Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

देशमा के भइरहेको छ ?

Posted on September 10, 2025September 10, 2025 by Salokya

हेडलाइनको जवाफ खोज्न ब्लग पढ्दै हुनुहुन्छ भने निराश हुनुपर्ने अवस्था छ। देशमा के भइरहेको छ, कसैलाई थाहा छैन। यति छिटो छिटो चेन्ज भयो कि भेउ पाउनै गाह्रो भइरहेको छ। सोमबार जेन जीको शान्तिपूर्ण भनिएको आन्दोलन भड्काइएपछि १, २ गर्दागर्दै १९ जनाको मृत्युको समाचार सुन्नु पर्‍यो। आज बुधबार रातिसम्म आइपुग्दा ज्यान गुमाउनेको संख्या ३० पुगेको पुष्टि भइसकेको छ।

आज बिहान एकछिन यसो निस्किएको थिएँ। सडकमा हतियारधारी सेना गस्तीमा खटिएका थिए। रिङरोडबाट भित्री सहरमा जान सेनाले रोकिरहेको थियो।

महाराजगञ्ज प्रहरी चौकी जलाएर खरानी पारिएको थियो। त्यहाँ दुई जना हो कि तीन जना प्रहरीको समेत ज्यान गयो रे। प्रहरीतर्फको हताहतीको त समाचार नै प्रष्टसँग आएको छैन।

नजिकैको भाटभटेनीबाट अझै धुँवा निस्किरहेको थियो।

चाबहिल चुच्चेपाटीको भाटभटेनीभित्र त अझै आगो दन्किरहेको थियो। नजिकैको बौद्ध प्रहरी चौकी पनि ध्वस्त बनाइएको थियो।

https://mysansar.com/wp-content/uploads/2025/09/VID_20250910_102225.mp4

अग्लो ठाउँबाट हेर्दा तीन ठाउँबाट धुँवा निस्किरहेको देख्न सकिन्थ्यो।

सेनासित वार्ता

धेरैपछि रेडियो नेपालको बिहान ९ बजेको समाचार सुनेको थिएँ। समाचारमा प्रधान सेनापतिको हिजो रातिको सन्देश पूरै बजाइएको थियो। जेन जीका प्रतिनिधिसित राष्ट्रपति र प्रधान सेनापतिले अनौपचारिक वार्ता गरे भनिएको थियो। तर पछि अरु समाचार हेर्दा र सुन्दा पो थाहा भयो प्रधान सेनापतिले मात्रै जङ्गी अड्डामा वार्ता गरेका रहेछन्। त्यो पनि अनौपचारिक।

यो आन्दोलनको कुनै नेतृत्व नभएकोले प्रतिनिधि को छान्ने वा संयोजक को भन्ने समेत अन्यौल छ।

हिंसक भीडले मन्त्री र नेताहरुको निवासलाई टार्गेट बनाएपछि सेनाले हेलिकप्टरबाट उद्दार गरेको भन्ने खबर आएको थियो। तर उनीहरु कहाँ छन्, कस्तो अवस्थामा छन्- केही थाहा दिइएको छैन।

नेपाली सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति रामचन्द्र पौडेल कहाँ छन्- केही अत्तोपत्तो छैन। केही जानकारी सार्वजनिक गरिएको छैन। अज्ञात ठाउँबाट हिजो वार्ताको आह्वान गर्दै एउटा विज्ञप्ति भने जारी गरिएको थियो।

राष्ट्रपति कार्यालय शितल निवाससमेत जलाएर ध्वस्त बनाउँदा त्यहीँ नजिकै सेनाको गण भए पनि सुरक्षा दिन सकेको देखिएको थिएन।

राजीनामा दिएका प्रधानमन्त्री केपी शर्मा ओली कहाँ छन्- त्यो पनि थाहा छैन। संविधानतः उनी नै कामचलाउ सरकार प्रमुख हुनुपर्ने हो। ओलीको आफ्नो सोसल मिडियामा केही देखिएको छैन। तर उनी निकटकाहरुबाट फेसबुकमा एउटा लामो स्टायटस सेयर भएको छ जसमा ‘शिवपुरीको एकान्त सुरक्षाघेराभित्र बसेर, नेपाली सेनाका जवानहरूको बीचमा’ लेखेको दावी गरिएको छ। यो ओलीले नै लेखेका हुन् कि हैनन् भन्ने पुष्टि भएको छैन।

उनको मन्त्रिमण्डलका अन्य सदस्यहरु पनि कता छन्- केही थाहा छैन। प्रतिनिधि सभा र राष्ट्रिय सभा रहेको संघीय संसद भवन जलाएर ध्वस्त पारिएको छ। सभामुख र राष्ट्रिय सभा अध्यक्ष कता छन् पनि टुङ्गो छैन।

अर्थमन्त्री विष्णु पौडेललाई सडकमा लखेटी लखेटी कुटिएको दावी गरिएको भिडियो भाइरल भए पनि त्यो भिडियोमा देखिने व्यक्ति उनै रहेको भन्ने पुष्टि भएको छैन। पौडेल निकटहरुबाट त्यो भिडियो गलत रहेको र उनी सुरक्षित ठाउँमा रहेको दावी गरिएको छ।

जेन जीहरुको डिस्कोर्डमा भएको अनलाइन छलफलमा अन्तरिम सरकारको नेतृत्वका लागि पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नाम लिएको तर त्यसैमा पनि लफडा झिकिएको अनि आर्मी मुख्यालय बाहिर सेनाले माइकिङ गरेर को को प्रतिनिधि आउने हो भोलि बिहान सम्पर्क गर्नु, प्रतिनिधिको नाम अहिले टिपाउनु भनेको भिडियो समेत देखियो।

शून्यताको यो अवस्थामा देश अहिले सेनाले सम्हालेको देखिन्छ। घोषित रुपमा सुरक्षा व्यवस्थाको नेतृत्वमात्र। सेनाले विज्ञप्ति जारी गर्दै काठमाडौँ उपत्यकामा भोलि पनि कर्फ्यु र निषेधाज्ञा हुने भनिसकेको छ।

देशमा अहिले के भइरहेको छ, केही थाहा छैन। के हुँदैछ- अन्यौल छ।

यसो अवस्था र संकेत हेर्दा चाहिँ मनमा लागेको छ- सोसल मिडिया ब्यानबाट बोल्नसमेत ब्यान हुने अवस्थामा त फर्कँदै छैनौँ हामी ?

तपाईँलाई यो विषयमा केही भन्न वा लेख्न मन छ भने माइसंसारको इमेल [email protected] मा पठाउन सक्नुहुन्छ

3 thoughts on “देशमा के भइरहेको छ ?”

  1. pushpa says:
    September 11, 2025 at 8:08 pm

    Thank you Salokya bhai.

    Reply
  2. Tek Bahadur says:
    September 11, 2025 at 6:27 am

    Glad to see you back to writing. I have been following you since the royal massacre days, when your blog was one of the few reliable sources of information. When everything started on Monday, the first thing I did was check Mysansar. I was saddened to see that, due to your personal circumstances, you had not posted anything about the ongoing situation in Nepal. I am truly glad now that you have started writing again.

    The way you write the truth, with rawness and the voice of a common man, makes it especially meaningful for people like me living abroad. Please keep posting. I believe continuing to write will also help you through your personal struggles.

    Reply
  3. पुरुषोत्तम अधिकारी says:
    September 10, 2025 at 11:08 pm

    यसो अवस्था र संकेत हेर्दा चाहिँ मनमा लागेको छ- सोसल मिडिया ब्यानबाट बोल्नसमेत ब्यान हुने अवस्थामा त फर्कँदै छैनौँ हामी ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme