Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

माइसंसारको दुई दशक पूरा : धन्यवाद सबैलाई !

Posted on April 6, 2025April 7, 2025 by Salokya

सन् २००५ को अप्रिल ६। अर्थात् २०६१ साल चैत २४ गते।

यो त्यही दिन थियो, जुन दिन मैले जानी नजानी माइसंसारको पहिलो ब्लग लेख्दै यो यात्राको सुरुवात गरेको थिएँ। मेरो संसार नामबाट माइसंसार सुरु हुँदा, मैले सोचेको थिइनँ—एकदिन यो मेरो संसार नै बन्न पुग्छ।

आज इस्वी संवत् र विक्रम संवत् दुवै मिलेको छ। २० वर्ष अर्थात् दुई दशक पूरा गर्‍यो आजदेखि यो यात्राले। दुई दशकको यो यात्रामा सबैभन्दा कठिन र चुनौतिपूर्ण यही वर्ष रह्यो। परिवार र मानसिक स्वास्थ्यमा आएको समस्या र कानुनी कहरका बीच जसोतसो यो वर्ष बित्यो। ब्लग लेख्न थालेको थिएँ, जीवन नै ब्लग बन्न पुग्यो। आज मैले सर्सर्ती हेर्दा यो वर्ष जम्मा ४७ वटा ब्लग लेख्न सकेको रहेछु।


यसो सोचेँ- यस्तो कठिन अवस्थामा पनि ४७ वटा त लेखेछु।

त्यसमध्ये सबैभन्दा बढी अघिल्लो महिना ९ वटा लेखेछु भने अक्टोबरमा एउटै लेख्न सकेनछु। २०२४ को मे र जुनमा एउटा मात्र भए पनि लेखेछु।

अघिल्लो वर्ष मैले लेखेको थिएँ–  एक किसिमको ‘असफल’ प्रोडक्ट हो माइसंसार। किनभने एकताकाको त्यस्तो लोकप्रियतालाई माइसंसारले व्यवसायिक रुपमा ‘क्यास’ गर्न सकेन।

त्यही ब्लगमा मैले आफ्नो पारिवारिक समस्याका बारेमा हल्का लेखेको थिएँ। त्यसको केही दिनमा पाल्पा अस्पतालको आइसियुमा पुग्दा साथीहरु तनावमा परेको त्यो रात शीर्षकको ब्लगमा मैले स्वास्थ्यमा भोगिरहेको समस्या बारे थोरै लेखेँ।

त्यसको करिब एक महिनापछि मैले कहाँ हराएँ म शीर्षकको ब्लगमा अलि आँट गरेर केही थप कुरा खोलेँ।

मैले लेखेको थिएँ-

“यत्ती कुरा सार्वजनिक गर्न मैले ब्लग रोजें, किनकि अब त मेरो परिवार भन्नु यही ब्लगको परिवार पनि हो। यति लेखेर केवल मन हलुको मात्र भएको छ। चुनौतिको पहाड त मैले चढ्नै बाँकी छ। मलाई नबिराउँदा नबिराउँदै पनि हिँड्नु परेको यो बाटोमा हिम्मत दिनु होला, हात दिनु होला,हौसला दिनु होला। अरु कसैलाई गाली र दोष नलगाइदिनु होला। पारिवारिक जीवन जोगाउन मैले नै नसकेको हो, मैले नै नजानेको हो।”

यो ब्लग पढिसकेपछि धेरै जनाले मलाई व्यक्तिगत रुपमा भेटेर, फोन गरेर वा मेसेज गरेर मलाई म हुनुको अर्थ सिकाए। मलाई संघर्षका साथ जिउन उत्प्रेरणा दिए। साँच्चै भन्ने हो भने यो ब्लग मेरो लागि यो वर्षको टर्निङ प्वाइन्ट नै बन्यो। यसपछि नै म आफ्नो बारेमा सबैलाई भन्न सक्ने भएँ।

कहिलेकाहीँ साँचो कथा भनेको त कीबोर्डमा आँसु मिसाएर टाइप गरिएको हुन्छ।

त्यसपछि सबै कुरा ठीक नभए पनि ‘म जे छु, ठीकै छु’ शीर्षकमा जुन महिनामा ब्लग लेखेँ। त्रिवेणी धाममा पुगी अध्यात्मिक रुपमा आफूलाई सम्हाल्न खोजेको प्रयासबारे थोरै खोलेको थिएँ त्यसमा। शब्द मात्र थिए, तर लेख्दै जाँदा त ती शब्दहरूले नै मलाई थामे।

