राजनीतिले कहिलेकाहीँ निकै रोचक कथा सुनाउँछ, र यसपटकको कथा भक्तपुरबाट आएको छ।
भक्तपुर–१ लाई धेरै वर्षदेखि एउटा राजनीतिक “लालकिल्ला” भनेर चिनिन्थ्यो। नेपाल मजदुर किसान पार्टीको विचारधारात्मक आधारभूमि, अनुशासित क्याडर, र लगभग अटुट संगठन भएको क्षेत्र। २०४८ सालदेखि सुरु भएको त्यो यात्रा तीन दशकभन्दा बढी समयसम्म लगभग अविच्छिन्न रह्यो। नारायणमान बिजुक्छे ‘रोहित’ को राजनीतिक छायाँ, त्यसपछि प्रेम सुवालको निरन्तरता-सबैले मिलेर भक्तपुरलाई एउटा फरक किसिमको निर्वाचन क्षेत्र बनाएका थिए।
त्यहाँ चुनाव भनेको औपचारिकता जस्तो हुन्थ्यो। धेरैले ठट्टा गरेर भन्ने गर्थे-भक्तपुरमा चुनाव हुँदैन, नेमकिपाको विजयलाई लालमोहर लगाए पुनःपुष्टि मात्र गरिन्छ।
तर राजनीति त्यस्तो खेल हो जहाँ स्थायी भन्ने कुरा धेरै समय टिक्दैन। राजनीतिमा किल्ला भत्किने दिन कहिल्यै घोषणा गरेर आउँदैन।
यसपटकको निर्वाचनले त्यो धारणा उल्टाइदियो। यस पटकको निर्वाचनमा मेरो लागि पनि सबैभन्दा अप्रत्याशित नतिजा यही नै रह्यो। मैले यहाँ यस्तो नतिजा आउँछ भनेर सोचेकै थिइनँ। तर आज सम्झिएँ, भक्तपुरका केही युवासँग चुनावभन्दा धेरै अघि कुराकानी हुँदा उनीहरु असन्तुष्ट सुनिन्थे।
शायद् त्यसैले हो कि, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुकेश रञ्जितले ३३ हजारभन्दा बढी मत ल्याएर जित्दा प्रेम सुवाल झण्डै पाँच हजार मतले पछि परे। अंकगणित हेर्दा मतान्तर ठूलो जस्तो लाग्दैन, तर इतिहासको सन्दर्भमा यो निकै ठूलो घटना हो। किनकि तीन वर्षअघि यही क्षेत्रमा सुवालले झण्डै तीस हजार मतले जितेका थिए।

राजनीतिमा कहिलेकाहीँ यस्तो पनि हुन्छ- तीस वर्षको इतिहास तीन वर्षमै उल्टिन्छ।
किल्ला बाहिरबाट भत्किँदैन। किल्ला भत्किने बेला भित्रैबाट थाक्न थाल्छ।
यसपटक भक्तपुरमा अर्को रोचक दृश्य पनि देखियो। देशका ठूला भनिएका दलहरू लगभग दृश्यबाट बाहिर जस्तै भए। नेपाली कांग्रेस र एमाले दुवैको मत निकै कम रह्यो। उनीहरूको कुल मत जोड्दा पनि विजयी उम्मेदवारको मतको एक चौथाइ जति मात्रै पुग्छ।
यसले एउटा सन्देश दिन्छ, भक्तपुरमा अब पुरानो समीकरणको राजनीति चल्दैन।
यहाँको चुनाव विरासत Vs लहरको टकराव हो।

यस परिवर्तनको जडमा मतदाताको बनोटमा आएको परिवर्तन पनि छ। भक्तपुर–१ मा युवा मतदाताको हिस्सा उल्लेख्य छ। १८ देखि ४० वर्ष उमेर समूहका मतदाता ठूलो संख्यामा छन्। उनीहरू पुरानो राजनीतिक प्रशिक्षणभन्दा फरक ढंगले सोच्ने पुस्ता हुन्।
उनीहरूको प्रश्न सरल हुन्छ- इतिहास कति लामो छ भन्ने होइन।
यसपटकको मतदान प्रतिशत पनि उल्लेखनीय रह्यो। भक्तपुरमा करिब ७१ प्रतिशत मतदान भयो, जुन राष्ट्रिय औसतभन्दा उल्लेख्य रूपमा बढी हो।
कहिलेकाहीँ जनता सडकमा कराउँदैनन्। उनीहरू चुपचाप मतदान केन्द्रमा जान्छन्।
र मतपेटिकामा लेख्छन्, “अब पुग्यो।”

यो चुनावलाई उम्मेदवारको दृष्टिले हेर्दा पनि रोचक चित्र देखिन्छ। एकातिर अनुभवी राजनीतिज्ञ प्रेम सुवाल थिए, जसले लामो समयसम्म आफ्नो क्षेत्रलाई सम्हालेका थिए। अर्कोतर्फ रुकेश रञ्जित थिए, जसले आफूलाई परिवर्तनको प्रतीकका रूपमा प्रस्तुत गरे।
यो प्रतिस्पर्धा दुई व्यक्तिको मात्र थिएन। यो दुई राजनीतिक शैलीको प्रतिस्पर्धा पनि थियो।
एकातिर इतिहास थियो। अर्कोतिर अपेक्षा थियो।
राजनीतिमा अनुभवले कहिलेकाहीँ जित दिलाउँछ। तर कहिलेकाहीँ मतदाता नयाँ पाना खोल्न चाहन्छन्।
भक्तपुरले यसपटक त्यही निर्णय गरेको देखिन्छ।

यस परिणामलाई केवल एउटा सीटको हार–जितको रूपमा हेर्नु पर्याप्त हुँदैन। यसले नेपाली राजनीतिमा एउटा गहिरो सन्देश दिएको छ। दशकौँसम्म सुरक्षित मानिएका राजनीतिक गढहरू पनि बदलिन सक्छन्। मतदाता अब पार्टीको परम्परागत पहिचान मात्र हेरेर निर्णय गर्ने अवस्थामा छैनन्।
राजनीतिमा इतिहासले सम्मान पाउँछ, तर भोट ग्यारेन्टी गर्दैन।

भक्तपुरको यो परिणामले देखाएको अर्को कुरा के हो भने राजनीतिक स्थायित्व अब केवल इतिहासमा भर पर्दैन। वर्तमानको प्रदर्शन र भविष्यको दृष्टि दुवै आवश्यक हुन्छ।
एक अर्थमा हेर्दा भक्तपुरमा भएको यो परिवर्तन नेपाली लोकतन्त्रको स्वाभाविक प्रक्रिया पनि हो। लोकतन्त्रमा मतदाता अन्ततः सबैभन्दा शक्तिशाली पात्र हुन्छन्। उनीहरूले चाहे भने वर्षौँदेखि बनाइएका किल्ला पनि एकै चुनावमा भत्काउन सक्छन्।
भक्तपुरमा यसपटक त्यही भयो।
निलो घण्टीको आवाजले लालकिल्लाको शान्ति भंग गरिदियो।
र भक्तपुरले फेरि एकपटक सम्झाइदियो- लोकतन्त्रमा अन्तिम शब्द सधैँ मतदाताले लेख्छन्।
ब्लग मन पर्यो? निरन्तरता चाहनु हुन्छ? मलाई मोमो किनिदिन सहयोग गर्न सक्नुहुन्छ buymemomo.com/salokya
