ओली–देउवा मिलेर दुई-तिहाईको गणित मिलाउँथे, जेन-जीहरूले पाँच दिनमै त्यो गणितलाई क्याल्कुलेटरबाट delete गरेर नयाँ समीकरण निकालिदिए। एमाले कांग्रेसको झण्डै दुई तिहाईको सरकार विस्थापित गरी नयाँ अन्तरिम सरकार बन्यो जसका प्रमुखका रुपमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले आज राति शितल निवासमा शपथ ग्रहण गरेकी छिन्। हिजो रातभरको हल्ला अनि आज दिनभरको सकसपछि जेन-जीको प्रस्तावमा देशले पहिलो महिला प्रधानमन्त्री पायो। संविधान अनुसार नमिल्ने भए पनि ‘आवश्यकताको सिद्धान्त’ भन्दै कार्की प्रधानमन्त्री नियुक्त भइन्। सँगै प्रतिनिधि सभा विघटनको पनि सहमति भएको भनिए पनि राति पौने १२ बजेसम्म संसद विघटनको समाचार आएको छैन भनेर सुरुमा ब्लग लेखे पनि भर्खरै राष्ट्रपति कार्यालयको विज्ञप्ति आएको छ-

विज्ञप्ति अनुसार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधि सभा विघटन भएको छ भने फागुन २१ गते चुनाव हुने भएको छ।
आजै पनि मिडियाले तीन जना मन्त्री नियुक्त गरिसकेका थिए- बालानन्द शर्मा, कुलमान घिसिङ र ओमप्रकाश अर्याल। तर राष्ट्रपति कार्यालयमा भने उनीहरु देखिएनन्।
सबै मन्त्रालयको कार्यभार सुशीला कार्कीले नै राखेकी छिन्।
संविधानले संसद बाहिरको प्रधानमन्त्री नियुक्त हुने कल्पना नगरेको भए पनि आन्दोलनको बलमा प्रधानमन्त्री नियुक्त भएकोले विज्ञप्तिमा संविधानको धारा उल्लेख गरिएको छैन।

कार्कीलाई ६ महिनाभित्र अर्को चुनाव गर्न गरी प्रधानमन्त्री नियुक्त गरिएको हो।
प्रश्न छ- के अब तोकिएको मितिमा चुनाव भइसक्ला ?
यति बेलासम्म त पुराना दलहरु बदनामी कै अवस्थामा होलान्। उनीहरुले चुनाव गर्न देलान् ? जेन-जी नेपाली कांग्रेस, जेन-जी एमाले, जेन-जी माओवादी, जेन-जी स्वतन्त्र आदि नाममा फरक ब्रान्डिङ गर्दै बजारमा देखा त पर्लान् तर जनताले पत्याउलान् ? दलका ठालू वयोवृद्ध नेताहरुले अवकाशको घोषणा गरिसकेका छैनन्, बुढा हुन लागिसकेका दोस्रो तहका नेताहरुले नेतृत्व लिन सकिरहेका छैनन्, यस्तो अवस्थामा चुनाव होला ?
जेन-जीहरुले संसद भङ्गको अडान राखिसकेपछि संसदको वैधानिक बाटोबाटै संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था राख्नेसहितका परिवर्तनका कुराहरु पनि अधुरै रह्यो। अब चुनाव भइहाले पनि दुई तिहाई बहुमतले संविधान संशोधन गर्न सकस नै होला।
जे होस्, राजा फर्कने अनि सैनिक कूको हल्लाका बीच देशले एउटा बाटो भने समात्यो। तर सरकारी संरचना ध्वस्त बनाइएको, निजी क्षेत्रमाथि आक्रमण भएर उनीहरुको विश्वास डगमगाएको अवस्थामा खरानीमाथि उभिएर ‘वि विल राइज अगेन’ भन्न सजिलो छ, तर बाटो कठिन छ।
आशा चाहिँ राख्नै पर्छ।
