Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

१९ जनाको हत्यापछि कर्फ्यु नाम मात्रको, रोक्न सकेको छैन आक्रोश

Posted on September 9, 2025September 9, 2025 by Salokya

अहिले मैले ब्लगमा यी शब्दहरु लेखिरहँदा राजधानी काठमाडौँ एउटा नेतातन्त्रविरुद्ध आक्रोशको ज्वालामुखी फुटेको ठाउँका रुपमा परिणत भइरहेको छ। यी शब्द लेख्नुभन्दा अगाडि म काठमाडौँका केही ठाउँहरु घुमेको थिएँ। यति आक्रोश थियो, यति पीडा थियो कि के भनौँ।

भन्नलाई त सरकारले बिहानैदेखि कर्फ्यु लगाएको घोषणा गरेको थियो। तर कर्फ्युको घोषणा गर्नु र त्यसलाई लागू गराउनुमा फरक हुन्छ। पूरै मास उर्लिएपछि कहाँ लगाउने कर्फ्यु ! सुरक्षाकर्मी एक जना पनि देखिएन।

फ्याक्ट चेकिङको ट्रेनिङ भइरहेको थियो हाम्रो हिजो। बीच बीचमा समाचारहरु पनि हेर्दै थिएँ। जेनजीको प्रदर्शन हुने भनेर एक दिनअघिदेखि प्रतिबन्धित सोसल मिडियाहरुमा समेत हल्लीखल्ली भइरहेको थियो।

प्रदर्शन बढ्दै जाँदा अप्रिय घटनाको पनि खबर आयो। सुरुमा लाग्यो- घाइते मात्र भएका होलान्। कसैको ज्यानै त नजाओस्। बिस्तारै एक जना, दुई जना गर्दै मृत्युको खबर आउन थाल्यो।

अहो, त्यसपछि त धमाधम संख्या बढ्दै गयो। मन विचलित बन्दै गयो। राति सोसल मिडियामा भिडियोहरु हेर्दा त आँखाबाट आँसु नै बग्यो। म आफ्नै व्यक्तिगत र पारिवारिक समस्याका कारण मानसिक स्वास्थ्य बिग्रेर औषधी खाइरहेको मान्छे। अरु भन्दा मलाई साह्रै विचलित बनायो। ती भिडियोहरु नहेर्नु पर्थ्यो होला। तर म मेरा भाइबहिनी पुस्तालाई दम्भी, अहंकारी, भ्रष्ट तन्त्रका पक्षपोषकहरुले स्कूलकलेजको ड्रेसमा चरा ढाले झैँ ढालेको पीडा कसरी महसूस नगरी बस्न सक्छु।

एक हैन, दुई हैन १९-१९ जना : सरकारी तथ्याङ्कमात्रै पनि। १९ जनाको परिवार आज पीडामा छ। अनि घाइतेहरुको संख्या त झन् ४ सयभन्दा बढी। अन्धाधुन्ध नै गोली हानेका रहेछन् नि पापीहरुले। यस्तो निर्मम दमन हुँदा पनि प्रहरी सुरुमा संयमित देखियो, फलाना फलानाको घुसपैठले यस्तो भयो भन्दै समाचारका नाममा आफ्ना कु‌‌ण्ठित विचार ठोक्ने  पत्रकारहरु पनि देखिए।

घुसपैठ नै होस्, संसद भवनभित्रै प्रवेशै किन नगरोस्- मान्छेको ज्यानभन्दा भौतिक सामानहरु त ठूलो हैन नि। फेरि ती प्रदर्शनकारीहरु संसदभित्रै प्रवेश गरेका त हैनन्। पर्खाल मात्रै क्रस गरेका न थिए। त्यसरी अन्धाधुन्ध गोली हानी ज्यान लिनु पर्छ?

संसद भवनभित्रै छिरेको भए के हुन्थ्यो ? त्यहाँ भित्रका कुर्सी र टेबलहरु तोडफोड हुन्थे होला। हाम्रै करको पैसाले त्यो फेरि बनाउन मिल्छ नि हैन? अस्ति अस्ति नै संविधान सभाका बेला कुर्सी र टेबल सभासदहरुले नै तोडफोड गरेको हामीले नदेखेका हौँ र। अनि फेरि बनाउन मिल्यो नि हैन ? अब हिजो गएको ज्यान फिर्ता ल्याउन मिल्छ ?

अमेरिकामा पनि क्यापिटल हिलमा प्रदर्शनकारीहरुले आक्रमण गर्दाखेरी जम्मा १ जना गोली लागेर मरेका थिए। यहाँ जस्तो टाउको र छातीमा गोली लागेर त्यत्रो धेरै मान्छे मरेका थिएनन्।

चैतमा राजावादीहरुको प्रदर्शन हुँदा सरकारले त्यति धेरै दमन गर्दा पनि मूलधारका मिडिया मौन बसेर सबै दोष दुर्गा प्रसाइँलाई मात्र थोपर्ने काम गरेका थिए। पछि बल्ल दबाबका कारण अलि अलि बोले तर उनीहरुको त्यही व्यवहारले राज्यलाई जे गरे पनि हुन्छ भन्ने जस्तो दम्भ पलाउने कारक बन्यो कि?

सूचिकृत हुन नआएको निहुँमा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको कदममा पनि मुख्य मिडियाहरुले हामीलाई त फाइदै हुन्छ जस्तो पाराको व्यवहार देखाएको लुकेको छैन। जेनजी पुस्ता त्यसअघि नै भ्रष्टाचार र कुशासनको विरोध सामाजिक सञ्जालमार्फत् गर्दै थिए। बोली रोकेपछि उनीहरु अझ आक्रोशित भए। त्यसपछि बिना कुनै योजना र तयारी प्रदर्शनको घोषणा भयो।

अनि भयो १९ जनाको नरसंहार। यो मानवताविरोधी अपराध हो। दोस्रो जनआन्दोलनमा जस्तो यसका दोषीहरुलाई छुट दिनु हुँदैन। छानबिन गरेर दोषीलाई सजाय दिनै पर्छ।

यति बेला नेताका घर र  पार्टीका कार्यालयहरुमा आक्रोशितहरुले आगो लगाइसकेका छन्। आक्रोशितहरुले बंगलादेश बंगलादेश भन्दा नेताहरु हियाउने तरिकाले बोल्ने गर्थे। आज देखे होला नि- नेताहरुलाई हेलिकप्टरमा राखेर सुरक्षित ठाउँमा ओसार्न परेको !

सच्चिनु पर्‍यो, सच्चिनु पर्‍यो भन्दा साख्खुले पल्टिएका नेताहरु, दुई जिब्रे व्यवहार देखाउनेहरुले आज आफ्नै निवासमा आक्रमण हुँदा देखे होला नि। आखिर आक्रोशले प्रधानमन्त्रीको निवास त भन्दो रहेनछ न विपक्षी नेताको निवास भन्दो रहेछ।

२०६२/६३ अनि २०४६ सालको आन्दोलनमा केही महिनामा मृत्यु भएको संख्या ओली नेतृत्वको हत्यारा सरकारले एक दिनमै बराबरी गर्‍यो। नेपालको इतिहासमा यो भन्दा कालो दिन अरु के हुनसक्छ ?

1 thought on “१९ जनाको हत्यापछि कर्फ्यु नाम मात्रको, रोक्न सकेको छैन आक्रोश”

  1. Bir Bahadur Temal says:
    September 9, 2025 at 9:49 pm

    प्रथमत तपाईलाई सुस्वास्थ्यको कामना गर्दछु।
    यति विशाल ट्यालेन्ट भएको ब्यक्तिको लामो अनुपस्थितिको महसुस हामी माईससांरका पाठकवर्गलाई हुदैं आएको छ।
    सकेसम्म आईरहनुहोला। यति गहिरो र यति तीखो अनि अकाट्य रुपमा तर्क तथ्याकं दिएर, fact check गर्दै जस्तोलाई तस्तो लेख्ने र प्रश्न ठहडाउने अति विरलै छन।

    अबको आउने सरकार गठनमा थोरै पनि दाग दुर्गन्धरहित, १००% सक्षम प्रमाणित र मुलुकलाई साचों रुपमा माया गर्नेहरुलाई समावेश गरिनपर्छ।
    दोस्रो, एउटा नागरिक आयोग गठन गरेर निश्चित अवधि भित्र जेन-Z आन्दोलनमा सरकार्को ह्यान्ड्लिगं बारे अनुसन्धान गरी दोषीहरुलाई कडासे कडा दण्ड सजाय दिईनु पर्छ जसले भविष्यमा फेरि यस्ता अमानवीय घटना न दोहोरिऊन।

    लगत्तै अर्को एउटा आयोग गठन गरेर सम्पुर्ण नेता र कर्मचारीका सम्पति विवरण खोजी गरी कठघरामा उभ्याईनु पर्छ। शीर्ष नेता भनिएकाहरुको सम्पुर्ण सम्पति राष्टियकरण गरिनपर्छ, देशलाई आर्थिक सम्म्रिद्दिको फोस्रो नारा दिएर बर्षौदेखि निरन्तर पद र सत्तामा रहिरहने, आफै र आफ्नै परिवार, नातागोता, विचौलिया पोषने नेताहरुलाई कुनै पनि हालतमा यसपाला त्यसै खेत बालीमा साडेंलाई छाडिदिए जस्तो गरेर दामलो फुलालिदिन भएन।

    यसको शुरुआत यी कथित नेताहरु र उनीहरुका परिवारबाट गरिन पर्छ, सम्पति आर्जन मात्र होइन, क्ष्क्ष्क्ष नातावाद क्रिपावाद बारे पनि खोजी खोजी निकाल्नु पर्छ, प्रशासनमा घुसखोरी बढेको र कुशासन चरम रुपमा छाउनमा यस्तै कुक्रित्यले भुमिका खेल्दै आएका छन।

    ओली नायके लगायत उनका पुर्ब मन्त्री मन्डलका सदस्यहरु
    देउबा
    प्रचण्ड
    रामचन्द्रे पौडेल
    माकुने
    झलनाथ
    हिसिला
    मोहन बस्नेत
    प्रकाशमान
    निधि
    कमल थापा
    वामदेव
    लिगंदेन
    दुर्गा प्रसाई
    त्रिपाठि
    शरदसिह भण्डारी
    एमालेका सबैजसो उच्च पद ओगट्दै आएका पुर्ब अर्थमन्त्री खतिवडा
    सुनिल शर्मा
    बर्षमान र श्रीमती
    पशुपति शम्सेर
    लोहनी

    अहिले हातमा र साथमा पैसो र सम्पति देखाउनलाई नहोला, लुकाएका होलान, तर छोराछोरीलाई विदेशमा पढाउन लगानी गरेका छन, अरुका नाउमा सम्पति राखेर लुकाएका छन, विहे व्रतबन्ध र विदेश भ्रमण आदिमा चडकभडक खर्च गरेका छन, ती सबै जरैसगै उखेलेर वाहिर ल्याउन पर्छ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme