Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दुर्घटना सौर्य एयरलाइन्सको, घाइते भयो नेपाली अनलाइन पत्रकारिता

Posted on July 24, 2024August 2, 2024 by Salokya

बुधबार बिहानै एउटा नरमाइलो खबर चारैतिर फैलियो। काठमाडौँको विमानस्थलमै सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भयो। यो खबर जति दुःखलाग्दो थियो, त्यत्तिकै चिन्ता यही दुर्घटनाका कारण घाइते भएको नेपाली अनलाइन पत्रकारिता देख्दा लाग्यो। त्यसो त यस्तो आकस्मिक घटनाको कभरेज गर्ने क्रममा सानोतिनो भूलचुक नहुने भन्ने हुँदैन। तर दिनभरका अनलाइन समाचार हेर्नुभएको भए तपाईँले पनि थाहा पाउनु भयो होला, समाचारका नाममा नभएको कुरा पनि लेखियो। आउनुस् केही यस्तै उदाहरण हेरौँ।

गल्ती नम्बर १ : दुर्घटना भएको एयरलाइन्सको नामै फरक

काठमाडौँ मै दुर्घटना भएको कारण यो खबर तुरुन्तै फैलिहाल्यो। तर सुरुवाती समाचारमा भने दुर्घटना भएको एयरलाइन्सको नामै फरक थियो।

अरु सानातिना अनलाइनको कुरै छाडौँ, नेपालको पुरानो र धेरै पढिने अनलाइनखबरमै यति एयरलाइन्स दुर्घटनामा परेको समाचार आएको थियो-

(अनलाइनमा एक पटक प्रकाशित समाचार पूर्ण रुपमा हट्दैन। यो समाचारको पनि अर्काइभ लिङ्क यहाँ क्लिक गरी हेर्न सकिन्छ)

अनलाइनखबरको टाइमस्ट्याम्पमा यो खबरको समय ११ बजेर १७ मिनेट उल्लेख छ। यो साँचो हो भने ११ बजेर ११ मिनेटमा विमान उडेको र केही समयमा नै दुर्घटना भएको हिसाबले पाँच मिनेटमै समाचार आएको देखिन्छ। यद्यपि, हतपतको काम लतपत हुन पुग्यो। एयरलाइन्सको नामै गलत पर्‍यो।

तर अनलाइनखबरले गल्ती स्वीकारेर क्षमा भने माग्यो। अरु पनि अनलाइनहरुले यतिको विमान दुर्घटनाबारे लेखेका थिए, तर उनीहरुले सुटुक्क सच्याए।

गल्ती नम्बर २ : मृत्यु हुनेको संख्या २२ बाट १९ हुँदै १८ मा झर्‍यो

दुर्घटनाका खबर संवेदनशील हुन्छन्। यो मतगणना हुँदै गर्दाको संख्या जस्तो हैन, कुनै दलले फलानो संख्यामा सिट जित्यो भन्ने, पछि गन्दै जाँदा त्यति सिट पुगिहाल्छ नि ढिलोचाँडो।

यसमा त प्रत्येक संख्या एक जनाको ज्यान हो। अनि कसरी यस्तोमा हेलचक्र्याँइ गर्न मिल्छ ?

यो दुर्घटनामा मृत्यु हुनेको संख्या १८ हो। कूल १९ जना चढेका थिए। त्यसमध्ये चालकको उपचार भइरहेको छ। समाचार भने २२ जनाको मृत्यु भनेर आयो।

हेर्नुस्-

अर्काइभ लिङ्कका लागि यहाँ क्लिक गर्नुस्। 

२२ जनाकै मृत्यु भएको समाचार एयरपोर्टबाट सबैभन्दा नजिक अफिस रहेको अन्नपूर्ण पोस्टको अनलाइनले पनि हाल्यो-

यी दुवै समाचारमा नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता हंसराज पाण्डेलाई कोट गरिएको छ।

पाण्डेले आफै जान्ने भएर यति संवेदनशील विषयमा संख्या तोकेका हुन् कि मिडियाले मिसकोट गरेको हो भन्ने कुरा चाहिँ कि पाण्डेलाई थाहा छ कि सम्बन्धित मिडियालाई। प्रवक्ता आफैले गलत जानकारी दिएका हुन् भने प्राधिकरणले त्यस्ता व्यक्तिलाई प्रवक्ता राखिरहे अर्को दुर्घटना हुनसक्छ। तर यहाँ कसको लिङ्क कता के हुन्छ, कहाँ भन्न सकिन्छ र। त्यसैले दोष लाउन मिडियालाई नै सजिलो !

रातोपाटीको समाचारमा अर्को अनौठो कुरा पनि छ हेर्नुस्-

समाचारमा २२ जनाको मृत्युको पुष्टि भनिएको छ। तर मुनि भने ‘यसको पुष्टि गर्दैछौँ’ भन्ने कोट राखिएको छ।

दुर्घटनामा विमानमा सवारको मात्र मृत्यु भएको थियो। तर यसमा त चार जना बाहिरको मानिस परेको हुनसक्ने समेत भनिएको रहेछ। यस्तो हावा कुरा पनि भन्ने/ लेख्ने ?

अनि अन्नपूर्णले कसरी संख्या घटाउँदै लग्यो, यसमा हेर्नुस्-

पहिला २२ जनाको मृत्यु।

त्यसपछि पहिला १९ अनि फेरि १८ जनाको मृत्यु। मृतकको संख्या घट्दै गयो। हेर्नुस् माथि र तलको संख्या फरक

रातोपाटीले त प्रवक्तालाई  दोष लगाउँदै आफूले दिएको समाचारका लागि क्षमा मागेर सच्यायो। तर अन्नपूर्णले किन २२ जनाबाट १९ हुँदै १८ जना पुग्यो मृत्यु हुनेको संख्या भन्ने बारे एउटा सूचनासम्म राख्न सकेन। अनि पत्रकारिता दुर्घटना पर्‍यो नभनेर के भन्ने ?

२२ जनाको मृत्यु लेख्ने थप दुई अनलाइनहरु इकागज र काठमान्डुटुडे पनि हुन्। इकागजले त यो ब्लग लेख्दासम्म २२ जना नै लेखेको छ, सच्याएको छैन। थप चार जना उसले कहाँबाट ल्याएर देखाउने होला ?

गल्ती नम्बर ३ : उद्दार गरिएका तीन जनाको अस्पतालमा मृत्यु भएको खबर गायब

जति बेला प्रमुख अनलाइनहरु मध्ये कसैले २२ जनाको त कसैले १८,१९ जनाको मृत्यु भएको समाचार लेखिरहेको थियो, त्यतिबेला नेपाल प्रहरीले चार जनालाई उद्दार गरी अस्पताल पुर्‍याएको अपडेट गर्दै थियो-

उद्दार गरिएका मध्ये तीन जनाको अस्पतालमा मृत्यु भएको पछि नेपाल प्रहरीले नै अपडेट गरेको थियो। तर यो खबर ती अनलाइन मिडियाहरुमा आएन। किनभने उनीहरुले पहिल्यै २२ जनालाई मारिसकेका थिए।

पुलिसको कुरा पत्याउने कि क्यानको ?

यसमा फेरि दोहोरो दावी आयो। पुलिसले चार जनाको जीवित उद्दार गरिएकामा उपचाररत तीन जनाको मृत्यु भएको लेख्यो भने अर्को सरकारी निकाय नागरिक उड्डयन प्राधिकरण (क्यान)ले भने १८ जनाको शव संकलन गरिएको लेख्यो। कसको कुरा पत्याउने हामीले ?

गल्ती नम्बर ४ : क्याप्टेन भन्ने बित्तिकै सबै थापा (रामेश्वर) हुँदैन

यस्तो दुःखलाग्दो घटनामा अर्को हाँसउठ्दो गल्ती पनि अन्नपूर्ण पोस्टले नै गर्‍यो। अन्नपूर्णका साहु क्याप्टेन रामेश्वर थापालाई कसले चिन्दैन र। कांग्रेस र एमालेको गठबन्धनका लागि भएको सहमति समेत क्याप्टेन थापाकै घरमा भएको समाचार सबैले पढेकै हुन्। अन्नपूर्ण पोस्टकै पत्रकारहरुलाई पनि क्याप्टेन भन्ने बित्तिकै थापा काजी मात्र दिमागमा आउने हो कि के हो, यो समाचारमा समेत क्याप्टेन थापालाई अस्पताल लगियो भनेर लेखेछन्। क्याप्टेनको गाली खाए कि के हो यो देखेपछि…

गल्ती नम्बर ५ : अवतरणका क्रममा दुर्घटना रे

केही अनलाइन मिडियाहरुमा विमान अवतरणका क्रममा दुर्घटना भएको समाचारसमेत लेखिए। जबकि सौर्य एयरलाइन्सको यो विमान सि चेकका लागि पोखरा उड्दै थियो।

 

5 thoughts on “दुर्घटना सौर्य एयरलाइन्सको, घाइते भयो नेपाली अनलाइन पत्रकारिता”

  1. Sovaram Bhandari says:
    July 29, 2024 at 6:19 pm

    dukhad khabar

    Reply
  2. डिल्ली says:
    July 26, 2024 at 10:57 pm

    दुःखद घटनामा ज्यान गुमाउनेहरू प्रति हार्दिक श्रद्धाञ्जली । मान गुमाउनेहरू पत्रुकारिताहरूलाई पनि श्रद्धाञ्जली । अनुगमनकारी निकायहरूको अकर्मण्यता र उद्धारकार्यमा चुस्त नहुने चिप्लेकिरा संयन्त्रहरूलाई पनि श्रद्धाञ्जली ।

    Reply
  3. Krishna says:
    July 25, 2024 at 3:54 pm

    Sad to hear this news.
    There seem lots of negligence in Nepalese airlines.
    Government needs to take immediate action to prevent such plane crashes.

    Reply
  4. Subash Shrestha says:
    July 25, 2024 at 2:18 pm

    YouTube channel khola shaalak vai, yesto blog aajkal kolle padchha.

    Reply
  5. prashant says:
    July 25, 2024 at 12:23 am

    Very sad news.
    Why so many passengers onboard while is plane is getting C check in Pokhara?
    Blame goes to Pasupatinath… no it is not.
    Arrrrrgh….
    RIP to 18 poor souls.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme