नेपालको पहिलो र एक मात्र पब्लिक मिडिया कम्पनी नेपाल रिपब्लिक मिडिया (NRM) को गत मंसिरमा भएको वार्षिक साधारण सभाको विवरण सार्वजनिक भएको छ। पहिले भए कुनै पनि मिडिया कम्पनीको यस्ता हरहिसाब पारदर्शी हुँदैन थियो। तर अब झण्डै ४५ प्रतिशत सेयरधनी पब्लिक भएपछि सबै सार्वजनिक गर्न कानुनले पनि बाध्य बनाउँछ। घाटामा गइरहेको कम्पनीको आइपिओ निकाल्न नपाइने कानुनको धज्जी उडाउँदै अनेक चलखेल गरेर सेयर बिक्री गरिएको बारे त्यतिबेलै सिरिज लेखेको थिएँ। छुटाउनु भएको भए तल अन्त्यमा लिङ्कहरु राखिदिएको छ। कम्पनीको वार्षिक अडिट रिपोर्टले के देखाउँछ, त्यसबारे पनि सिरिजमा लेख्ने प्रयास गरेको छु। आउनुस्, पहिलो अङ्कमा हेरौँ- बक्यौताको समस्याले कम्पनीको भविष्य कसरी जोखिममा पारेको प्रतिवेदनबाट देखिन्छ।
के हो Independent Auditor’s Report ?
कुनै पनि कम्पनी, संस्था वा संगठनको वित्तीय विवरण (Financial Statements) सोही कम्पनीले तयार पार्छ। त्यो कम्पनीले बनाएको विवरणहरु सबैले पत्याउनु पनि त पर्यो नि। त्यसैले ती विवरण सत्य छ कि छैन, कानुनसम्मत छ कि छैन भनेर हेर्नका लागि एउटा लाइसेन्सप्राप्त बाहिरको स्वतन्त्र अडिटर (Independent Auditor) लाई जिम्मा लगाइएको हुन्छ। उनीहरुले पब्लिक कम्पनीका सेयरहोल्डरहरुका लागि Independent Auditor’s Report तयार पार्छन्। यसमा वित्तीय विवरणहरूको गुणस्तर, विश्वसनीयता, र आर्थिक स्थितिको बारेमा उसको स्पष्ट राय हुन्छ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण (जस्तै, नाफा-नोक्सानको हिसाब, सम्पत्ति र देनाको स्थिति) यथार्थ हो कि होइन भनी जाँच्ने, कम्पनीको आर्थिक विवरणहरूमा कुनै त्रुटि (Error) वा छलकपट (Fraud) छ कि छैन भन्ने जाँच्ने, कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरू, सेयरधनीहरू र अन्य सरोकारवालाहरूलाई आर्थिक निर्णय गर्न सहयोग गर्ने गरी Opinion दिने यसको उद्देश्य हुन्छ।
कसले गर्यो NRM को अडिट ?
कम्पनीको अडिट युएल एन्ड एसोसिएट्सले गरेको छ। अडिट रिपोर्टमा त्यसका प्रोपाइटर सीए उज्ज्वल लामिछानेले हस्ताक्षर गरेका छन्।
अडिट रिपोर्ट कम्पनीको वेबसाइटमा अपलोड गरिएको छ जसलाई यहाँ क्लिक गरी हेर्न सकिन्छ। यो ब्लग प्रकाशित भएपछि त्यसमा केही हेरफेर होला कि भनेर मैले विश्लेषण गरेको अडिट रिपोर्टलाई यहाँ अर्काइभ गरी राखिएको छ।
यही अडिट रिपोर्ट अरु नै केही सिए सापहरुलाई देखाएर छलफल गरी यो विश्लेषण यहाँ तयार पारिएको हो।
अडिट रिपोर्टमा अडिट रिपोर्टर युएल एन्ड एसोसिएट्सको लेटरहेड त छ तर काठमाडौँको कुन ठाउँमा अफिस हो, सम्पर्क टेलिफोन नम्बर कति हो समेत केही उल्लेख छैन।
अडिट रिपोर्टरको मुख्य धारणा के छ ?
In our opinion, the financial statements present fairly, in all material respect…
कुनै पनि अडिट रिपोर्टको मुख्य अंश नै यही Opinion हो। यसमा अडिटरले सबै हिसाबकिताब हेरेर आफ्नो विचार राखेको हुन्छ। सामान्य भाषामा भन्नुपर्दा अडिटरले आफ्नो धारणा लेखेका छन्- ‘तपाईंको आर्थिक हिसाब सबै ठीक छ, कुनै ठूला समस्या छैन, र सबै विवरण सही तरिकाले बनाइएको छ।’
तर गडबड त रहेछ..
तर त्यो अंशमा त्यसो लेखे पनि कुनै गडबड नरहेको भने होइन। अलिकति मुनि Key Audit Matter मा यसबारे उल्लेख छ। सबभन्दा पहिला त कस्तो lol वाला रिपोर्ट बनाएछन्, त्यसको नमूना हेरौँ-
सिए सापले राम्रोसँग पढ्दै नपढी छाप र साइन ठोक्दिनुभएछ। त्यसैले [insert amount] लेखेको ठाउँमा त्यो हटाएर अङ्क हाल्नै बिर्सनुभएछ अनि मिति हाल्न बिर्सेर [balance sheet date] नै ठोक्दिनुभएछ 🙂
अब अलि गम्भीर बनौँ।
अडिटरको ‘फट्याइँ’ ?
यो Key Audit Matter भनेको चाहिँ अडिटरलाई माथिको धारणामा पुग्न के कुरा महत्त्वपूर्ण लाग्यो, जुन कुरा चाहिँ सबैले थाहा पाउन जरुरी छ, त्यो लेख भनेर दिएको ठाउँ हो।
यसमा सबैभन्दा महत्त्वपूर्ण कुरा यो स्क्रिनसटमा छ-
कम्पनीको कूल उठ्नु पर्ने पैसाको ९५ प्रतिशत पैसा धेरै पुरानो हो, ५ प्रतिशत पैसा मात्र यो वर्षको हो भनेको छ यसले।
अनि भन्छ, यो पुरानो पैसा जति त नउठ्ने सम्भावना धेरै छ। अर्थात् डुब्ने सम्भावना धेरै छ। त्यसको लागि त केही ‘उपचार’ गर्नुपर्थ्यो अर्थात् डुब्यो वा डुब्न लागेको भनेर रिकग्नाइज गर्नु पर्थ्यो, त्यो गरेको छैन है भनेर भन्नुभो सिए सापले यहाँनिर आएर।
ध्यान दिएर हेर्नुस् है त्यहाँ लेखिएको छ (कम्पनीले तयार पारेको) आर्थिक विवरण (financial statements) मा सारभूत रुपमा त्यहाँ केही त्रुटि हुनसक्छ है यो कारणले (risk of material misstatement)
त्यही अडिटर माथि भन्छ- सब चिज ठीक छ (In our opinion, the financial statements present fairly, in all material respect…)
त्यही अडिटर तल भन्छ- गडबड हुनसक्ने जोखिम छ है (risk of material misstatement)
यो लेखाइको अर्थ हो-अडिटरलाई नै यो ब्यालेन्स सिट ठीक छैन भन्ने लागिसक्यो। त्यसो भए माथि ओपिनियन लेख्ने ठाउँमै यो कुरो लेख्नुपर्थ्यो ?
मैले अरु सिए सापहरुलाई सोधेँ। एक जनाले भन्नुभो- लेख्नै पर्थ्यो। अर्कोले भन्नुभो- त्यति लेख्यो भने त अडिटर नै फेरिदिन्छन् नि।
तेस्रोले ‘ए भाइ यो नेपाल हो। सब कुरा मिलाएर गर्नुपर्छ। कम्पनीको पनि चित्त बुझ्यो, गलत कुरा औँल्याइदिने आफ्नो जिम्मेवारी पनि पूरा गर्यो। यसरी मिलाएर बुझ्नुपर्छ के ! ल अब ल्याङल्याङ नगर, फोन राख’ भन्दै फोन काट्नुभो।
त्यो माथिको स्क्रिनसटको दायाँपट्टीको बुलेट प्वाइन्ट सकिने बित्तिकैको हेर्नुस् त,
We concluded that the lack of an allowance for doubtful debts in the context of the significant proportion of long- outstanding receivables represents a material risk. (हामीलाई त्यो चिज एकदम ठूलो रिस्क अर्थात् जोखिमको कुरा लाग्यो)
Management’s decision not to recognize an allowance (डुब्न सक्छ है भनेर म्यानेजमेन्टले स्वीकार नगर्ने निर्णय। जस्तै तपाईँको १० जना मान्छेसँग १०० रुपैयाँ उठाउनु थियो, त्यसमध्ये १ जना मान्छे चैँ भाग्ला जस्तो लाग्यो, त्यसबाट पैसा उठ्दैन जस्तो लाग्यो भने अलिकति पैसा त डुब्ने भो भन्ने जुन हिसाब गर्छौँ नि- १०० मा ८० जति उठ्ला है भनेर भन्छौँ नि। हो त्यो २० रुपैयाँ डुब्न सक्ला है भनेर हिसाब गरेको चिज हो। म्यानेजमेन्टले त्यो केही पनि गरेन) may not reflect the expected credit losses, leading to a potential misstatement in the financial statements. जसका कारण वित्तीय विवरणमा सही हिसाब आएको छैन भनेर घुमाएर भनेको हो।
भनेको कम्पनीको लगभग ३९ करोड ४५ लाख उठ्नु पर्ने जुन पैसा छ, त्यो सबै उठ्न सक्ने खालको पैसा होइन है भनेको हो। त्यो त वित्तीय विवरणमा त्रुटिपूर्ण भयो नि त। त्यो साढे ३९ करोडमध्ये पनि अडिटर भन्छ ९५ प्रतिशत पैसा पुरानो उठाउन बाँकी पैसा (बक्यौता) हो।
अर्थात् लगभग ३७ करोड पैसा उठ्ने खालको होइन भनेर अडिटर भन्छ।
तिर्नुपर्ने पैसाको लफडा
Key Audit Matter मा अर्को कुरा छ Trade payables को अर्थात् तिर्न बाँकी रहेको पैसा।
९ करोड ८८ लाख रुपैयाँ। पोहोर ८ करोड ८३ लाख थियो।
यो तिर्नुपर्ने पैसा नै तिरेको रहेनछ कम्पनीले। लामो समयदेखि तिर्नुपर्ने पैसा नतिरेर झुलाएर राख्यो भन्ने टाइपको कुरो अडिटरले लेखेको छ।
यसले के समस्या देखायो ?
- कम्पनीले आफ्नो आपूर्तिकर्ताहरूलाई तिर्न बाँकी रहेको रकम अघिल्लो वर्षभन्दा ११.८% ले बढेको छ।
- यसको मतलब कम्पनीले समयमा पैसा तिर्न नसक्दा समस्याहरू हुन सक्छन्।
यसको जोखिम
- कम्पनीलाई तरलता (Liquidity) को समस्या हुन सक्छ, जसले गर्दा आपूर्तिकर्ताहरूलाई समयमै तिर्न गाह्रो हुन्छ।
- आपूर्तिकर्तासँगको सम्बन्ध बिग्रन सक्छ, र यो कम्पनीको व्यवसायमा नकारात्मक असर पार्न सक्छ।
विदेशतिरको अभ्यास पनि बुझेका एक सिए सापले भने, ‘अरु देशमा भए यसरी independent auditor ले यस्तो कुरा खुलाएको भए ठूलो हेडलाइनसहित समाचार आउँथ्यो। किनभने यो auditor ले नै लेखेको विषय हो।’
तर नेपालमा अरुको त कुरै छाडौँ, बिजनेस अनलाइनहरुसमेत चुप छन्। दुई लाखभन्दा बढी सेयरधनीहरु भएको पब्लिक कम्पनीको यतिको कुरा आउनु त ठूलो विषय हो नि। तर…
तपाईँले कर्मसियल बैँकहरुको अडिट रिपोर्ट हेर्नुभयो भने यस्तो चिज भेट्नु हुन्न। किनभने राष्ट्र बैँकले यस्तो ब्यालेन्स सिटलाई अप्रुभ नै गर्दैन। हिसाब मिलाएर आइज भन्दिन्छ सीधै।
यो भयो मिडिया कम्पनी। मान्छे यत्तिकै डराउने। त्यसमाथि कर्मसियल बैँकहरुको राष्ट्र बैँक भने जस्तो मिडियाको नियामक निकाय पनि छैन। पब्लिकली लिस्टेड कम्पनी भएपछि धितोपत्र बोर्डले त हेर्नुपर्ने हो।
आर्थिक कुरा भएकोले तपाईँलाई बुझ्न अलि गाह्रो भएको भए पख्नुस् म १० कक्षा पढ्नेले पनि बुझ्न सक्ने गरी सरल भाषामा उदाहरणसहित बुझाउँछु-
१. ग्राहकसँग लिनुपर्ने रकमको समस्या (बक्यौता – Trade Receivables)
के भएको हो?
- सोच्नुहोस्, तपाईंले साथीहरूलाई १० वटा किताब उधारोमा बेच्नुभयो, तर उनीहरूले पैसा तिरेनन्।
- अब, तिनीहरूले धेरै समयदेखि पैसा दिएको छैन, र तपाईंलाई डर लाग्न थाल्यो कि उनीहरूले सायद कहिल्यै पैसा नदिन सक्छन्।
कम्पनीमा के भएको हो?
- कम्पनीले धेरै पैसा ग्राहकहरूबाट लिन बाँकी छ।
- तर, ग्राहकहरूले त्यो पैसा दिन धेरै समय लगाइरहेका छन्, र केहीले त सायद कहिल्यै पैसा नदिने हुन सक्छन्।
- यसबारे कम्पनीले कुनै तयारी (जस्तो कि, ‘अब यति पैसा नउठ्ने भो’ भनेर हिसाब गर्ने) गरेको छैन।
२. आपूर्तिकर्तालाई दिनुपर्ने रकमको समस्या (Trade Payables)
के भएको हो?
- कल्पना गर्नुहोस्, तपाईंले स्टेशनरी पसलबाट कापी किनेर ल्याउनुभयो तर पैसा तिर्नु भएको छैन। पसलवालाले पैसा माग्दै छन्, तर तपाईंलाई अहिले पैसा दिन गाह्रो छ।
कम्पनीमा के भएको हो?
- कम्पनीले आपूर्तिकर्ताबाट समान त ल्यायो, तर तिर्न बाँकी रकम धेरै बढेको छ।
- अघिल्लो वर्षभन्दा ११.८% ले यो रकम बढेको छ।
- यस्तो हुँदा आपूर्तिकर्तासँगको सम्बन्ध बिग्रन सक्छ, र भविष्यमा उनीहरूले सामान दिन बन्द गर्न सक्छन्। कम्पनीको इज्जत पनि जान सक्छ।
- अडिटरले भने, “तपाईंले समयमै पैसा तिर्ने योजना बनाउनु पर्छ। यस्तो नगरेमा कम्पनीलाई तरलता (Liquidity) को समस्या पर्छ।”
अडिट रिपोर्टमा देखिएका बाँकी कुराबारे अर्को ब्लग लेख्नेछु।
अनुरोध : यस्ता ब्लग लेख्न, लेख्न भन्दा अघि रिसर्च गर्न समय त लाग्छ नै, ब्लग सञ्चालनका लागि आवश्यक पर्ने होस्टिङ लगायतका खर्च पनि जोडिएको हुन्छ। र, यी खर्च व्यहोर्न स्थायी विज्ञापनका स्रोतहरु पनि छैनन्। यदि तपाईँलाई यो ब्लग ठीक लाग्यो र यस्तै अरु ब्लगहरु लेखिरहने गरी माइसंसारलाई सहयोग गर्नुपर्ने जस्तो लाग्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
सम्बन्धित ब्लगहरु
एआईले समेत पत्याएन शतप्रतिशत नाफा गरेँ भन्ने ‘नागरिक’को डिभिडेन्ड दिने ‘गफ’
‘नागरिक’ को चलाखी : भइरहेको घाटालाई ‘नाफा’ देखाउन गर्यो यस्तो चलाखी
‘नागरिक’ छाप्ने पब्लिक कम्पनीको रिपोर्टमा भेटियो यस्तो गलत जानकारी
नेपालमा पहिलो पटक निजी मिडियाको हरहिसाब पारदर्शी रुपमा सार्वजनिक, के-के देखियो?
नागरिक IPO सिरिज २ : कम्पनीको उद्देश्य नै नरहेको विषयमा जनताबाट पैसा उठाएर खर्च गर्न मिल्छ ?
नागरिक IPO सिरिज ३ : घाटा भइरहेको पत्रिका ‘पब्लिक’ कम्पनी, नाफा हुनसक्ने अनलाइन चैँ ‘प्राइभेट’ ?
नागरिक IPO सिरिज ४ : ऋण सबै तिर्ने हो भने पनि घाटा मै हुन्छ कम्पनी !
झण्डै ४ लाख पब्लिक अब बने ‘नागरिक’का लगानीकर्ता, अबको बाटो कस्तो होला?
यो बिषय मैले शुरु देखी नै याद गरेको छु । यसरि दिन-दहाडै, देखि-देखी घाटामा गएको, कर्मचारिलाई समयमा तलब पनि खुवाउन नसक्ने कम्पनीलाई फाइदामा भएको देखाएर, IPO निकाल्न दिएर, सर्बसाधारण जनताको पैसा लगानी गर्न लगाउनु भनेको कुन तहको ठगी हो ?
यस्तो गम्भिर बिषयमा न सरकार, न कुनै पत्रकार (सालोक्यजि बाहेक), न कुनै नेता, न कुनै बुद्धिजिवीले बोलेको छ । कुनै कुनाको कसैले थाहा नपएको कुरा भए पनि हो भन्नु, देशकै नाम चलेको पत्रीकाको बिषय छ । नेपालमा पावरमा भएको कोही एकजना मान्छे पनि इमान्दार छ भनेर पत्याउन गार्हो छ ।
The Company has single auditor. But, it’s confusing to find 3 signatures on Independent Auditor Report.