Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘नागरिक’ को चलाखी : भइरहेको घाटालाई ‘नाफा’ देखाउन गर्‍यो यस्तो चलाखी

Posted on August 20, 2024August 20, 2024 by Salokya

कृत्रिम नाफा देखाएर घाटामा गइरहेको कम्पनीको आइपिओ निकाल्न सफल भएपछि नागरिकको प्रकाशन कम्पनी नेपाल रिपब्लिक मिडिया पहिलो कम्पनी बन्न पुग्यो मिडिया क्षेत्रबाट सर्वसाधारणलाई सेयर बेच्ने। केही दिनअघि कम्पनीको व्यवस्थापनका उच्च पदाधिकारी र सम्पादकले यो कम्पनी नाफामा गएको ‘समाचार’ सेयर गरे। घाटामा डुबेको यो कम्पनीले पछिल्लो चौथो त्रैमासिकको प्रतिवेदनमा कसरी नाफा देखायो त ? केही विज्ञ सिए साबहरुसँगको विस्तृत छलफलपछि हामीले पत्ता लगायौँ- यस्तो चलाखी गरिएको रहेछ। आउनुस्, हेरौँ मिडिया कम्पनीले गरेको चलखेल। 

फेसबुकमा देखिएको नाफा बढेको बारे पोस्टहरु

 

बिक्रीमा कसरी सुधार ?

८०/८१ को असार मसान्तसम्मको आर्थिक विवरण अनुसार चौथो त्रैमासिकमा बिक्रीमा केही सुधार देखिएको छ र यो बढ्दै गएको छ भनेर व्यवस्थापकीय विश्लेषणमा लेखिएको छ। यो छ त ?

तल उसैले राखेको हिसाब हेर्ने हो भने गत वर्ष २२ करोड बिक्री गरेको संस्थाले यसपालि १८ करोड मात्रै बिक्री गरेको छ। तर पनि उसले बिक्रीमा सुधार देखेको किन लेख्यो ? किनभने उसले तुलना गर्‍यो चैत मसान्तसम्मको। खासमा गर्नुपर्ने गत वर्षको असार मसान्तसम्म हो। चैतसँग तुलना गर्ने हो भने त वैशाखसम्म १ रुपैयाँ बिक्री भए पनि बिक्री त बढेकै हुन्छ नि, होइन र ?

यसरी चैतसँग तुलना गरेर बिक्री बढ्यो भन्नु त झुटको पराकाष्ठा नै भएन र ?

पोहोर असार मसान्तमा २२ करोडको बिक्री गरेको संस्थाले यो वर्ष १८ करोड बिक्री गर्दा कसरी बिक्री बढेको हुन्छ ? हिसाब गरी हेर्दा त झण्डै २० प्रतिशतले बिक्री घटेको देखियो त। यो त संस्था झन् ओरालो लागेको भयो।

अन्य आम्दानी

पोहोर असार मसान्तसम्म other income अर्थात् अन्य आम्दानीमा चार करोड थियो। त्यो खासमा आइपिओ जारी गर्न रिभ्यालुएसन गरेर जबर्जस्ती देखाइएको नाफा थियो। यसपालि पनि त्यस्तै अन्य आम्दानीको कोलममा ल्याएर ८५ लाख रुपैयाँ हालेको छ। यो पनि फन्डा हेर्दा नाफा देखाउनका लागि गरिएको जस्तो देखिन्छ।

कसरी ?

माथिको ५ नम्बरको इन्भेस्टमेन्ट प्रोपर्टीमा गएर हेरौँ। त्यसमा यो वर्ष एक करोड ५३ लाख रुपैयाँ देखाइएको छ। त्यो इन्भेस्टमेन्ट प्रोपर्टी भनेको सामान्यतया (यसलाई ९९ प्रतिशत भने हुन्छ) जग्गा हो।

जग्गालाई त्यसरी इन्भेस्टमेन्ट प्रोपर्टी किन देखाइन्छ भने अकाउन्टिङको सिद्धान्तमा जग्गालाई त्यसरी देखायो भने त्यो जग्गा व्यवसायमा प्रयोग होइन कि म त्यो जग्गाको भाउ बढेर बेच्छु भन्ने हो। अर्थात् जग्गालाई भाउ बढेपछि बेच्छु भन्ने भयो भने त्यसलाई इन्भेस्टमेन्ट प्रोपर्टी भनेर देखाइन्छ।

अनि त्यसपछि जति बजार मूल्य बढ्छ हरेक वर्ष, त्यसलाई  त्यहाँ तल अन्य आम्दानीमा लगेर देखाइन्छ। अनि त्यसपछि संस्था त्यसै नाफामा गइहाल्यो। मन लागे अनुसारको भाउ बढेको देखायो, नाफा देखायो।

अब यहाँ पनि नाफा कति देखाउने त्यही अनुसार जग्गाको भ्यालुएसन बढाएर भाउ बढेको देखायो- भएको यही हो।

यहाँ तपाईँले राम्रोसँग हेर्नुभयो भने चैत मसान्तसम्म पनि इन्भेस्टमेन्ट प्रोपर्टी छैन। असारमा आएर उसले किन क्याटेगोराइज गर्‍यो भने उसलाई नाफा देखाउनु पर्‍यो। नाफा देखाउनु परेपछि जग्गालाई इन्भेस्टमेन्टको रुपमा ट्रिट गर्ने गरी इन्भेस्टमेन्ट प्रोपर्टीमा राख्ने बोर्डबाट डिसिजन गर्‍यो।

‘मनगढन्ते नाफा’

यसमा के हुन्छ भने भएको नाफालाई आम्दानीमा देखाइन्छ। उदाहरणका लागि कसैले एक करोडमा किनेको जग्गाको भ्यालुएसन डेढ करोड गरियो भने ५० लाख रुपैयाँ कागजी नाफा भयो। त्यही ५० लाख अन्य आम्दानीमा लगेर राख्न पाइयो। अर्थात् नाफा देखाउन पाइयो। यसलाई मनगढन्ते नाफा भन्न पनि पाइयो।

यो सबै पुष्टि हुने गरी हेर्न विस्तृत हिसाबकिताब नै हेर्नुपर्ने हुन्छ। तर यो जग्गाको गेम हो भन्ने लगभग देखिन्छ। यसमा अन्य आम्दानी भनेर ८५ लाख रुपैयाँ राखिएको जग्गा कै भ्यालुएसन बढाएर राखिएको हो भन्ने देखिन्छ।

आइपिओ बेच्नुअघि सार्वजनिक विवरण पत्रमा देखाइएको नाफा पनि यस्तै थियो, जसबारे हामीले ब्लग त्यतिबेलै लेखेका थियौँ।  अहिले पनि त्यही नै हो।

‘नागरिक’ छाप्‍ने पब्लिक कम्पनीको रिपोर्टमा भेटियो यस्तो गलत जानकारी

नेपालमा पहिलो पटक निजी मिडियाको हरहिसाब पारदर्शी रुपमा सार्वजनिक, के-के देखियो?

नागरिक IPO सिरिज २ : कम्पनीको उद्देश्य नै नरहेको विषयमा जनताबाट पैसा उठाएर खर्च गर्न मिल्छ ?

नागरिक IPO सिरिज ३ : घाटा भइरहेको पत्रिका ‘पब्लिक’ कम्पनी, नाफा हुनसक्ने अनलाइन चैँ ‘प्राइभेट’ ?

नागरिक IPO सिरिज ४ : ऋण सबै तिर्ने हो भने पनि घाटा मै हुन्छ कम्पनी !

झण्डै ४ लाख पब्लिक अब बने ‘नागरिक’का लगानीकर्ता, अबको बाटो कस्तो होला?

यो जग्गा प्रोपर्टी, प्लान्ट एन्ड इक्युपमेन्टबाट ट्रान्सफर गरेको वा किनेको दुवै हुनसक्छ जुन विस्तृत हिसाबकिताब सार्वजनिक भएपछि बल्ल देखिनेछ।

खासमा यो जग्गालाई इन्भेस्टमेन्ट प्रोपर्टीको रुपमा क्याटेगोराइज गर्ने भनेकै डेन्जर चिज हो। किनभने नेपाल रिपब्लिक मिडियाले जनतालाई मिडियाको बिजनेस गर्छु भनेको हो। यो कम्पनीले कुनै जग्गालाई इन्भेस्टमेन्ट प्रोपर्टीको रुपमा क्याटेगोराइज गर्दैछ भने त उसको उद्देश्य जग्गामा लगानी गरेर, जग्गााको भाउ बढेर नाफा कमाउँछु भन्ने रह्यो।

यदि त्यो जग्गामा मिडिया व्यवसायकै लागि हुने कुनै प्लान्ट खोल्छु भन्ने हो भने त्यो जग्गा त्यसरी इन्भेस्टमेन्ट प्रोपर्टीमा देखाउन पाइँदैन, त्यसलाई “प्रोपर्टी, प्लान्ट एन्ड इक्युपमेन्ट”मा नै देखाउनु पर्छ। त्यो देखाइएको छैन भने पछि त्यो जग्गामा प्लान्ट खोल्ने अथवा व्यवसायमा प्रयोग गर्ने उद्देश्य पनि रहेनछ भन्ने बुझ्नु पर्‍यो।

सामान्य रुपमा भन्नुपर्दा जग्गाको कारोबारबाट कमाउँछु भन्ने उद्देश्य देखियो।

तपाईँले यो प्रतिवेदनमा ध्यान दिएर हेर्नुभयो भने गएको चैत मसान्तसम्म कम्पनी ९७ लाख रुपैयाँ घाटामा थियो। अहिले पनि माथिको जग्गाको भ्यालुएसन गरेर थपिएको ८५ लाख रुपैयाँ घटाइदिनुभयो भने ४० लाख रुपैयाँ घाटामा देखिन्छ कम्पनी। त्यही घाटामा नदेखाउनका लागि भ्यालुएसन बढाइदियो। आनन्द। यसरी नै नाफा देखाउनु थियो भने त ८५ लाख रुपैयाँ मात्र किन १ करोड नै देखाइदिएको भए पनि हुने रहेछ।

(नेपाल रिपब्लिक मिडियाको चौथो त्रैमासिक अवधिको प्रतिवेदनमा अरु के-के देखियो ? कुनै पनि बिजनेस न्युजपोर्टलले नलेखेका विषयको थप फलोअपका लागि माइसंसार हेर्दै गर्नुहोला)

2 thoughts on “‘नागरिक’ को चलाखी : भइरहेको घाटालाई ‘नाफा’ देखाउन गर्‍यो यस्तो चलाखी”

  1. R C Ghimire says:
    August 21, 2024 at 10:27 am

    यस बारेमा ब्लग कहिले आउला भनेर पर्खिरहेको थिए |

    Reply
  2. डिल्ली says:
    August 20, 2024 at 5:46 pm

    मिडिया आफ्नो हातमा भएका साहुजीहरूले जे लेखे पनि पत्याइदिने जमात जमात हामीसँग छ नि । प्रायोजित समाचारबाट “नाफा” कमाउने मिडिया साहुजीहरूका “नीजि मिडिया कारखाना”लाई “कम्पनी”मा ढालेपछि आफ्नो तलब भत्तामा बृद्धि गर्छन् र कम्पनी घाटामा डुबाउन थाल्छन् । कम्पनी डुबिरहेको हुन्छ तर साहुजीहरू टन्न तलब भत्ता असुली रहेका हुन्छन् ।रिपबलिकको यो अवस्था कम्पनी टाट पल्टिनु वा पल्टाइनु अघि अधिकतम सेयर महड्ग्याएर बेच्ने तिकडम हो जस्तो लाग्छ । “नाफा” देखाएर सेयर किन्ने ग्राहक खोज्नुछ साहुजीहरूलाई । पब्लिक” मिडिया भनिए पनि व्यवस्थापकहरू संस्थापक साहुजीहरू नै हुने हुन् । डाडु पन्यु आफ्नै हातमा छ जस्ले जे चाह्यो त्यही लेख्ने न हो सत्य असत्यको मतलब नै भएन नि । मुर्गा चाहिएको छ तिकडमत त झिक्नै पर्यो । नाफा भरपूर छ नभनी ग्राहकले सेयर किन्ने मुर्गा भेटिने होइन ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme