घटना भएको छैटौँ दिनमा आएर बल्ल राजावादी प्रदर्शनका क्रममा निकै ठूलो बल प्रयोग भएको कुरा खुल्यो- ५८ राउन्ड गोली चलेको, २० जनालाई गोली लागेको, ७४६ सेल अश्रुग्यास, १९२ पटक ब्ल्याङ्क फायर।
पत्रकार भन्या अन्तर्यामी हो र, पुलिसले नभनी कसरी थाहा पाउने भन्ने तर्क पनि केहीको देखियो। त्यही अन्तर्यामी नभएरै होला, प्रहरीले पत्रकार सम्मेलन गर्दैछ भनेर पनि मूलधारका केही प्रमुख मिडियालाई पत्तै भएनछ। त्यसैले भित्री पेजमा कतै यसो छुसुक्क सानो समाचार बनाएर हाल्न पनि परेन। आजको सरकारी अखबार र भन्नलाई निजी तर व्यवहारमा सरकारी अखबारहरुमा यो बारे समाचारै थिएन।
सरकारी अखबार ‘गोरखापत्र’को आज २०८१ साल चैत २१ गते बिहीबारको अङ्कका पूरै १६ पेज एक एक गरी पल्टाएँ, हरेक समाचारका शीर्षक हेरेँ। तर अहँ, भेटिएन- नेपाल प्रहरीले गरेको पत्रकार सम्मेलनको समाचारै ‘गायब’ थियो। तीनकुने घटनाका चार वटा समाचार पेज नम्बर २ मा थियो। तर यसबारे समाचार चाहिँ छैन।
त्यसपछि म लागेँ ‘कान्तिपुर’ तिर। १० पेज छापिएको छ आज ‘कान्तिपुर’। प्रत्येक पेज पल्टाएँ, समाचार शीर्षक हेरेँ, समाचार पढेँ। तर अहँ, नेपाल प्रहरीले तीनकुने घटनाको बारेमा गरेको पत्रकार सम्मेलनबारे एक अक्षर पनि खर्च गरेको छैन। अब यसलाई ‘भाइ गोरखापत्र’ भन्ने कि ‘निजी गोरखापत्र’ भन्ने- इच्छा तपाईँको।
गजब छैन त?
अब अर्को पत्रिका हेरौँ न त। उही क्या बिक्दै नबिक्ने पत्रिका- ‘राजधानी’। ८ पेजको यो पत्रिकामा पनि यो घटनाबारे एक शब्दको पनि समाचार छैन।
५० रुपैयाँ पर्ने बिक्दै नबिक्ने पत्रिकाले पनि यो समाचार बहिस्कारै गरेछ।
धन्न अनलाइनहरु थिए र हिजो हामीले यो समाचार थाहा पायौँ। नत्र हेर्नुस् त- जसरी राज्यले दमन लुकाउन खोज्यो, त्यसरी नै यी मूलधारेहरुले पनि राज्यलाई सहयोग गरेर दमन लुकाउने रहेछन्। बिचरा हामी।
यही कुरा सोच्दै एउटा अर्को पत्रिका पल्टाइयो।
धन्न यो एउटा पत्रिकामा भने समाचार रहेछ। अन्नपूर्णमा छापिएको सानो एक कोलमको समाचार-
त्यसबाहेक अन्नपूर्णमा आइजी दीपक थापाको फूल पेज अन्तर्वार्ता पनि सातौँ पेजमा छापिएको छ।
‘नयाँ पत्रिका’बारे खासै भन्नु छैन। किनभने त्यसले पहिलेबाटै सरकारप्रति खबरदारी गर्दै आएको छ। यसपटक पनि समाचार ठीकै ढंगले समेटिएको छ।
प्रहरीले पत्रकार सम्मेलनै गरेको भनेको कुरा त समाचारमा लुकाउने मिडियाहरुले खोजेर छाप्ने भन्ने त सोच्नै सकिन्न। इच्छा हुने हो भने त स्वास्थ्य मन्त्रालयले १७ गते नै इमर्जेन्सी अपरेसन गरेका १३ जना अझै उपचार गराइरहेका छन् भन्ने विज्ञप्ति नै निकालेको थियो, खोजेर लेख्न सकिन्थ्यो। अन्तर्यामी हुनु पर्दैन, अलिकति इच्छाशक्ति भए पुग्छ।
‘पत्रकार अन्तर्यामी होइन’ भन्दै काखी कसेर बस्ने हो भने—के अर्थ पत्रकारिताको?
गोली त सडकमा चलेको थियो, तर आवाज मिडिया हाउसभित्र चिच्याउन नपाउने गरी थुनिएको बल्ल थाहा भो।
ठीक हो सम्पादकज्युहरु, आफ्नो पत्रिकामा के छाप्ने के नछाप्ने भन्ने कुरा तपाईँहरु आफैले डिसिजन गर्ने विषय हो। हामीले भनेर केही हुनेवाला छैन, हामीलाई थाहा छ।
तर व्यवस्था जोगाउने नाममा पत्रकारिताकै मृत्यु देखिरहँदा—मन भक्कानिन्छ। तीनकुनेको धुवाँ सडकमा मात्र थिएन, मिडियाको विवेक पनि त्यसैमा हराइसकेको रहेछ।
गर्न नै के सकिन्छ र, हामी हेरेको हेर्यै, हामी हेरेको हेर्यै।
यो पनि हेर्नुस्-
बधाई छ नेपाली पत्रकारितालाई: अब चौथो अङ्ग होइन, ‘चौतर्फी आँखा बन्द’ युग सुरु!
सरकार भन्छ एउटा, मिडियाहरु हेडलाइन ठोक्छन् अर्को : यो केको संकेत हो ?
आन्दोलनमा तीन जना मरेको गलत समाचार भारतीय मिडियामा कसले लेख्यो ?
That is called yellow journalism, could be really good case studies to student who are doing Journalism. I like to see those report name and shame them.
Thank you for highlighting Good job