Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

उमेश नहराएको सूचना !

Posted on August 11, 2024August 11, 2024 by Salokya

सबैभन्दा पहिला त म उमेश (सालोक्य) सही सलामत छु, म हराएको छैन भन्ने सूचना दिन चाहन्छु।

मुहानपोखरीको धम्मशृङ्गमा प्रवेश गरी मोबाइल अफ गर्नुअघि लेखेको एउटा फेसबुक स्टायटसले यस्तो हलचल बाहिर मच्चिएछ कि सांसारिक दुनियाँबाट केही दिनका लागि टाढा भएको मेरो सतिपट्ठान ध्यान शिविरमा समेत त्यसको तरङ्ग आइपुग्यो, जसले मलाई अन्ततः निकै बेचैन बनाइदियो र ध्यान राम्रोसँग बस्न बाधा पुर्‍यायो। सिआइबीसमेत मेरो खोजीमा जुटेछ।

त्यो स्टायटस कसरी र कुन प्रसंगमा कुन भावमा लेखिएको थियो भन्ने बारेमा म यसमा थप व्याख्या गर्ने नै छु, त्यसभन्दा अघि तपाईँहरुले गर्नुभएको चिन्ता र मायाका लागि आभारी छु। तपाईँहरुको उमेश यति कमजोर छैन कि आत्महत्या गरेर यो अमूल्य जीवनलाई यत्तिकै खेर फालोस्।

हो, जिन्दगीको यो कठिन मोडमा मलाई केही अघि पटक-पटक सुसाइडल थटहरु नआएको होइन। यसबारे मैले यो ब्लगमा लेखिसकेको थिएँ- कहाँ हराएँ म ?

तर समयमै पाएको उपचार, असल साथीहरुको संगत र तपाईँहरु जस्ता धेरैको शुभेच्छाले त्यसलाई मैले ‘ओभरकम’ गरिसकेँ जस्तो लाग्छ। तर पनि दुःख त छ, दुःखको कारण छ अनि दुःखको निवारण पनि छ। कल्पना नै नगरेको परिस्थितिको सामना गरी एकै पटक सडकमा र सून्यमा पुगेको मलाई बेला बेलामा एकदमै अत्यास लाग्ने परिस्थिति सिर्जना नहुने होइन। कहिलेकाहीँ एकान्तमा बसी सोच्दा ‘के भएछ यस्तो?’ भन्ने लाग्छ।

यद्यपि, अकल्पनीय यो परिस्थितिको सामना गर्न अर्थात् ‘यथाभूत पजानाति’ (पाली भाषामा अर्थ : जे छ, त्यसलाई जस्तो छ त्यस्तै प्रज्ञापूर्वक स्वीकार्ने) विपश्यना साधनाको अभ्यासले मलाई सहज बनायो जस्तो लाग्छ।

र, यसपटक फेरि चौथो पटक सतिपट्ठान शिविर (विपश्यना ध्यानकै एउटा एडभान्स खालको सैद्धान्तिक पक्षमा धेरै खुलाउने कोर्स) गर्ने मन भएर तीन महिना जति अघि नै अनलाइन फाराम भरेको थिएँ। यस्तो कोर्स मुहानपोखरीमा वर्षको दुई पटक मात्र हुन्छ। यो अवसर म गुमाउन चाहन्न थिएँ।

बुद्धकै वाणीलाई जस्ताको तस्तै पारायण गर्दै सैद्धान्तिक पक्षमा जोड दिँदै व्यवहारिक पक्षको अभ्यास गरिने यो कोर्स मलाई १० दिने शिविरभन्दा निकै राम्रो लाग्छ। यसमा बुद्धकै वाणी कसरी हुन्छ भन्ने बारे अर्को ब्लगमा प्रष्ट पारौँला।

बुवाले दिएको अंशसहित जीवन भर कमाएको भएभरको सबै सम्पति जसलाई जिन्दगीमा सबैभन्दा बढी विश्वास गरियो, उसैको नाममा रहेर सबै गुमाएर सून्यमा आइपुगेको सत्यलाई त स्वीकारेकै थिएँ। त्यसमाथि मासिक आधा लाख रुपैयाँ माग गर्दै मानाचामलको मुद्दा पर्नु, अदालतले मेलमिलापमा पठाउँदा भएको छुद्र व्यवहारले पीडा थपेको थियो। ‘अदृश्य प्रहार’हरुको एउटा छुट्टै कथा छ, जसलाई समय आएपछि विस्तारमा चर्चा गर्ने नै छु।

परिस्थिति निराशाजनक पक्कै थियो, तर जीवनदेखि हार खाने खालको भने होइन है।

के हो ‘नफर्कने गरी जान चाहन्छु’को अर्थ ?

महासतिपट्ठानसुत्तमा बुद्धले ध्यानको एकदम उच्च अवस्थाको समेत व्याख्या गरेका छन्। चौथो ध्यानसम्म त मन एकाग्र बनाएर विपश्यना नगरी पनि प्राप्त गर्न सकिने रहेछ। त्यसपछि पनि आठौँ ध्यानसम्म हुने रहेछ। त्यसमा दुई किसिमको हुने रहेछ। विपश्यना नगर्नेहरुले सम्प्रज्ञान बिना ध्यान गर्ने रहेछन्। त्यसो भएपछि देवलोक भन्दा माथि जतिसुक्कै उच्च लोकमा कल्पौँसम्म सुखमा रहे पनि आखिरमा मर्ने रहेछन् र तलको लोकमा नै तानिने रहेछन्। त्यतिबेला निकै दुःख हुने रहेछ।

सम्प्रज्ञानसहितको ध्यानले भने प्राणीलाई मुक्त बनाउने रहेछ। मुक्त अर्थात् फेरि संसारमा जन्म लिनै नपर्ने। फेरि जन्म नै नहुने। मर्नै नपर्ने। अमर हुने। यो निकै उच्च अवस्था हो। स्रोतापन्न (बढीमा सात जन्म लिएपछि मुक्त हुने) वा त्यो भन्दा सानो खालको ‘चुल्ल स्रोतापन्न’ मात्र बन्न सके पनि ठूलो हो। हालको अवस्था हेर्दा त त्यति हुन पनि कयौँ जन्म लिनु पर्ने देखिन्छ। तर ‘कालं आगमेय्य’ भन्ने काम गर्दै जाने हो, मुक्ति जहिले हुन्छ तहिले हुन्छ।

त्यसो त मेरो आफैले न्वारन गरेको नाम सालोक्यको अर्थ पनि मुक्ति नै हो-

शब्दकोशमा सालोक्यको अर्थ

फेसबुक स्टायटसको आशय चाहिँ त्यसरी कहिले फर्कन नपर्ने गरी मुक्त हुन पाए हुन्थ्यो भन्ने थियो तर मानिसले के बुझे-बुझे।

खासमा मैले अलि खुलाएर लेख्न पर्ने थियो। त्यो फेसबुक पोस्टमा बिहानकै टाइम देखिए पनि खासमा साढे १ बजेतिर एडिट गरी पोस्ट गरिएको हो। ध्यान केन्द्रमा पुगेर रजिस्ट्रेसन गरी सकेपछि मोबाइल बुझाउनु पर्थ्यो। टाइम धेरै थिएन, त्यसैले छोटोमा लेखेको थिएँ धेरै व्याख्या नगरी।

अनि भयो तनाव…

स्टायटसलाई अर्कै अर्थमा बुझ्न थालेपछि भयो तनाव। सिआइबीमा समेत शुभचिन्तकबाट मिसिङ रिपोर्ट भएछ। कल डिटेलबाट पछिल्लो समय फोन भएकाहरु मध्ये भाउजुलाई फोन गएछ सिआइबीबाट।

भाउजु आत्तिनुभएछ। अनि ध्यान केन्द्रमा मलाई लिन आउनु भएछ।

विपश्यनाको अवधिमा बाहिरका मानिससित सम्पर्क गर्न दिइँदैन। तर बाहिरको मान्छेको सन्देश अति जरुरी भयो भने चाहिँ पुर्‍याइने रहेछ। तपाईँ जान चाहनु हुन्छ कि के गर्नुहुन्छ भनेर सोधियो। मैले म कोर्स पूरा गरेरै निस्कन्छु भनेर भनेँ।

ध्यानको चौथो दिन त्यसरी भाउजुको आत्तिएको सन्देश पाउँदा र के भएको हो भन्ने खास कुरा नबुझ्दा ‘म फर्कन्नँ’ भनेर मन बनाए पनि तनाव त हुने नै रहेछ। यसै पनि आत्ममुखी भएर बस्दा अनेक तर्कनाले खेल्ने ठाउँमा त्यस्तो कुराको बीउ रोपिएपछि झन् के हालत भयो होला मेरो !

तर ठीकै छ, ‘सरागंवा चित्तं सरागंवा चित्तन्ति पजानाति..’ भन्ने हरफ याद गर्दै समतामा बस्ने प्रयास गरियो। कम्तिमा प्रयास त गरियो। यद्यपि यस पटकको ध्यान शिविरलाई म आफै मान्यता दिने पक्षमा छैन 🙂

आफ्नै गल्ती (हतारमा व्याख्यासहित नलेख्दा) का कारण तरङ्ग मच्चाएको स्टायटसमा आएका कमेन्टहरु आज सर्सर्ती हेरेँ। साथी हरिहरजीको एउटा कमेन्ट चाहिँ सही लाग्यो। पूर्व पत्रकार तथा हालका एसपी सापले लेखेको कमेन्ट यस्तो थियो-

 

बुढानिलकण्ठको मुहानपोखरीमा फोन अफ गरेको मान्छेको मोबाइल काठमाडौँको ‘टेबहाल’मा अफ भएको भनेर सिडिआर निकाले पनि ध्यान केन्द्रमै पुगेर सिआइबीले कन्फर्म गरेछ म त्यहाँ भएको।

निकटका साथीभाइ र परिवारका केही सदस्यलाई त भनेरै गएको थिएँ। तर यो सोसल मिडियाले यतिसम्म पनि तरङ्ग मच्चाउँदो रहेछ भनेर अनुभव गरियो। लास्टमा त्यसले मलाई, मेरै ध्यानलाई समेत हानी पुर्‍यायो। तर खुसी पनि छु, मेरो लागि सोच्ने, मलाई माया गर्ने यति धेरै हुनुहुँदो रहेछ।

तपाईँहरुलाई पर्न गएको भ्रमका लागि माफी चाहन्छु। म बाँच्न चाहन्छु। यो कठिन र अकल्पनीय परिस्थितिमा फँसेको मलाई बाँच्ने हौसला प्रदान गरिरहनु होला।

सबको भलो होस्। मंगल होस्।

सतिपट्ठान शिविर के हो? यो कस्तो हुन्छ ? दुई वर्षअघि मैले बनाएको भिडियो-

एक वर्षअघिको मेरो व्याख्या 🙂

यो पनि हेर्नुस्- पहिलो पटक सतिपट्ठान गर्दाको अनुभव

सतिपट्ठान : बुद्धको वाणी पछ्याउँदै ध्यानको अभ्यास गर्दाको अनुभव

4 thoughts on “उमेश नहराएको सूचना !”

  1. के पी says:
    August 15, 2024 at 11:24 am

    उमेश भाइ तिमी त दुखी भयाै भयाै अरूलाइ सरी नरूवाउन यार , यो संसारमा को छैन दुखी को छैन घरवार विग्रिएको ? को छैन स्वास्नीले सर्वश्व लिएर गएको ?
    अझ तिम्रो वाल वच्चा रहेनछन राम्रो भो , यहाँ त वाल वच्चा वोकेर दुख दिइरहने कति छन कति भाइ यो संसारमा, दुखको कारण यही हो , दुखको समाधान छ । दुख लाग्ने स्टाटश र अालेख नलेख यार रून मन लाग्यो यार

    Reply
  2. sanumaya says:
    August 14, 2024 at 10:42 am

    “.. तपाईँहरुको उमेश यति कमजोर छैन कि आत्महत्या गरेर यो अमूल्य जीवनलाई यत्तिकै खेर फालोस्।.. ” यतिमात्र देखेरेै बडो खुशी लाग्यो । यही भरोसा कायम राख्नु । फोन नं थाहा नभएका हामी जस्ता पाठकको त सोधखोज गर्ने ठाउँ थिएन, बडो अमिलो मन पारेर नराम्रो खबर पढ्नुपर्ने भयले झसङ्ग हुँदै फेसबुक ट्विटर माईसंसार नियमित चाहारियो । तनाब त हामीलाई पनि ध्यानमा जानेगरी नै भयो होला। अब देखि हराउनुपर्दा कम्तिमा पुलिसमा मात्र भएपनि अग्रिम सूचना दिनु:D
    कमेन्टमा गाली आएपनि त्यो पाठकको माया नै हो। नपत्याए छोरो हरायो भनेर धुईपत्ताल खोजेको अनुभव भएका बाआमालाई सोध्नोस् त, हराएको छोरो फिलिम हलमा भेटियो भने रामधुलाई खाला कि नखाला।

    Reply
  3. Nabin Bahadur Shrestha says:
    August 13, 2024 at 10:50 pm

    baru nalekhnu,
    tara Gahiro Artha laagne kuraa Chhoto Sabda mai lekhne kaam garnu vayena hai Daaju 🙏🙏..

    Reply
  4. Rijan Shrestha says:
    August 12, 2024 at 1:16 pm

    यो करिब दुइ दशकमा तपाइले कमाउनुभएको शुभचिन्तकहरुले तपाइँप्रति देखाउने अगाध प्रेमको जल्दोबल्दो सबुद हो। जसलाई माया गरिन्छ उसकै चिन्ता हुन्छ उमेश जी !!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme