Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फेसबुकमा मान्छे झुक्याउँदै नक्कली डाक्टर निकिता

Posted on May 22, 2025May 22, 2025 by Salokya

फेसबुकमा अहिले एउटा प्रोफाइलको चर्चा छ- डाक्टर निकिता परियार। उनले आफ्नो नाम चाहिँ डाँ निकिता परियार भनेर लेखेको देखिन्छ। ‘डा’को मुन्तिर थोप्लो हुनुपर्नेमा उनले चाहिँ माथि चन्द्रबिन्दू जोडेका छन्।

प्रदेश अस्पताल, सुर्खेतमा कार्यरत भएको भन्दै धेरैले आफ्नो र उनको वालमा उनलाई ट्याग गरेर बधाई दिइरहेको पनि देख्न सकिन्छ। हल्का खोजी हेर्दा थाहा भयो, भारतीय सोसल मिडियाबाट चोरेका फोटोहरु प्रयोग भएको फेक प्रोफाइल रहेछ यो। नेपाल भरका डाक्टरहरुको रेकर्ड राख्ने नेपाल मेडिकल काउन्सिल र सुर्खेत प्रदेश अस्पतालमा सोधी हेर्दा पनि यो नामको डाक्टर कोही नभएको जवाफ पाइयो।

यो फेसबुक प्रोफाइल केही अभियन्ताहरुले सेयर गरेपछि धेरै चर्चामा आउन थालेको थियो।

उदाहरणका लागि खगेन्द्र सुनारले गरेको यो पोस्ट भाइरल भएको थियो। यो पोस्टमा २१ हजार रियाक्सन छ भने २४ सय त कमेन्ट मात्रै छ। अनि यसलाई सेयर पनि २५७ पटक गरिएको छ।

अब यो भाइरल फोटो कसको हो भनेर एकचोटी गुगलमा रिभर्स इमेज सर्च गरी हेरौँ न त।

रिभर्स इमेज सर्च गरी हेर्दा थाहा भयो, यो त medical_lovers_34 नामको इन्स्टाग्राम एकाउन्टमा अपलोड गरिएको फोटोलाई एआईमा लगेर हल्का एडिट गरेर तयार पारिएको फोटो रहेछ। यहाँ क्लिक गरी हेर्न सक्नुहुन्छ। अनुहार थोरै एआईबाट इन्हान्स गर्नु बाहेक अरु सबै हुबहु छ यसमा।

यो फोटोमात्र हैन उनको प्रोफाइलमा रहेका अरु थुप्रै फोटोहरु पनि यसै गरी चोरी गरिएका छन्।

उदाहरणका लागि यो उनले प्रोफाइलमा राखेको र धेरैले उनलाई ट्याग गरी बधाई दिन प्रयोग गरेको यो फोटो-

गुगलमा रिभर्स इमेज सर्च गरी हेर्दा थाहा भयो, यो पनि इन्स्टाग्राममा ritzy_3120 युजर नेममा सक्रिय डा. रिजु उपाध्यायको फोटो रहेछ। रिजुका त्यही ठाउँका अरु पनि फोटोहरु यहाँ क्लिक गरी हेर्न सकिन्छ।  यसबाट पनि थाहा हुन्छ, फोटो निकिताको नभएर रिजुको हो।

गत मे ५ मा डेलिभरी गराएको भनेर दावी गर्दै राखिएको यो फोटो हेर्नुस्-

यो फोटो पनि वास्तवमा इन्स्टाग्राममा डा. सृष्टि शर्माले मार्च १० मा नै अपलोड गरेको फोटो रहेछ। हेर्नुस् यहाँ क्लिक गरी।

 

उनको प्रोफाइलमा रहेका अन्य थुप्रै फोटोहरु पनि यसरी नै भारतीय महिलाका इन्स्टाग्रामबाट चोरी भएको भेटियो।

प्रदेश अस्पताल सुर्खेतमा कार्यरत रहेको भनिए पनि त्यहाँको एउटा पनि फोटो उनको प्रोफाइलमा छैन। यसो साथीलाई सोध्न लगाएको, प्रादेशिक अस्पताल सुर्खेतका सूचना अधिकारी विनोद बस्नेतले पनि एक दुई वर्ष यताको रेकर्डमा यो नामको डाक्टर नदेखिने बताए। अर्को पुरानो डाक्टर नवराज केसीलाई सोधेको, उसले नि होइन, थाहा छैन, यत्रो वर्षसम्म देखेनौ भने।

नेपाल मेडिकल काउन्सिलको डेटाबेसमा यो नामको डाक्टर दर्ता छैन।

त्यसैले कुनै एक जना उपद्रो गर्नेले फेक फोटो राखेर फेक प्रोफाइल बनाई निश्चित समुदायको सेन्टिमेन्ट माथि खेल्दैछ भन्ने प्रष्टै भयो।

यस्ता फेक प्रोफाइल अनेकौँ हुन्छन्। तर यो प्रोफाइलको चर्चा धेरै भएको हुनाले मात्र यति खोजेर लेख्ने जमर्को गरेको।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme