Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फेसबुकको एउटा रहस्यमय पेज जसले एक वर्षमा झण्डै २० लाख रुपैयाँ खर्च गरिसक्यो

Posted on March 10, 2025March 10, 2025 by Salokya

न राजनीतिक दल, न कुनै विदेशी संस्था, न कुनै व्यापारिक संस्था- तर फेसबुकको एउटा रहस्यमय पेजले साढे १९ लाख रुपैयाँभन्दा बढीको विज्ञापन खर्च गरिसक्यो। तर यो पेज कसको? किन? के कुनै लुकेको शक्ति नेपालमा जनमत बदल्न खोज्दैछ?

फेसबुक एड लाइब्रेरीमा देखिएका चकित पार्ने तथ्यहरू, अज्ञात सञ्चालकहरू, र विज्ञापनमा लुकेको सन्देश— आउनुस् तथ्याङ्क विश्लेषण गर्दै यो विषयमा थप बुझौँ।

फेसबुकमा आफ्ना सामग्री धेरैभन्दा धेरै अडियन्ससमक्ष पुर्‍याउने एउटा विकल्प विज्ञापन पनि हो। फेसबुकको मातृ कम्पनी मेटालाई निश्चित रकम तिरेपछि उसले रकम अनुसार निश्चित अडियन्ससमक्ष तपाईँको सामग्री देखाइदिने काम गर्छ। फेसबुकले हामीलाई सित्तैमा आफ्नो सेवा दिइरहेको जस्तो लागे पनि वास्तवमा हामी प्रयोगकर्ता उनीहरुको ‘प्रोडक्ट’ हौँ। हामीलाई देखाएर नै उसले पैसा कमाउने गर्छ।

फेसबुकले आफ्नो प्लेटफर्ममा कसले कति रकमको विज्ञापन गर्‍यो भनेर पारदर्शी रुपमा देखाउने गरेको छ एड लाइब्रेरीमार्फत्।त्यसैमा देखिएको तथ्याङ्क विश्लेषण गरेर यो ब्लग मैले तयार पारेको हुँ।

फेसबुकमा केही पेजहरू त्यस्ता हुन्छन्, जसले विज्ञापनमा ठूलो मात्रामा खर्च गर्छन् तर तिनको वास्तविक उद्देश्य भने रहस्यमय देखिन्छ। तथ्याङ्क विश्लेषणअनुसार “Unified Nepal – एकीकृत नेपाल” नामक एउटा फेसबुक पेजले नेपाल देशलाई लक्षित गरी सबैभन्दा बढी रकम खर्च गरेको छ।

कति रकम खर्च ?

एक वर्षको अवधिमा यो पेजले १३ हजार ९९८ अमेरिकी डलर (साढे १९ लाख रुपैयाँभन्दा बढी) खर्च गरिसकेको मेटा एड लाइब्रेरी रिपोर्टको स्पेन्डिङ ट्रयाकरले देखाउँछ।

रिपोर्टका अनुसार धेरै रकम खर्च गर्नेमा युनिसेफ (२० हजार डलर) पछिको यो दोस्रो हो। हेर्नुस् स्पेन्डिङ ट्रयाकरमा हालसम्म उपलब्ध तथ्याङ्क।

मैले स्पेन्डिङ ट्रयाकर बाहेक एड लाइब्रेरीकै छुट्टै अर्को डेटा पनि यसका लागि विश्लेषण गरेको छु। त्यसमा गत वर्षको फेब्रुअरी ११ देखि यो वर्षको जनवरी २४ तारिखसम्म १६ हजार ६७४ अमेरिकी डलर Upper Bound Spending (अधिकतम खर्च) देखाइएको छ भने Lower bound spending (न्यूनतम खर्च) १२ हजार ५ सय डलर छ।

फेसबुकको एड लाइब्रेरी रिपोर्टमा Lower Bound Spending र Upper Bound Spending भन्ने दुई वटा मापन प्रयोग गरिन्छ। यी दुबै मापनले विज्ञापनमा खर्च भएको रकमको दायरा (range) देखाउँछ।

यसमा फेसबुकले ठ्याक्कै कति खर्च भयो भन्ने विवरण खुलाउन दिँदैन।

यति धेरै खर्च किन गरियो?

स्पेन्डिङ ट्रयाकरमा सबैभन्दा बढी खर्च गर्ने १० वटा पेज मध्ये युनिसेफ त राष्ट्रसंघीय निकाय भइहाल्यो। तेस्रो श्री गुरुङ, पाँचौँ डा. सुरेश बस्नेत, छैटौँ किरण पौडेल, आठौँ भोट फर उमेश श्रेष्ठ, नवौँ सुशान्त श्रेष्ठ र दशौँ नेकपा (एकीकृत समाजवादी) ले पछिल्लो प्रतिनिधि सभाको निर्वाचनका लागि विज्ञापन दिएका हुन्।

चौथोमा रहेको चाइना सिन्ह्वा न्युजले चीन सम्बन्धी समाचार र सातौँ इयु इन्टरन्यासनल पार्टनर्सले पनि युरोपेली युनियनसम्बन्धी जानकारी विज्ञापन गरेका हुन्।

न चुनावी प्रचार, न विदेशी संस्था- तर पनि दोस्रो सबैभन्दा बढी डलर खर्च  “Unified Nepal – एकीकृत नेपाल”ले किन फेसबुकमा विज्ञापनका लागि खर्च गर्‍यो होला ?

कस्तो प्रभाव पर्‍यो?

यो पेजले एउटा ठूलो स्तरको डिजिटल प्रचार अभियान चलाएको देखिन्छ। किनभने यसका विज्ञापनहरु १ करोड ३० लाखभन्दा बढी पटक देखाइएको छ। यो संख्या अझ बढी हुन सक्ने सम्भावना छ, किनभने विज्ञापनको उच्चतम सीमाहरू (Upper Bound) समेत उपलब्ध छन्।

१३ हजार ९९८ अमेरिकी डलरसम्म खर्च भएको देखिन्छ, जसले संगठित र वित्तीय रूपमा राम्रो तयारी भएको अभियानको संकेत गर्छ। सामान्य रुपमा एक वर्षमा यति धेरै अमेरिकी डलर डिजिटल विज्ञापनमा खर्च गर्न राष्ट्र बैँकले अनुमति दिँदैन।

यो पेजको विज्ञापन वितरण हेर्दा, बागमती, नारायणी, कोशी, लुम्बिनी र गण्डकी अञ्चल जस्ता क्षेत्रमा बढी प्रभाव परेको देखिन्छ। फेसबुकमा संघीयता छिरिसकेको छैन। यसले अझै पनि १४ अञ्चलकै रिपोर्ट गर्नेगर्छ।

अझ खासगरी काठमाडौं उपत्यका जस्तो शहरी क्षेत्रहरूमा विज्ञापन धेरै देखाइएको छ।

विज्ञापनहरू अधिकांशतः फेसबुकमा चलाइएको पाइन्छ, जसमा प्रमुख रूपमा १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरू लक्षित गरिएका छन्।

सबभन्दा बढी विज्ञापन देखाइएका क्षेत्रहरू (इम्प्रेसन प्रतिशत अनुसार)

  1. बागमती – 10.36%
  2. लुम्बिनी – 2.15%
  3. कोशी – 2.09%
  4. नारायणी – 2.08%
  5. मेची – 1.80%

विज्ञापन गरिएका विषयवस्तु के कस्ता छन् ?

विज्ञापन सामग्रीमा "Bridging the Gap Between Yesterday, Today & Tomorrow" जस्ता वाक्यहरू बारम्बार दोहोरिएका छन्।

२६ वटा विज्ञापन मध्ये ११ वटामा राजा महेन्द्रका फोटो र भनाई राखिएको छ।

त्यसैगरी ९ वटा विज्ञापनहरुमा पृथ्वीनारायण शाहको दिव्योपदेश राखिएको छ।

एउटा विज्ञापनमा राजतन्त्रको उल्लेख नगरी सन् ८० को दशकको मध्यसम्म नेपालले प्रशस्त चामल निर्यात गर्ने गरेको तर अहिले आयात गर्ने गरेको भन्दै पाठकलाई आफ्नो धारणा लेख्न भनिएको छ।

तर विज्ञापनम खर्च गरिए अनुसार यो पोस्टमा खासै इन्गेजमेन्ट देखिएको भने छैन।

त्यसबाहेक अधिकांश विज्ञापनमा CTA (कल टु एक्सन) पेजलाई लाइक गर्न भनिएको छ।

पेजमा अडियो भिडियो सामग्रीमा कुनै व्यक्तिको नभई एआईको आवाज प्रयोग गरिएको छ। पेजका सामग्री राजतन्त्रको प्रवर्द्धन गर्नु जस्तो देखिन्छ।

अक्टोबर २४, २०२३ मा खोलिएको यो पेज कसले सञ्चालन गरेको भन्ने विषयमा वा सम्पर्कका लागि कुनै माध्यमको उल्लेख नगरिए पनि पेज ट्रान्सपरेन्सीमा भने नेपालबाट दुई जनाले पेज म्यानेज गरेको देखिन्छ।

यति धेरै डलर खर्च गरिसक्दा पनि यो पेजको लाइक ३ लाख १३ हजार र फलोअर्स ३ लाख ८ हजार मात्रै छ।

गोप्य उद्देश्य के हुन सक्छ?

  • राष्ट्रवादी भावना जगाउने प्रयास? – विज्ञापनहरूमा नेपाल एकीकरण, इतिहास र नेपाली पहिचानलाई जोड दिइएको छ।
  • राजनीतिक वा विचारधारात्मक एजेन्डा? – पेजमा स्पष्ट रूपमा कुनै दल वा संगठन उल्लेख नगरे पनि, खर्चको परिमाण र सामग्रीको स्वरुपले राजनीतिक उद्देश्य हुनसक्ने संकेत दिन्छ।
  • सामाजिक संजालमा प्रभाव बढाउने रणनीति? – लगातार लाखौं रुपैयाँ खर्च गर्नुको पछाडि सामाजिक सञ्जालमा प्रभाव बढाउने रणनीति हुनसक्छ।

साढे १९ लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेको "Unified Nepal - एकीकृत नेपाल" पेजले वास्तवमै रहस्यमय गतिविधि गरिरहेको छ। यसको वास्तविक उद्देश्य खुला रूपमा स्पष्ट नभए पनि, डिजिटल विज्ञापनहरू जनमत निर्माण र प्रभाव बढाउने शक्तिशाली माध्यम बन्दै गइरहेका छन्। फेसबुकमा देखिने यस्ता विज्ञापनहरूको उद्देश्य र प्रभावबारे नागरिकहरूले सचेत हुन आवश्यक छ।

तपाईँलाई के लाग्छ ?

(डिस्क्लेमर : यो ब्लगको फिचर इमेज बनाउन र तथ्याङ्क विश्लेषण गर्न एआईको प्रयोग गरिएको छ)

6 thoughts on “फेसबुकको एउटा रहस्यमय पेज जसले एक वर्षमा झण्डै २० लाख रुपैयाँ खर्च गरिसक्यो”

  1. Tek Prasad Timalsina says:
    March 18, 2025 at 7:04 am

    Interesting analysis. I was also intrigued by two other names in the list: No. 8 Vote for Umesh Shrestha (Rs 3.5 Lakh) and No. 17. Rabindra Mishra (Rs. 2.38 lakh). Wonder who is this Umesh Shrestha; My Sansar ko ta haina hola :). and which election it might be for??

    Also Rabindra Mishra spends Rs 2.38 lakh for Facebook advertisement, that is really interesting. Bichara followers haru kaam bhae jasto chha :). I am sure he is not spending this money from his own pocket.

    Reply
    1. Salokya says:
      March 18, 2025 at 4:11 pm

      पूर्व राज्यमन्त्री तथा चितवन २ मा २०७९ मा भएको निर्वाचनमा रवि लामिछानेपछिको दोस्रो भोट ल्याउने नेपाली कांग्रेसका उम्मेदवारलाई बिर्सनु भएन नि 🙂 बिर्सनुभएको भए यो पढ्नुस् https://archive.ph/3s123

      Reply
  2. yalambar ghising says:
    March 15, 2025 at 4:18 pm

    नेपाल ले पहिला पहिला त चामल export गर्थ्यो , अब इम्पोर्ट गर्छ
    नेपालमा बरु पहिला पहिला नै शान्ति सुरक्षा थियो
    राजा आउ देश बचाउ
    हिन्दुत्व हिन्दुत्व

    नेपाल को जनसंख्या विगत ३० वर्षमा कति बढी सक्यो , खाद्यान्न उत्पादन हुने जग्गा जमिनमा एक इन्च बाँकि नराखेर अन्धाधुन्द कति भवन बनेका छन , ३० वर्ष अगाडी कति प्रतिशत जनता ले राति बिजुली बत्ति बाल्न पाउथे , कति प्रतिशत को गाउँ मा खानेपानी पुगेको थियो , कति प्रतिशत ले स्वास्थ्य सुविधा पाएका थिए , कति को घर मा इन्टरनेट पुगेको थियो आदि इत्यादी को कुनै विश्लेष्ण नगरेर वा बुझ पचाएर “पुराना रंगिन दिनहरु” फर्काउने सपना देख्ने यी नो पन्चे हरु र भ्रष्ट हिन्दु अतिवादी हरु फेरी एउटा दुइटा परिवार को हातमा सबै सत्ता , पैसा , पद फिर्ता आउने दिवास्वप्न मा छन्।

    “ब्रह्मलुट, मनमानीतन्त्र त हाम्ले पो गर्ने त , अब त सबै नेता , तिनका छोरा छोरी ले पो मोज गर्न लागे त ए।। भन्ने छ इनलाइ

    बलात्कार , मनमानी , पुरानो मुर्ति चोरेर विदेशमा बेच्ने , सबै प्रकार को व्यापारमा शेयर नपाए व्यापार गर्न नदिने , दिन दहाडे रक्सि खाएर मोटरले मान्छे किचेर मारेर कुनै CONSEQUENCES बेहोर्न नपर्ने , खुले आम तस्करी गर्ने – यस्ता सुविधा त हाम्ले मात्रै पो पाउनु पर्ने , अब त रोल्पा , दाङ्ग बाट झरेका हरु ले पनि हाम्रै देखासिकी गरेर मोज गर्न लागे ए

    अब धर्म को नाम मा “कोटीहोम”को नाटक गर्ने र भाडभैलो गर्ने , भद्दा, कंक्रिट र इनामेल को “मन्दिर” बनाउने , “हिन्दुत्व” भनेर साम्प्रदायिक भाडभैलो गर्ने , अनि “राजा आउ देश बचाउ” भन्ने / विश्व का अन्य मुलुक मा तानाशाही प्रवृत्ति को माहौल बन्न लागेको देखेर यो सानो , insignificant देश का तानाशाही प्रवृत्ति पनि हौसिएका छन् /

    Reply
  3. Khebang Rai Limbu says:
    March 12, 2025 at 11:48 pm

    किस्न बराल सर लाइ राष्ट्रबाद को भोड्का हल्का बढी भएको पो हो कि ? “for illustrative purposes” भन्ने जन्तु को नाम चाल नपाएर हो कि बराल सर? कि हजुर आफै पनि “विगतका रंगिन दिनहरु ” फिर्ता ल्याउने दिवास्वप्नले ओतप्रोत भएको यो फेसबुक पेजका समर्थक वा सम्बद्ध भएर हो ?
    खोट देखाउनका खातिर खोट देखौनुभो / भोलि New York Times , वाल स्ट्रिट जोर्नल जस्ता ले आफ्ना article हरु संगै pencil art, stick drawings गरेर illustrate गरे भने पनि “ओहो त्यो चित्र त मिलेन” भन्नुहोला , किस्न बराल सर ?

    Reply
  4. Krishna Baral says:
    March 11, 2025 at 12:36 am

    Aru kk chiyo charcha garne le Nepal ko Naksa kasto hunchha bhanne thaha paunu bhayena mahodaya ?? 🤔 #ShameOnYou 😏

    Reply
    1. Salokya says:
      March 11, 2025 at 3:07 pm

      डिस्क्लेमरमा लेखेकै छु त फिचर इमेज एआईले बनाएको हो। एआईले नक्सा बनाएको होइन, प्रतिनिधिमूलक आकृति बनाएको हो। अब त्यो बनाएकोलाई एडिट गर्न मिलेन, त्यसैले जस्ताको तस्तै हालेको।

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme