नेपालमा हल्ला फैलाउन खासै धेरै बहाना चाहिँदैन। फेसबुकमा कसैले लाइभ हाने पुग्छ, बाँकीको काम भने ‘शेयर’ बटनले गरिदिन्छ।
भदौ २६ गते राति पनि त्यस्तै भयो।
तेजविक्रम कार्की नामका फेसबुक प्रयोगकर्ताले लाइभमा देखाए – “नम्बर प्लेट नै नभएको सेनाको बख्तरबन्द गाडी हेटौडाबाट काठमाडौं जाँदैछ।”
भिडियोमा उनी आफै डराएका स्वरमा सुनिन्छन् – गाडी होइन, एलिएन गुडिरहेको देखेझैँ।
त्यसपछि त फेसबुकमा आगो सल्कियो।
२४ हजार पटक सेयर, ८ हजार ३ सय रियाक्सन, १ हजार ४ सय कमेन्ट।
कमेन्ट पढ्दा लाग्छ, सेनाको गाडी होइन, “देशै धराशायी हुने संकेत” देखेझैँ लेखेका छन्। विदेशी सेनाले कब्जा गरिसक्यो झैँ लागेको छ।
तर, वास्तविकता के हो?
हामीले सेनालाई नै सोध्यौं।
सेनाका प्रवक्ता राजाराम बस्नेतले भने,
- सेनाको युएन लजिस्टिक बेस त सिमरामा छ नि।
- त्यहाँबाट गाडीहरु पाँचखाल सेन्ट्रल क्याम्पतिर जाँदै थिए।
- अनि यो त सेनाको सामान्य मुभमेन्ट मात्र हो।
खोज्दा पनि त्यस्तै त भेटियो।

संयुक्त राष्ट्रसंघका विभिन्न मिसनमा नेपाली सेनाको सहभागिता बढेसँगै मिसनमा खटिएका, स्ट्यान्डबाइ र मिसन सकिएका सामग्रीको भण्डारण आवश्यक भएपछि, भौगोलिक र प्राविधिक पक्ष, पहुँच र जमिन उपलब्धताको आधारमा २०७६/१०/२० को पीएसओ बैठक नं. ८२२ ले बारा जिल्ला जितपुर ब्यारेक (नं. २८ ब्रिगेड) मा Peace Operation Logistic Center (POLC) स्थापना गर्ने निर्णय गरेको थियो।
त्यहीँबाट पाँचखाल हेडक्वार्टरसम्म बख्तरबन्द गाडी गएको रहेछ।
बस, कुरा त्यत्तिकै हो।
न त गुप्त कन्स्पिरेसी,
न त दिल्लीबाट पठाइएका गाडी।
तर फेसबुकको लाइभमा देख्दा भने, “देशै कब्जा हुन लाग्यो” भन्ने भान हुने।
यसरी हल्ला भने छिनभर मै फैलिन्छ,
तर तथ्य भने खोजेपछि मात्र आउँछ।
अब प्रश्न यो हो –
सडकमा गाडी देख्दैमा ‘देश कब्जा भयो’ भनेर हल्लिने हाम्रो बानी कहिले बद्लिने होला?

एकथरी लाई सामाजिक सन्जाल मा यस्तै हावादारी कन्टेन्ट हालेर हल्ला गर्ने रहर छ र धेरै यस्तै हल्ला को पछाडी दौड्छन, बिडम्बना…