Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सरकार भन्छ एउटा, मिडियाहरु हेडलाइन ठोक्छन् अर्को : यो केको संकेत हो ?

Posted on April 2, 2025April 2, 2025 by Salokya

मिडिया भनेको कुनै पनि देशको ‘स्वतन्त्र’ हुँदैन। यसले पक्षधरता लिन्छ नै। नेपाली पत्रकारिताको इतिहास हेर्ने हो भने पनि त्यस्तै नै देखिन्छ। तर त्यस क्रममा तथ्य नै गलत राख्न चाहिँ पाइँदैन।

नेपालका नाम चलेका मिडियाहरु गणतन्त्र पक्षधर छन्। राजतन्त्र विरोधी छन्। ठीक छ। मलाई पनि राजतन्त्र भन्दा गणतान्त्रिक व्यवस्था नै ठीक लाग्छ। माइसंसारको जन्म नै तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन गरिरहेको बेला भएको हो।

तर, त्यसो भन्दैमा तथ्य नै गलत राख्न त पाइएन नि, पाइयो र? हिजो त्यस्तै घटना देख्न पाइयो।

तपाईँले हिजो केही मिडियाका समाचारहरु हेर्नुभयो होला-सरकारले राजावादीहरुको समूहले आयोजना गर्ने कुनै प्रदर्शनमा सहभागी नहुन आम नागरिकलाई अपिल गरेको।

हेर्नुस् त यो अनलाइनखबरको फेसबुकमा कति धेरै इन्गेजमेन्ट छ यो समाचारमा-

अर्को मूलधारे मिडिया नागरिकन्युजको फेसबुक पेजमा हेर्नुस्-

अर्को पनि हेर्नुस्- उज्यालोको समाचार

सेतोपाटीको समाचार। अर्काइभ

अरु पनि प्रशस्तै अनलाइनहरुले यही लाइनमा हेडलाइन ठोक्दै समाचार बनाएका छन्।

अचेल मान्छेलाई समाचार पूरै पढ्न फूर्सद नै कहाँ छ र। हेडलाइन पढेर धारणा बनाइहाल्छन्। कसैलाई अलि चासो लागे बढीमा एक लाइन, दुई लाइन समाचार पनि पढ्लान्।

भए भरका प्रमुख मिडियाले यस्तो हेडलाइन राखेपछि पढ्नेलाई यो सरकारले नागरिक स्वतन्त्रता नै हनन् हुने गरी राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन अपील गर्न पाइन्छ र, अति गर्‍यो भन्ने भइसक्यो।

तर ठ्याक्कै त्यस्तो होइन रहेछ, मिडियाले भ्रम फैलाए

मिहिन रुपमा समाचार पढ्ने हो भने चाहिँ मिडियाले भ्रम फैलाएको प्रष्टै हुन्छ। यसका लागि अनलाइनखबरले लेखेको समाचारको चिरफार गरौँ-

समाचारको अर्काइभ लिङ्क हेर्न यहाँ क्लिक गर्नुस्। 

तपाईँले यति हेर्दाखेरी याद गर्नुभयो नि होइन, वास्तवमा सरकारका प्रवक्ताले अराजक प्रदर्शनमा सहभागी नहुन अपिल गरेको रहेछ, मिडियाका पत्रकार र सम्पादकलाई त्यतिले नपुगेर अराजकमात्र होइन- कुनै पनि प्रदर्शनमा सहभागी नहुन मिडियामार्फत् अपिल गरिदिएछन्।

ठ्याक्कै यसो हो कि होइन, अब शंका लागेपछि त आधिकारिक रुपमा मन्त्रिपरिषद्को निर्णय नै हेर्नुपर्ने भयो। चैत १५ गतेको निर्णय यस्तो देखियो-

यसमा त सरकारले राजावादीको समाचारको हेडलाइनमा जस्तो कुनै पनि प्रदर्शनमा सहभागी नहुन भनेको देखिएन त। ‘यस किसिमका अराजक गतिविधिहरुमा संलग्न नहुन’ अपिल गरिएको रहेछ।

निर्णयमा त्यसो लेखिए पनि सरकारका प्रवक्ता अलि टेढोटेढो बोल्छन्, जिब्रो चिप्लिएर मिडियामा लेखिए जस्तै पो भनेका थिए कि?

भिडियो हेरौँ न त भन्ने लाग्यो, कान्तिपुर टिभीले राखेको भिडियो हेर्नुस्-

देखियो त हेडलाइनमा लेखे जस्तो ?

राजावादी समूहको कुनै पनि प्रदर्शनमा वा राजावादी समूहको प्रदर्शनमा सहभागी नहुन भनेको हो कि अराजक गतिविधिमा संलग्न नहुन भनेको?

दुवैको अर्थ एउटै हो ?

सरकारले गरेको निर्णयमा चित्त नबुझेर पत्रकार वा सम्पादकले जनतालाई आफ्नै अपिल ठोक्दिएका हुन् ?

यसले गणतन्त्रलाई सघाउँछ कि झन् बदनाम गर्छ त ?

जवाफ कता खोज्ने होला त ?

(नोट : यसको फिचर इमेज एआईबाट तयार पारिएको हो)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme