Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दुई जनाको ज्यान बित्थामा गयो – दोषी को ?

Posted on March 30, 2025March 30, 2025 by Salokya

चैत १५ गते राजावादीको आन्दोलन

तीनकुनेमा घर जल्यो।
पत्रकार सुरेश रजक त्यही घरमा जलेर मरे। सुमो चालक सविन महर्जन गोली लागेर मरे।  
अनि त्यही क्षणदेखि सुरु भयो—
‘दोष कसको हो?’ एकअर्कालाई थोपर्ने काम
जहाँ हरपल नयाँ एपिसोड,
र दोषी हरपल नयाँ पात्र।

एपिसोड १: दोषी — राजावादी!

सरकार र उसँगै राजतन्त्र मन नपराउनेहरुले आँखा तर्ने शैलीमा भन्यो:
“राजावादीहरूले निषेधित क्षेत्र तोडे, उपद्रव गरे, भिडन्त गराए, अनि आगो लगाए, लुटपाट मच्चाए। पत्रकारको हत्या आन्दोलनकै नतिजा हो।  सुमो चालकको मृत्युमा उनीहरु नै दोषी छन्”

एपिसोड २: दोषी — ज्ञानेन्द्र

फेरि गणतन्त्रवादी नेताहरुले भने- यो राजावादीलाई उक्साने दुर्गा प्रसाइँ अनि दुर्गा प्रसाइँलाई उक्साउने ‘अब समय आयो..’ भन्दै भिडियो सन्देश दिने ज्ञानेन्द्र हुन्। उनकै मिलेमतोमा यो सब भएको हो। त्यही भएर बालेनले पनि जरिवाना तिराएका !

एपिसोड ३: दोषी — प्रहरी!

राजावादीहरूले सिङ्गो स्वरमा कराए:
“हामी त फूलजस्तै आन्दोलन गर्दै थियौं- शान्तिपूर्ण
प्रहरीले पहिला घरको छतबाट अश्रुग्यास हानेर स्थिति भड्कायो।
जनताले त्यसको प्रतिकार गरेका हुन्। पत्रकार त त्यसैको भुक्तभोगी।”

एपिसोड ४: दोषी — मिडिया हाउस!

केही पत्रकारहरुले गला सफा गर्दै भने:
“पत्रकारलाई असुरक्षित क्षेत्रमा पठाउने सञ्चारगृह नै दोषी!
न त हेलमेट, न बुलेटप्रूफ ज्याकेट, न तलब –
अनि ब्रेकिङ न्युज, एक्सक्लुसिभ फुटेज खोज्दा यही हुन्छ।”

एपिसोड ५: दोषी — आदेश दिने ‘माथिल्लो तह’

प्रहरीले सलाम ठोक्दै भन्यो:
“हामी त आदेश पालक मात्र।
ढुंगा आयो, अश्रुग्यास हान्यौं।
अब दोष त त्यो ‘माथिल्लो आदेश’ दिने को हो हेर्नुपर्छ नि!”

एपिसोड ६: दोषी — मौसम!

एकजना आफूलाई खुब मौसमविद् नै ठान्नेले भने:
“त्यो दिन हावा पूर्वतर्फ बहिरहेको थियो।
अश्रुग्यास सरासर घरभित्र पस्यो।
हामीले पहिल्यै चेतावनी दिएको हो नि!”
(अब दोष बादलले लियो!)

एपिसोड ७: दोषी — त्यो पत्रकार आफैं!

फेसबुक कमेन्ट सेक्सनमा एक महान आत्माले लेखे:
“त्यहाँ नजानु पर्ने ठाउँमा गएका पत्रकार आफैं दोषी!
‘एक्सक्लुसिभ’को लोभमा आगो दन्किँदासम्म मोबाइल चलाएर बस्ने, भिडियो खिच्दै बस्ने काम ठीक भएन “

एपिसोड ८: दोषी — ढुंगा!

अश्रुग्यास किन हानियो?
किनकि ढुंगा आयो।
अब सवाल –
“त्यो ढुंगा कसले फ्याँक्यो?”
ढुंगा आफैं बोल्न सक्ने भए –
“म त यत्तिकै बसिरहेको थिएँ, मलाई कुन टोर्पेले उठाएर हानेको हो!”

एपिसोड ९: दोषी — YouTube लाइभर!

एकजनाले क्लोज-अप शटमा भन्दैथिए:
“हेलो गाइज, अहिले म घर जलिरहेको ठाउँमा छु।
यो पत्रकार पनि यही आसपास थिए।
लाइभ हेरिरहनुहोस्।
लाइक, सेयर र कमेन्ट गरिरहनुहोस्।”
(अब दोष ‘कन्टेन्ट’ को चाहना पनि भयो!)


एपिसोड १०: ……….. अनि अन्ततः, जब दोष सकियो …

सबै थाकिसके, सबैले सबैलाई दोष दिइसके।
प्रहरी, नेता, आन्दोलनकारी, पत्रकार, जनता, मौसम, ढुंगा, अश्रुग्यास, क्यामेरा, युट्युब, फेसबुक… सबै दोषी भइसके।

अब बाँकी को?

🎺 अन्तिम एपिसोड: दोषी — भगवान!

सबै मिलेर टुलुटुलु आकाश हेरे।
र एउटै स्वरमा भने:
“यत्रो गडबड,
यत्रो अफरातफरी,
यत्रो दोष र बबाल —
अब त बुझियो,
भगवानले नै गलत डिजाइन गरेका हुन् यो संसार!”

निष्कर्ष:

गोलीले मजदूर ढाल्छ

आगोले पत्रकारलाई जलाउँछ,

अश्रुग्यास जनतालाई रुवाउँछ,

र अन्त्यमा, दोष भगवानलाई थोपारिन्छ।

तसर्थ,
अब कुनै दुर्घटना भए, आन्दोलन भयो, रिपोर्टर मर्‍यो,
सीधै भन्नुहोस् —
👉 “भगवान दोषी!”

किनकि बाँकी सब त पहिले नै ‘क्लीन चिट’ लिएर बसेका छन्!

(नोट : फिचर इमेज च्याटजिपिटीबाट तयार गरिएको हो)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme