Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हलिउड वाक अफ फेमलाई ‘हल्लाउड’ नबनाऔँ न ! सुनील पोखरेल काण्डको तथ्य यस्तो

Posted on September 8, 2024September 8, 2024 by Salokya

नेपाली कलाकार सुनील पोखरेलको नाम हलिउडको वाक अफ फेममा समावेश भएको समाचार पढ्नुभो ? केही अनलाइन मिडियाले यसबारे समाचार लेखेका छन्। समाचारको स्रोत के रहेछ भन्दा त पोखरेलकै पत्नी निशा शर्माको फेसबुक स्टायटस रहेछ। उनी निशाको चाहिँ स्रोत के रहेछ भन्दा एक जना अर्कै व्यक्तिको नाम रहेछ।

खास भरपर्दो स्रोत नलागेपछि के रहेछ भनेर खोज्न मन लाग्यो।

सबैभन्दा पहिला त यो  वाक अफ फेम भन्या के हो बुझौँ।

हलिउड वाक अफ फेम (Hollywood Walk of Fame) अमेरिकाको हलिउडमा रहेको प्रसिद्ध स्थान हो, जुन हलिउड बुलेवार्ड र भाइन स्ट्रिटमा अवस्थित छ। यसमा २,७०० भन्दा बढी स्टारहरुको नाम छन्, जसमा फिल्म, टेलिभिजन, संगीत, रेडियो, र नाटकका व्यक्तित्वहरु छन्।

वाक अफ फेम सन् १९५८ मा सुरु भएको थियो, र पहिलो स्टार हलिउड अभिनेत्री जोआन वुडवर्डलाई दिइएको थियो। हरेक स्टारमा सम्मानित व्यक्तिको नाम र तिनको क्षेत्रमा योगदानको प्रतीकात्मक चिन्ह अंकित हुन्छ।

हलिउड वाक अफ फेमको एउटा अफिसियल वेबसाइट रहेछ- walkoffame.com

यो वेबसाइटमा अहिलेसम्म वाक अफ फेममा नाम रहेका सबै २७८८ वटा स्टारको नाम रहेको छ। मैले त्यहाँ गएर सुनील पोखरेल बारे खोजेँ। नतिजा यस्तो आयो-

अर्थात् खाली। थरको स्पेलिङको मिस्टेक भयो कि भनेर Sunil मात्र हानेर हेरियो। फेरि उस्तै नतिजा….Suneel पो हो कि भनेर हेरियो। अझै खाली नै।

नपत्याए तपाईँ पनि walkoffame.com/browse-stars यो वेबसाइटमा गएर खोज्नुस्।

भनेपछि नाम नभएको त प्रष्ट भयो।

त्यसो भए वाक अफ फेममा नाम राख्न गर्नुपर्ने प्रक्रिया चाहिँ के रहेछ त भन्ने चासो लाग्यो।

यो वाक अफ फेमको सबै व्यवस्थापन हलिउड चेम्बर अफ कमर्सले गर्ने रहेछ। यसैको आधिकारिक वेबसाइटमा रहेको FAQ मा उल्लेख भएको जानकारी अनुसार यसमा नाम राख्न सबैभन्दा पहिला मनोनयन (नोमिनेसन) गर्नुपर्ने रहेछ।

यो नोमिनेसन जसले गरे पनि हुने रहेछ। भनेको कुनै फ्यानले कसैको नाममा गर्न चाहे त्यो पनि सम्भव रहेछ।

अहिले सन् २०२५ को नोमिनेसनका लागि आवेदन स्वीकार गरिँदैछ। आवेदन अनलाइनमा मात्र हुने रहेछ। आवेदनका साथ २५० अमेरिकी डलर तिर्नुपर्ने रहेछ।

अहो, आवेदन भर्न नै यति महँगो !

त्यसो भए वाक अफ फेममा नाम रहेपछि चाहिँ कति शुल्क लाग्ने रहेछ त ?

वाक अफ फेममा नाम रहेपछि एउटा समारोह गर्नुपर्ने रहेछ। त्यो समारोहका लागि ७५ हजार अमेरिकी डलर अर्थात् झण्डै एक करोड ७४ हजार रुपैयाँ लाग्ने रहेछ।

हरेक वर्ष औसतमा २०० नोमिनेसन पर्दा रहेछन्। सबैलाई दिने कुरा भएन।

कसलाई दिने कसलाई नदिने भनेर चाहिँ हरेक वर्षको जुन महिनामा उनीहरुको कमिटीको मिटिङ बस्दो रहेछ र करिब २० देखि २४ जनालाई वाक अफ फेम दिने घोषणा हुँदो रहेछ।

जसले पाएन, उसको आवेदन अर्को वर्ष फेरि विचार गरिने रहेछ। तर लगातार दुई वर्ष पनि छनौटमा परिएन भने चाहिँ आवेदन वापतको २५० डलर पच भो।

जसले पायो, उसका लागि चाहिँ विशेष दुई शर्त हुने रहेछ-

१) जीवित भए छनौटमा परेको मितिले दुई वर्षभित्र प्रिजेन्टेसन सेरेमोनीमा सहभागी हुन राजी हुनुपर्ने,
२) छनौट हुने समयमा ७५ हजार अमेरिकी डलर तिर्नुपर्ने

यी सबै विषय आधिकारिक वेबसाइटको FAQs मै लेखिएको छ। नपत्याए हेर्नुहोला।

पछिल्लो पटक २७८८ औँ स्टारका रुपमा फिल्ममेकर टिम बर्टनको हल अफ फेम सेरेमोनी भएको थियो सेप्टेम्बर ३ मा र २७८९ औँ स्टारका रुपमा सेप्टेम्बर १२ मा कलाकार Ewan McGregor को सेरेमोनी हुँदैछ। त्यो पनि त्यही वेबसाइटमा उल्लेख छ।

अनि सुनील पोखरेलको के त ?

अब आफै थाहा पाउनुस् कुरो के हो भनेर। न उनको नाम सेलेक्सन कमिटीले घोषणा गरेको छ, न कुनै सेरेमोनी नै भएको छ। अनि कसरी वाक अफ फेममा सुनील पोखरेल हुन्छन्। गुपचुप हुने विषय हो यो?

व्यक्ति झुक्किए होला। तर मिडिया झुक्किनु हुन्छ त ? मिडियाले त भेरिफाइ पो गर्नुपर्ने हो त। दुई चार क्लिकमै इन्टरनेटमा भेटिने जानकारी हो। के विधि मान्छे झुक्याएका?

अनि दीपक मनाङे जस्ताले पनि इन्भेस्टिगेसनै छैन भनेर उल्ल्याउँदैनन् पत्रकारलाई ?

@salokyaa♬ original sound – Umesh Shrestha

त्यस्तो नभएको कुरामा गर्व गर्ने समाचारै लेख्न मन छ भने सुनील पोखरेल मात्र किन, राजेश हमाल, दयाहाङ राई, स्वस्तिमा खड्काको पनि नाम हलिउड वाक अफ फेममा भनेर लेख्नुस् न। फोटो यता छ-

नझुक्किनु होला फेरि। यो त यहाँबाट बनाइएको हो- क्लिक गर्नुस्।

कलाकारको किन, तपाईँ आफ्नै नाम पनि राख्न सक्नुहुन्छ।

भएको चाहिँ के होला ?

त्यसो भए सुनील पोखरेलको नाम चाहिँ कसरी त्यसमा देखियो भन्ने लाग्यो होला। खोज्दै जाने क्रममा यसको पनि सम्भावित जवाफ भेटियो।

हलिउडकै वाक अफ फेमको एउटा कुनोमा तपाईँले आफ्नो नाम राखेर १५ मिनेटको अवधिमा फोटोसोटो खिच्न सक्नुहुने रहेछ। त्यसका लागि प्रति व्यक्ति ३० अमेरिकी डलर लाग्ने रहेछ।

यो वेबसाइटमा हेर्नुस् विस्तृत

सबै कुरा थाहा पाए पछि तपाईँलाई के लाग्यो ? मनाङे स्टाइलमा केही भन्नु छ कि ?  🙂 कमेन्टमा लेख्न सक्नुहुन्छ

अब हाम्रा मिडियाले के कस्ता समाचार लेखे, त्यो पनि एक पटक हेरम्-

सबैभन्दा रमाइलो यो अनलाइन ठूलो पर्दाले गरेछ। यसले सुरुमा सुनील पोखरेल वाक अफ फेममा रहेका दोस्रो कलाकार, पहिलो राजबल्लभ कोइराला भनेर लेखेछ र पछि सच्याएछ। अब फेरि सुनील पोखरेलको पनि सच्याउने हो कि हैन कुन्नि 🙂

हलिउडको ‘वाक अफ फेम’बाट नाट्यकर्मी सुनिललाई सम्मान (ठूलो पर्दा)

खासमा राजबल्लभले पनि वाक अफ फेम सम्मान पाएको भनेर समाचार लेख्ने अनलाइनखबर पनि थियो। नपत्याए यो अर्काइभ लिङ्कमा क्लिक गरी हेर्नुस्।

पछि त्यसलाई सच्याएर तलको जस्तो खबर बनाइयो।
अनलाइनखबर : नेपाली कलाकार सुनिल पोखरेललाई ‘हलिउड वाक अफ फेम’को सम्मान

१२खरी : सुनील पोखरेल भन्छन्– ‘हलिउड वाक अफ फेम’ सम्मान पाएको विश्वास नै लागिरहेको छैन

देशसञ्चार : ‘वाक अफ फेम’मा बिच्छ्याइयो सुनील पोखरेलको नाम

1 thought on “हलिउड वाक अफ फेमलाई ‘हल्लाउड’ नबनाऔँ न ! सुनील पोखरेल काण्डको तथ्य यस्तो”

  1. Jiwan Parajuli (Thuloparda.com) says:
    September 8, 2024 at 10:47 pm

    We are human, and we make mistakes, but it is in learning from them that we truly grow. Thank you for making us aware.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme