Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नपढे आधा जिन्दगी खेर जाने ‘कान्तिपुर’को यो समाचारको चिरफार गरी हेर्दा…

Posted on December 10, 2024December 10, 2024 by Salokya

हिजो सोमबार तपाईँले ‘कान्तिपुर’को छैटौँ पेजमा छापिएको एउटा समाचार पढ्नुभो ? अचेल कसले पत्रिका किनेर पढ्छ र भन्नुहोला। ल भैगो नि त, अनलाइनमा भए पनि पढ्नुभो ?

पढ्नुभएको छैन भने तपाईँको आधा जिन्दगी खेर जाने खतरा हुन्छ है। यति रमाइलो समाचार पनि नपढ्ने?

पढ्ने बित्तिकै यो ब्लग लेख्न हात चिलाइसकेको थियो तर हिजो लेख्नै भ्याइएन। आज चाहिँ यो अवसर छुटाउन मन लागेन। मैले गरिरहेको कुरा हो, ‘युद्ध पत्रकारदेखि स्काइडाइभिङसम्म’ शीर्षकको समाचारको। आउनुस् विस्तृतमा जानौँ।


पूरा समाचार पढ्न यहाँ क्लिक गर्नुस्।

समाचारको हाइलाइट नै यस्तो तानिएको छ- २५ वर्षअघि नै पत्रकारिताका क्रममा इराकको बग्दाद पुगेकी सुजिताले त्यसपछि अफगानिस्तान, सिरियाको दक्षिण–पश्चिमी क्षेत्र गोलन हाइट्स, लेबनानको बेरुत, प्यालेस्टाइन र युक्रेनसम्म पुगी ‘वारजोन रिपोर्टिङ’ गरिन्, त्यसपछि जर्मनी र अस्ट्रियाको स्पेसल कमान्डो फोर्स ‘ज्वाइन’ गरिन् भने सम्भवतः नेपालको पहिलो महिला ‘सोलो स्काइडाइभर’ पनि हुन्।

सम्भवतः लेखिसकेपछि त जे लेखे पनि भइहाल्यो। त्यो भनेको हुन पनि सक्छ, नहुन पनि सक्छ। बच्ने शब्द हो त्यो। हो कि होइन भनेर फ्याक्ट चेक गर्न अल्छी लागेको छ भने सम्भवतः लेखिदियो, भइहाल्यो। तर जे कुरा त्यस्तो शब्द बिना लेखिएको छ, त्यो त तथ्यपूर्ण हुनुपर्‍यो नि, हैन ?

हाइलाइटमा तानिएको र शीर्षकमा समेत रहेको ‘युद्ध पत्रकार’ त पुष्टि हुनुपर्‍यो नि। त्यसमाथि इराक, अफगानिस्तान, सिरिया, लेबनान, प्यालेस्टाइनदेखि हालको युद्धग्रस्त देश युक्रेनसम्म पुगेको मात्र हैन, वारजोन रिपोर्टिङ पनि गरेको दावी कान्तिपुरमा छापिएको समाचारको छ।

कस्तो खतरा पत्रकार रहेछ। यस्तो वारजोन रिपोर्टिङ गर्ने नेपाली महिलाको बारेमा त अहिलेसम्म मलाई केही थाहै रहेनछ, मेरो त आधा के दुई तिहाई जिन्दगी नै खेर गयो कि जस्तो लाग्यो। अनि कस्ता कस्ता रिपोर्टिङ गरेकी रहिछिन् उनले भनेर खोज्न मन लाग्यो।

समाचार अनुसार नाम रहेछ सुजिता शाही। अङ्ग्रेजीमा Sujita Shahi र Sujeeta Shahi दुई वटै राखेर सर्च हानियो, एउटा पनि वारजोनको बाइलाइन रिपोर्टिङ भेटिएन।

एन्जिल मास्के नामका फोटोग्राफरको वेबसाइटमा उनका केही पोट्रेट फोटोहरु राखिएको रहेछ जसमा नामको मुनि वार जर्नलिस्ट लेखिएको छ।

तर कुनै व्यक्तिले आफ्नो व्यक्तिगत वेबसाइटमा केही लेखिदिएको भरमा त्यसो भइदिने भए त मलाई कसैले विश्वकै धनी व्यक्ति लेख्दिएर म एलन मस्कलाई जित्ने त हुँदिन होला।

त्यत्रा देशहरुमा गएर वार रिपोर्टिङ गरेको भए त कुनै न कुनै वेबसाइटमा उनको बाइलाइनसहितको रिपोर्टिङ त पढ्न पाइन्थ्यो होला। एउटा पनि नदेखिएकोले उनको वार रिपोर्टिङ वा वार जर्नलिस्टको दावी पुष्टि हुन सक्दैन। सक्दै त सक्दैन, कान्तिपुरले लेख्दैमा हुन्छ र ?

पढ्न चाहिँ कुन युनिभर्सिटीमा पढेको रे ?

मुख्य दावी नै पुष्टि हुन नसकेपछि अरु थुप्रै सहायक दावीहरु तिर पनि ध्यान लगाउँ। ती झन् रमाइला छन्।

सबैभन्दा पहिला समाचारका दुई प्याराग्राफ जस्ताको तस्तै पढ्नुस्-

हङकङबाट सन् १९९६ मा आमसञ्चारमा स्नातकोत्तर गरेपछि काठमाडौं, महाराजगन्जकी सुजिता शाहीले त्यहीं साउथ चाइना मर्निङ पोस्ट र स्टार टीभीमा इन्टर्नसिप गरिन् । त्यसताका विश्वकै सबैभन्दा लामो टिङकाउ ब्रीज बनिरहेको थियो ।

उक्त ब्रिज प्रोजेक्ट हेर्ने जर्मन म्यानेजरको अन्तर्वार्ता लिन ‘असाइन’ भयो । जर्मनीको स्टुटगार्टस्थित जुब्लिन एजी कम्पनी मुख्य कन्ट्र्याक्टर थियो । अन्तर्वार्ताकै क्रममा जुब्लिन एजीले बोलाएपछि सन् १९९८ मा जर्मनी लागिन् ।

सुरुमा नै रमाइलो। हङकङबाट सन् १९९६ मा आमसञ्चारमा स्नातकोत्तर गरेको रे। स्नातकोत्तर अर्थात् मास्टर्स डिग्री कुनै सहरले दिने हो कि युनिभर्सिटीले। सन् १९९६ मा हङकङ एउटा सहरमात्र थियो बेलायती उपनिवेशका रुपमा रहेको।

कसैले कुनै उपाधि पाएको कुरा विश्वविद्यालयको नाम लेख्दा विश्वसनीय हुन्छ न कि सहरको नाम लेखेर। हङकङमा थुप्रै विश्वविद्यालयहरु छन्। कुन युनिभर्सिटीबाट मास्टर्स डिग्री गरेको हो, खुलेको छैन।

इन्टर्नसिप पनि दुई ठाउँमा ?

रमाइलो कुरा त के भने मास्टर्स सकिए पछि उनले इन्टर्नसिप थालिन् रे। त्यो पनि दुई ठाउँमा- साउथ चाइना मर्निङ पोस्ट र स्टार टिभीमा। साउथ चाइना मर्निङ पोस्ट हङकङ बेस्ड छापा पत्रिका हो।

अनि अर्को इन्टर्नसिप चाहिँ स्टार टिभीमा गरेको रे। स्टार टिभी भनेको फेरि न्युज च्यानल थिएन त्यतिबेला। स्टार टिभी मनोरञ्जन, फिल्म, संगीत, खेल र केही जनरल इन्ट्रेस्टका कार्यक्रमहरु प्रसारण गर्ने च्यानलहरुको नेटवर्कमात्र थियो।

अन्तर्वार्ता लिन नै जर्मनी पुग्ने पत्रकार

इन्टर्न हुँदा नै यति खतरा काम गरिछिन् उनले कि अन्तर्वार्ता लिन नै जर्मनीमा डाकेछ अन्तर्वार्ता दिने मान्छेले। साउथ चाइना मर्निङ पोस्टमा हो कि स्टार टिभीमा हो खुलेको छैन, तर त्यतिबेला बनिरहेको टिङकाउ ब्रीज प्रोजेक्ट हेर्ने जर्मन म्यानेजरको अन्तर्वार्ता लिन उनलाई ‘असाइन’ गरियो रे।

समाचारको दावी अनुसार जर्मनीको स्टुटगार्टस्थित जुब्लिन एजी कम्पनी मुख्य कन्ट्र्याक्टर थियो । अन्तर्वार्ताकै क्रममा जुब्लिन एजीले बोलाएपछि सन् १९९८ मा उनी जर्मनी लागिन् रे।

हो, त्यतिबेला हङकङमा Ting Kau Bridge बनिरहेको साँचो हो। यो पुलको उद्‍घाटन मे ५, १९९८ मा भएको रहेछ।

यो पुल बनाउन विभिन्न देशका अन्तर्राष्ट्रिय फर्महरुको कन्सोर्टियमले जिम्मा पाएको थियो जसमध्ये एक जर्मनीको यो कम्पनी सही हो र त्यसको हेडक्वार्टर स्टुटगार्टमा रहेको पनि सही हो।

खै त DW र RTL मा उनको देखिने काम?

तर रोचक त के रह्यो भने हङकङबाट अन्तर्वार्ता लिन जर्मनी पुगेकी पत्रकार त्यहीँ काम गर्न पो थालिछिन्। किनकि समाचारमा दावी छ-

जर्मनी पुगेपछि सुजिताले डी डब्लु टीभी र आरटीएल टीभीमा काम गर्न थालिन् ।

जुन देशमा पुगे पनि दुई वटामा सँगसँगै जसो काम गर्ने उनको बानी नै रहेछ कि के हो ! इन्टर्न गर्दा स्टार टिभी र एसएमसिपीमा काम गरेकी उनी जर्मनी पुगेपछि त्यहाँका प्रख्यात दुई वटा मिडिया DW र RTL मा। DW सरकारी फन्डिङबाट चल्ने मिडिया हो भने RTL निजी। दुई ठाउँमै काम गरेको दावी गर्ने उनको ती दुई वटै मिडियामा गरेका कुनै पनि प्रमाण भेटिन्न।

अब समाचारको अगाडिको अंश पढौँ-

सधैं जोखिम लिन रुचाउने उनी सन् १९९९ मा इराकको बग्दाद जाने निधो गरिन्, ‘वार जोन’ मा रिपोर्टिङ गर्न । त्यसपछि पनि अफगानिस्तान, सिरियाको दक्षिण–पश्चिमी क्षेत्र गोलन हाइट्स, लेबनानको बेरुत, प्यालेस्टाइन, युक्रेनलगायत युद्धको अग्रपंक्तिमा होमिइन् रिपोर्टिङका लागि । अन्डर कभर जर्नालिस्टको भूमिका त्यति सहज थिएन ।

माथि नै भने अनुसार यी क्षेत्रमा गरेको रिपोर्टिङ एउटा पनि हामीले सार्वजनिक रुपमा हेर्न सकिने छैन। त्यत्रो देशको वार जोन रिपोर्टिङ गरेको भए देखिने त हुनुपर्ने।

एन्जेला मर्केलले छुटाएको ? गफ पनि अलि पत्याउने दिनु !

अब सुरु हुन्छ गफको चरम सीमा। पढ्नुस् त अगाडिको प्याराग्राफमा के छ ?

२०१३ अप्रिलमा अफगानिस्तानमा रिपोर्टिङका क्रममा विद्रोही तालिवानले उनको टिमलाई अपहरण गरेर लगे । ‘टाउकामा बन्दुक राखेर तर्साउँथे । त्यो बेला मर्छु भन्ने नै थियो,’ उनले विगत सम्झिइन् । पछि जर्मन चान्सलर एन्जेला मर्केल आएर ४ दिनमा छुटाएको उनले बताइन् ।

समाचारको दावी अनुसार सन् २०१३ को अप्रिलमा उनलाई अफगानिस्तानमा विद्रोही तालिवानले उनीसहितको टिमलाई अपहरण गरेर लगेछन्।

तर मैले खोजी हेर्दा उनी त्यो बेला अपहरणमा परेको कुनै पनि समाचार वा जानकारी देखिएन। सामान्यतया विदेशी नागरिक अफगानिस्तानमा अपहरणमा पर्दा त्यसको रेकर्ड कुनै न कुनै अन्तर्राष्ट्रिय मिडिया वा गैरसरकारी संस्थाका वेबसाइटमा वा रिपोर्टमा हुन्छन्। त्यस्तै रिपोर्टहरु समेटेर तयार पारिएको यो सूचीमा पनि उनको नाम छैन।

सन् २०१३ को अप्रिलमा Pierre Borghi नामका फ्रेन्च फ्रिलान्स फोटोग्राफर अपहरणबाट छुटेका थिए। नास्टो नाडेरी नामका अफगान पत्रकारलाई पनि पक्राउ गरिएको थियो त्यही बेला।

अझ जर्मन चान्सलर एन्जेला मर्केल आएर छुटाएको भने पछि त झन् अन्तर्राष्ट्रिय मिडियामा समाचार अवश्य नै हुनुपर्ने। तर कहीँ कतै भेटिन्न त्यस्तो समाचार। यत्रो हाइ प्रोफाइल अन्तर्राष्ट्रिय व्यक्तित्व अफगानिस्तानमा आएर एक जना पत्रकारलाई छुटाएको भनेपछि त त्यो त अन्तर्राष्ट्रिय मिडियामा समाचार बनेकै हुन्छ नि। गफ पनि अलि पत्याउने दिनु।

अनि उनी त नेपाली नागरिक हैन र ? किन चाहिँ जर्मन चान्सलर आएर उनलाई छुटाउने त्यो पनि चार दिनमै ? कि उनी जर्मन नागरिक भइसकेका ? कि जर्मन मिडियामा काम गरेको भएर। यो प्रश्न मेरो जस्तै तपाईँको दिमागमा पनि फनफन्ती घुम्यो होला हैन?

पख्नुस् अलि मुनिको समाचार अंश पढ्नुस्, अनि टाउको समात्नुस्। लेखिएको छ-

हाल जर्मनीको नुरेमवर्ग बस्ने सुजिता सन् २००९ मा जर्मनीको स्पेसल कमान्डो फोर्सेसमा आबद्ध भइन् भने त्यसको तीन वर्ष पछिदेखि हालसम्म अस्ट्रियन कमान्डो फोर्सेसमा छिन् । जहाँ दुई जना मात्र महिला छन् ।

समाचारमा गरिएको दावी अनुसार उनी सन् २००९ मा जर्मनीको स्पेसल कमान्डो फोर्सेसमा आवद्ध भइन् रे। अनि त्यसको तीन वर्षपछि भनेको सन् २०१२ देखि अस्ट्रियन कमान्डो फोर्सेसमा।

अपहरण भएको दावी रहेछ सन् २०१३ को अप्रिलमा। भनेपछि त्यतिबेला त उनी अस्ट्रियन कमान्डो फोर्सेसमा रहिछिन् त। अनि किन जर्मन चान्सलर आइछिन् त छुटाउन? अस्ट्रियन राष्ट्रपति Heinz Fischer आएको भन्दिए हुन्थ्यो त।

फेरि सन् २०१२ देखि नै अस्ट्रियन कमान्डो फोर्समा भएको मान्छे कसरी वार रिपोर्टिङ गर्न सन् २०१३ मा अफगानिस्तान पुगेको त? अब चाहिँ म त ढलेँ-ढलेँ-ढलेँ-ढलेँ।

ह्यात्तेरिका साइँली रिमै ! अलि मिल्ने कुरा गर्नु नि।

कहिले सन् २००८ भन्या छ, कहिले २००९ भन्या छ। एउटै समाचारमा तल र माथि-

 

अनुजा र रस्सेन्द्र काण्ड दोहोरियो ?

हुनत कान्तिपुरमा फ्याक्ट चेक नै नगरी कसैले दावी गरेको भरमा यस्ता समाचार छापिएको यो पहिलो पटक हैन। उहिले, युवराज घिमिरे सम्पादक हुँदा रस्सेन्द्र भट्टराई काण्ड मच्चिएको थियो। थाहा छैन भने यहाँ क्लिक गरी त्यो ब्लग पढ्नुस्। 

सुधीर शर्मा सम्पादक हुँदा अनुजा बानियाँ काण्ड मच्चिएको थियो जसमा तत्कालीन राष्ट्रपतिसमेत फँसेका थिए। यो बारे थाहा छैन भने यहाँ क्लिक गरी ब्लग पढ्नुस्। 

अब उमेश चौहान सम्पादक हुँदाको यो प्रकरणलाई कालान्तरमा पत्रकारिताका विद्यार्थीहरुले ‘सुजिता शाही काण्ड’का रुपमा चिरकालसम्म स्मरणमा राख्नुपर्ने होला जस्तो छ।

यी काण्डहरुमध्ये अनुजा बानियाँ काण्ड भने गलत ठहरिएपछि सम्पादकले पत्रिकामै माफी मागेका थिए। कान्तिपुर ग्रुपकै नेपाल म्यागेजिनमा ‘दलदलमा फुलेकी कमल काण्ड’ पनि भएको थियो। त्यसमा पनि माफी मागिएको थियो। यो कान्ड थाहा नभए यता क्लिक गरी पढ्नुस्। 

अब हेर्नु्छ, यो नयाँ काण्डमा चाहिँ माफी आउँछ कि यस्तो आउँछ-

एआईले बनाएको यो चित्र बुझ्नुभो?

यसलाई गम्भीर रुपमा लिन्छन् कि बाल दिन्छन् भनेको के 🙂

Meanwhile, उनको बारेमा थप जानकारी खोज्दैछु। तपाईँलाई पनि केही जानकारी छ भने छुस्स मेसेज वा कमेन्टमा पठाइदिनुस् है।

7 thoughts on “नपढे आधा जिन्दगी खेर जाने ‘कान्तिपुर’को यो समाचारको चिरफार गरी हेर्दा…”

  1. Bidur Adhikari says:
    January 22, 2025 at 9:08 pm

    Hait, falsified news par excellence! Kantipur has lost all dignity….

    Reply
  2. Bharat says:
    December 13, 2024 at 8:58 pm

    त्यसताका विश्वकै सबैभन्दा लामो टिङकाउ ब्रीज बनिरहेको थियो ।……
    Ting Kau Bridge is 1,177-metre long – longest bridge being built that time in the world? Another bridge not far from Ting Kau bridge was also being bult at the same time whose length is 2,160m. 1,117m is longer than 2,160m? Tsing Ma Bridge was the world’s longest
    suspension bridge carrying both road and rail traffic at the time of completion.

    Reply
    1. Bidur Adhikari says:
      January 22, 2025 at 9:09 pm

      Absolutely!

      Reply
  3. Nimesh Tamrakar says:
    December 12, 2024 at 9:18 pm

    Nice article. Keep posting such interesting articles.

    Reply
  4. डिल्ली says:
    December 11, 2024 at 9:05 pm

    भ्रान्तिपुरमा यस्ता “विस्वासनीय” समाचार बारम्बार हेर्न सुन्न र देख्न पाइन्छ । जन्मसिद्ध “वंशज” नागरिक मालिकले “विश्वासनीय” विधिबाट फर्निचर व्यापारी हुँदै मिडिया टाइकुनमा परिणत भएको सर्वत्र कानेखुशी छ । दोस्रो जनआन्दोलन ताका तत्कालिनराजालाई देशको आधा अर्थतन्त्रको “मालिक” पनि यस्तै सनसनीपूर्ण खोजमार्फत गरेको थियो भ्रान्तिपुरले । भ्रान्तिपुरका अनुसार “नीजि जेटवाला” रसेन्द्र महान एनआरएन “विल क्लिन्टन लगायत विश्व शिर्षस्थ” नेताका अनन्य मित्र थिए । बैङ्ककमा ठगी गर्दै हिड्ने रेसेन्द्र “महान एनआरएन”को सोल्टीमा विराजिएको उधारो होटल बिल परिवारले उही समाचार थाहा पाएर थापाथलीको घर बेचेर तिरेको थियो । बढे मालिकका बढै कुरा । पत्याइ त दिनुस् यस्तो सनसनीपूर्ण भ्रान्तिपुरे खोज अलपत्रकारीता, तपाईँको के जान्छ !

    Reply
  5. sanumaya says:
    December 11, 2024 at 11:11 am

    वार रिपोर्टर बारे त केही थाहा भएन । तर कान्तिपुरले भने चित्रमा देखाएजस्तै गर्नेछ । आखिर यतिका वर्ष हामी उसकै न्यारेटिभ ग्रहण गरेर कुदिरहेका छौँ । एउटा सालोक्य बाहेक अरूको ह्याउ छैन साँचो झुटो केलाउनलाई भन्ने कुरा उसलाई थाहा छ ।

    Reply
  6. शरद श्रेष्ठ says:
    December 11, 2024 at 3:19 am

    नेपाली पत्रकारिता अरुभन्दा स्वतन्त्र छ । राज्यले कडिकमान गरेको छैन । स्वच्छन्द छ ।

    “स्वतन्त्रता के हो भन्ने बुझेपछि
    पात रुखमै अल्झियो खस्न छाडेर”

    नारायण घिमिरेको यो अद्भूत शेर सम्झिएँ । स्वतन्त्रता भनेको स्व- तन्त्र आफू/आफ्नो मनपरी तन्त्र हो भन्ने बुझाइ गलत हो । स्वतन्त्रता स्वलाई पश्च बन्धनबाट मुक्त गरि अग्रलाई सुकार्ययुक्त मार्गनिर्दिष्ट गर्नु हो । त्यसरी बुझे त राष्ट्र स्वर्ग हुनेथ्यो । तर बिडम्बना !!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme