Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पानी माथिको ओभानो हुन खोजिरहेका ओली

Posted on October 24, 2025October 24, 2025 by सूर्य खड्का

खासमा ऊ निरंकुश थियो, त्यसैले पहिला दमन गर्‍यो। दमनबाटै ऊ शक्ति प्रमाणित गर्न उद्धत थियो। तर सकेन। अनि भाग्यो। ऊ निर्दयी थियो, त्यसैले उसले सक्ने जतिलाई मार्‍यो, अन्तिमसम्म मारेरै राज गर्न खोज्यो, तर सकेन। अनि भाग्यो।

निरंकुशहरु सुरुमा दमन गर्छन्, दमनमा नसकेपछि हारेर भाग्छन्। ऊ भगौडा निरंकुश थियो। अब उसको असफल विगत, आपराधिक विगतको रमिते बन्नु हुँदैन कसैले । मैले गोली हान्ने आदेश दिएको छैन भन्ने उसको दाबी केवल सत्य छोप्ने दुस्साहस हो। कार्यकारी कुर्सीमा उही थियो अन्तिमसम्म, त्यसैले उही हो मुख्य जिम्मेवार। यसमा इधर उधर, ईफ-बट केही आवश्यक छैन, हुँदैन, हुनुहुन्न । ऊ अर्थात् एकथान केवल व्यक्ति केपी ओली हैन, राजनीतिको खोल ओढेको राक्षसी प्रवृत्तिको नालायक शासक हो। अब ओली प्रवृत्तिको समूल अन्त्य निर्विकल्प छ।
अहिले देशमा सुशीला कार्कीको नागरिक सरकार छ, जो गैरदलीय सरकार हो। यो नेपालको इतिहासमा संविधानले नचिनेको तर जनादेश पाएको सरकार हो। यो सरकारले एक महिना बढी समयमा के गर्‍यो, के गर्दैछ र अब के के गर्ला ? यो विषयमा क्रमशः समीक्षा गरिनेछ। तर यो सरकारको जन्म कसरी भयो र यो सरकार अघि देशमा के थियो ? सत्ता कसको थियो ? शासन कस्तो थियो भन्ने तथ्य प्रत्येक नागरिकले सम्झिनै पर्छ। सम्झेर मात्रै हुँदैन, तदनुरुप नै नागरिकले अबका दिनमा नेता, नेतृत्व र दलको पक्षमा मत जाहेर गर्नुपर्छ, यदि कसैलाई देशको माया छ भने।

२०८२ साल भदौ २३ को आमहत्या र २४ को विध्वंसको बेलामा नेपालमा कसको सरकार थियो?

सत्तामा कुन कुन दल सामेल थिए ?

प्रधानमन्त्री को थिए ?

सरकारका मन्त्रीहरु को को थिए ?

सरकार भदौ २४ मा किन भाग्यो ?

प्रधानमन्त्री आफैं सेनाको हेलिकप्टरमा किन भागे ?

झण्डै १० दिनसम्म किन बेपत्ता अवस्थामा रहे तत्कालीन प्रधानमन्त्री?

को-को नेता मैदानमा थिए भदौ २३ यताको राजनीतिक रस्साकस्सीमा ?

कसले सम्हाल्यो भदौ २४ अपरान्हमा सरकार ढलेपछिको नेपाल?

कसरी अहिले शान्ति खोज्दैछ नेपाल ?

यी र यस्ता धेरै प्रश्नहरुमा हर नागरिक घोत्लिनुपर्छ। अनि मात्रै राजनीतिक दिशा र दशातिर मतान्तरमा रुमल्लिनुपर्छ।

आम मानिसहरुले, मिडियाकर्मी वा नागरिक समाजले अब यी प्रश्नहरुको भूधरातलीय यथार्थमा आधारित वस्तुनिष्ठ जवाफ खोज्नुपर्छ, अनि मात्र यो सरकारप्रति आलोचनात्मक प्रश्नहरुको वर्षा गराउन मिल्छ।


अचेल केपी ओलीको हुँकार र नेकपा एमाले भन्ने दलका अडान सुन्दा, पढ्दा, हेर्दा लाग्छ, नेपालको इतिहासमा भदौ २३ र २४ मा जुन जुन घटना भए, त्यसमा न केपी ओली न एमाले कोही कतै दृश्यमै थिएनन्। एमाले र ओलीहरुको कथन छ, यो सब बिगार्नेहरु बाहिरिया हुन्, अनि तिनलाई ठीक पार्न अब एमाले नभै हुँदैन, ओलीको विकल्प छैन।

के भदौ २३ मा २२ युवा बानेश्वरको संसद भवन वरपरै गोलीले मारिएका हैनन्? कयौं युवा घाइते बनाइएका हैनन्? अहिले अस्पतालमा रहेका युवा तत्कालीन सरकारको गोलीका शिकार भएका घाइते हैनन्? ती सबको ज्यान लिने त्यो बेलाको सरकार हैन? त्यही निहुँमा तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ को रातमा राजीनामा दिएन हैनन् ?

अनि भदौ २४ को कारक भदौ २३ को सरकार सृर्जित हत्या नै हो नि। यति सत्य बोल्न, सुन्न, सुनाउन आम नागरिक पहिले नेपाली भएर सोच्न र समीक्षा गर्नु पर्दैन र ?

ओपन सेक्रेट हो, भदौ २३ र २४ लाई सोलोडोलो एकै भवितव्य मान्न हुन्न। २४ तिर जानु अघि २३ को कारक र कारणको खोजी गर्नु पर्दैन र ? २४ मा देश खरानी बनाउनेहरुबारे क्रमशः चर्चा गरिने नै छ। तर पहिला त २३ कै कारक र कारणबारे स्पष्ट हुनुपर्छ।

हो, तत्कालीन सरकार कांग्रेस एमालेकै थियो। दुई ठूला प्रतिस्पर्धी दल अप्राकृतिक रुपमा सत्तासहवासमा नै थिए। केपी ओली नै मैमत्त कार्यकारी प्रधानमन्त्री थिए। कांग्रेस एमालेकै मन्त्री थिए। देशमा जो सत्ता थियो, त्यो ओली नेतृत्वको कांग्रेस एमालेकै थियो।

हो, त्यसकारण, कुनै नागरिक असन्तोष, विद्रोह वा जखमीको मूल कारण सत्ता नै हुन्छ। भदौ २३ को प्रदर्शनको कारक कांग्रेस एमालेको सरकार थियो, मूलतः तत्कालीन प्रधानमन्त्री केपी ओली नै थिए। उनले अहिले आफूलाई पानी माथिको ओभानो बनाउन जतिसुकै पाल्छी कुरा गरे पनि उनै हुन् भदौ २३ को युवा विद्रोहका मुख्य कारक। सामाजिक संजालमाथिको प्रतिबन्ध र भ्रष्ट ओलीराजको विकल्पमा भएको थियो नि त्यो प्रदर्शन।

सत्तामा आफू बसेर जेनजीलाई भदौ २२ सम्म एमालेको विधान अधिवेशन गोदावरीबाट सराप्दै थिए उनै ओली। सत्तामा आफू बसेर, देशको कार्यकारी प्रधानमन्त्रीका रुपमा ओलीले आफ्नालाई जोगाउने, विरोधीलाई सिध्याउने र सबै ओलीवादी जतिले मिलीमिली कमाउने ओली शैलीको भ्रष्ट सत्ता चलाउनु कै परिणाम युवा प्रदर्शन भएको त तथ्यमा आधारित सत्य हो नि।

जब त्यो सत्य हो भने किन अहिले ओली आफू पानी माथिको ओभानो हुन खोज्दैछन्? अनि विवेक भएका एमालेजनहरु उनका लोलीमा बोली मिलाउँदैछन् ? वा किन मौन छन् ? प्रतिवाद किन गरिरहेका छैनन् ? आम सचेत नागरिक किन फेरि उही युवा आन्दोलनले अपदस्त गरेका ओलीका अन्टसन्ट कुरा सुन्नमा समय बर्बाद गरिरहेका छन् ? भदौ २३ मा संसद भवन परिसरमा हत्या गरिएका युवाको अनुहार, परिवारको बज्रपात र देशको खरानी हालत झल्झली सम्झेर हर नागरिकले आफ्ना मनमा सोध्नुपर्ने हजार प्रश्न यस्तै हुन्।

भदौ २४ तिर पुग्नु अघि अब हर नागरिकले भन्न सक्नुपर्छ, तत्कालीन सरकार नै युवा विद्रोह र हत्याको दोषी हो। सर्वशक्तिमान प्रधानमन्त्रीका रुपमा केपी ओली नै त्यो युवा नरसंहारका नाइके हुन्। उनै दोषी हुन्। उनलाई यतिबेलासम्म बर्बराउन छुट दिनु अहिलेको सरकारको सदासयता मात्र हो, केही कमजोरी पनि हो। उनलाई गौरीबहादुर कार्की आयोगले उहीले पाता कसिसक्नुपर्ने हो। तर, खै सरकार पनि आयोग पनि अलमल्लिएका छन्, अब अलमल गर्नु हुँदैन।

कोही कसैलाई ओली भगवान लाग्छन्, रहिरन्छन् भने, ठीक छ, तर गृहमन्त्री ओम प्रकाश अर्यालकै शब्दमा ओली सुपरम्यान हैनन्, कानुन भन्दा माथि छैनन्, रहन दिनु पनि हुँदैन। लोकतान्त्रिक र सभ्य राज्यमा यस्ता अपदस्त सरकारका असफल नाइकेहरुको उर्दी सुन्नुपर्ने अभिसप्त समाजका सदस्य कम्तिमा स्वाभिमानी र विवेकशील नेपालीको हुनु हुँदैन । हामी सबै प्रष्ट हुनुपर्छ, भोलि उनी अदालती प्रक्रियाबाट निर्दोष भए अर्कै कुरा, अन्यथा अहिले किन केपी ओलीलाई हेडलाइन बनाउने मिडियाले ? किन जयजयकार गर्ने विवेकी नागरिकले ? किन मौन रहने विवेकी एमालेजन ?

अहिले पनि ओलीको भाषण सुनेर हाँस्ने र रम्ने समाजलाई भदौ २३ को पवित्र शाहदतको पाप लाग्छ। ओलीलाई सही मान्ने मनोरोगी विवेकहीन मान्छेको झुण्डसँग कोही मौन बस्नु हुदैन । ओलीलाई प्रश्न नगर्ने मिडियावाले, उनलाई जिम्मेवार बनाउन नखोज्ने वौद्धिक सबै दास हुन । दास र विवेकहिन मान्छेको भीड बढी छ भन्दैमा कोही आत्तिनु हुदैन । सत्यको पक्षमा, ओली सत्ताको हत्या, भ्रष्टाचार र कुशासनको विपक्षमा, भदौ २३ मा शहादत प्राप्त गर्नेहरुको सम्मानमा सचेत र विवेकशील नागरिकले यति आँट र हिम्मत गर्नुपर्छ। यो कुनै पूर्वाग्रह र प्रतिशोध हैन, यथार्थ हो।

अहिले केपी ओलीका हर बोली उनले गरेका अपराधको अस्वीकारोक्ति हो। भदौ २३ को बलिदानको अपमान हो । भ्रष्टाचारको सदर र जेनजी आन्दोलनको बदर हो। सरकारलाई हाहु सरकार भन्ने, गृहमन्त्रीलाई बाबु भन्ने, कार्की आयोगमा बयान दिन्न भन्ने, जेनजीलाई देखाएर अरुले दुनो सोझ्याए भन्ने ओली दाबी जो चोर उसैको ठूलो स्वर भने जस्तै हो। यस्ता ओली झुट जनजनले खारेज गर्नुपर्छ।

जेनजी बलिदानको अपमान गर्नेलाई सही मान्ने हामी कोही सही हुनेछैनौं। आफूलाई मात्र राम्रो, असल सफल देख्ने उनको भ्रमबाट उनलाई मुक्ति दिन पनि कार्की आयोगले उनलाई बयानमा बोलाउन र थप कानुनी कारवाहीका लागि बिलम्व गर्नु हुँदैन। ओलीसँग बयान लिएर कारवाही तय गर्न नसक्ने हो भने कार्की आयोगले पदत्याग गरे हुन्छ। गृहमन्त्री र प्रधानमन्त्रीले पनि नैतिक रुपमा आन्दोलनमा बलिदान दिने युवालाई इन्साफ दिन नसकेको सम्झेर घर गए हुन्छ। जनमतले ओलीलाई अपदस्त गरिसक्या हो। अब कानुनले उनलाई अपदस्त हुनुको इनाम दिनुपर्छ।

सरकार खरानीमाथि उभिएर शान्ति खोज्दै गर्दा ओली भदौ २३ अघिकै शैलीमा दम्भ, अहंकार देखाउदै बाँकी समाजलाई भ्रमित र हिंस्रक बनाउदै जान्छन् भने, उनलाई कानुन अनुसार नै दण्डित गर्न हिम्मत गर्नुपर्छ सरकारले। ओलीलाई पक्रेर चुनाव हुँदैन भन्ने शंका कसैमा छ भने त्यो मिठो भ्रम साबित हुनेछ। चुनाव अघि निर्दोष युवा हत्याको छानबिन ओलीबाट सुरु गर्नुपर्छ। यो नै जेनजी आन्दोलनको मर्म र भावनाको प्रतिनिध्तिव अनि युवा बलिदानको सम्मान हो। राष्ट्रभक्ति र जनाधिकारको पक्षपोषण हो। यति भन्दै गर्दा कसैलाई भ्रम नहोस्, पंक्तिकारको वर्तमान सरकारसँग गोरुबेचेको साइनो पनि छैन।

क्रमशः

(सूर्य खड्का माइसंसारका पुराना ब्लगर हुन्। उनले प्रतिपक्ष स्तम्भमा धेरै वर्षदेखि आफ्ना विचार लेख्दै आएका छन्। बीचमा छुटे पनि अब उनले फेरि ब्लग लेख्ने वाचा गरेका छन्। व्यक्तिगत कारणले मैले पनि ब्लग लेख्न सकिरहेको थिइनँ। अब लेख्ने प्रयास गर्नेछु- सालोक्य )

फिचर इमेज एआईबाट तयार पारिएको हो।

4 thoughts on “पानी माथिको ओभानो हुन खोजिरहेका ओली”

  1. trozan says:
    November 10, 2025 at 4:11 am

    In your rather illustrative article, the Madesh Andolan and killing of more than 50 (Govt. figure) didn’t even get an honourable mention. WHO was in the government then?
    But then why am I expecting from you? Whoever, Whatever, Whenever- It’s always the same.

    Reply
  2. Bhairab says:
    November 1, 2025 at 12:14 am

    ओली मात्र होइन, उनको निकटस्थहरू जस्तै विष्णु रिमाल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, ईश्वर पोखरेल लगायतलाई पनि जिम्मेवार ठहरिनुपर्छ। ओलीको अहंकार र वास्तविकताबाट टाढा रहेको व्यवहार नै मुख्य दोषी हो। ओली बाबा र उनको ४० चोरलाई जेन-जेड आन्दोलनको पहिलो दिन निर्दोष मानिसहरू मारेकामा अभियोग लगाउनुपर्छ, पक्राउ गर्नुपर्छ र मुद्दा चलाउनुपर्छ। ती युवा जीवनहरूको रगतले न्याय माग्छ, केवल राजीनामा होइन। #ArrestOli #JusticeForGenZ

    Reply
  3. Bibek Arun says:
    October 28, 2025 at 10:24 am

    सुर्यजी को झोक कति जायज छ, समय ले बताउला। तर झोक ले न देश चल्छ, न कुनै समस्या को समाधान हुन्छा, हुन्छ त केवल बिनास सेप्तेम्बेर ८ र ९ मा भएजस्तै। के पी ओली, उनीले र उनका समर्थक एमालेजनले भने जस्तो निस्कलंक र आजका अपरिहार्य नेता नहोलान, उनि पार्टी भित्र अनुदार र कपटपूर्ण तरिकाले नेतृत्व मा रहिरहन खोज्ने मानिस भनेर पनि चिनियेलान, तर तपाइले भनेजस्तो हालसम्म अपराधको लेपले पोतिने अबस्थामा भने उनि देखिंदैनन । उनले गरेका पारबहन को विकल्पको रुपमा उत्तरी नाका खोल्ने काम, कमै महत्व को भए पनि चुच्चे नक्साको अनुरुप नेपालको भूभाग दाबी गर्ने तत्परता, पेट्रोलियमको दैलेखमा अनुसन्धान अगाडी बढाउने काम र दक्षिण को बैदेशिक नीतिको छाता बाहिर स्वतन्त्र भएर काम गर्न खोजेको कारण नै देशी बिदेशी षडयन्त्र भएको आशंका उनको पार्टी भित्र मात्रै होइन, बाहिर पनि गहिरो ढंगले गढेको छ। अरु नेताकोमा पैसा, गहना र सम्पति जल्दा उनको घर मा किताब जलेको देखियो , यो कारणले म त उनि प्रतिको आन्दोलन पूर्वको दुराभाव धेरै घटेको देख्छु म।

    उनको आफुले आन्दोलन दबाउनु भन्ने निर्देशन नदिएको र मानिस मरिसकेपछि मात्र आफुलाई सुरक्षा संयन्त्रले अबगत गराएको भन्ने भनाइ सहिनै हो भनेर ठोकुवा गर्ने स्थिति नभए पनि गलत भन्न सकिने ठाउँ पनि छैन। अहिले सम्म कतिजना प्रधानमन्त्रि वा सत्ताधारी ले सत्तामा भएकै आधारमा आन्दोलनमा गोलि चलेको मानिस मरेको कारण ले गिरफ्तार र जेल जानु परेको छ? सुरक्षया को लागि ससस्त्र प्रहरी बल नाचाहिने हो? उनीहरु माथि आक्रमण भए, उनीहरुले के गर्ने जस्ता यावत प्रश्न को उत्तर नखोजी, ओली र अरु जिम्मेवार मानिएका मानिस लाइ छुन पनि मिल्दैन। किन ओली लाइ फरक ढंगले व्यवहार गर्ने? कानुनी व्यवस्था के छन्? भएको के हो नबुझी झोक्किएर गएर पकड भन्ने सुर्यजी तपाई आफै पो निरङ्कुश देखिनु होलाकी?

    Reply
  4. sujan says:
    October 25, 2025 at 6:44 am

    Falgun ma huney Chunav ma feri uhi ganhai sakeka party haru milera sarkar banauna ber chhaina!! hoshiyaar GenZ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme