Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एआईको सामग्री जस्तातस्तै छाप्दा मिडियालाई लाज छोप्‍न गाह्रो

Posted on May 27, 2025May 27, 2025 by Salokya

अचेल पत्रकारहरुले पनि एआईको प्रयोग बढाउन थालेका छन्। कतैकतै त सम्पादकीय समेत एआईलाई लेख्न लगाइएको भन्ने सुन्नमा आएको छ। तर होस नपुर्‍याई एआई प्रयोग गर्दा कस्तो लाजमर्दो अवस्था समेत आउन सक्छ भन्ने चाहिँ भर्खरै अमेरिकाको शिकागो सन टाइम्स पत्रिकाको घटनाले देखाउँछ।

पढ्न अल्छी लागे एआई पडकास्टमा सुन्नुस्-

अस्ति मे १८ को दिन यो पत्रिकाले “Heat Index – Your Guide to the Best of Summer” भनेर समर रिडिङ लिस्ट छाप्यो। अर्थात् पढ्नु पर्ने किताबहरुको सूची। हामीकहाँ तिर हुन्छ नि- दशैँमा के पढ्ने भन्ने पाराका अनलाइनहरुमा शीर्षकहरु। हो, त्यस्तै किसिमको।

तर लिस्टमा पहिलो नम्बरमै यस्तो किताब थियो, जुन कहिल्यै लेखिएको थिएन — Isabel Allende नामकी प्रख्यात लेखिकाको “Tidewater Dreams” भनेर।

अब मजा हेर्नुहोस्—Isabel Allende त साँच्चिकै लेखिका हुन्। उनी चिली मूलकी हुन्, उत्कृष्ट साहित्य लेखेकी छिन्। तर “Tidewater Dreams” नामको किताब उनले कहिल्यै लेखेकी छैनन्। त्यो किताब नै छैन। तर अखबारले लेख्यो — “A climate fiction novel exploring how one family confronts rising sea levels…” वाह! यस्तो रोमाञ्चक किताब।

यो लिस्टमा ११ औं नम्बरमा मात्रै एउटा साँच्चिकै किताब भेटिँदो रहेछ – Françoise Sagan को “Bonjour Tristesse” (1954)। बाँकी सब भ्रम जाल!

कसरी भयो यस्तो गल्ती?

सोसल मिडियामा आलोचना हुन थालेपछि Sun-Times ले भन्यो — यो सामग्री त हामीहरूले बनाएका हैनौँ, हामीहरूले त King Features नामक एउटा कम्पनीबाट ‘licensed’ गरेको। अर्थात् हाम्रोतिर रासस जस्ता न्युज एजेन्सीको समाचार हाल्छन् नि, झण्डै झण्डै त्यस्तै किसिमको। राससमा समाचार हुन्छ भने यस्तो कम्पनीले चाहिँ फिचरहरु सप्लाई गर्छ। तर, licensed गरियो भनेर लिस्टमा कतै उल्लेख थिएन। त्यो त Sun-Times कै रचनाजस्तो देखिने ढंगले छापिएको थियो।

त्यसैलाई लिएर Sun-Times Guild  ले चर्को विरोध गर्‍यो — “हामीले स्रोतसँग विश्वास निर्माण गर्न धेरै मेहनत गरेका छौं, यस्तो हावा सामग्रीले हामीलाई अपमानित बनायो।”

खासमा त्यो सामग्रीमा मात्र हैन रहेछ, सोसल मिडियामा अरु कुरा पनि उठे। जस्तै  “Summer food trends” शीर्षकको सामग्रीमा Cornell University का food anthropologist भन्दै Catherine Furst को नाम हालिएको रहेछ। तर त्यो नामका कोर्नेलमा कोही छँदै छैनन् रे।

अर्को एउटा सामग्रीमा FirepitBase.com का सम्पादक Daniel Ray भनिएको रहेछ। तर त्यस्तो वेबसाइट नै रहेनछ।

दोषी को?

त्यो सूचीका लेखक Marco Buscaglia ले ४०४ म्यागजिनलाई दिएको अन्तर्वार्तामा आफूले एआई प्रयोग गरेर सूची बनाएको स्वीकार गरेका छन्। तर उनले फ्याक्ट चेक गर्न बिर्सेछन्। उनी भन्छन् — “No excuses. I’m completely embarrassed.”

तर लज्जित भएर मात्रै पुग्दैन। यो प्रकरणले फेरि प्रश्न उठाएको छ — एआई सामग्रीलाई मिडियामा प्रयोग कसरी गर्ने ?

एजेन्सीको सामग्री भनेर मात्रै पन्छिएर भो त ? भएन नि।

तर यो गल्ती कुनै सामान्य चुक होइन। यसको पृष्ठभूमि अझै डरलाग्दो छ।

दुई महिना अघिमात्रै Chicago Sun-Times ले आफ्ना कर्मचारीमध्ये २० प्रतिशतलाई गुमाएको थियो।

मार्च २०२५ मा, Chicago Public Media — जुन संस्थाले अहिले Sun-Times सञ्चालन गर्छ — ले आर्थिक सङ्कटलाई देखाउँदै ३० जना कर्मचारीलाई बायआउट अफर दिएको थियो। तीमध्ये २३ जना newsroom का थिए। पत्रकारितामा होमिएका अनुभवी सम्पादक र स्तम्भकारहरू एकाएक विदा भए।

Sun-Times कै मार्चको रिपोर्ट अनुसार, “यो विगत केही वर्षको सबैभन्दा ठूलो संकट हो।”

त्यसैले जब अनुभवी मानवहरू विदा भएर गएका छन्, एआईले ‘नभएको किताब’ पढ्न लगाउने स्थिति सिर्जना हुनु अस्वाभाविक होइन।

एआई सस्तो पर्न सक्छ, तर पत्रकारिता सस्तो हुनु हुँदैन।

मानवले लेखेको शब्द, जाँचिएको तथ्य र अनुभवी कलमको ठाउँ एआईले लिन थालेपछि यस्तै बवाल हुन्छ।

प्रकाशन संस्था शिकागो पब्लिक मिडियाका सिइओ मेलिस्सा बेलले विज्ञप्ति निकालेर यो विषयमा छानबिन गरिरहेको बताइन्। हेर्नुस् लिङ्क।

धन्न त्यता त्यति भए पनि गरेछन्, हाम्रोमा भए कुनै एजेन्सीले पुस्तक सूची भनेर पठाएपछि तपाईंको पुस्तक पनि देखाउनुहोस् भन्ने अभ्यास हुँदैन भनेर पाठक पत्र छापिने कोलममा स्पष्टीकरण दिन्थे कि 🙂

स्रोतहरु :

Chicago Sun-Times confirms AI was used to create reading list of books that don’t exist
Sun-Times fallout: Fake book list raises red flags over AI

(यो ब्लगको फिचर इमेज, पडकास्टका लागि पनि एआईको भरपुर उपयोग गरिएको छ। एआईबाट प्राप्त सामग्रीलाई मान्छेले सम्पादन पनि गरेको छ)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme