१९ जेठ शुक्रबारको राति १० बजेतिर रातो बत्ती पिलिक पिलिक बाल्दै सनसनाएर आएको सेनाको एउटा जीप थापाथलीमा बागमतीको पुलनेर पुगेर नर्भिक (नर्सिङ होम) तिर मोडिन लाग्दा झण्डै दुईवटा मोटरकारसँग ठोक्किएको थियो। सैनिक पोशाकमा आएका एक शाही अङ्गरक्षक जीपबाट हुत्तिँदै निस्केर अस्पतालभित्र पसे र न्यूरोर्सजन डा. उपेन्द्र देवकोटालाई क्लिनिकबाट तानेर बाहिर निकाले। “युवराजलाई गोलीको चोट लागेको छ, हामी छाउनी जाँदैछौँ,” त्यत्तिकै अलमल्ल परेका डाक्टरलाई उनले भने। प्रतिघण्टा असी किलोमिटरसम्मको बेगमा हुइँकिएर थापाथलीबाट छाउनीसम्मको दूरी चार मिनेट पनि नलगाई तय गरेको त्यो जीपलाई बाटो खाली गरिदिन सडकमा हिँडिरहेका कार, मोटरसाईकल र बटुवाहरूलाई हम्मे-हम्मे परेको थियो। प्रस्तुत छ, वीर अस्पताल, न्यूरोर्सजरी विभागका प्रमुख डा. उपेन्द्र देवकोटाले त्यो रात सैनिक अस्पतालको ‘ट्रमा हल’ (गम्भीर चोटपटक लागेका बिरामीहरूलाई उपचार गर्ने कक्ष) मा देखेको अकल्पनीय दृश्य र त्यसपछिका तीन दिनमा गरेको मार्मिक अनुभवको विवरण, उनकै मुखबाटः उपेन्द्र पछि ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा मन्त्री बनेका थिए। २०७५ असार ४ गते उनको निधन भएको थियो।
मैले ती तीन दिनमा जे देखेँ
-डा. उपेन्द्र देवकोटा-
आर्मीको केटोले मोटर हाँकेको ताल देख्दै मैले युवराजलाई ठूलै अनिष्ट भएछ भन्ने अनुभव गरिसकेको थिएँ। अस्पतालको ढोकैदेखि सैनिक कर्मचारीहरूको भागदौड देखिन्थ्यो। प्रस्ट थियो, मलाई यहाँ ल्याउनेहरू सीधै माथि युवराज भएका ठाउँमा लैजान चाहन्थे, तर बीचैमा अरूले तानेर ‘ट्रमा हल’ तिर लगे। कोही ‘यता डाक्टरसा’ब’ भन्दैथिए त कोही ‘माथि डाक्टरसा’ब’ भन्दैथिए।
त्यतिबेलासम्म मैले युवराजलाई गोलीको चोटपटक लागेको छ भन्ने कुरा मात्र थाहा पाएको थिएँ। मलाई हलतिर डोर्याउँदै सबैभन्दा पहिले देब्रेतिर एक बिरामी भएपट्टी लगियो। बिरामीको अनुहार पूरै फुङ्ग उडेको, कमीज, सुरुवाल र अलिअलि फुलेको कपाल रगतपच्छे भएको र घाँटीमा साईबाबाको लकेट झुण्डिएको थियो। बिरामीलाई एयर ब्यागको मद्दतले सास फेर्न सघाउन खोजिँदैथियो। मैले थाहा पाईन बिरामी को थियो, तर निर्जीव छ भन्ने कुराको भेउ टाढैबाट पाईसकेको थिएँ। मैले आँखा हेरेँ, नाडी छामे र भनेँ, “बितिसके।”
त्यसपछि डाक्टर खगेन्द्र श्रेष्ठले “बर्बादै भयो, कोही बाँकी छैनन्, सबैको संहार भएको छ” भन्दै मलाई हलको पल्लो छेउतिर लैजानुभयो। त्यहाँ सेतो तन्नाले ढाकिएको एउटा शव थियो। उहाँले तन्ना हटाउनुभयो र भन्नुभयो, “श्री ५ बडामहारानी सरकार !” बडामहारानीको टाउकोको माथिल्लो भाग क्षत-विक्षत भएको थियो। मैले कुनै प्रतिक्रिया जनाउन नपाउँदै उहाँले मलाई भुइंमा भएको अर्को स्ट्रेचरतिर डोर्याउनुभयो र तन्ना हटाउँदै भन्नुभयो, “अधिराजकुमार निराजन सरकार ! र, यता अधिराजकुमारी शारदा !” मलाई यत्ति नै काफी भैसकेको थियो।
डाक्टर श्रेष्ठले फेरि अर्को स्ट्रेचर भएतिर लैजानुभयो, जहाँ एकजना बिरामीलाई पुनर्जीवन दिने प्रयास गरिँदैथियो, र भन्नुभयो, “अधिराजकुमारी श्रुति।” जीवित एकजना त देखेँ, तर बिरामीको अवस्था एकदम नाजुक थियो, मुटु मुश्किलले चलिरहेको थियो, नाडी चलेको थिएन, झट्ट हेर्दा कुनै बाहिरी चोटपटक देखिँदैनथ्यो, त्यसैले मैले भन्ठानेँ आन्तरिक रक्तस्राव वा फोक्सोको बाहिरी र भित्री पत्रबीच हावा भरिएर फोक्सोले काम नगरेको अवस्था हुनसक्छ। अधिराजकुमारीको टाउकोमा चोट थिएन र अरू डाक्टरहरूले हेरिराखेका थिए, त्यसैले डाक्टर श्रेष्ठले मलाई हतार-हतार साईबाबाको लकेट लगाएको उही मैले भित्र पस्ने बित्तिकै देखेको बिरामीतिर लैजानुभयो र भन्नुभयो, “श्री ५ महाराजाधिराज सरकार !”
मेरो लागि सबैभन्दा भारी क्षण त्यही थियो। म झसङ्ग भएँ सम्पूर्ण राजपरिवारको अन्त्य ! यतिबेलासम्म पनि मलाई के भएको हो भनेर कसैले भनेको थिएन, तर मैले यो सबै गोलीको चोटपटकले हो भन्ने बुझिसकेको थिएँ। म के अनुमान लगाउन थालेँ भनेँ, यो जसले गरेको भए पनि पूरै राजपरिवारलाई सिध्याउन खोजेको रहेछ। मेरो दिमागमा विभिन्न सम्भावनाका कुरा खेल्न थालेः सेनाले हो ? कि माओवादीले ? तर मैले कसैलाई सोधिनँ, राजाप्रति आफ्नो अन्तिम सम्मान प्रकट गरेँ र बाहिर निस्केँ।
मलाई तीन वर्षअघि काठमाडौँमा अन्तर्राष्ट्रिय न्यूरोर्सर्जिकल सम्मेलन हुँदा राजासँग भेटेको झझल्को आयोः उहाँ अति भद्र होइबक्सन्थ्यो र देशको लागि अत्यन्त चिन्ता गरिबक्सन्थ्यो। श्री ५ को निधन भएको कुरा स्वीकार गर्न निकै कठिन थियो। मेरो लागि मैले आफ्नै मातापितालाई गुमाए जस्तै ठूलो क्षति थियो त्यो।
त्यसपछि म माथिल्लो तलातिर लागेँ। सैनिक स्वास्थ्यकर्मीहरूले बिरामीहरूलाई अवस्था अनुसार प्राथमिकता दिएर राखेका थिए। अपरेसन गर्दा लगाउने हरियो लुगा फेरेर म अपरेसन थिएटरमा पसेँ। बाटोमा चारजना अरू घाइते बिरामीहरू थिए जसलाई मैले त्यतिबेला चिनिनँ। युवराजको टाउकोको दुवैतर्फ दुईवटा घाउ थिए, जसबाट रगत र गिदीका टुक्राहरू बाहिर निस्केको देखिन्थ्यो। युवराजलाई ‘अन्डरवेयर’ बाहेक सबै कपडा फुकालेर सुताईएको थियो। शरीरमा अरू घाउचोटहरू थिएनन्। छातीमा सास फेर्न सजिलो पार्ने ट्यूब हाल्ने र सलाईन पानी दिने काम भैसकेको थियो र यो सबै बडो कुशलतापूर्वक गरिएको थियो। मनिटरमा रक्तचाप र मुटुको चाल ठीकै देखिन्थ्यो- अधिकतम ११० र न्यूनतम ७० वा ८०। आँखाका नानी फैलिसकेका र अचल थिए, तर हातखुट्टा भने चलेका थिए। यसको अर्थ, मस्तिष्क अझै मरिसकेको थिएन। युवराज सास फेर्न प्रयास गरिबक्सँदै थियो भने स्वास्थ्यकर्मीहरू रबर ब्यागबाट हावा दिएर सास फेर्न सजिलो पारिदिँदै थिए।
त्यतिबेलाको मेरो मूल्याङ्कनमा युवराजको बेहोसीको अवस्था ‘ग्लास्गो कोमा स्कोर’ मा ४ थियो, ३ होईन जुन भनेको एकदमै न्यूनतम हो। तर बचाउने सम्भावना धेरै कम थियो। हामीले यथासम्भव राम्रो उपचारको प्रयास र कुनै चमत्कार नै हुनसक्ने मौका सिर्जना गर्नुपर्ने थियो। युवराजको उपचारमा एकदमै कुशल स्वास्थ्यकर्मीहरू संलग्न थिए। हामीले युवराजलाई कृत्रिम श्वास-प्रश्वास उपकरणमा राख्यौँ र अपरेसनको लागि चार पोका रगत जुटायौँ। हामीसँग सैनिक अस्पतालका न्यूरोर्सजन डाक्टर शर्मा हुनुहुन्थ्यो, वीर अस्पतालका प्लाष्टिक र्सजन डाक्टर जोशीलाई बोलाईयो र सौभाग्यवश, अपरेसन थिएटरका सहयोगीहरू पहिले मसँगै एभरेष्ट नर्सिङ होममा काम गरेका स्वास्थ्यकर्मीहरू थिए। उनीहरू मेरो काम गर्ने तरिकासँग परिचित भएकाले सजिलो भयो। तर अपरेसनमा हात हाल्नुअघि मैले न्यूरोर्सर्जिकल केसका अरू घाईतेहरू पनि छन् कि भनेर हेरेँ।
धीरेन्द्र होसमै हुनुहुन्थ्यो, तर उहाँ बढी स्वाँ-स्वाँ गरिरहनुभएको थियो। अधिराजकुमारी कोमलको छातीमा घाउ थियो, गोलीले धन्न मुटु भेटेको रहेनछ। कुमार गोरख पनि त्यहीँ हुनुहुन्थ्यो। केतकी चेष्टरको कुममा चोट लागेको थियो र उहाँ अलिअलि बोल्न सक्नुहुन्थ्यो। युवराजको देब्रे कानको ठीक पछाडि गोली छिरेको एक सेन्टिमिटर चौडा घाउ थियो। दाहिनेपट्टि कानभन्दा माथि चाहिँ अलि ठूलो गोली निस्केको घाउ थियो। त्यहाँ मैले बिरामीलाई राम्रो उपकरण र दक्ष जनशक्ति भएको वीर अस्पतालको न्यूरोर्सजरी सघन उपचार कक्ष (आईसीयू) मा लैजानु पर्छ कि भन्ने बारे निर्णय लिनुपर्ने भयो। तर स्थानान्तरणले विरामीको बाँच्ने झिनो आशा अझै कम गरिदिन सक्छ भन्ने मलाई लाग्यो। हामीले पछि एमआरआई गर्न बाधा नहोस् भनेर टाउकोमा धातुका टुक्राहरू छन् कि छैनन् थाहा पाउन युवराजको मष्तिष्कको एक्स-रे गर्यौँ। टाउकोमा धातु रहेनछ। भित्र धातु रहेको अवस्थामा एम्आरआई गर्नु ठूलो भूल हुन्थ्यो। हामीले देब्रेपट्टिको घाउ खोलेर ठूलो पार्यौँ, गिदीका मृत तन्तुहरू हटायौँ, घाउ सिलायौँ, बिरामीलाई अर्कोतिर फर्कायौँ र निर्धारित प्रक्रिया अनुसार, अपरेसन गर्दा काटिएको ठाउँमा हुने रक्तस्राव रोक्न काटेको भाग डामेर डढाउँदै जाने, हाडका टुक्राटुक्री हटाउने र पछि हुनसक्ने संक्रमणको उपचारका लागि मष्तिष्कको आवरणलाई अलिकति खुला राख्ने काम गर्यौँ।
त्यसपछि डाक्टर जोशीले छालाको बाहिरी पत्र मिलाईदिनुभयो। बल्ल मैले र्सजनको कोठामा जाने समय पाएँ। त्यहाँ गएर केही साथीहरूसँग कुरा गरेपछि मात्र थाहा भयोः तिनै युवराज, जसको भरखरै मैले अपरेसन गरेँ, बाट यो सबै भएको रहेछ। यो सुनेपछि मलाई एक हिसाबले व्यक्तिगत रूपमा केही राहत महसूस भयो। निश्चय नै, राजपरिवारको लागि यो भयङ्कर विपत्ति थियो, तर कुनै बाहिरी शक्तिको काम भईदिएको भए देशकै लागि झन् अनिष्टकर हुनसक्थ्यो। समय बितेको पत्तै पाएनछु, बाहिर उज्यालो हुन थालिसकेछ। हामीले एम्आरआई गर्यौँ। गोली मष्तिष्कको धेरै भागमा क्षति पुर्याई आन्तरिक रक्तस्राव समेत गराएर पार भएको रहेछ। यो सबै साह्रै नराम्रो लक्षण थियो। उपचारको योजना सुनिश्चित नै थियो- बिरामीलाई आईसीयूमा लैजाने, एन्टिबायोटिक जारी राख्ने, मष्तिष्कमा पर्ने चाप घटाउन कृत्रिम श्वास-प्रश्वास जारी राख्ने, टाउकोलाई ३० ड्रि्री कोणमा उठाईदिने।
यति गरेपछि डाक्टर श्रेष्ठ “हामी अब छुट्टिअौँ र भोलि बिहान दश बजे भेटौँ” भन्दै हुनुहुन्थ्यो, त्यत्तिकैमा अधिराजकुमार ज्ञानेन्द्र कुनै पनि बखत आईपुग्न सक्ने खबर आयो र पर्खेर बस्यौँ। अबको परिस्थिति सम्हाल्न कमसे कम राजपरिवारका एक जना त जीवितै छन् भन्ने खबरले सैनिक अस्पतालमा केही राहत अनुभव गराएको महसूस हुन्थ्यो। अधिराजकुमारको आगमन भयो। उहाँ सबै मृत र घाईतेहरूको छिटोछिटो निरीक्षण गर्दै माथि पुस्तकालयमा सवारी भयो र डाक्टर श्रेष्ठ र मलाई त्यहीँ बोलाईबक्स्यो। अधिराजकुमारले मलाई हेरेर सोधिबक्स्यो, “भन्नुस्, युवराजलाई कस्तो छ -” मैले बिना कुनै संशय स्थिति अवगत गराएँ, “टाउकोमा निधारको पछाडिपट्टि मष्तिष्क छेडिएको घाउ भएको अवस्था सामान्यतया घातक नै हुन्छ।” मैले युवराज अझै जीवित भए पनि बाँच्ने सम्भावना एकदमै क्षीण भएको बताएँ। अधिराजकुमार असाध्यै गम्भीर तर अविचलित होईबक्सन्थ्यो। उहाँलाई मैले संयमित, निर्णय क्षमता नगुमाएको र समयप्रति सजग पाएँ। उहाँहरूलाई जनतालाई के बताउने, सञ्चारमाध्यमलाई के जानकारी दिने भन्ने समस्या थियो। तर मैले के भन्नै पर्छ भने औषधोपचारको मामिलामा कुनै प्रकारको हस्तक्षेप भएन।
हामी बिहान दश बजे भेट्ने सल्लाह गरेर छुट्टियौँ। घर गएर नुहाईधुवाई सकेको मात्रै थिएँ अस्पतालबाट बिरामीको स्थितिको पुनः मूल्याङ्कनको लागि नौ बजे आईपुग्न फोन आयो। मैले अस्पताल फोन गरेँ र बिरामीलाई लठ्याउन दिईएका सबै औषधिहरू बन्द गर्न अह्राएँ। म त्यहाँ नौ बजे पुग्दा युवराजको अवस्थामा केही सुधार भएको थियो, उहाँ खुट्टा चलाउने, सास फेर्ने र खोक्ने प्रयत्न गरिबक्सँदै थियो। अवस्था त्यति राम्रो नभए पनि हिजो जत्तिकै थियो र हाम्रो अगाडि जोडतोडका साथ उपचार जारी राख्ने सिवाय अरू विकल्प थिएन। हामीले माथि यही खबर गर्यौँ, र मेरो विचारमा त्यसपछि राजा वीरेन्द्रको स्वर्गारोहण भएको र युवराज दीपेन्द्रलाई श्री ५ महाराजाधिराज तथा अधिराजकुमार ज्ञानेन्द्रलाई राज्यसहायक घोषणा गर्ने प्रक्रियाको सुरूआत भयो। आइतबार एकदमै धपेडीको दिन रह्यो। हामीले धीरेन्द्रलाई हेर्नुथियो र दिनभरि केही खान पाएका थिएनौँ। त्यही दिन साँझपखदेखि राजा दीपेन्द्रको अवस्था द्रुतगतिले खराब हुँदैगयो। स्वास्थ्यकर्मीहरूको बैठक बस्यो।
हामीले अधिराजकुमार ज्ञानेन्द्रलाई भेट्यौँ, बाँच्ने आशा शून्य रहेको अवगत गरायौँ र विकल्पहरू बतायौँ परिवारजनको पूर्ण सहमतिमा कृत्रिम श्वास-प्रश्वास उपकरण बन्द गर्ने, कि प्रकृतिको नियमअनुसार स्वाभाविक रूपमा मुटु चल्न नछाडेसम्म यथावत राख्ने। अधिराजकुमार ज्ञानेन्द्रद्वारा सबै कुरा सुनिबक्स्यो र हुकुम भयो, “म यसबारे मुमासँग सल्लाह गर्छु” उहाँ छिट्टै फर्किबक्स्यो र हुकुम भयो, “ठीक छ डाक्टर, प्राकृतिक रूपले मुटु चल्न नछाडेसम्म उपचार जारी राख्नुस्।” साथै भाइ (धीरेन्द्र) लाई बचाउन हरसम्भव प्रयास गर्न पनि हुकुम भयो।
सोमबार बिहान सबेरै राजा दीपेन्द्रको मुटु चल्न छाड्यो। कृत्रिम तरिकाबाट व्युँताउन गरिएको प्रयास पनि निष्फल रह्यो। उहाँलाई हामीले युवराजको रूपमा उपचार शुरु गरेका थियौँ र राजाको रूपमा गुमायौँ। त्यो घटनामा कुनै षड्यन्त्र थियो कि भनेर सोध्नुहुन्छ भने मैले भन्नै पर्छ, प्रत्यक्षतः थिएन। तर यो देशमा षडयन्त्र छ। त्यो षडयन्त्र हो, हाम्रा युवाहरूलाई लागू औषधको कुलतमा फँसाउने। राजपरिवार पनि यसबाट अछुतो रहेनछ। यो षडयन्त्र लागू पदार्थको धन्दा गर्ने माफियाको हो।
(नेपाली टाइम्स, अङ्ग्रेजी साप्ताहिक २२-२८ जून, 2001 मा प्रकाशित विवरणमा आधारित। फिचर इमेज च्याटजिपिटीबाट बनाइएको)अर्का प्रत्यक्षदर्शी डा. राजीव शाहीले घटनाको केही समयपछि गरेको पत्रकार सम्मेलन यस्तो थियो

If you have read news papers in the days ahead of the massacre the eye witnesses said Dipendra was everywhere firing at everybody. How can a supposedly heavily drunk man be everywhere shooting perfectly to kill. Obviously it was very well planned by Maoists and India and very well executed in full knowledge of CIA ( as nothing happens which CIA doesn’t know) The shooters were all wearing Dipendra’s masks. People should be aware that very lively looking masks have been used in film industry for decades. It was night time and in the midst of all chaos who would stop to verify who was behind mask. I would even say Army chief at that time would know/ co-conspirator? of the massacre.
There may be no dispute over crown prince Dependra as the main culprit (all eyewitnesses point their fingers at him) but who finished Dependra is shrouded in mystery:
1. The missile wound hypothesis propounded by Dr Devkota, implicating suicide, does not hold on the ground (1) the wound goes from left to right but Dependra is right-handed guy; (2) two bullets are reported to be missing from Dependr’s pistol recovered from the pond nearby where Dependra’s unconscious body was found; (3) QM Ratna’s reaction as soon as she learned about the incident; and (4) very recently, the missing picture of Dependra from the banner at Kamaladi.
2. Dr Devkota claiming him to have discretely taken sample of Dependra’s blood. Where is it now? Why and who did not allowed him to have it tested abroad?
3. Why did MK Nepal came to visit Dr Devkota asking how many bullets were fired onto Dependra?