अगस्त महिनामा मेरो एउटा फेसबुक स्टायटसले केही कन्फ्युजन सिर्जना गर्‍यो। त्यसले मैले त्यतिबेला गरिरहेको सतिपट्ठान विपश्यना ध्यान शिविरलाई समेत बाधा पुग्न गयो। त्यतिबेला मैले लेखेको थिएँ- उमेश नहराएको सूचना त्यसमा लेखेको थिएँ-

बुवाले दिएको अंशसहित जीवन भर कमाएको भएभरको सबै सम्पति जसलाई जिन्दगीमा सबैभन्दा बढी विश्वास गरियो, उसैको नाममा रहेर सबै गुमाएर सून्यमा आइपुगेको सत्यलाई त स्वीकारेकै थिएँ। त्यसमाथि मासिक आधा लाख रुपैयाँ माग गर्दै मानाचामलको मुद्दा पर्नु, अदालतले मेलमिलापमा पठाउँदा भएको छुद्र व्यवहारले पीडा थपेको थियो। ‘अदृश्य प्रहार’हरुको एउटा छुट्टै कथा छ, जसलाई समय आएपछि विस्तारमा चर्चा गर्ने नै छु। परिस्थिति निराशाजनक पक्कै थियो, तर जीवनदेखि हार खाने खालको भने होइन है।

संसारसँग लुकाउँदा पनि माइसंसारसँग लुकाउन सकिनँ। किनभने माइसंसार मेरा भित्रका अनकौँ पीडाको साक्षी छ।

किन पण्डितले उहिल्यै बनाएको चिना र मैले जन्म मिति र समयको आधारमा बनाएको चिना फरक भयो, किन ग्रह फरक फरक छन् भनेर आफ्नै चिनाको फ्याक्ट चेक गर्ने काम गरेको बारे पनि एउटा ब्लग लेखियो- चिना बिग्रिएको मान्छे। एउटा कथा जस्तो भावना पनि लेखियो- मुस्ताङको त्यो रहस्यमय गुम्बा

धेरै ब्लगहरु आफ्नै बारे लेखिएका थिए। आफ्नो बारेमा दिनुपर्ने खास अपडेट केही छैन। २०८० सालमा चलेको मुद्दा जिल्ला अदालतमा २०८२ सम्म कायम हुने भयो। मानसिक र शारीरिक दुवै स्वास्थ्य सुधार्ने प्रयास गर्दैछु।

यस्तो अवस्थामा पनि मिडियालाई खबरदारी गर्ने केही ब्लग पनि यो वर्ष छुटेनन्। २० वर्षमा माइसंसार केवल ब्लग रहेन, एउटा विश्वासको आधार बन्यो।

सेप्टेम्बर महिनामा हलिउडको वाक अफ फेममा नेपाली कलाकार सुनील पोखरेलको नाम राखियो भनेर हल्ला मच्चियो। धेरै मिडियाले समाचार बनाए। मैले त्यो किन गलत हो भनेर लेखेँ- हलिउड वाक अफ फेमलाई ‘हल्लाउड’ नबनाऔँ न ! सुनील पोखरेल काण्डको तथ्य यस्तो अन्ततः त्यो गलत नै साबित भयो।

चरम घाटामा रहेको कम्पनी ‘नागरिक’ले आइपिओ निकालिसकेपछि उसले सार्वजनिक गर्ने वित्तीय विवरणहरुको आधारमा पनि केही ब्लगहरु सिए सापहरुसित कुराकानी गरेर लेखियो। जस्तै एआईले समेत पत्याएन शतप्रतिशत नाफा गरेँ भन्ने ‘नागरिक’को डिभिडेन्ड दिने ‘गफ’, ‘नागरिक’को अडिट रिपोर्ट : बक्यौताको समस्याले कम्पनीको भविष्य जोखिममा, ‘नागरिक’को अडिट रिपोर्ट विश्लेषण २ : के भविष्यमा कम्पनी बन्द हुने जोखिम छ?।

त्यसैगरी कान्तिपुरमा छापिएको अर्को अनुजा बानियाँ शैलीको काण्डबारे पनि ब्लगहरु लेखियो। पहिलो- नपढे आधा जिन्दगी खेर जाने ‘कान्तिपुर’को यो समाचारको चिरफार गरी हेर्दा…

यो ब्लगपछि कान्तिपुरका प्रधानसम्पादकले जुन स्पष्टीकरण दिए, त्यसका आधारमा अर्को ब्लग लेखियो- सुजिता काण्ड : कान्तिपुरका प्रधान सम्पादकको ५ बूँदे स्पष्टीकरणले स्पष्ट पार्न नसकेका ५ विषय

त्यसैगरी कान्तिपुरकै अर्को समाचार बारे ब्लग लेखियो- ‘कान्तिपुर’को मेन न्युजमै गल्ती : अमेरिकी अदालतले नगरेको फैसला ‘मिडिया’ले नै गरिदिएको? त्यसैको फलोअपमा कान्तिपुरको वाइडबडी मेनन्युज काण्डको थप शल्यक्रिया : यी हुन् ब्लन्डर तथा सिल्ली मिस्टेकहरु

अघिल्लो महिना अलि खोजेर दुई वटा ब्लग तयार पारियो। एउटा- के नेताहरू सर्वसाधारणभन्दा बढी बाँच्छन्? तथ्यांकले के भन्छ? अनि अर्को, फेसबुकको एउटा रहस्यमय पेज जसले एक वर्षमा झण्डै २० लाख रुपैयाँ खर्च गरिसक्यो

आगामी बाटो

जीवन अनिश्चितताको भुमरी रहेछ। सोचेको कुरा नहुने, नसोचेको कुरा भइदिने। त्यही भएर यो वर्ष खासै यस्तो गर्छु, माइसंसारमा यस्तो गरौँला भन्ने केही सोचेको छैन।

माइसंसार सुरु हुँदाको इन्टरनेट र त्यसमा नेपाली कन्टेन्टको अवस्था र अहिलेको अवस्थामा क्रान्तिकारी परिवर्तन भइसकेको छ। कन्टेन्ट प्रस्तुत गर्ने तरिकामा पनि यस्तै परिवर्तन भइसकेको छ।

टिकटक, युट्युब र फेसबुकका भाइरल कन्टेन्टहरुको बीचमा पनि सही र तथ्य सूचनाका लागि ब्लग शैली अझै आवश्यक छ कि छैन- त्यो पनि थाहा छैन। तर लागेको बानी छुट्दैन। लेख्न त मन लागिराख्छ। त्यही भएर माइसंसारलाई यत्तिकै ‘मार्न’ मन नलागेको हो।

अरूले भत्काउन खोजे पनि, बनाउने साहस छ। यो माइसंसार हो, यहाँ मेरो आत्मा बगिरहेको छ।

त्यही भएर दुई महिनाको १५ हजार रुपैयाँ जति लाग्ने सर्भर खर्च- यताउता गरेर भए पनि जुटाएर यसलाई जसोतसो चलाउँदैछु। आफ्नै नियमित आम्दानी नभए पनि र खर्च बढे पनि यसलाई अहिलेसम्म जोगाएकै छु। केही वर्ष अघि एउटा कम्पनीले निःशुल्क होस्टिङ नगरिदिएको होइन। तर स्पामर र ह्याकरले आक्रमण गर्दा त्यसलाई जोगाउन सहयोग पाइएन। झण्डै डेटा नै गुम्ने खतरा देखियो। त्यही भएर त्यताबाट सारेर सशुल्क होस्टिङमा ल्याइयो।

टेक्स्टबाहेक अरु स्वरुपमा कन्टेन्ट दिने सोच नभएको होइन, तर पहिले आफै मानसिक र शारीरिक रुपमा स्टेबल होउँ, अनि सोचौँला।

अहिलेलाई यो स्वरुपमा भए पनि माइसंसारलाई जोगाइराख्नु नै ठूलो चुनौति भएको छ।

यदि माइसंसारलाई जोगाउन सर्भरको खर्च बेहोर्न चाहनुहुन्छ भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।

Use PayPal.Me/mysansar to send donation via paypal

अन्त्यमा,

पुरानै धन्यवादका केही शब्दहरु : तपाईँहरु सबैलाई २० वर्षसम्म माइसंसारलाई साथ दिनुभएकोमा धन्यवाद। कृष्ण ढुंगाना, दीपक भट्टराई, उत्तमबाबु श्रेष्ठ, प्रमेय भण्डारी, सुदर्शन काफ्ले, स्याटेलाइट, सूर्य खड्का आदिले विभिन्न समयमा नसघाएको भए यो यात्रा कठिन हुन्थ्यो। फेसबुकमा अन्तर्क्रिया सुरु हुनुअघि माइसंसारमा पाठकहरुको कमेन्टको लर्को लाग्थ्यो जसलाई व्यवस्थापन गर्न निकै गाह्रो हुन्थ्यो। पुष्प, लुना, मदन, गगने, द्रोण, शिशिर आदि सेलिब्रिटी कमेन्ट लेखकहरु थिए। आजको दिन उनीहरुमात्र हैन ती सबै पाठकलाई सम्झेर तपाईँहरुको योगदानका लागि धन्यवाद दिन चाहन्छु।

फेरि लेख्नेछु, फेरि लड्नेछु—किनभने कथा अझै बाँकी छ।

यात्रा जारी छ…

 

12 thoughts on “माइसंसारको दुई दशक पूरा : धन्यवाद सबैलाई !”

  1. BIPIN RAI says:
    May 24, 2025 at 7:29 pm

    Maile Online news read garna thalekai yehi (formal Merosansar) Mysansar bat ho. yesma aaune interesting kura haru, yesma vlog ko presentation style sadhai nai man chhune rahyo. Keep it up mysansar. mero tarfa bat rs. 10000 help garna chahanchhu.
    Thank you for making wonderful memory.

    Reply
  2. Kanchan Raj Giri says:
    May 14, 2025 at 10:33 am

    All the best Salokya sir !

    Reply
  3. Kiran says:
    April 28, 2025 at 6:42 am

    Congratulation For Your success

    Congratulations on reaching an extraordinary milestone – 20 years of blogging! This is such an inspiring achievement and a testament to your passion, creativity, and commitment to sharing knowledge with your audience.

    Over the years, your blog has been a go-to resource for so many of us. Whether it’s your insightful posts, thought-provoking articles, or your unique voice, you’ve built a community that values your work and looks forward to what’s next. It’s incredible to see how far you’ve come, and we’re all excited to see the many more years of amazing content you’ll continue to share!

    Wishing you all the best and continued success in all your future endeavors!

    Reply
  4. Raju Adhikari says:
    April 8, 2025 at 7:07 am

    ‘मेरो संसार’को निर्भीक यात्रा निरन्तर जारी रहोस्। बढी भन्दा बढी लेखहरू पढ्न पाइयोस् । शुभकामना !

    Reply
  5. LB says:
    April 8, 2025 at 12:51 am

    Keep Going Salokyaji. Best Wishes ! Revive this to next level !

    Reply
  6. Tara Bahadur Kandangwa says:
    April 7, 2025 at 7:38 pm

    Hard work advises, “Do not give up,” as it assures you will eventually reach the pinnacle. By persevering, you will find yourself in an environment that allows you to admire a splendid and radiant paradise. It’s nicely articulated.

    Reply
  7. Raghu Ghimire says:
    April 7, 2025 at 9:58 am

    Our well wish always with MySansar!

    Reply
  8. Prabesh says:
    April 7, 2025 at 6:53 am

    Please continue the good work. We need to make these so-called mainstream media under scrutiny so that we don’t have to hear any more propaganda shits from these media.

    Reply
  9. नेपाली हृदय says:
    April 7, 2025 at 1:34 am

    यात्रा जारी रहोस सालोक्य जी, शुभकामना !!

    Reply
  10. Kedar Subedi says:
    April 7, 2025 at 12:48 am

    माईसंसार असफल भएको होइन छैन, मिडिया होइन र पनि मिडिया जत्तिकै सुचना र बिश्वास माइसंसारले जती स्थापना काल देखिनै अरबौं खर्चेका ठुला मिडिया हाउसहरु कसैले पनि दिन सकेको छैनन, निर्मला बलात्कार हत्या काण्ड सायद सालोक्य हुन्थेन भने आज कस्तो मोडमा हुन्थ्यो भन्न सकिन्न !

    मेरो सानो सुझाव के भने तपाइँले आर्जेको बिश्वास प्रयोग गरेर भारतमा ध्रुव राठीहरुले गरे जस्तै भिडियो ब्लग बनाउन सुरु गर्नुस र माइसंसारलाई अर्को उंचाई दिनुस, मलाई लाग्छ त्यसले एक त हामीले अझै धेरै सहि सुचना पाउँछौं भने ब्लग लगाउने लगायतको कमाइको श्रोत पनि बन्न सक्छ !

    २०६१ देखिकै तपाइँको शुभ चिन्तक
    केदार सुबेदी, Spain

    Reply
    1. Raju says:
      April 7, 2025 at 7:29 pm

      I concur, Salokya is more than capable of producing content based videos on YouTube. I strongly recommend to go All in on YouTube.

      Reply
  11. Dhakal Dikendra says:
    April 6, 2025 at 9:43 pm

    👌
    जारी रहोस्। शुभकामना।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme