जे छ, त्यसैलाई स्वीकार।
वर्तमानमा बाँच। समतामा बस।
भगवान बुद्धले हजारौँ वर्षअघि दिएको यति सामान्य कुरा पनि म जस्ता बुद्धुहरुको दिमागमा किन घुस्दैन? दिमागमा घुसे पनि व्यवहारमा किन उत्रँदैन? १०० अङ्कको लेख्ने परीक्षा भए शतप्रतिशत अङ्क ल्याइन्थ्यो होला, तर जीवनको व्यवहारिक परीक्षामा किन ‘फेल’ होला कि जस्तो पारा आउँछ?
विगत बितिसक्यो, भविष्य आउनै बाँकी छ। तर बितिसकेको कुरा फनफनी दिमागमा घुम्ने, भविष्यमा के होला भन्ने पनि उसै गरी घुमेको घुम्यै!
चिन्ता कि चिना?
चिन्ता भन्ने कि के भन्ने यसलाई? चिन्ताले चिता पुर्याउँछ भन्थे। यो ‘त’ लाई फालेर ‘न’ लाई अपनाउँदा बन्दो रहेछ- चिना।
अरु केही उपायले मनलाई बुझाउन नसकेपछि आउँदो रहेछ यस्तै कुरा। कोही मान्छे जन्मँदा ग्रहहरु कता कता बसेका छन्, त्यसबाट त्यो व्यक्तिको व्यक्तित्व, जीवन सब निर्धारण हुन्छ रे। जन्मँदा बसेका ग्रहहरु अनि अहिलेका ग्रहहरुको अवस्थाले कुरो बन्ने/बिग्रने हुन्छ रे। मलाई यस्ता कुरामा खासै विश्वास लाग्दैन थियो। तर पनि हेर्दिउँ न त भनेर रमाइलो पाराले लिइन्थ्यो। वर्षमा एक पटक भने जन्मदिन पारेर चिना देखाइन लगिन्थ्यो। म खासै जान्न थिएँ। सब कुरा ठीकै त थियो, अनि के मतलब!
आफ्नै चिनाको फ्याक्ट चेकिङ
तर पछिल्लो पटक जीवनमा यस्तो परिस्थिति बन्दै आयो कि मन बुझाउन भए पनि चिनातिर ध्यान गयो। अलि अलि जान्ने साथीहरुलाई देखाउँदै, आफैले टाकनटुकन इन्टरनेटमा खोज्दै हिँडियो।
अनि पो थाहा भयो, यत्रो वर्षसम्म जुन चिना देखाउँदै त्यसका आधारमा परिवारले पूजा र अरु थोक गर्दै आएका थिए, त्यो त बिग्रिएको रहेछ। सही रहेनछ।
फ्याक्ट चेकर भएर सयौँ फ्याक्ट चेक गरियो। नेपाल फ्याक्ट चेकको जागिर छाडिसकेपछि आफ्नै चिनाको फ्याक्ट चेक गर्नुपर्ने अवस्था आइलाग्यो। किन पण्डितले उहिल्यै बनाएको चिना र मैले जन्म मिति र समयको आधारमा बनाएको चिना फरक भयो, किन ग्रह फरक फरक छन् भनेर आफ्नै चिनाको फ्याक्ट चेक गर्ने काम गरियो।
जलाउन खोजेको चिना
आफू जन्मेको कुरा आफैलाई थाहा हुने कुरा भएन। बालाई थाहा हुन्थ्यो होला, बा त बितिसक्नु भो। भएकै भए पनि बालाई कहाँ म जन्मिएको बेलामा कोठामा छिर्न दिन्थे होला र। आमालाई सोधेँ, दिदीलाई सोधेँ। त्यही तिथिमिति राखेर त्यही समय राखेर हेर्छु, पण्डितले बनाएको चिनाभन्दा फरक देखाउँछ। हैन, के भो गाँठे!
बरु हरिवंश आचार्यको झैँ चिना हराएको भए चित्त बुझाउन हुन्थ्यो। उनको ‘चिना हराएको मान्छे’ किताबै कति हिट भो। आफ्नो यहाँ चिना नहराए पनि सहज गइरहेको जीवनमा यताउता जतातता हिटाहिट भो।
सानोमा म अलि बदमाश थिएँ रे। यस्ता चिना-सिना काम छैन भनेर चिना जलाउन खोजेको थिएँ रे। चिना हेरेर यसो भन्यो उसो भन्यो भनेर सुनाएकाले हो कि किन हो यस्तो रिस उठेको। चिना मान्छे मरिसकेपछि मात्र चितामा राखेर जलाउने परम्परा हाम्रो। मैले चिना जलाइदेला भनेर कति समयसम्म आमाले दराजको लकरमा लुकाएर राख्नुभएको थियो मेरो चिना। अहिले यो लेख्दा पो झल्याँस्स सम्झिएँ।
खासमा उतिबेलै जलाउनु पर्ने रहेछ यो चिना। कम्तिमा गलत त हेरिन्न थियो यतिबेलासम्म।
अहिले आफ्नै चिनाको फ्याक्ट चेक गर्दा पो थाहा भयो, त्यतिबेला पण्डितले उल्टो चिना बनाइदिएका रहेछन्। म जन्मिएको बिहान, पण्डितले बेलुकाको समय राखेर चिना ठोकिदिएछन्। केरमेट समेत गरेको देखिन्छ त्यो चिनामा। एक दुई घण्टाको हैन, १२ घण्टाको फरक। ग्रह नै यताउता पर्ने गरी।
मिथ्या सूचना दिने चिना
पण्डितले चिनामात्र हैन, चिनाको नामसमेत बिगारिदिएका रहेछन्। यत्रो वर्षसम्म चिनाको नाम भनेर जुन नाम चलाइयो, त्यो त नमिल्ने रहेछ। आधा जिन्दगी त नमिलेको चिना र नमिलेको चिनाको नाम बोकेरै बिताइएछ नि। आधा त होइन होला हौ, त्यो भन्दा धेरै होला। कति नै बाँचिन्छ होला र अब।
तर पनि बाँचुन्जेलीलाई मिलेको चिना बनाउन पर्यो भनेर पुरानो चिनालाई मिथ्या घोषणा गर्दै आफ्नो नयाँ चिना आफैले बनाउनका लागि नयाँ पण्डितलाई दिइयो। अनि उनले चिनाको नयाँ नाम पनि राखिदिए। हेर बिजोग मेरो, न्वारन त अहिले बल्ल पो भयो मेरो।
नयाँ सुरुवात
हुन पनि सब थोक सकिसकेको थियो। वर्षौँको कमाइ, पुर्ख्यौली सम्पतिको नाममा बाले अंशमा दिएको एउटा घर सब सकिएर उल्टो अदालती प्रक्रिया टुङ्गिएपछि मैले नलिएको, मैले कल्पनासमेत नगरेको, मैले अहिलेसम्म देख्दा पनि नदेखेको परिमाणको अङ्कको ऋणको बोझसमेत थपिँदा शून्य हैन माइनसमा हुनुपर्ने स्थिति। ल ठीक छ केटा, नयाँ सुरुवात गर भनेरै होला न्वारन पनि नयाँ गर्नुपरेको!
अब नयाँ चिना हातमा परेको छ। तर जीवन सामान्य बनाउन अझै थोरै समय लागेको छ। त्यही भएर झण्डै दुई महिना ब्लगमा केही लेख्न पनि नसकेर शून्य भो। आज च्याटमा किशोर नेपाल दाजुले माइसंसार तेरो परिचय हो, लेख्न नछोड भनेर सम्झाएकै दिन यति लेख्न सकेको छु।
र, अन्त्यमा..
यतिबेला म कतै गुप्तबासमा छु। केही दिन सम्पर्कविहीनै हुन्छु। यी शब्दहरु तपाईँले पढ्नुभन्दा अलि अगाडि नै लेखेर पोस्ट गरिएको हो। तपाईँहरुको आशीर्वाद र हौसलाले म छिट्टै पहिले जस्तै भइहाल्छु नि। अब त न्वारन समेत नयाँ भएर नयाँ चिना पनि बनिसक्यो 🙂
सम्बन्धित ब्लगहरु
(यसमा प्रयोग गरिएको चित्र एआईले तयार पारेको हो)
आशिर्वाद नै आशिर्वाद छ सालोक्यलाई । हाम्रो आशा र हौसलाको मूलखाँबो नै माईसंसार हो ।
socha sajha jantalai ta nakklari rin lagayera jail ma haleko suniyo. tapai jasto janne bujne manche ni yesto Kurama phaseko dekhera khai k ka lagi nepal aune ra jasto po lagna thalyo
अनि चिनाको भर पर्न पनि नथाल्नुस् है फेरि। चिना ज्योतिषी भविष्यवाणी भनेको qualitative analysis हो विभिन्न विधि पद्दतिले अनेक कोणबाट हेरेर अनेक विकल्पहरु दिन्छन् एउटा विकल्प आफ्नो जीवनमा मिल्छ अनि हामी ए ठ्याक्कै मिल्यो भनेर त्यसको अन्धभक्त बन्छौँ। राम्ररी अध्ययन गर्नुभयो भने थाहा पाउनुहुनेछ कि २-३ वटा ग्रहले एउटै एउटै खाले परिणाम दिने विश्लेषण गरिन्छ त्यहाँ अनि यो ग्रहले गर्दा घटना हुने हो भनिदिन्छन् अनि त्यो ग्रह त्यहाँ छैन भने अर्को ग्रहको साईनो जोड्छन्।
अब रह्यो ग्रह गणित को कुरा; त्यो हिसाबकिताब गरेर विश्लेषण गर्ने मानिसले नै हो। जून ब्रह्माण्डको मूल शक्ति छ जसले ग्रहलाई घुमाउँछ त्यो श्कति हामीभित्र पनि छ। त्यो शक्तिलाई चिनेको खण्डमा मूल शक्ति नै हाम्रो हातमा हुन्छ त अनि ज्योतिषका भविष्यवाणी लाई हामी फेल गराउन पनि सक्षम हुनेछौँ।
भएन दाजु यसरी त।
आउँदै हराउँदै गरेका बिगतका केही ब्लगले तपाईं अब सामान्य जीवनमा फर्किनुभयो भन्ने खुशी लागेको थियो। तर अझै पनि निराशा बाँकी पो रहेछ।
एक्स ट्विटर, नाउ एक्स मा पनि म्यासेज गरेको थिएँ वास्ता गर्नुभएन।
११८ बर्ष आयु हो रे मानिसको आशावादी होउँ न।
विपश्यना राम्रो छ त्यसमा सहमत छु तर तपाईंलाई त्यसले मात्र पुगेन जस्तो ठानेँ । तपाईं तामसिक प्रवृतिको मानिस त पक्कै हुनुहुन्न होला कि अहिले जे गरिरहेको छु त्यही ठीक छु भनेर बसिरहने। अझ राम्रो उर्जा तपाईंलाई कुरेर बसिरहेको हुन सक्छ है॥
सन् २०१० देखि माई संसार पढ्दै आएको छु। तपाईंको प्रस्तुतिकरण औधी राम्रो लाग्छ। आशा छ र प्रार्थना गर्दछु सबै कुरा ठीक भएर तपाईँ फेरि फर्कनु हुनेछ। तपाईंको पर्खाई रही रहने छ।