Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बधाई छ नेपाली पत्रकारितालाई: अब चौथो अङ्ग होइन, ‘चौतर्फी आँखा बन्द’ युग सुरु!

Posted on April 2, 2025April 3, 2025 by Salokya

बधाई दिनैपर्छ! नेपाली पत्रकारिताले फेरि एउटा ‘नयाँ आयाम’ चुमेको छ। समाचार खोजेर ल्याउने जमाना गयो, अब त प्रेस ब्रिफिङ कुर्ने पत्रकारिताको युग सुरु भइसकेछ।

भर्खरै थाहा भयो — काठमाडौंमै २० जना नागरिकलाई गोली लागेको रहेछ!
तर खबर?
६ दिनपछि बल्ल आयो, त्यो पनि प्रहरीले पत्रकार सम्मेलन गरेपछि।

सोध्न मन लाग्छ — के हामी अझै पनि पत्रकारिताको अभ्यासमै छौं त?
न्युजरुममा बस्ने पत्रकारहरू अब रिपोर्टर होइनन्, दस्तावेज टाइप गर्ने  वा पत्रकार सम्मेलनमा बाँडिएको विज्ञप्ति सारेर समाचार बनाउने वा नेताले सोसल मिडियामा लेखेको कुरा कपिपेस्ट गरेर समाचारको रुप दिने प्राविधिक जस्ता लाग्न थालेका छन्।

राजधानीको खबर ‘पुलिस क्लबबाट’ नभनेको भए नआउने?

यो कुनै बाढीले काटिएको गाउँको कथा थिएन, न त कुनै गहिरो जंगलको। घटना काठमाडौं को हो — राजधानी! संघीय राजधानी, जहाँ सबै मूलधारे मिडिया हाउसका कयौं रिपोर्टर हिंडिरहेका हुन्छन्।

तर चैत १५ गते भएको घटनाको वास्तविक चित्र ६-६ दिनसम्म गुमनाम नै रह्यो। त्यहाँ कुन स्तरमा अवस्था बिग्रिएको थियो, केसम्म भएको थियो भन्ने बारे अहँ, मूलधारे मिडियामा आउँदै आएन। बरु सोसल मिडियामा अपुष्ट, अस्पष्ट फुटेजहरु भाइरल भए। तर धेरै दिनसम्म त दुई जनाको मृत्यु भएको, एक जना गोली लागेर, एक जना आगोमा जलेर  भन्ने नै मिडिया हेरेर मान्छेले बुझे।

चैत २० गते बुधबार नेपाल पुलिस क्लब भृकुटी मण्डपमा प्रहरीले गरेको पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले घटनाक्रमबारे ब्रिफिङ गरेपछि बल्ल पो थाहा भयो- २०/२० जनालाई गोली लागेको रहेछ।

किनभने ‘सूचना’ को स्रोत भनेकै सरकार हो भन्ने विश्वासमा आजको पत्रकारिता रमाइरहेको छ।

अबको पत्रकारिता: खोजी होइन, प्रतीक्षा!

हिजोका दिनमा पत्रकारहरू घटनास्थल पुग्थे, प्रत्यक्षदर्शी खोज्थे, आवाज समात्थे।
आज?
सरकारको प्रेस नोट कुर्छन्।
किनभने अबको पत्रकारिताले ‘सत्यको खोजी’ होइन, ‘सूचना आउँछ’ भनेर पर्खिने बानी बसालेको छ।

हामीले त पढ्दै आएका थियौं —
पत्रकारिता भनेको राज्यको चौथो अंग हो।
तर आजकल त पत्रकारिता सत्ताको भनाई कुर्ने पाँचौं पंक्तिजस्तो भएको छ।

‘चौथो अंग’ होइन, अब ‘चौतर्फी आँखा बन्द’ भएको अवस्था!

राज्यका तीन अंग- कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका- सबैलाई निगरानी गर्ने गम्भीर जिम्मेवारी भएकोले परम्परागत रुपमा यसलाई चौथो अङ्ग भनिएको हो।

तर राजधानीमै भएको घटनामा कति जनालाई गोली लागेको भनेर ६ दिनसम्म पनि थाहै नहुने पत्रकारितालाई के चौथो अंग भन्नु, बरु ‘चौतर्फी आँखा बन्द’ भन्नुपर्ला अब।

गोली लागेर एक युवती रगतपच्छे भएर ढलेको भिडियो सोसल मिडियामा त्यही दिन हेरेको थिएँ मैले। तर ती युवती आन्दोलनमा सहभागी नै नभएकी, दाजुलाई बोलाएर घर फर्कँदै गर्दा गोली लागेकी निर्दोष रेबिका खत्री भएको खबर हिजोदेखि बल्ल मिडियामा आउन थाल्यो। दाजु बहिनी दुवैलाई गोली लागेकोमा बहिनी अझै सिकिस्त रहेछन्।

बुधबार दिउँसो अन्तर्वार्ता दिन व्यस्त रेबिकाको परिवारका सदस्य।


यत्रो दिनसम्म कसैले वास्ता नगरेको त्यो परिवार आज भने दिक्क भएछन्- कति जनालाई इन्टरभ्यु दिनु। बिचरी- रेबिका अझै आइसियुमा छिन्।

कति जनालाई गोली लाग्यो, कति जना घाइते भयो भनेर पत्रकारले चाहेको भए खोज्न नसक्ने विषय थिएन। राजधानीका अस्पतालहरुमा रिपोर्टरलाई खटाएको भए कुरा आइहाल्थ्यो। पुलिसले लुकाएकै हो।पुलिसको चैत १५ गतेको प्रेस विज्ञप्तिमा एक जनालाई गोली लागेको र अस्पतालमा लग्दा मृत घोषणा भएको, जलेको घरमा एक जनाको शव भेटेको मात्रै कुरा थियो।

तर स्वास्थ्य मन्त्रालयले भने यसबारे जानकारी दिएको थियो।

 त्यहाँमाथि स्वास्थ्य मन्त्रालयले चैत १७ गते नै प्रेस विज्ञप्ति जारी गरेर १२८ जना घाइतेको अस्पतालहरुमा उपचार भएको र इमर्जेन्सी अपरेसन १३ जनाको गरिएको भनेर लेखेको थियो।

तर ती इमर्जेन्सी अपरेसन गर्नुपर्नेहरु को को थिए? उनीहरुलाई गोली नै लागेको थियो कि थिएन ? गोली लागेको भए उनीहरु आन्दोलनकारी थिए कि रेबिका जस्ता बाटोमा हिँड्नेहरु मात्र थिए- यसबारे कसैले खोजेको देखिएन।

आन्दोलनको कभरेज त २०६२/६३को आन्दोलनका बेला पनि भएको थियो। तर यस्तो बिजोग भएको थिएन।

अलिकति क्रिटिकल कन्टेन्ट उकेरामा केपी ढुंगानाले चैत १८ गते लेखे- तीनकुनेमा असफल गृह संयन्त्र : चुकेको कि नियोजित ! अनि त्यही दिन हो न्युज २४ ले सबै मान्छे पछाडि फर्किरहेको बेला गोली चलेको आवाज आएको र मान्छे ढलेको देखिएको र ती व्यक्ति सविन महर्जन भएको भन्दै भिडियो सार्वजनिक गरेको।

त्यसपछि अरु मिडियामा पनि हल्का कन्टेन्ट आउन थाल्यो। नत्र त सबै सरकार पक्ष कै कुरा जस्तै मात्र देखिए मिडियामा।

किन यस्तो भयो त ? सुरक्षा बिटलाई नजिकबाट बुझ्ने एक जनालाई सोधेँ। उनको भनाई थियो-

अधिकांशको बानी पुलिसले नभनी एंगल फुर्दैन। कन्टेन्टमा नि उसकै भर पर्छन्। जब प्रहरी चुक्छन्, उनीहरुले त्यस्तो कुरा भनिदिँदैनन्, लुकाउँछन्। अनि न एंगल फुर्छ, न कन्टेन्ट बलियो हुन्छ।

हुँदाहुँदा भीड नियन्त्रणको चुकबारे पूर्व डिआइजी हेमन्त मल्लसँग गफ गरेर उनलाई कोट गरी समाचार लेख्छन्। अब भो त?पुलिस भन्दैमा सबै ज्ञान हुन्न नि। अपराध अनुसन्धानमा दख्खल राखे पनि मल्लले कहिल्यै भिड नियन्त्रणको नेतृत्व नै गरेनन्। कुन विषयको जानकार को भन्नेसम्म थाहा हुन्न।

पोस्टमार्टमको रिपोर्ट बारे पुलिसलाई कोट गरी समाचार लेख्छन्। पोस्टमार्टम पुलिसले गर्छ कि चिकित्सकले? त्यति थाहा हुनुपर्दैन? पुलिसको भूमिका विवादास्पद भएको बेला पोस्टमार्टम रिपोर्ट बारे पुलिसलाई सोध्ने कि चिकित्सकलाई?

धन्न मिडियाले यसरी कहिलेकाहीँ लाइभ गरेर वास्तविक कुरा के रहेछ भन्ने बुझ्ने अवसर भने दिन्छ। त्यो दिनको घटनाबारे प्रहरीले गरेको पत्रकार सम्मेलनको लाइभ अनलाइनखबरमा

त्यो दिनको कुरा यस्तो रहेछ-

प्रहरीको बल प्रयोग:

    • ५८ राउन्ड गोली प्रहार (दुई राउन्ड पेस्तोलबाट)

    • ७४६ सेल अश्रुग्याँस प्रहार

    • १९२ पटक ब्ल्यांक फायर

घाइते र मृतक:

      • ५१ जना प्रदर्शनकारी घाइते

      • २० जनालाई गोली लागेको (२ महिला, १८ पुरुष)

      • १ जनाको मृत्यु

      • १३ जना अझै उपचाररत

अब त जगाउनु पर्‍यो पत्रकारिता!

आज हामीलाई सूचना चाहिएको बेला सबैभन्दा विश्वसनीय हुनुपर्ने ठूला लगानीका मूलधारका मिडिया थियो। तर फेसबुक, टिकटक वा अरु सामाजिक सञ्जालमा फैलिएको क्लिपपछि बल्ल मिडियाले ‘सम्झन्छ’।

५८ राउन्ड गोली चलेको र २० जनालाई गोली लागेको अवस्था भनेको सामान्य होइन। गोली फेरि पुलिसलाई किचौँला झैँ गरी गाडी कुदाउँदा चलेको देखिएन। कस्तो अवस्थामा गोली चलेको देखियो भनेर सोसल मिडियामा आवाज उठिरहेको छ। सोसल मिडियामा मान्छेले यति  भिडियो खिचेर नराखेका भए र यति हल्लाखल्ला नभएको भए २० जनालाई गोली लागेको खबर राज्यले लुकाएरै राख्थ्यो होला।

र, यति हुँदासम्म पनि मिडियामा सरकार र गृहमन्त्रीको कुनै आलोचना छैन। दुई तिहाईको सरकार छ। सरकार रुचाउने मिडिया छ। अनि…

यो अवस्था भयावह हो।

यदि अब पनि हामी ब्युझिएनौं भने,
पत्रकारिताको आँखै बन्द हुनसक्छ,
साँचो आवाज सदाको लागि हराउन सक्छ।

यो पनि हेर्नुस्-
सरकार भन्छ एउटा, मिडियाहरु हेडलाइन ठोक्छन् अर्को : यो केको संकेत हो ?
आन्दोलनमा तीन जना मरेको गलत समाचार भारतीय मिडियामा कसले लेख्यो ?

5 thoughts on “बधाई छ नेपाली पत्रकारितालाई: अब चौथो अङ्ग होइन, ‘चौतर्फी आँखा बन्द’ युग सुरु!”

  1. बिमल says:
    April 3, 2025 at 7:28 pm

    मानव अधिकार , नागरिक समाज पनि कता थियो कुन्नि ?

    Reply
  2. Abhi says:
    April 3, 2025 at 4:11 pm

    It’s because media owners have almost stopped paying and reporters are limited to desk reporting. They are not doing journalism anymore, they are just doing a regular job, i mean jagir khanewala job.

    Reply
  3. वुध्दि वराल says:
    April 3, 2025 at 6:23 am

    एक्काइसौं सताब्दीको अन्त्य सम्म आइपुग्दा पनि हामी अठ्ठारौं सताब्दीमा दौडिरहेका रहेछौं।उपलव्ध प्रविधिको प्रयोग त गर्न सकिरहेका छैनौं अनि उन्नत राजनैतिक प्रणालीको हावादारी गफ पिट्छौं। मानौं जेट उडाउने लाइसेन्स होल्डर वनेको हाँक पिटेर साइकल पनि समाल्न हम्मे छ।

    Reply
  4. Anshu Verma says:
    April 3, 2025 at 12:10 am

    यो ब्लग पोस्ट निकै जानकारीमूलक र विचारणीय छ। लेखकले समसामयिक विषयलाई गहिराइमा पुगेर विश्लेषण गरेको देखिन्छ, जसले पाठकलाई नयाँ दृष्टिकोण प्रदान गर्छ। माइसंसार ले सधैंझैं यो पटक पनि सत्य र तथ्यमा आधारित सामग्री पस्किएको छ, जुन प्रशंसनीय छ। यस्तै खालका लेखहरूले समाजमा जागरूकता फैलाउन ठूलो भूमिका खेल्छन्। धन्यवाद यो उत्कृष्ट लेखका लागि!

    Reply
  5. Raju Acharya says:
    April 2, 2025 at 11:22 pm

    माई संसार छ र पो कहिले काँही मिडिया जिउंदै छ जस्तो लाग्छ !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme