Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कतारका गल्लीहरूमा हराएका नेपाली सपनाहरू

Posted on March 27, 2025March 27, 2025 by mysansar

म झापाको तोपगाछीबाट। नाम ठ्याक्कै खुलाउन मन छैन, तर माइसंसारका पाठकहरुले चाह्ने हो भने ‘अभागी कान्छा गाउँले’ भनेर चिनिदिनुहोस्।

कतार आउनु अगाडि, धेरै सपना थिए। घरमा बाआमा, दाजुभाइ, साथीसंगी—सबैलाई “अब म पैसा कमाएर फर्कन्छु” भन्ने ठूलो आस। भिसा लागेपछि काठमाडौँ आएँ। त्रिभुवन विमानस्थलबाट प्लेन चढ्दा मनमा डर पनि थियो, उत्साह पनि।

प्लेन उडेको केही बेरमै अगाडि बस्ने दुई जना नेपालीहरुको कुरा सुन्दै थिएँ। एउटा त नयाँ थिए, अर्को चाहिँ छुट्टी मनाएर फर्कंदै। जब एयर होस्टेसले जुस-बियर ल्याइन्, त्यो पुरानाले नयाँ केटालाई बियर पिउन कर गर्‍यो।

“मैले कहिल्यै पिएको छैन दाइ,” भन्यो उसले।

तर त्यही पुरानाको कुरा गज्जब लाग्यो– “हेर्नु त! यस्तो भाग्य कहाँ सबैको हुन्छ र? हावामाथि उडेर बियर पिउन पाउनु, कस्तो रोमाञ्चक!”

उसको जोश हेर्दै म निदाएछु। जब ब्युँझिएँ, कतार आइपुगेका थियौं। बाहिर निस्किएपछि त लाग्यो, एकदम फरक दुनियाँमा आइपुगेँ—त्यो हरियाली नेपाल कहाँ, यो सिमेन्टको सहर कहाँ!

काम सुरु भयो। तातो घाम, तातो हावा, अनि लगातार पसिना बगाउने जिन्दगी। थकाइले लखतरान भएर बेलुकी कोठा आइपुग्दा के गर्नु! कतिपय दाजुभाइहरू त ट्वाइलेटको किरा मार्ने रसायन ‘लुमा’ नै पिउँछन्। हो, त्यही ‘लुमा’। अहिले त त्यसलाई ‘नेपाली कांग्रेस’ भनेर जिस्क्याउने गर्छन्—किनभने बट्टामा रुखको चिन्ह हुन्छ रे!

साथीहरूमध्ये कतिपयले त फिलिपिनी केटीसँगै रमाइलोमा पैसा उडाइरहेका छन्। अनि, हाम्रा चेलीहरू पनि कम छैनन्। ‘पार्टटाइम’ भनेर कोड राखेका छन्—एउटा फोन आएपछि मोलतोल, तयारी। एकछिनमै महिना दिनको तलब बराबर। पैसा नेपाल पठाए—घर खुसी। पैसा यहाँ उडाए—आफू खुसी। यस्तो डबल खुसीको संसारमा कसलाई के चाहियो र?

तर अफसोच! त्यो आत्मसम्मान, त्यो पहिचान, नेपालमै छाडेर आएका हुन्छन् उनीहरू।

केटाहरुको हालत पनि कम छैन। पाइन्ट खस्किएको, कानमा मुन्द्रा, गफगाफ, झगडा—जेल पर्नेसम्मका काम। यस्ता केहीका कारणले राम्रो काम गर्ने धेरै नेपालीहरू पनि नराम्रो छापमा पर्छन्।

आश्चर्य लाग्ने कुरा त के छ भने—काम गर्दा त ४० डिग्री तापमा तात्तिँदै, र तलब चाहिँ महिनाको ५/६ सय मात्रै। तर हातमा मोबाइल चाहिँ १८/२० सय रियालको! आफ्नै संसार बनाएका छन् कतिपयले—सोच्दैनन्, नेपालमा ऋणमा डुबेको परिवार के गर्दै होला भनेर।

मैले आलोचना गर्न खोजेको होइन। सबैको आफ्नो जीवन, आफ्नै बाटो। तर जब विदेशको माटोमा थिचिएको पसिनाबाट कमाएको पैसाले घरको सपना बाँचिरहेको हुन्छ, तब त्यो जिम्मेवारीको अनुभूति पनि गर्नुपर्छ।

कमाउन आएको हो, बेकारमा आफन्तको सपना कुल्चिने होइन।

सोचौं, हामी के गर्दैछौं र किन गर्दैछौं।

(१३ वर्षअघि माइसंसारमा प्रकाशित ब्लग। त्यतिबेला यो ब्लगमा ६५ वटा कमेन्ट आएका थिए जसको एआईद्वारा तयार पारिएको सारसंक्षेप यस्तो छ–

🔴 मुख्य विवाद:
लेखक (अभागी कान्छा गाउँले) ले कतारको व्यक्तिगत अनुभव लेख्दा नेपाली श्रमिकहरूको नकारात्मक पक्ष मात्र देखाएको भन्दै धेरैले आलोचना गरेका छन्।

✅ समर्थन गर्नेहरू (लगभग 30%):
केही टिप्पणीकर्ताले भने लेखकले आफ्नो वरिपरि देखेको यथार्थ लेखेको मात्र हो, दोष देखाएर सचेत गराउन खोजेको राम्रो प्रयास भएको बताएका छन्।

“सत्य कुरा तीतो हुन्छ”, “यो लेख सुधारका लागि हो” भन्ने भावना बोकेकाहरूले लेखको उद्देश्यलाई सकारात्मक रूपमा लिए।

❌ विरोध गर्नेहरू (लगभग 60%):
अत्यधिक सामान्यीकरण गरेको आरोप: सबै नेपाली ‘लुमा’ खाने, कुलतमा लाग्ने, यौन व्यापारमा संलग्न हुनेजस्ता आरोप सबैमा लागू हुँदैन भनेर आपत्ति जनाइयो।

क्षेत्रीय पूर्वाग्रहको आरोप: लेखकले झापाली भएकाले झापालीहरूमाथि विशेष नराम्रो आरोप लागेको जस्तो भान पर्‍यो भनेर क्षितिज लगायतका केहीले लेखककै नियतप्रति प्रश्न उठाए।

सकारात्मक पक्ष नलेखिएको गुनासो: धेरैले लेखकले श्रमीक जीवनका कडा संघर्ष, पारिवारिक जिम्मेवारी, तलब बचत गरेर घर बनाउने जस्ता सकारात्मक प्रयासहरूलाई बेवास्ता गरेको बताए।

नेपाली महिलाको बदनाम गरिने प्रयास: “पार्टटाइम”, “फिलिपिनी केटीहरू”, “बेश्या”जस्ता शब्दको प्रयोगले विदेशमा बसेका नेपाली चेलीहरूको छवि बिगार्ने प्रयास भएको आरोप।

🟡 समझदारीपूर्ण सन्तुलित टिप्पणीहरू (लगभग 10%):
केहीले भने लेखमा सत्यता त छ तर समग्रता छैन, २% को यथार्थ देखाएर बाँकी ९८% लाई गाली गर्नु अन्याय हो भनेका छन्।

“हामी सबै नेपाली हौं”, “व्यक्तिगत अनुभवलाई सबैमा नलगाऔं”, “राम्रा र नराम्रा दुबै पक्ष समेटेर लेख्नुपर्छ” भन्ने आवाज पनि आयो।

🔚 निष्कर्ष:
लेख विवादास्पद बन्यो, किनभने लेखकले व्यक्तिगत अनुभवलाई सामूहिक चरित्रचित्रण जस्तो शैलीमा प्रस्तुत गरे।

भाषाशैली र समग्रतामा सुधार आवश्यक भएको पाठकहरूको साझा धारणा रह्यो।

श्रमिकहरूको संघर्ष र सम्मानलाई प्राथमिकता दिँदै लेख्नुपर्ने अपेक्षा पाठकहरूको रह्यो।

पुरानो ब्लग र त्यसमा रहेका कमेन्टहरु यहाँ क्लिक गरी पढ्न सकिन्छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme