Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अङ्ग्रेजी नबुझेका रिपोर्टरले लेखेको समाचार भाइरल भएपछि नागरिकन्युजलाई लाज छोप्‍न समेत गाह्रो :)

Posted on February 21, 2025February 21, 2025 by Salokya

आइपिओ निकालेर सर्वसाधारणलाई समेत मालिक बनाइसकेको कम्पनी नेपाल रिपब्लिक मिडियाको अनलाइन न्युजपोर्टल ‘नागरिकन्युज’ले  गरेको गैरजिम्मेवार पत्रकारिताको एउटा उदाहरण हिजो देखियो। पत्रकारिताका विद्यार्थीहरुले कालान्तरमा यसलाई नागरिकको ‘ज्ञवाली-ट्रम्प काण्ड’का रुपमा याद गर्नेछन्। नागरिकन्युजले एउटा गलत समाचार गलत शीर्षकसहित लेखेर भाइरल बनायो, त्यसपछि गल्ती नस्वीकारिकन, सुटुक्क सच्याएर पाठकलाई उल्लु बनायो। भएको के थियो, आउनुस् विस्तारमा बुझौँ।

पुराना सञ्चारकर्मी रमा सिंहले आफ्नो फेसबुकमा एउटा समाचार सेयर गरे। नागरिकन्युजको त्यो समाचारको शीर्षक थियो- ट्रम्पलाई ज्ञवालीको सुझाव- बाह्य उक्साहटमा नलाग्नू, आफ्नो राष्ट्रिय हितमा केन्द्रित हुनू।

४८ हजारभन्दा बढीले फलो गर्ने उनको यो फेसबुक स्टायटस भाइरल भइहाल्यो। ३० पटक त सेयर भयो, २७३ कमेन्ट थिए अनि रियाक्ट गर्ने मध्ये झण्डै ४ सयले त ‘हाहा’ गरेका थिए।

यो त रमा सिंहको स्टायटसमा मात्र। फेसबुकमा अरु थुप्रै पेज, प्रोफाइल र ग्रुपहरुमा यो सेयर भयो। ट्रम्पलाई नेपाली नेताले सुझाव दिएको भनेर सब हाँसे।

नागरिकन्युजको आफ्नै फेसबुक पेजमा १ हजार ९ सय जनाले यो समाचारमा हाहा रियाक्ट गरेका छन्।

अर्थात् पूर्व परराष्ट्र मन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली ट्रम्पलाई सुझाव दिने हावा व्यक्तिका रुपमा नागरिकन्युजले बनाएको न्यारेटिभ्स सोसल मिडियामा स्थापित भयो।

तर, तथ्य यस्तो थिएन। वास्तवमा हाहा प्रदीप ज्ञवालीलाई हैन, अङ्ग्रेजी नबुझेर उनको स्टायटसलाई गलत आशय बुझ्दै समाचार लेख्ने रिपोर्टर, त्यसलाई प्रकाशन अनुमति दिने सम्पादकले पाउन लायक थियो। थोरै हाहा त यो कम्पनीको १० कित्ते सेयर किन्ने म जस्ताले पनि पाउनु पर्ने हो, किनभने थोरै नै सही, यसको मालिक त म पनि हुँ नि 🙂

भएको के थियो त ?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नै सोसल मिडिया ट्रुथ सोसलमा एउटा पोस्ट गरेका थिए जसमा ट्रम्पले आरोप लगाएका छन् कि युक्रेनी राष्ट्रपति ज़ेलेन्स्कीले अमेरिकालाई अनावश्यक युद्धमा तान्न ठूलो रकम खर्च गराए, अघिल्ला अमेरिकी राष्ट्रपति बाइडेन असफल भए, र युक्रेन भ्रष्टाचार तथा गलत नेतृत्वका कारण ध्वस्त भयो। ट्रम्पले जेलेन्स्कीलाई तानाशाहसमेत भन्न भ्याए।

ट्रम्पको यही पोस्टको स्क्रिनसट राख्दै ज्ञवालीले बिहीबार दिउँसो ४ बजेर २८ मिनेटमा फेसबुकमा यस्तो लेखेका थिए-

 

अर्थात् नेपालीमा भन्दा उनले लेखेका थिए ‘हाम्रो समयमा तीव्र गतिमा विकसित भइरहेको भू-राजनीतिक वास्तविकताको तीतो प्रतिबिम्ब।’ अनि उनले सिक्नुपर्ने पाठ भनी चार वटा बूँदा दिएका थिए। राम्रोसँग पोस्ट पढ्ने हो भने त्यसमा लेखिएको सिक्नुपर्ने पाठ ‘हाम्रो’ लागि थियो, ट्रम्पका लागि होइन। किनभने Never be swayed by external instigations र Mind your geopolitical sensibilities भनेको अमेरिकाले होइन, हामीले सिक्नुपर्ने पाठ हो। युक्रेनले पनि। किनभने छिमेकी रुससित जोरी खोज्नलाई उसको आडभरोसा अमेरिका पनि थियो।

तर अङ्ग्रेजी नबुझेका अजासु पत्रकारले ठोक्दिए- ट्रम्पलाई सुझाव। कतिले त समाचार पनि पढेनन् होला, हेडलाइन हेर्ने बित्तिकै हाहा गरी हाले।

तर झुट कतिञ्जेल टिक्थ्यो र। खास कुरा त यस्तो हो भनेर आइहाल्यो।

हाम्रो पात्रोमा देखिएको सच्याउनु अघिको नागरिकन्युजको समाचार

अनि नागरिकन्युजले गर्‍यो ‘गर्नै नहुने काम’

ला…गल्ती गरेको भनेर समाचार छापेको दुई घण्टा जतिमा त नागरिकन्युजलाई पनि थाहा भइहाल्यो। तर यति सामान्य कुरा पनि गलत राखेको भनेर उडाउँछन् भनेर माफी माग्न पनि लाजै भो।

अनि नागरिकन्युजले गर्‍यो गर्नै नहुने यस्तो काम-

साँझ ७ बजेर ११ मिनेटमा फेसबुकको स्टायटस सुटुक्क यसरी सच्याइयो।

समाचारको हेडलाइनबाट पनि ‘ट्रम्पलाई ज्ञवालीको सुझाव’ हटाएर यस्तो बनाइयो-

तर,  आफूले असावधानीवश गलत समाचार लेखेको र यसबाट दुई घण्टासम्म पर्न गएको भ्रमबारे माफी माग्न भने न यो समाचार जसले लेखेको हो, त्यो रिपोर्टरलाई आँट आयो, न सम्पादक तेजेन्द्र काफ्ले न प्रधानसम्पादक गुणराज लुइँटेललाई। सच्याइएको समाचारमा त्यसबारे कुनै जानकारी नदिइएको हेर्न यहाँ क्लिक गर्नुस् अर्काइभ लिङ्क।

भ्रम भाइरल बनाएर माफी नमागी सुटुक्क सच्याइएको यो समाचारले ‘गल्ती हुँदा पनि कसरी नेपाली पत्रकारले त्यसलाई लुकाउन खोज्छन्’ भन्ने उदाहरण पत्रकारिताका विद्यार्थीहरुलाई दिनेछ।

पत्रकारहरुको यो प्रवृत्तिलाई ‘शुतुरमुर्ग प्रवृत्ति’ भनेर बुझ्दा हुन्छ। के हो त्यो भन्या, एउटा कथा हालेर बुझाउँछु-

शुतुरमुर्गको भ्रम

एकपटक मरुभूमिमा एउटा शुतुरमुर्ग बस्दथ्यो, जसको नाम शिवा थियो। शिवा अरू सबै चराभन्दा ठूलो थियो, दौडन सक्थ्यो, बलियो थियो, तर उसलाई एक कमजोरी थियो— डर।

जबै ऊ कुनै खतरा देख्थ्यो, ऊ टाउको बालुवामा गाड्थ्यो। ऊ सोच्थ्यो, “यदि मैले देखिनँ भने, कसैले मलाई देख्दैन!” ऊ जहिल्यै आफ्ना साथीसँग गर्व गर्दै भन्थ्यो, “म एकदम बुद्धिमान छु, कसैले मलाई भेट्न सक्दैन!”

एकदिन, बालुवामा शिकार खोज्दै एउटा सिंह आयो। सबै पशुहरू भागे, तर शिवा आफ्नो पुरानो चाल अपनाएर टाउको बालुवामा लुकायो। सिंह हाँस्दै भन्यो, “ओहो! यो त मेरै लागि तयार भएर बसेछ!”

त्यसपछि… के भयो होला?

तर, भाग्यवश! उही बेला, आकाशमा बादल मडारिए, हावाको आँधी आयो, बालुवा उड्न थाल्यो। सिंहलाई केही देख्नै गाह्रो पर्‍यो र ऊ भाग्यो। जब आँधी रोकियो, शिवाले आफ्ना आँखा खोल्यो र हर्षले चिच्यायो, “हेर्नुस्, मैले फेरि आफूलाई बचाएँ!”

त्यसपछि पनि, शिवा यही नै सोचिरह्यो कि उसको यो तरिका सबैभन्दा प्रभावकारी थियो, तर अरू जनावरहरूचाहिँ उसको मूर्खता देखेर हाँसिरहन्थे।

पाठ:
डरबाट भागेर समस्या समाधान हुँदैन, बरु सामना गर्नुपर्छ। साँचो बुद्धिमानी समस्या देख्दा टाउको लुकाउनु होइन, समाधान खोज्नु हो! र, पत्रकारले गल्ती गरेपछि यसरी शुतुरमुर्गले जस्तो टाउको लुकाउने होइन, गल्ती गरेँ भनेर माफी मागी सच्याउँदा नेपाली पत्रकारिताको इज्जत र विश्वास दुवै धानिन्छ।

तर त्यसो नगरी टाउको लुकाउने ‘नागरिकन्युज’ को कदम  प्रति आउनुस् हामी पनि हाहा गरौँ😊

ब्लग प्रकाशनपछि थपिएको : आफैलाई दुई वटा ‘हाहा’

ब्लग प्रकाशन भइसकेपछि दुई वटा हाहा आफैप्रति पनि गर्नुपर्ने अवस्था आयो।

‘पुराना सञ्चारकर्मी रमा सिंहले आफ्नो फेसबुकमा एउटा समाचार सेयर गरे’ लेखेको रहेछु। दिनेश लुइँटेलजीले भनेपछि झसङ्ग भइयो। महिला भएपछि ‘गरे’ होइन ‘गरिन्’ लेखिनु पर्थ्यो। मैले यो त लैङ्गिक समानता देखाएको भनेर हाहा गरेँ आफैलाई।

अर्को हाहा मैले नै नागरिकको समाचार राम्रोसँग नपढेको प्रति। ब्लगको कमेन्टमा बद्री पौड्यालले लेख्नुभो- ‘सच्याइएको समाचारमा समेत् गल्ति! भ्लादिमिर जेलेन्स्कीलाई ‘रुसी राष्ट्रपति’ रे!

हेरेको, हो त रहेछ। यहाँ क्लिक गरी हेर्नुस् अर्काइभ  लिङ्क।

यति ठूलो गल्ती नदेख्ने मलाई पनि हाहा। अनि अर्को थप हाहा त नागरिकलाई पनि बन्छ होला नि। किनभने यो ब्लग प्रकाशन भएपछि नागरिकन्युजले ‘यसअघि लेखिएको समाचारमा गलत कुरा परेको’ भन्दै क्षमा त माग्यो, तर सच्याइएको समाचारमा समेत जेलेन्स्कीलाई रुसी राष्ट्रपति नै लेखिएको रहेछ 🙂

हेर्नुस् अर्काइभ लिङ्क

3 thoughts on “अङ्ग्रेजी नबुझेका रिपोर्टरले लेखेको समाचार भाइरल भएपछि नागरिकन्युजलाई लाज छोप्‍न समेत गाह्रो :)”

  1. शरद श्रेष्ठ says:
    February 28, 2025 at 9:44 am

    प्रत्येक संस्थामा मालिकलाई तेल लाउने मालिकको जीउ मालिस गर्ने एउटा राखिन्छ के ! ऊ पत्रुकार त्यै हो ।

    Reply
  2. मिमराज पाण्डेय says:
    February 27, 2025 at 6:23 pm

    नाउ मिलेको छैन । पुटिन ‘भ्लादिमिर’ हुन् । जेलेन्स्की ‘भोलोदिमिर’ हुन् । थर एउटाको नाउँ आर्कैको पर्‍यो जस्तो लाग्छ ।

    Reply
  3. बद्री पाैड्याल says:
    February 21, 2025 at 2:33 pm

    सच्याइएको समाचारमा समेत् गल्ति! भ्लादिमिर जेलेन्स्कीलाई ‘रुसी राष्ट्रपति’ रे!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme