हातमा लिँदैछन्।

प्रधानमन्त्रीमा त बालेन साहको उदय नयाँ जंगबहादुरको रूपमा हुँदै नै छ।

व्यक्तिगत र राजनीतिक दुवै हिसाबले गगनका लागि रविको सत्तारोहण निकै पीडादायी हो। एकातिर हारको पीडा, अर्कोतिर पार्टीलाई त्यस्तो शक्तिले विस्थापित गरिदिएको छ, जो मूलतः गैरकम्युनिस्ट अर्थात् सेमी कांग्रेस नै हो।

अर्थात् रास्वपा पूर्व कांग्रेस वा कांग्रेसजस्तै दल हो, जसले कांग्रेसले जस्तै आधारभूत लोकतान्त्रिक सैद्धान्तिक जगमा भ्रष्टाचारविरोधी हुंकार दिँदै दुईतिहाइ बहुमत जनादेशका साथ सिंहदरबार कब्जा गरिरहेको छ।

निश्चित छ— बालेन सरकारले साँच्चै वाचापत्रअनुसार काम गरिदियो भने कांग्रेस वा अरू दलका लागि अब सिंहदरबारको यात्रा निकै टाढा र कठिन हुनेवाला छ।

पराजयको घाउ र राजीनामाको दबाब

त्यसैले त समकालीन नेपाली राजनीतिमा सही काम तर बेठीक समयमा गरियो भने त्यो कति हदसम्म प्रत्युत्पादक र घातक हुन्छ भन्ने तथ्यको वास्तविक अनुभूति कांग्रेस सभापति गगन थापालाई भन्दा अरूलाई सायद कम होला।

अघिल्लो पटक देशकै ठूलो दल रहेको कांग्रेस मतादेश २०८२ मा रास्वपाको तुलनामा साना दलमध्येमा पो दर्ज भयो— केवल गगनकै नेतृत्वमा।

मन बुझाउनलाई त कांग्रेसलाई संसदीय अंकगणितका आधारमा संसदको दोस्रो दल भनिन सकियो, तर ऐतिहासिक विरासतको सात दशकभन्दा बढी लामो जीवन बाँचेको कांग्रेस वास्तवमा चुनावपछि चित्रबहादुर केसी र नारायणमान बिजुक्छेअघि फागुन २१ को दलको हैसियतमा झरेको प्रतीत हुन्छ भन्नु अतिशयोक्ति हुँदैन।

झन् सभापति थापा आफ्नै पार्टीबाट विद्रोह गरेर स्वतन्त्र हुँदै रास्वपा बनेका अमरेश कुमार सिंहसँग ठूलो मतान्तरमा पराजित हुनुको पीडा त अचानकको चोट खुकुरीलाई के थाहा भनेजस्तै हो। हार के हो? चोट के हो? त्यो सायद गगनलाई मात्रै गहिरो अनुभूति होला।

स्वाभाविक छ— नेपाली समाज शक्तिको पूजारी हो। अहिले चुनावी महासंग्राममा हारेको कांग्रेसका सभापतिले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग एकाध उठेका छन्। स्वयं कांग्रेसीहरूभन्दा गैरकांग्रेसीहरूले राजीनामाको माग गरिरहेका छन्।

मिडिया रिपोर्टहरूमा सभापति थापा स्वयंले राजीनामा दिन चाहे पनि उपसभापति विश्वप्रकाश शर्माले तत्काल राजीनामा नदिन भनेको विवरण सार्वजनिक भएका छन्।

‘कांग्रेस बदल्ने’ घोषणा सही समयमा थियो?

हो, अब आउँछ खाँटी कुरा। गगनले विशेष महाधिवेशनबाट कांग्रेस बदल्ने घोषणा गरे। तर के त्यो कदम सही समयमा थियो?

उम्मेदवारी मनोनयनको एकाध दिनअघि पार्टी विभाजित त भइसकेको थियो, अदालत र निर्वाचन आयोगमा मुद्दा परिसकेको थियो।

भदौ २३ र २४ को राज्यहत्या र विध्वंसपछि आम चुनावको मुखमै उनले विशेष महाधिवेशन गरेर ठीक गरेका थिए भने त उनले पार्टीलाई रास्वपाभन्दा ठूलो बनाउनुपर्ने— किन सकेनन्?

प्रश्नहरू छन्, रहिरहन्छन् सायद। उनले यही कदम भदौ २३ अगावै वा लगत्तै किन गरेनन्? प्रश्न अरू पनि छन्।

अब गगनले कस्तो कांग्रेस बनाउने?

तर जे गरे पनि उनले देशभरका कांग्रेसीहरूको मनको बात पूरा गरे भनेर मानिदिने हो भने अब गगनले उही रासम अध्यक्ष सोमविक्रम सिंहको यक्ष प्रश्नको जवाफ दिनुपर्छ।

त्यो भनेको— गगनले अब कुन मोडेलको कांग्रेस बनाउने?

उनले गगन मोडेलकै कांग्रेस बनाउने हो भने के कांग्रेसलाई बीपीकालीन विचार र सिद्धान्तमा फर्काउन चाहन्छन्? चाहन्छन् भने उनले राजसंस्थालाई राष्ट्रिय शक्तिका रूपमा स्वीकार गरेर कुनै न कुनै स्पेस दिनुपर्छ।

राजसंस्था राष्ट्रिय शक्ति होइन भन्ने भ्रम उनीमा छ भने उनी अझै त्रिचन्द्रकालीन गगन मात्रै साबित हुनेछन्।

त्यसैले सभापति थापाले कांग्रेस बदलेका हुन् भने उनले कमजोर हुँदै गएको राष्ट्रियताको रक्षाका खातिर राजसंस्थासहितको कांग्रेसको नीतिगत छलाङ मार्नुपर्छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme