Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आन्दोलनमा तीन जना मरेको गलत समाचार भारतीय मिडियामा कसले लेख्यो ?

Posted on April 1, 2025 by Salokya

चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा दुई जनाको ज्यान गयो।

एक, कीर्तिपुरका सुमो चालक सविन महर्जन।

दुई, एभिन्युज टिभीका क्यामेरा पर्सन पत्रकार सुरेश रजक।

हालै न्युज २४ ले सार्वजनिक गरेको एउटा भिडियोमा मान्छेहरु पछाडि फर्कँदै गर्दा गोली चलेको आवाज आएको र एक जना व्यक्ति सडकमा ढलेको देखिन्छ जसलाई सविन भनिएको छ। त्यो ठाउँमा प्रशस्तै सिसिटिभी होलान्, अरु प्रत्यक्षदर्शीले पनि खिचेका भिडियो होलान्। त्यो एउटा भिडियोको अंशमात्र हेर्ने हो भने गोली चलाउनु पर्ने अवस्था नभई गोली चलेको र मान्छे ढलेको देखिन्छ। ती व्यक्ति सविन नै हुन् कि हैनन्, पछाडिबाट गोली हानिएको हो कि होइन- यसको विस्तृत छानबिन हुन जरुरी छ। तर मारिएका व्यक्ति न राजावादी, न गणतन्त्रवादी- एक सामान्य व्यक्ति- पछिल्लो पटक आएका समाचारहरुले त्यही भन्छ। अब कसले दबाब दिएर यसको छानबिन हुने होला त। यो देशमा सामान्य नागरिक हुनु जतिको अभिशाप के नै होला र!

अस्तिको घटनामा अझ दर्दनाक अवस्थामा ज्यान गुमाए सुरेशले। उनी प्रदर्शनकारीले लुटपाट र आगजनी गरेको तीनकुनेको भवनमा शरीरको अधिकांश भाग जलेको अवस्थामा भेटिएका थिए।

उनको मृत्यु पनि शंकास्पद छ। विभिन्न कन्स्पिरेसी थ्यौरीहरु अगाडि आएका छन्। पुलिसका गोप्य कुरा खिचेकोले गोली हानेर मार्‍यो रे। आन्दोलनकारीहरुले लुटपाट गरेको भिडियो खिचेका कारण उनीहरुले मारेको रे। अनेक अनेक। त्यो घरका धनीले नेपालप्रेसको यो समाचारमा केही कुरा खोलेका छन्।

आगो लाग्दा पनि उनी किन बाहिर निस्केनन् भन्ने विषयमा सुरुमा उनलाई ताला लगाएर राजावादीहरुले जलाए भन्ने आरोप लगाइएको थियो। तर घरधनीले त्यो सुवाल ल एसोसिएट्स रहेको तल्ला र अरु तल्ला पनि साँचो लगाएकै अवस्थामा रहेको बताएका छन्। आन्दोलनकारीहरुसँगै Crew Avenues लेखेको ज्याकेट लगाएका सुरेश पनि शिशा फुटाएको अर्को ठाउँबाट प्रवेश गरेको विकासन्युजले राखेको भिडियोमा देखिएको छ।

योसहित प्रदर्शनकारीले त्यहाँ मच्चाएको लुटको बारेमा यो भिडियोमा धेरै देखिन्छ।  यही भिडियो खिच्ने नरेश बोहोराले विकासन्युजमा ब्लग लेखेका छन्-

प्रदर्शनकारीहरूले माथि सिभिल प्रहरी छ भनिरहेका थिए । म छतमा जाने बाटोको खोजीमा लागें । छत जाने बाटो बन्द थियो । च्यानल गेटमा ताला लागेको थियो । जुन अहिले भित्र कोठामा सामान चोरिरहेको दृश्य तपाईंहरूले देखिरहनु भएको छ, त्यहाँभित्र जाने ढोक्का बन्द थियो, झ्याल फुट्टाएर उनीहरू भित्र पसेका थिए । सुरेश त्यहीँ नजिक थिए ।
‘दाइ मेरो भाइबर एड गर्नुहोस्, म एकदमै खतरा ठाउँमा छु ।’ उनी बोलिरहेको भिडियो मसँग पनि छ । त्यसपछि उहाँ म भिडियो खिच्दै गरेको ठाउँबाट अगाडि जानुभयो । बाहिरबाट प्रदर्शनकारीको ढुङ्गा प्रहार रोकिएको थिएन। म अब बाहिर जाने योजनामा थिएँ । अन्तिम पटक माथिबाट बाहिरको भिडियो लिने सोंच बनाएँ ।
छेउमै पुगेर बाहिरको भिडियो खिच्दै थिएँ । मेरो पछाडि आल्मुनियमको बार खसेर म फर्किने बाटो बन्द भयो । म त्यसबाट सहजै बाहिर निस्किने अवस्था थिएन । मैले त्यहाँ चोरिहेका आन्दोलनकारीलाई मद्दत मागें । उनीहरू आएनन् । केही टाढा रहेका एक जना परिचय नभएका हातमा क्यामेरा भिडेका साथी म कहाँ आएर आल्मुनियम उठाउने प्रयास गरें, आल्मुनियम फोड्ने कोसिस गरें । अहँ, उनले सकेनन् । केही समयपछि एक/दुई जना मिलेर आल्मुनियम हटाएर म त्यहाँबाट निस्किएँ ।
घरमा आगो दन्किसकेको थियो । हामी माथि एक्सक्लुसिभ फुटेज र तस्बिरको लोभमा थियौं । सुरेशजी भिडियो खिच्नमै व्यस्त थिए । केही मिनेट आल्मुनियमले सताएको मलाई त्यहाँ बस्न कत्तिभर पनि मन लागेन । सडकबाट केहीले तल झर आगो माथि पुगिसक्यो भनेको आवाज मेरो कानमा ठोक्कियो । म हतार-हतारमा तल झर्दै थिएँ । अगाडि तिनै स्व. सुरेश रजक थिए । मैले उनलाई हतास–हतासमा भनें, ‘दाइ आगो नजिकै आइसक्यो रे ! झरौं तल।’ उनले जवाफमा मसँग भने, ‘म खिच्दैछु ।’

सुरेश एक्लै मोबाइल चलाएर बसिरहेको कसैले खिचेको भिडियो पनि सामाजिक सञ्जालमा देखिएको छ। त्यो भिडियोमा सुवाल ल एसोसिएट्स लेखिएको त्यो कोठामा अरु कोही देखिन्न। सबै गइसक्दा पनि उनी किन त्यसरी एक्लै बसे? पछि उनले फोन गरेर कसैलाई आफू फँसेको भनेर गुहारे कि गुहारेनन्, ती कुरा खुलेका छैनन्।

परिवारले पनि उकालोको यो समाचारमा केही प्रश्न राखेका छन्-

दिनेशका आँखामा प्रश्नै प्रश्न छन्– “भाइ किन भाग्न सकेन? जस्तोसुकै जोखिम मोलेर रिपोर्टिङ गर्ने सुरेश किन त्यहाँबाट निस्कन सकेन? आगो लाग्दा एक व्यक्तिले उम्किन प्रयास गर्ने होइन र? किन झ्यालबाट हाम फालेन? मोबाइल त आगोले डल्लो पर्‍यो, तर उसको क्यामरा खोइ?”

सुरेशका जेठा दाजु रमेश भावविह्वल हुँदै भन्छन्, “मेरो भाइ त्यहाँबाट सजिलै जोगिन सक्थ्यो। तर के, कसैले उनलाई भाग्न नदिएको हो? ऊ झ्यालबाट भित्र गएको हो, फर्किँदा पनि त ऊ झ्यालबाटै निस्कन सक्थ्यो नि, हैन र?”

त्यसैबेला सुरेशकी श्रीमतीले कम्पनयुक्त आवाजमा सोधिन्, “आगो लाग्दा मान्छे त छट्पटाउँछ। दौडन्छ। हाम्फाल्छ। तर किन उनी कुर्सीमै बसे जस्तो अवस्थामा भेटिए?”

जे होस्, दुःखद रुपमा दुई जनाको ज्यान गयो।

अहिलेसम्म मृत्यु भएको पुष्टि भएको भनेको यी दुई जना मात्रै हुन्।

तर एउटा भारतीय मिडिया इन्डियन एक्सप्रेसमा भने तीन जनाको मृत्यु भएको ‘समाचार’ आयो।

कसले लेख्यो भारतीय मिडियामा यस्तो ‘समाचार’ ?

चानचुने व्यक्तिले होइन, त्यसमा बाइलाइन अर्थात् लेख्ने पत्रकारको नाम छ- युवराज घिमिरे। वरिष्ठ पत्रकार।

यहाँ क्लिक गरी पढ्नुस् अर्काइभ लिङ्क।

अस्ति मैले यो बारे सामाजिक सञ्जाल एक्समा लेखेको थिएँ। त्यसमा युवराज दाइले यस्तो रिप्लाइ दिनुभएको थियो-

उहाँले भन्नुभए जस्तै मैले त्यो दिन अर्थात् चैत १५ गतेको प्रहरीको विज्ञप्ति हेरेँ। त्यहाँ एक जना सविन महर्जन र अर्का तीनकुनेस्थित मार्बल हाउसमा मृत अवस्थामा एक पुरुष व्यक्तिको शव फेला परेको लेखिएको छ। अर्थात् मृत्यु भएका दुई जना नै लेखिएको छ, तीन जना होइन।

उहाँको तर्क छ- सुरेश रजक बाहेक त्यो पुरुष व्यक्तिको शव पनि गरेर तीन जना हो।

तर यो गलत हो। गोली अरुलाई पनि लागेको थियो। स्वास्थ्य मन्त्रालयको १७ गतेको विज्ञप्ति अनुसार १२८ जना घाइतेले उपचार गराएकामा त्यो दिनसम्म आकस्मिक शल्यक्रिया गरिएका १३ जना उपचार गरिरहेकै अवस्थामा छन्।  तर मृत्यु भएको आधिकारिक रुपमा पुष्टि भएको चाहिँ दुई जना मात्रै हो।

प्रहरीले १५ गते अर्थात् घटना भएको दिन नै जारी गरेको विज्ञप्तिमा दोस्रो व्यक्तिको नाम उल्लेख किन नगरेको त ? कारण यसो हुनसक्छ- शव चिन्नै नसकिने गरी जलेको थियो। परिवार र एभिन्युज टेलिभिजनका सहकर्मीहरुले सुरेश रजक भएको भने पनि त्यतिबेलासम्म पुष्टि भइसकेको थिएन। यद्यपि मिडियामा त्यही दिन सुरेश रजक नै जलेको अवस्थामा मार्बल हाउसमा भेटिएको भन्ने समाचार आइसकेको थियो।

हतारमा भएर होला उहाँले दुई जनाको नाम त मिडियामा आइहाल्यो अनि प्रहरीको विज्ञप्तिमा नाम नखुलेको एक जना। दुई र एक कति भो ?

तीन।

त्यही भनेर तीन जना भनेर लेख्नुभएको होला।

तर तेस्रो मृत्यु व्यक्तिको हैन, तथ्यको भयो। यति संवेदनशील विषयमा पुष्ट्याइँ नगरी विदेशी मिडियामा समाचार लेखिहाल्नु हुन्थ्यो र ?

लेखी त सकियो।

सच्याउन पनि त मिल्छ नि। नसच्चिउन्जेल त यो तेस्रो मृत्यु व्यक्तिको होइन, तथ्यको नै भइरहनेछ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme