Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सुजिता काण्ड : कान्तिपुरका प्रधान सम्पादकको ५ बूँदे स्पष्टीकरणले स्पष्ट पार्न नसकेका ५ विषय

Posted on December 13, 2024December 14, 2024 by Salokya

अस्ति मंगलबार मैले नपढे आधा जिन्दगी खेर जाने ‘कान्तिपुर’को यो समाचारको चिरफार गरी हेर्दा…ब्लग लेखेको थिएँ। पढ्न छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुहोला। आज त्यही समाचारको बारेमा कान्तिपुरका प्रधान सम्पादक उमेश चौहानले ५ बूँदे स्पष्टीकरण लेखेका छन्। छापिएको छ चौथो पेजको ‘सम्पादकलाई चिठी’ स्तम्भमा। पत्रकारितामा रुचि छ अझ पत्रकारिताकै विद्यार्थी हुनुहुन्छ भने यो पढ्नुभएन भने आधा त होइन, दुई तिहाई जिन्दगी नै खेर जानसक्छ है। ५ बूँदेमा मैले ब्लगमा उठाएका प्रश्नहरुको जवाफ छैन, त्यसमा नसोधिएका विषयहरुको स्पष्टीकरण दिएर अलिकति भएको लाज पनि छोप्ने प्रयास गरेको देखिन्छ। आउनुस्, सँगै पढौँ यसमा लेखिएका कुरा। अनि स्पष्टीकरणले स्पष्ट पार्न नसकेका कुरा पनि छलफल गरौँ।

आउनुस्, अब लाइन बाइ लाइन के लेखिएको छ हेरौँ –

१. सुजिता साहसी स्काइडाइभर भएको विषय उनले मात्र होइन, नेपालका स्थापित पर्यटन व्यवसायीहरूले पनि पुष्टि गरेका छन् । फिचर स्टोरीमा सुजिताले गत १९ नोभेम्बरमा पोखरामा ‘सोलोजम्प’ गरेको दाबी गरेकी छन् । पाटा नेपालका पूर्वअध्यक्ष तथा एभरेस्ट स्काइडाइभ कम्पनीका संस्थापक सुमन पाण्डेले पनि कान्तिपुरसँग भने, ‘उनले पहिले ट्यान्डम् (चालकको सहयोगमा) डाइभ गर्थिन्, तालिम गरेपछि यसपालि ‘सोलोजम्प’ गरेकी हुन् । २००८ देखि हामीले यो कम्पनी चलाएका छौं, हाम्रो कम्पनीबाट सोलो स्काइडाइभ गर्ने उनी पहिलो महिला हुन् ।

यति कुरा पहिले नै खोजेको/सोधेको भए अस्तिको समाचारमा ‘सम्भवतः’ भनेर लेख्नुपर्ने नै थिएन। कति अल्छी गरेको त त्यतिबेला ?

उनी आफूमात्र होइन, थुप्रै युरोपियनहरूलाई नेपाल लिएर आउँछिन् । आफू पनि रमाएकी छन्, नेपालको पयर्टन क्षेत्रलाई पनि गुन लगाएकी छन् ।’ सुजिताले आगामी वर्ष सगरमाथामा र डेनमार्कमा स्काइडाइभ गर्ने योजना रहेको दोहोर्‍याएकी छन् । पर्यटन बोर्डका अधिकारी तथा अन्य व्यवसायीले पनि सुजिताको प्रयास सराहनीय भएको भन्दै यसका लागि उनलाई हौसला दिनुपर्ने बताएका छन् ।

हो-हो, म पनि पर्यटन क्षेत्रलाई गुन लगाउनेलाई हौसला दिनुपर्ने नै भन्छु। तर, कसैले केही राम्रो काम गर्‍यो भन्दैमा झुटो दावी गरेको कुरालाई पनि फ्याक्ट चेक नै नगरी यही सही हो भनेर समाचार ठोक्दिनु पर्ने हो?

२. बाबु ब्रिटिस सेनामा भएकाले सुजिता पनि हङकङ गएको आफन्तले पुष्टि गरे ।

सुजिता हङकङमा गएको हो कि होइन भनेर कसले प्रश्न गरेको छ फेरि पुष्टि गर्न दुःख गर्नुभा ?

त्यतिबेला हङकङको भव्य टिङकाउ पुल बनिरहेको र त्यसको निर्माणको जिम्मा लिएको जर्मन कम्पनीका म्यानेजरसँग चिनजान, मित्रता र विवाहसँगै सुजिता जर्मनीमा बस्दै आएको उनीहरूको भनाइ छ ।

अनि यो कुरा पहिलेकै समाचारमा किन नलेख्या ? अस्ति त टिङकाउ ब्रीज प्रोजेक्ट हेर्ने जर्मन म्यानेजरको अन्तर्वार्ता लिन इन्टर्न गरिरहेकालाई ‘असाइन’ भयो । अन्तर्वार्ता लिन जर्मनीमा नै आइज भनेपछि जर्मनी गएको भनेर लेख्नुभएको थियो त। यो गलत हो त? खै त कुरा खोल्नुभाको?

कान्तिपुरले पत्रकारितामा गजबको अभ्यास गर्ने रहेछ

३. सुजिताले हङकङमा पत्रकारितामा स्नातकोत्तर गरेको, साउथ चाइना मर्निङ पोस्ट तथा स्टार टीभीमा प्रशिक्षार्थी तथा जर्मनीमा डीडब्लू र आरटीएल टीभीमा काम गरेको दाबी गरेकी थिइन् । पत्रकारिता अध्ययनका विषयमा उनको प्रस्टीकरण छ, ‘हो, मैले बाप्टिस्ट युनिभर्सिटीमा अध्ययन गरेकी हुँ ।’ कुनै पनि अन्तर्वार्ता गर्दा कुनै पात्रले मैले यति पढेको छु भनेपछि तपाईंको प्रमाणपत्र देखाउनुहोस् भन्ने अभ्यास हुँदैन ।

बाप्टिस्ट युनिभर्सिटी नामको युनिभर्सिटी नै हङकङमा छैन। खोजी हेर्दा Hong Kong Baptist University नामको युनिभर्सिटी चाहिँ रहेछ। त्रिभुवन युनिभर्सिटीलाई भुवन युनिभर्सिटी भनेर लेखेर भो त 🙂

अनि यो के भन्नुभा ? ‘कुनै पनि अन्तर्वार्ता गर्दा कुनै पात्रले मैले यति पढेको छु भनेपछि तपाईंको प्रमाणपत्र देखाउनुहोस् भन्ने अभ्यास हुँदैन ’ रे। तपाईँले पढ्नुभएको पत्रकारितामा नहोला। तर मैले पढेको पत्रकारितामा हुन्छ भन्ने थियो। जानकारीका लागि मैले हाम्रै त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आरआर क्याम्पसमा पत्रकारिता पढेको हुँ।

कसैले जे दावी गर्‍यो, भेरिफाइ नगरी मिडियामा जस्ताको तस्तै छापिने अभ्यास भए त कान्तिपुरमा अन्तर्वार्ता दिनेहरुलाई रमाइलै भो अब। काठमाडौँको कलेजमा बीए गरेको मान्छेले हार्वर्ड युनिभर्सिटी, अक्सफोर्ड युनिभर्सिटीबाट पिएचडी गरेको भनेर ठोक्दिनुस्। त्यहाँ ‘तपाईँको प्रमाणपत्र देखाउनुस्’ भन्ने अभ्यास छैन रे। बरु युट्युबे भनेर मूलधारेहरुले हेप्नेहरुले माग्न सक्लान्, कान्तिपुरले माग्ने अभ्यास गर्दैन।  

बाइलाइनका कुरा

त्यस्तै ‘अन्डरकभर वार रिपोर्टर’ का रूपमा काम गरेको दाबी गरेकाले उनको बाइलाइन नभेटिने भनेर संवाददातालाई भनेकी थिइन् । तर पनि ‘वार रिपोर्टिङ’ को सन्दर्भ बुझाउने तस्बिरसहितका सामग्री माग्ने ठाउँ थियो जसले स्टोरीलाई अझ बलियो बनाउने थियो ।

वार जोनमा पत्रकारको परिचय नखुलाई अर्कै मान्छेको भेषमा गएर रिपोर्टिङ गर्नुलाई त अन्डरकभर वार रिपोर्टर भन्ने होला। कसले भन्यो अन्डरकभर वार रिपोर्टरको बाइलाइन भेटिँदैन भनेर? Marie Colvin को सन्डे टाइम्समा बाइलाइन आउँथ्यो त। नपत्याए यता क्लिक गरेर अर्काइभहरु पढ्नुस्। त्यस्तै  इजरायलमा गरेको Trey Yingst को रिपोर्टिङ बाइलाइनसहित फक्सन्युजमा आउँथ्यो भने Ramita Navai को सिरियामा गरेका अन्डरकभर रिपोर्टिङ बाइलाइनसहित द टाइम्स र अन्य मिडियाहरुमा आउँथ्यो। रसियामा जासुसीको आरोपमा पक्राउ परेर पछि बन्दी साटासाटमा छुटेका Evan Gershkovich को पनि बाइलाइन द वाल स्ट्रिट जर्नलमा आउँथ्यो। अरु पनि थुप्रै छन् उदाहरण, गुगल गर्न जान्नुहुन्छ भने खोज्नुहोला। 

कुनै निश्चित विषयमा गरेको रिपोर्टिङ सुरक्षा संवेदनशीलताका कारण बाइलाइन नराखी प्रकाशन गर्ने अभ्यास पनि होला। त्यसो भए त्यस्ता बाइलाइन नराखी प्रकाशित फिल्ड रिपोर्टिङहरु देखाए भयो त। किन त्यो चाहिँ नभएको/नदेखाएको/हेर्छु नभनेको होला त प्रधान सम्पादकज्युले ?

त्यस्तै अफगानिस्तानमा अपहरणमा परेर छुटेको तथा अहिले कमान्डो फोर्समा रहेको दाबीमा पनि सार्वजनिक प्रश्न उठेपछि सन्दर्भ सामग्री माग्दा उनले व्यक्तिगत कारणले दिन नमिल्ने बताइन् । ‘अन्डरकभर जबका सामग्री न गुगलमा भेटिन्छन्, न तपाईंलाई दिन मिल्छ । तपाईँसँग बोलेका र त्यसमा आएका टिप्पणीले नै मेरो जब संकटमा परिसकेको छ,’ उनको भनाइ छ ।

दिन नमिले हेर्न त मिल्ला नि।

अनि कान्तिपुरले यो कस्तो खालको पत्रकारिताको अभ्यास गरेको त? अर्काको Job नै संकटमा पर्ने गरेर समाचार छाप्नु नैतिक हो त? चुपो लागेर स्काइडाइभिङको मात्र समाचार हाले भइहाल्थ्यो त। सुरक्षामात्र हैन रोजगारी नै संकटमा पर्ने गरी उनी कमान्डो थिइन्, वार जोनमा जान्थिन्, ह्यानत्यान भनेर किन छाप्नु परेको त ?

कुनै पनि कमान्डो फोर्स वा आर्मीले जासुसी गर्ला तर पत्रकारिता नै गर्दैन। आर्मीले गरेको कामलाई पत्रकारिता भनिँदैन। उनी आर्मी कि पत्रकार ? खै त स्पष्ट पारेको ? 

उनको भनाइ जे–जस्तो भए पनि स्वतन्त्र रूपमा पुष्टि हुन नसक्ने सन्दर्भ फिचरमा समावेश हुनु हुँदैनथ्यो भन्ने हाम्रो निष्कर्ष छ ।

हाम्रो निश्कर्ष पनि त्यही हो। हामी भन्नाले ब्लगमा लेख्ने म र सामाजिक सञ्जालमा यसबारे प्रश्न उठाउनेहरु। अनि त्यस्तो निश्कर्ष निस्किसकेपछि गर्न नहुने काम गरेकोमा आत्मालोचना, क्षमायाचना वा माफी खोई त? नैतिकता खोई ? 

कसैले नसोधेको विषयमा स्पष्टीकरण

४. सन् १९९० को दशकमा सुजिताले नेपालमा पत्रकारिता गरेको भने त्यो बेला प्रकाशित हुने रिभाइभल म्यागेजिनका प्रकाशक विकेश श्रेष्ठको भनाइ छ । ‘सुजिताको अंग्रेजी राम्रो थियो, मिहिनेती थिइन्, त्यसैले मैले कार्यकारी सम्पादकको जिम्मेवारी दिएको थिएँ । पछि उनी हङकङ गइन् । यता जनशक्ति जुटाउन सकिएन । म्यागेजिन बन्द भयो । तर, असल मान्छेका रूपमा उनलाई म अहिले पनि चिन्दछु ।’

नेपालमा पत्रकारिता गरेको/नगरेको भनेर कसले प्रश्न उठाएको छ र? यो बूँदा किन आवश्यक परेको हो कुन्नि !

५. कान्तिपुरको सम्पर्कमा आएका सबैजसो व्यक्तिहरूले सुजिता शाही व्यावसायिक, स्वावलम्बी र साहसी व्यक्ति हुन् भनी खुलेर प्रशंसा गरेका छन् । तर, निराशाले जकडिएको समाजमा सकारात्मक सन्देश दिने स्टोरी पस्कने क्रममा कतिपय स्वाभाविक जिज्ञासा सम्बोधन हुन नसकेको निष्कर्षसहित तथ्य परीक्षण प्रणालीलाई अझ सबल बनाउने प्रतिबद्धता व्यक्त गर्छौं ।
– प्रधानसम्पादक

मेरो सम्पर्कमा आएका धेरै जसोले उनी compulsive liar र Histrionic Personality Disorder भएको हुनसक्ने बताए। निराशाले जकडिएको समाजमा सकारात्मक सन्देश दिने स्टोरीको पोल खुलेर झुटो स्टोरी पो हो भनेर उब्जिने निराशाको जिम्मा चाहिँ कसले लिने? नैतिक रुपमा त प्रधान सम्पादकले नै लिनुपर्ने हैन र ?

प्रधान सम्पादकको ५ बूँदे स्पष्टीकरणमा स्पष्ट नभएका ५ कुरा

  • सुजिताले हङकङमा दुई दुई वटा मिडिया साउथ चाइना मर्निङ पोस्ट तथा स्टार टीभीमा एकैचोटी इन्टर्न कसरी गरिन्? अनि जागिर खाएकै पत्रकारलाई नपठाई इन्टर्न गर्नेलाई अन्तर्वार्ता लिन जर्मनी किन पठायो?
  • जर्मनीमा DW र RTL दुई दुई वटा प्रतिष्ठित मिडियामा जागिर गरिन् भनेर समाचारमा छापियो? ती ठाउँमा काम गरेको प्रमाण के छ ? बाइलाइनहरु त होलान् नि। फेरि प्रमाण माग्ने अभ्यास छैन नभन्नुहोला।
  • अफगानिस्तानमा अपहरणमा पर्दा जर्मन चान्सलर एन्जेला मर्केलले छुटाएको भन्ने कुरा खै आएको पाँच बूँदे स्पष्टीकरणमा?  अपहरणमा परेर त्यत्रो जर्मन चान्सलर नै आएर छुटाएको कुरा त उनले दिन नमिले पनि अन्य मिडियामा समाचार त आएका होलान् नि। खै त त्यो खोजेर प्रमाण राखेको? होइन रहेछ भने गल्ती भयो भन्न किन नसकेको? गल्ती स्वीकार्दै माफी माग्दैमा प्रधान सम्पादकको कद सानो हुने हो र ? अनुजा बानियाँको केसमा सुधीर शर्माले माफी मागेका थिए त।
  • उनी कमान्डो कि पत्रकार ? खै स्पष्ट पारेको? समाचारमा जर्मनीको र अस्ट्रियाको कमान्डो फोर्समा रहेको भनिएको रहेछ। अनि दुई दुई देशको कमान्डो फोर्समा कसरी त ? परिचय पत्र होला नि कमान्डो फोर्समा भएको मान्छेको त। कि कुनै पनि अन्तर्वार्ता गर्दा कुनै पात्रले मैले यहाँ काम गरेको छु भनेपछि तपाईंको परिचयपत्र देखाउनुहोस् भन्ने अभ्यास हुँदैन ? त्यसो हो भने पनि त्यही लेख्दिँदा भयो त।
  • समाचारमा उनी सन् १९९९ मा इराकको बग्दाद जाने निधो गरिन्, ‘वार जोन’ मा रिपोर्टिङ गर्न लेखिएको छ। सन् १९९९ मा इराक कसरी ‘वार जोन’ भयो? इराकले कुबेतमा कब्जा जमाउँदा भएको गल्फ वार सन् १९९० मा सुरु भएर १९९१ को फेब्रुअरीमा सकिएको थियो। अनि अर्को ठूलो युद्ध भनेको इराकमा WMD अर्थात् Weapons of mass destruction भएको आरोप लगाउँदै अमेरिका र बेलायतले गरेको आक्रमण, जुन सन् २००३ बाट सुरु भएर २०११ सम्म चल्यो।

जे होस् कालान्तरमा कान्तिपुरको सुजिता काण्ड भनेर चिनिने यो विषय प्रधान सम्पादकको पाँच बूँदे स्पष्टीकरणले थप रोचक हुँदैछ। फलोअप जारी छ। तपाईँलाई पनि यस विषयमा केही जानकारी छ भने सुटुक्क माइसंसारको फेसबुक, मेरो ट्विटर वा  whatsapp 9705889977 मा मेसेज ठेल्नुस्।

अपडेट: यो ब्लग प्रकाशन भएको केही समयमा प्रधान सम्पादकले ब्लगकै एक टुक्रा टाँस्दै एक्समा यस्तो लेख्नुभाछ

 

7 thoughts on “सुजिता काण्ड : कान्तिपुरका प्रधान सम्पादकको ५ बूँदे स्पष्टीकरणले स्पष्ट पार्न नसकेका ५ विषय”

  1. Gaurav says:
    December 28, 2024 at 7:19 am

    अब टंक दाहालको फ्याक्ट चेकको पनि फ्याक्ट चेक गरिदिनु परो ।

    Reply
  2. Surendra Regmi says:
    December 24, 2024 at 7:31 am

    I stop reading Kantipur. Majority of the news, articles published in Kantipur are not based on the fact. Kantipur only wants to make money nothing else.

    Reply
  3. Rajendra p Sharma says:
    December 19, 2024 at 10:57 am

    This article is not available in the online Feature section. Mr. Chauhan is fake ! Kantipur is fake as Shirohiya!

    Reply
  4. Rajendra p Sharma says:
    December 19, 2024 at 10:51 am

    एउटा पाकिस्तानी सिरियलमा बुरे लोगोँके बारेमा सोचना भी बुरा है भन्ने डाईलग थियो नि । कान्तिपुरसँग यस्ता काण्डको कमी छैन, बरु अर्को काण्डको चिरफार गरौँ । Note this, I Like !

    Reply
  5. sanumaya says:
    December 18, 2024 at 9:44 am

    भैगो नि त, कान्तिपुरलाई छोड्दिउँ । आखिर केही गरे पनि यो सुध्रनेवाला छैन, त्यसैले एउटै काण्डमा थप सवालजवाफ गरेर आफ्नै समयको सत्यानाश हुने देखियो । उहिले नेपाल टिभीबाट आउने एउटा पाकिस्तानी सिरियलमा बुरे लोगोँके बारेमा सोचना भी बुरा है भन्ने डाईलग थियो नि । कान्तिपुरसँग यस्ता काण्डको कमी छैन, बरु अर्को काण्डको चिरफार गरौँ । 😀

    Reply
  6. Yaah says:
    December 17, 2024 at 5:21 am

    Everybody knows kantipur is no more reliable media now a days. Especially umes chauhan’s defense on this matter is so ugly and miserable.

    Reply
  7. डिल्ली says:
    December 17, 2024 at 3:24 am

    आफ्नो आङको भैँसी नदेख्ने अर्काको आङको जुम्रो भन्छन् नि त्यही हो भ्रान्तिपुर मिडियाको असलीरुप । अनी अर्को तिर ह्याकुलाले मिच्ने भन्ने यौट नेपाली उक्ति छ । यी फटाहाहरू स्वीकार्दैनन् ह्याकुलाले मिच्छन् अरुलाई र लुकाउँछन् कर्तुत र डाँको ठूलो पारेर उफ्रन्छन् आफ्नो फटाईँ छोप्न वा लुकाउन ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme