देशलाई ‘अंकड स्पिड’ चाहिएकोमा सरकार ट्रयाक्टरको स्पिडमा भयो रे।
केही बुझ्नुभो ?
अहँ, बुझिएन। तर धेरै वटा अनलाइन मिडियाहरुले यसैगरी समाचार लेखे हिजो गगन थापाको भाषणमा। गगन थापाले जे बोले पनि समाचार बन्छ। तर के बोलेको भन्ने पत्रकारहरुले थाहा नपाई पनि समाचार बन्दो रहेछ भन्ने चाहिँ हिजो प्रमाणित भयो।
आउनुस्, नपढे आधा हैन एक चौथाइ जिन्दगी त पक्कै खेर जाने अनलाइन पत्रकारहरुको ‘अंकड स्पिड’ काण्डबारे विस्तृतमा बुझौँ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हिजो एउटा कार्यक्रममा सरकारको आलोचना गर्दै भाषण गरेछन्। त्यसमा उनले सरकारका काम सुस्त हुँदा समस्या निम्तिएको बताएका रहेछन्।
त्यस क्रममा उनले भनेछन्- ‘मलाई बिस्तारै के कुरा लाग्न थालेको छ भने देशलाई अंकडको स्पिड चाहिएको छ तर सरकार ट्याक्टरको स्पिडमा छ।’
यो कुरा चाहिँ मैले अनलाइनखबर हेरेर थाहा पाएको हुँ। हेर्नुस् अनलाइनखबरको स्क्रिनसट-
यहाँ क्लिक गरी अर्काइभ लिङ्क हेर्नुस्।
अंकड भन्या चाहिँ के हो त ? यस्तो त कुनै शब्द सुनेको थिइनँ अहिलेसम्म। देश विकास नभएको त यही अंकड भन्ने शब्द के हो भन्ने थाहा नभएरै हो कि के हो भन्ने लाग्यो।
जति खोज्दा पनि नभेटे पछि खासमा बोलेको चाहिँ के रहेछ भनेर भाषणै खोजियो। अनलाइनखबरकै फेसबुक पेजमा भाषण भेटियो- (पूरा हेर्न यता क्लिक गर्नुस्)
ह्यात्तेरिका साइँली रिमै, कंकर्ड अङ्ग्रेजीमा concorde नामको आवाजभन्दा तीव्र गतिमा उड्ने विमान भन्या रैछ, कहाँ अंकड लेखेछन्।
अब अगुवा अनलाइनखबरले नै यस्तो राखेपछि देशलाई हुँदै नभएको ‘अंकडको स्पिड’मा कुदाउन चाहने अरु अनलाइन मिडिया को को रहेछ भनेर हेर्न मन लाग्यो।
फेसबुकमा खोज्दा भेटिए-
यसले त हेडलाइनमै अंकड हाल्देको रैछ।
अब यसो गुगलतिर पनि खोजौँ न देशलाई अंकडको स्पिडमा लगेको देख्न चाहने-
देशलाई चाहिएको थियो कन्कर्डको स्पिड — पत्रकारले लेखिदिए ‘अंकडको स्पिड’। अब बुझ्नुस्, हाम्रो डिजिटल युगमा समाचार बनाउने स्पिड कति फास्ट फर्वार्ड छ भनेर! के भनेको हो भनेर बुझ्नै नपर्ने, क्रस चेक गर्नै नपर्ने। एउटाले लेखेपछि अरुले होला त नि त्यही शब्द भन्दै सार्नै पर्ने !
अनलाइन मिडियाको डेस्कमा मान्छे पत्रकार छ कि रोबोट ?
बरु रोबोट भएको भए यति सिल्ली मिस्टेक गर्दैन थियो होला। मान्छे पत्रकारले त बेइज्जतै गरे है।
🧠 ‘अंकड’को स्पिड गल्ती नदोहोऱ्याउनका लागि ८ सूत्र
१. 📢 पहिले सुन्नुस्, अनि लेख्नुस् — अनुमान नगर्नुस्!
गगन थापाले “कन्कर्ड” भनेको ‘अंकड’ लेख्ने हो भने भोली “स्पेस एक्स” पनि “फेन्सी सेक्स” बन्न सक्छ।
Earphone छ भने राम्रोसँग सुन्नुस्, छैन भने एकछिन रोक्किनुस्।
२. 🔍 गुगललाई तपाईंको सहयोगी बनाउनुस्, भगवान होइन
Concord को अर्थ थाहा छैन भने, गूगल गर्नुस्। अंकर्ड भन्ने शब्द छ कि छैन भनेर पनि गूगल गर्नुस्। गफै गरेर समाचार लेख्ने हो भने reporting हैन rumour-porting पो हुन्छ त। विदेशी शब्द छ भने राम्रोसँग चेक गर्नुस्। नेपाली शब्द छ भने मोबाइलमा नेपाली शब्दकोश एप राखेर त्यसमा अर्थ खोज्नुस्।
३. ✍️ टाइप गर्नु अघि थोरै सोच्नुस्
हेडलाइनै ठोक्दिने ? पख्नुस्, तपाईंको हेडलाइनबाट पाठकको IQ घट्न सक्छ, त्यसैले आफूलाई लागेको कुरा यही हो भनेर ठोकुवा गरी हेडलाइन ठोक्दिने आदत छ भने, तपाईँ अनलाइन हैन मनलाइन पत्रकार हुनुहुन्छ- मनमा आएको कुरा लेख्दिने।
४. न्युजरुममा डबल चेक गर्ने बानी बसालौं
एउटा पत्रकारले लेखेको समाचार अरू कसैले हेरेर पास गर्ने प्रणाली बनाउँदा यस्ता गल्ती घट्छन्। न्युजरुम सानो छ, अरु मान्छे उपलब्ध छैनन् भने कम्तिमा आफैले लेखेको समाचार तीन पटक आफैले पढ्नुस्। तपाईँको गल्तीको भार पाठकले किन बोक्ने?
५. Copy-Paste गर्दा कम्तीमा Copy त बुझ्नुस्!
अर्काको साइटबाट headline चोर्नुभो? कम्तिमा त्यो headline ले के भन्छ, त्यसको अर्थ के हो भनेर दुई सेकेन्ड नजर हाल्नुस्।
अथवा अर्काको साइटबाट समाचार चोर्नुभो ? कि न्युज एजेन्सीको समाचार कपिपेस्ट ठोक्दिनुभो ? याद गर्नुस्, तपाईँको पाठकलाई यस्ता कुरामा कुनै मतलब हुँदैन। तपाईँको साइटमा गल्ती भेटियो भने दोष तपाईँको हुन्छ।