- अभय शर्मा –
परिवारको सदस्यको उपचारको क्रममा काठमाडौँको चाबहिल नजिकैको एक निजी अस्पताल जानुपर्ने भयो। डाक्टरसँगको परामर्शपछि औषधि लेखियो, र म अस्पतालभित्रकै फार्मेसीमा औषधि किन्न गएँ।
औषधि लिएर बिलिङ गर्दा बिल हातमा परेपछि मैले सोधेँ, “बीमा दाबी गर्नुपर्ने बिल हो, तपाईंले बिरामीको नाम किन सोध्नुभएन?”
फार्मेसीका कर्मचारीले दायाँ भित्तामा टाँसिएको सानो अक्षरको सूचना देखाउँदै भने, “पढ्नुस्!”
मैले आपत्ति जनाएँ, “यस्तो महत्त्वपूर्ण सूचना त स्पष्ट र सजिलै देखिने ठाउँमा राख्नुपर्ने हो! बिरामीको नाम सोध्नु तपाईंको जिम्मेवारी होइन र?”
मैले अर्को एउटा निजी अस्पतालभित्रको फार्मेसीको उदाहरण पनि दिएँ, जहाँ यस्तो झन्झट हुँदैन। त्यसपछि फार्मेसी कर्मचारीले हातैले नाम लेखेर बिलमा छाप लगाउन सुझाए।
मलाई अझै चित्त बुझेन। अस्पताल प्रशासनलाई फोन गरेँ। प्रशासकले, “तपाईंले भनेजस्तै बिल मिलाइदिन्छु,” भने र सुरक्षा गार्डलाई जिम्मा लगाए। केहीबेरमा नयाँ बिल आयो, बिरामीको नाम-ठेगानासहित।
चैत ५ गतेको घटना थियो यो।
यसको दुई दिनअघि एउटा कामको सिलसिलामा काठमाडौँबाट नारायणगढ जाने काम पर्यो। गाडीमा अलि हतारमा भएकाले विहानको फ्लाइटमा जाने निधो गरेँ।
बुद्ध एयरको डोमेस्टिक काउण्टरबाट बोर्डिङ पास लिएपछि सुरक्षा जाँचतर्फ अगाडि बढ्दै गर्दा सानो लाइन थियो।
मभन्दा अगाडि उभिएका सज्जनको अगाडिबाट डिभाइडर तान्दै एकजना प्रहरीले आफूले स्कर्ट गरेर ल्याएका यात्रु र उनको झोला बोक्ने दुई जनालाई लाइनमा बस्न पर्दैन भन्दै सिधै सुरक्षा जाँचपास गर्ने बाटोतर्फ अगाडि बढाए।
कालो चस्मा र मास्क लगाएको हुनाले ती यात्रु ठम्याउन हम्मे परिरहेको थियो, पछाडि रहेका अर्का सज्जन बोले, ए पल शाह पो रहेछ।
प्रहरीले स्कर्ट गरेर डोरी भित्र छिराएका पल शाहले न अरुले जस्तो पेटी खोले, न त मोबाइल नै अलग्गै क्यारिजमा राखेर सुरक्षा जाँच गराए। उनी सिधै स्क्यानर जडित ढोकातर्फ लम्किए।
उनको सुरक्षा जाँच भयो।
पछाडिका सज्जनले बोले, ऊ त सिधै पो जान पाउने रहेछ।
पल शाह भिडलाई उछिनेर अगाडि पुग्दै गर्दा मेरो मुखबाट फ्याट्ट आवाज निस्कियो, यो चाँहि को हो र यस्तो सुविधा पाएको?
सामान्यीकरण गर्न त मिल्दैन, तर मनमा प्रश्न उठ्यो, “म को हुँ?”
विश्वविद्यालयको शिक्षा लिएको, बिहान-साँझ मिठो खान पुग्ने जागिर गर्ने, कर तिर्ने, आफ्नै लागि बाँच्ने एक सामान्य नागरिक हुँ।
म धेरै कुरामा हस्तक्षेप गर्दिनँ। सुख-दुःख आ-आफ्नै हुन्छ।
तर यो देशमा आम मानिसलाई हेपेको भने म सहन सक्दिनँ।
दुवै घटनामा म आफूलाई मात्र होइन, आम नागरिकलाई पनि हेपिएको महसुस गरें।
त्यसैले फेरि प्रश्न उठ्यो—
“म को हुँ? अनि, त्यो को हो?”
(यसमा प्रयोग गरिएको फिचर इमेज एआईद्वारा तयार पारिएको हो)
Exactly, that is why the new generation wants to go abroad.