Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आफूसँगको युद्ध जित्न खोज्दै : ८२ दिनपछि फेरि शब्दमा

Posted on August 25, 2025August 26, 2025 by Salokya

८२ दिनको मौनता !

जुन ४ मा माइनसको मान्छे : एउटा पुरुषको मौन पीडा शीर्षकमा ब्लग लेखिसकेपछि झण्डै तीन महिना मौन रहेँ। मौनता पनि कहिलेकाहीँ चिच्याउँदो रहेछ।
म भित्रैभित्र चिच्याइरहेको थिएँ, तर बाहिर लेख्ने हात चलेन। अहँ चल्दै चलेन।

८२ दिनको मौनता केवल मौनता थिएन, त्यो त भित्रैभित्रैको चीत्कार थियो—जसलाई सुन्‍न कसैको कान थिएन।

पछिल्लो ब्लगपछि शब्दहरू रोकिएका थिए, तर पीडाले कहिल्यै ब्रेक लिएको थिएन। आज फेरि लेख्दै छु, शब्दहरूलाई औषधि बनाएर। बुबाको निधनपछि सबैभन्दा बढी आँसु बगाएको र बगाउन नसकी भित्रभित्रै पीडाले जलेको अवधि यही नै थियो। त्यसैले केही लेख्न मन थिएन लेख्न सकिएन पनि, , ब्लगमा मात्र होइन-सामाजिक सञ्जालमा पनि। तर कहिलेकाहीँ नलेख्नु पनि जिन्दगीको एउटा कथा बन्दो रहेछ। अब म पीडालाई मात्र होइन, आशालाई पनि लेख्‍नेछु। यही आँट गरेर बल्ल बल्ल आज फेरि ब्लगमा केही शब्द लिएर फर्किने जमर्को गर्दैछु।

यो अवधिमा मेरा केही भ्रम राम्रैसँग टुटे। मलाई लाग्थ्यो- म यति धेरै विपश्यना ध्यान गरेको मान्छे। मनलाई आफैले नियन्त्रण गर्नु पो पर्छ। मनसँग सम्बन्धित औषधीले दबाउनु हुँदैन।

त्यसैले म दुई तीन हप्ता औषधी खाएर अलि हल्का हुने बित्तिकै छाडिदिन्थेँ। काउन्सेलिङ/थेरापी गर्नुपर्ने डक्टरको सुझावलाई बेवास्ता गर्थेँ। ‘बढी जान्ने’ भएको थिएँ म। काउन्सेलिङ/थेरापीमा जे भन्ने हो, त्यो म आफैलाई थाहा छ भन्ने लाग्थ्यो। केही दिन गाह्रो हुन्थ्यो, फेरि सहज हुन्थ्यो वा सहज भएको भ्रममा रमाउँथेँ।

तर यस पटक यस्तो अवस्थामा पुगेँ, जहाँ म र मेरा भावनाहरुमाथि मेरो आफ्नो नियन्त्रण थिएन। विशेष गरी जेठ २० गते मुद्दाको फैसला हुने दिन जिल्ला अदालत काठमाडौँको इजलासमा न्यायाधीशको निर्मम व्यवहार, विपक्षी वरिष्ठ अधिवक्ताको कूतर्क, प्रतिवादीले हाकाहाकी बोलेको झुट : यी सबले मलाई निकै विचलित बनाएको रहेछ। जति समय बित्दै गयो, त्यही कुरा दिमागमा आइरहे, मनमा खेलिरहे।

न्याय माग्दा कान बन्द हुने रहेछन्, तर झुट बोलेर चिच्याउँदा ढोका खुल्ने रहेछन्।

यति भएर बिस्तारै हराएको भए त ठीक हुन्थ्यो। तर यस्तो दुष्चक्रमा फँसेछु, खाली त्यही कुरा बारम्बार सम्झना आउने र पीडा झन् झन् गहिरिँदै जाने।

अनि त्यसपछि ?

रिस। आक्रोश।

हेल्पलेसनेस !

र उही, ‘सुसाइडल थट’ ! धन्न झिल्का झिल्का मात्र थियो त्यो कुविचार मनमा आएको।

मन त मेरो आफ्नै थियो, तर नियन्त्रण अरू कसैको हातमा गएको अनुभूति भयो।

रिस र आक्रोशले चाहिँ सीमा नै नाघ्यो। मन स्थिर हुनै सकेन। बेला बेला रिस उठिरहेको छ, आक्रोशित भइरहेको छु म यसो गर्न हुन्न भन्ने विचार आउँथ्यो तर फेरि त्यो विचारलाई रिसले नै बगाइहाल्थ्यो। म आफ्ना इमोसनहरुमा कन्ट्रोल गर्न सकिरहेको छैन भन्ने थाहा पाएपछि मलाई डर लाग्यो। अहो, म त यस्तो थिइनँ। म त सबको मंगल होस्, सबको भलो होस् भनेर प्रार्थना गर्नुपर्ने मान्छे। मनमा खाली रिस र कुविचार मात्रै आउँछन् त। यही क्रम बढ्यो भने त अप्रिय घटना हुनसक्छ।

अब के गर्ने ?

सुरुमा म विपश्यनाका गुरुको सल्लाह लिन बुढानिलकण्ठ पुगेँ। व्यक्तिगत सबै कुरा बताउँदै मेरो समस्या बताएँ। मलाई सिद्धान्तका कुरा सबै थाहा छ, लेखेर वा बोलेर परीक्षा दिनुपर्ने भए म पूरै अङ्क ल्याएर पास पनि हुन्छु होला। तर म गर्न सकिरहेको छैन।

पुराना सिनियर गुरु पूर्णप्रसाद ढकालले मुस्कुराउँदै एउटा श्लोक सुनाउनु भयो- सहस्सं अपि चे वज्जे, अनट्ठपदसंहितं। एकं अट्ठपदं सेय्यो, यं सुत्वा उपसम्मति॥

अर्थात् अरुलाई हजारौँ पटक युद्धमा जित्ने भन्दा पनि, आफूलाई एक पटक जित्न सक्ने विजयी नै सबैभन्दा ठूलो विजेता हो।

अरुलाई जित्नु सजिलो रहेछ, तर आफूलाई जित्नु—त्यो नै जिन्दगीको साँच्चिकै रणभूमि रहेछ।

गाह्रो त हुन्छ तर प्रयास जारी राख्नुपर्छ भन्ने उहाँको भनाई। तर त्यही प्रयास त गर्न सकिएन नि।

मैले आफूलाई त्यतिबेला भइरहेको सबै कुरा बताएँ। अनि उहाँले भन्नुभयो- म डक्टर हैन। डक्टरलाई देखाउनुस्, केही समय औषधी खानुस् अनि ठीक भएपछि फेरि ध्यान थाल्नुस्।

त्यतिबेला म एक मिनेट पनि आँखा चिम्म गरेर शान्तसँग बस्न नसक्ने अवस्थामा पुगिसकेको थिएँ।

अनि मैले यही विषयका अनुभवी एक साथीलाई गुहारेँ। उसले मलाई पुर्‍यायो रिदम न्युरोसाइकियाट्री अस्पताल। म यस्तो अवस्थामा त्यहाँ पुगेको थिएँ जहाँ म आफ्ना बारेमा आफै बताउन समेत असमर्थ थिएँ। साथीले सबै कुरा बताएपछि मलाई साइकियाट्रिस्टले केही औषधी दिए। मेरा लक्षण डिप्रेसन र एन्जाइटी दुवैसित मिलेको भन्दै जनरल एन्जाइटी डिसअर्डरको नाम दिए।

औषधी खाएको एक महिनाभन्दा बढी समयसम्म पनि म स्टेबल हुन सकिनँ। त्यसैले मरता क्या नहीँ करता- काउन्सेलिङ वा थेरापी पनि गर्नुपर्छ कि भन्ने सोच आयो। त्यो पनि थालेँ।

औषधि भनेको कमजोरी होइन, बाँच्छु भन्ने आँटको अर्को नाम हो।

अहिले सोच्दा लाग्छ- मैले ठीक समयमा औषधी सुरु गरेँ र नियमित गरेँ। नत्र म यत्तिकैमा सकिन्थेँ होला। मानसिक स्वास्थ्यको औषधीबारेको मेरो ठूलो भ्रम तोडियो। पहिले लाग्थ्यो, ध्यानले मात्र सबै निको हुन्छ। अब बुझें—औषधी, थेरापी, ध्यान, संवाद—सबै मिलेर जीवनलाई थाम्ने काँध हुन्।

मैले यो बीचमा के पनि महसूस गरेँ भने पीडा मनमा गुम्स्याएर भन्दा पोख्दा सहज हुने रहेछ। अनि एक्लै बस्ने होइन सकेसम्म अरुसित बोल्नु पर्ने रहेछ।

समस्या आइपुग्दा थाहा हुन्छ—को नजिक छ र को केवल नजिक देखिन्छ।

अनि यस्तै समस्या पर्दा नै आफ्ना हितैषीको पहिचान हुने रहेछ। आफूले नजिक ठानेका, आफ्ना ठानेकाहरुको पराई जस्तो व्यवहार, अनि नसोचेका व्यक्तिहरुले आफ्नाले भन्दा बढी चिन्ता र माया गरेको पनि भोगियो।

कोहीले भने, “लोग्ने मान्छे भएर यस्ता कुरा गर्छस्?”  पीडामा भन्दा बढी पीडादायी लाग्यो, आफ्नै नजिक मानिएका मुखबाट यस्ता शब्द सुन्नु। तर त्यसैबेला, नसोचेका केही व्यक्तिहरूले फोन गरेर, मेसेज गरेर वा भेटेर दिएको सानो माया—त्यो भने साह्रै ठूलो बलको स्रोत बन्यो।

संकटले नै देखाउँछ, को नजिक छ र को केवल नजिक देखिन्छ।

विपश्यनाको अभ्यासमा सिकाइएको एउटा कुरा अहिले आएर गहिरो गरी बुझें—दुःख बाहिरका आलम्बन (घटना वा मानिस) ले होइन, आफ्नै मनले सिर्जना गर्छ। यदि मन समतामा बस्न सकेको भए, न न्यायाधीशको कठोर व्यवहारले मलाई हल्लाउने थियो, न विपक्षीको झुटले पोल्ने थियो। वास्तवमा दुःखको कारण अरू कसैमा होइन, म आफैंमा थियो। बाहिरको संसारलाई दोष दिने बानी छोडेर भित्रको मनलाई सम्हाल्न सकेको भए, सायद म यत्तिकै पीडामा जल्नु पर्ने थिएन।

अहिले पनि समस्याहरु बाँकी नै छन्। मैले नलिएको, कता केमा खर्च भयो पनि थाहा नभएको ऋणको हिस्सा वापतको ५० लाख र मानाचामलवापतको २० लाख रुपैयाँ कहाँबाट ल्याएर तिर्ने मलाई केही थाहा छैन। घरबार गुमाएर शून्य हैन माइनसमा आइपुगेको छु। माइनस भनेको केवल ऋणको हिसाब मात्र होइन रहेछ, जिन्दगीको एउटा मनोविज्ञान पनि रहेछ।

शून्यले त कम्तीमा खालीपन दिन्छ, माइनसले त बोझमात्र दिन्छ।

यावत समस्याका बीच पनि म बाँच्न सकेको छु, मैले बाँच्न सिकेको छु- अहिलेलाई यही ठूलो उपलब्धिका रुपमा लिएको छु।

मसँग अहिले धेरै छैन—तर बाँच्ने आँट छ। यही आँट, अहिलेको मेरो सम्पत्ति हो।

सम्बन्धित ब्लगहरु

माइनसको मान्छे : एउटा पुरुषको मौन पीडा

कहाँ हराएँ म ? – २

कहाँ हराएँ म- १

12 thoughts on “आफूसँगको युद्ध जित्न खोज्दै : ८२ दिनपछि फेरि शब्दमा”

  1. santosh pradhan says:
    September 6, 2025 at 8:22 pm

    You’ve been through so much, but the way you’re still holding on with hope is inspiring. Just remember—you’re not alone in this. Better days will come. Stay strong, my friend 🌸

    Reply
  2. Santosh says:
    September 5, 2025 at 1:56 pm

    तपाइको जीवनको घटना र अवस्था पति सहानुभूति व्यक्त गर्दछु. पहिले पनि तपाइलाई संदेश पठाएको थिएँ वास्ता गर्नुभएन .
    विपस्यना ध्यान मा पनि गएको छु, तपाईलाई धन्यबाद तपाइकै कारण ले हो म ६ बर्ष अघि त्यहाँ पुगेको. ध्यान खास गरि हठ योग को मौन साधना मा जोड दिईने रहेछ विपस्यनामा. यो पनि राम्रो हो तर सबै मानिसलाई यो suit गर्छ, यसले नै जस्तोसुकै परिस्थिति मा संयम राख्छ भन्ने हुन्न. मानिस अनुसार र उसको परिस्थति अनुसार फरक पर्छ.
    अरु बिधि को बारेमा बतौना चाहेको तर तपाई ले वास्ता गर्नुभएन

    Reply
  3. Ss says:
    August 29, 2025 at 12:38 am

    Good to hear back from you Umesh Ji and happy to see you being mentally strong. Keep on being stronger. We all need you❤️.

    To all well wishers, it is also possible to donate via the donate link on this blog with both PayPal for those abroad and through ESewa QR code.
    Please try that too. I tried it worked.

    Every help counts to help this gentleman.🙏🙏🙏

    Reply
    1. Rohan M says:
      September 7, 2025 at 6:20 am

      प्रिय उमेश,
      अरू धेरै मानिसहरूले भनेझैँ म पनि २००६ को सुरु देखिनै तपाईंलाई पछ्याइरहेको छु। बिहान सबेरै उठ्ने बित्तिकै मैले गर्ने पहिलो कुरा तपाईंको ब्लग खोल्नु हो। नेपालबाट कुनै समाचार सुन्नासाथ म सबैभन्दा पहिले तपाईंको ब्लग पोस्टमा जान्छु। तपाईंले यति सजिलै हार मान्नु हुँदैन।

      म पनि विगत ६ महिनादेखि उस्तै परिस्थितिबाट गुज्रिरहेको छु। कहिलेकाहीँ सबै कुरा ठिकै छ जस्तो लाग्छ तर अरू बेला ठूलो झगडा हुन्छ। मैले ध्यान गर्न सुरु गरेको छु, धेरै आध्यात्मिक पुस्तकहरू पढिरहेको छु, र अहिले सबै कुरा ब्रह्माण्ड वा भगवान्लाई सुम्पिएको छु। कहिले हार मान्नुपर्ने जस्तो लाग्दा म पढेका पुस्तकका कुरा सम्झन्छु।

      डा. माइकल न्यूटनको Past Lives सम्बन्धी पुस्तक पढेपछि मेरो सोच अझै गहिरो भएको छ। हामी जन्म भन्दा अघिदेखि नै आफ्नो परिवार छानेर आएका हुन्छौँ। यो जीवनमा के सिक्ने भन्ने योजना अनुसार आमाबाबु, श्रीमान्–श्रीमती, सन्तान सबैलाई हामीले रोजेका हुन्छौँ। एक–अर्कालाई शिक्षा दिन, सहयोग गर्न र कर्मको पाठ सिकाउन हामी पृथ्वीमा आएका हौँ। त्यसैले जीवनमा जे हुन्छ, त्यो सबै हाम्रो पूर्वकर्म र सिकाइको योजना अनुसारै हुन्छ। विश्वास गर्नुहोस्—जे हुन्छ त्यसको कारण हुन्छ।

      म हरेक दिन कहिलेकाहीँ यस्तो अवस्थामा पुग्छु कि अब सक्दिन जस्तो लाग्छ। तर जब म ध्यानमा बस्छु, यी सत्यहरू सम्झन्छु अनि फेरि बलियो बन्छु। म मनमनै आफ्नी पत्नीलाई धन्यवाद दिन्छु—उहाँले मेरो लागि जुनसुकै कुरा गर्नुभएको छ, मलाई अझै बलियो बनाउनुभएको छ। हामीले गरेका माया र बलिदानका क्षणहरू सम्झन्छु। श्रीमान्–श्रीमतीबीचको सम्बन्ध धेरै जन्मदेखि चलिआएको हो। कहिलेकाहीँ हामीले विपरीत भूमिकासमेत खेल्छौँ।

      हाम्रो धेरै जन्महरू छन्। जब मृत्यु हुन्छ, हामी सबैले यी अवस्थाहरूमाथि हाँस्नेछौँ। र विश्वास गर्नुहोस्—मृत्यु अघिनै तपाईंलाई यी क्षणहरूप्रति गर्व हुनेछ, जब यो आँधी समाप्त हुनेछ।

      अन्त्यमा, तपाईंलाई एउटा सानो सुझाव—कृपया PLR (Past Life Regression) सम्बन्धी भिडियोहरू, Speaking Tree, PMC Hindi जस्ता युट्युबका आध्यात्मिक च्यानलहरू पनि हेर्नुहोस्। यीहरूले मनलाई शान्ति दिनेछन् र अझै प्रेरणा दिनेछन्।

      Reply
  4. Raju Adhikari says:
    August 27, 2025 at 9:21 am

    Stay strong. Every problem has a solution. Difficult days will pass soon.
    And keep writing. I love to read your articles.

    Reply
  5. Narayan says:
    August 25, 2025 at 7:00 pm

    आउनुहोस् GoFundMe सुरु गरौँ। तपाईं सहमत वा असहमत हुनुहुन्छ भने कमेन्टमा लेखिदिनुहोस्। GoFundMe सुरु गर्ने काम चाहिँ सलोक्याले विश्वास गर्ने कसैबाटै सुरु गरौँ।

    Reply
    1. Milan says:
      August 26, 2025 at 12:44 pm

      ma pani salokya sarko jastai ta nabhanau tara ustai paristhiti bata gugrisakeko chu. ahile balla afau lai samhalna sakeko chu. malai thaha cha yo abastha ko pida kati hunch bahnne. jhan uhale ta ma banda badi vognu vayecha. ma 0 ma thiye uha – ma pugnu vayecha. I am agree with you.

      Reply
    2. Krishna Wagle says:
      August 27, 2025 at 5:13 am

      👍🙌

      Reply
    3. Lal Tamang Pakhrin (ललित नारायण) says:
      August 28, 2025 at 8:39 am

      यदि शालोक्यजी यसमा सहमत हुनुहन्छ भने अवश्य शुरु गरौं। एक समय धेरै पाठक माझ लोकप्रिय ब्लग माईसंसारका हाम्रा प्रिय शालोक्यजीलाई आईलागेको यो विषम परिस्थितिबाट निस्कन केहि सहयोग हुनेछ। वहांका हजारौं पाठक र शुभचिन्तक छन्। ती मध्ये केही सयजनाबाट मात्र सहयोग संकलन हुन सके पनि उहाँलाई सहज हुने थियो। वहाँ जस्तो विद्वान, ज्ञानी, चेतनशिल र देशकै लागि हुनहार व्यक्तित्व अवश्य पनि यस परिस्थितिलाई जित्नु हुनेछ। सबैको साथ हुनेछ। धैर्य राख्नुस शालोक्यजी। सबै कुरा परिवर्तनशिल छ। कुनै पनि समस्या संधै रहि रहंदैन।

      Reply
    4. Surya Giri says:
      August 29, 2025 at 12:00 am

      garau hoina gari halau please. Lets help Shalokya. yadi kasaile gareko bhaya please link share garnuhola.

      Reply
  6. Dhak Gurung says:
    August 25, 2025 at 2:27 pm

    फेरि पढ्न पाईयो खुशी लाग्यो। म पनि करिव यहि मानसिक स्वास्थ्यको अवस्था बाट गुज्रेर अनि सुसाईड पनि धेरै पटक गर्न खोजेको हो। मलाई नि लाग्थ्यो काउन्सिलिङले भै हाल्छ औषधि किन खाने तर जब म Dr. Riju पुरानो मेडिकल कलेज चितवन गए उहाले कडा रुपमा भन्नू भो अहिले गूगलवाला लाई भन्दा केहि नजान्नेलाई उपचार गर्न सजिलो छ जब दिमागमा सन्तुलन अनि खुशी बनाउने रसायन नै नभए काउन्सिलिङ ले मात्र कहाँ हुन्छ?? अनि मैले 2023 jan बाट उहाको सल्लाह अनुसार औषधि सेवन गर्दा करीव एक पछि बाट सामान्य जीवन अनि फेरि कतार नै फर्केर काम गर्दै छु।
    मानसिक स्वास्थ्य क्षेत्रमा धेरै भ्रम छन र सबैलाई चिरेर सचेतनाको अति नै जरुरी छ ।
    सालोक्य जी को अगामी दिन शुभ अनि सहज रहोस
    🙏🙏🙏

    Reply
  7. Sujan Paudel says:
    August 25, 2025 at 1:44 pm

    धेरै पछि तपाईको ब्लग पढेर अपडेट हुन पाईयो । मुख्य कुरा आफूलाई धैर्य राख्नुस, सबै कुरा मिल्दै जान्छन्,हिम्मत नहार्नुस, छोरा मान्छे हो एक दिन अबश्य जितिन्छ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme