Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘चकलेट’ अन्तर्वार्ता काण्डले मेरो हवाई यात्रामा पारेको प्रभाव

Posted on July 21, 2024July 21, 2024 by Salokya

भैरहवाबाट काठमाडौँ फर्कनु पर्ने थियो। डोमेस्टिक उडान मात्र हुने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट  तीन वटा एयरलाइन्सले उडान गर्छन्- बुद्ध एयर, यति एयरलाइन्स र श्री एयरलाइन्स। शुल्क सबैको उस्तै।

सधैँ बुद्ध पहिलो रोजाईमा पर्ने भए पनि यस पटक मैले जानीजानी यति एयरलाइन्स रोज्न लगाएँ।

किन ?

किनभने मेरो दिमागमा बुद्ध एयरका साहु वीरेन्द्रबहादुर बस्नेतको एउटा अन्तर्वार्ता घुमेको थियो जुन सामाजिक सञ्जालमा ‘चकलेट काण्ड’ का रुपमा पनि चिनिन्छ।

पत्रकार टीकाराम यात्रीको टक शो ‘अँध्यारोबाट उज्यालोतिर’मा एक महिनाजति अघि बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतको अन्तर्वार्ता आएको थियो।

साँच्चै भन्दा मैले त्यो अन्तर्वार्ता पूरै हेर्न भ्याएको छैन। तर त्यसको टिजर सामाजिक सञ्जालमा भाइरल भएको थियो। टिजरमा बस्नेतले बुद्ध एयरले आफ्नो उडानमा चकलेट दिन किन बन्द गर्‍यो भन्ने बारे प्रष्टीकरण दिएका छन्।

त्यो टिजरमा उनले भनेका छन्-

हेर्नुस् यो चकलेट आरएनएसीले जब ननप्रेसराइज्ड जहाज, ट्विटअटरहरु चलाउँथ्यो, सबभन्दा पहिला यो देशमा ट्विनअटर चल्या हो नि त। त्यतिखेर ननप्रेसराइज्ड भा हुनाले अलिकति हाइट गएपछि प्रेसरले गर्दा कान बन्द हुने भा हुनाले चकलेट खाने अनि चकलेट चुस्दाखेरी प्रेसर क्रियट गरेर कान खुल्ने कारणले चकलेट दिएको हो। संसारको कुनै पनि एयरलाइन्सले चकलेट खुवाउँदैन। तपाईँले धेरै वटा एयरलाइन्स चढ्नु भा होला। हामीले चाहिँ चकलेट बाँडिरहेका थियौँ। चकलेट के भो भने एउटा व्यक्तिले दुईटा चकलेट लिने या एउटा चकलेट लिने हो के। यहाँ शिष्ट व्यक्तिले पनि एक मुठी चकलेट लिने। वर्षको एकचोटी दुईचोटी चढ्ने व्यक्तिले त एक अञ्जुली नै चकलेट लिने। अनि हामीहरुलाई त्यो ठूलो समस्याको रुपमा आयो। कोभिड पछि हाम्रो फ्लाइट पनि बढ्यो। भनेपछि चकलेटमा त्यो अनुशासन नभा हुनाले हामीहरुको दशौँ करोडको खर्च बढ्यो। स्वास्थ्यलाई पनि हानिकारक। अब कोही व्यक्तिले एक अञ्जुली चकलेट लिएर कपाकप खाएपछि उसको त सुगर बढ्ने भो। त्यसले गर्दाखेरी चकलेट हामीले दिन छाड्या हौँ।

हवाई यात्रुले अँजुलीका अँजुली चकलेट झिक्न थालेकाले दिन बन्द गरियो- बुद्ध एयर @AirBuddha । अँध्यारोबाट_उज्यालोतिर आज राति ९:०० बजे ! pic.twitter.com/xE3qswoVAp

— Tika Ram Yatri (@tikaramyatri) June 12, 2024

सामाजिक सञ्जालमा त्यतिबेलै यात्रुलाई कस्तो हेपेर बोलेको भनेर आलोचना भएको थियो। हुन पनि उनले शिष्ट व्यक्तिले समेत एक मुठी चकलेट लियो भनेका छन्। एक मुठी लिँदा पनि पाँच छ वटा चकलेट नै आउने होला। अझ उनले एक अञ्जुली नै चकलेट लियो पनि भनेका छन्।

फेरि बुद्धले दिने चकलेट भनेको डेरीमिल्क, क्याडबरी पक्कै हैन। सामान्य चकलेट हो।  यही चकलेटको कारण दशौँ करोड खर्च बढेको तर्क थियो उनको।

एयरहोस्टेसहरुलाई थोरै यसबारे बताएर चकलेट बाँड्ने हो भने कसैले पनि दुई वटा भन्दा बढी लिने थिएनन् होला।

बुद्धले कोभिडभन्दा पहिला चकलेटमात्र हैन बदामको सानो प्याक पनि बाँड्थ्यो। त्यो चाहिँ किन रोकियो भनेर उनले टिजरमा भनेका छैनन्।

चकलेट यात्रुलाई सुगर हुन्छ भनेर नबाँडेको, बदाम चाहिँ ग्यास्ट्रिक हुन्छ भनेर नबाँडेको हो कि भनेर पनि सामाजिक सञ्जालमा उडाइएको थियो।

के संसारको कुनै पनि एयरलाइन्सले चकलेट खुवाउँदैन ?

बस्नेतले गरेको अर्को दावी थियो- संसारको कुनै पनि एयलाइन्सले चकलेट खुवाउँदैन। त्यो सही हो त ?

सन् २०१९ को डिसेम्बरमा बर्मा घुम्ने क्रममा बगानबाट यांगुन फर्कने क्रममा एयर केबीजेको डोमेस्टिक फ्लाइट चढेको थिएँ। त्यतिबेला अरु खानेकुराका साथै चकलेट पनि बाँडिएको थियो।

मैले एआईलाई यही प्रश्न सोध्दा उत्तर यस्तो आयो-

प्रबन्ध निर्देशकले भनेझैं संसारको कुनै पनि एयरलाइन्सले चकलेट वितरण गर्दैन भन्नु गलत हो। वास्तवमा, धेरै एयरलाइन्सले आफ्ना यात्रुहरुलाई विभिन्न प्रकारका स्न्याक्स र मिठाइ वितरण गर्छन्, जसमा चकलेट पनि समावेश छ। यहाँ केही उदाहरण छन्:

1. **Swiss International Air Lines**: स्विस एयरलाइन्सले आफ्नो यात्रुहरुलाई प्रख्यात स्विस चकलेट वितरण गर्छ। यो उनीहरुको सेवा र आतिथ्यको विशेषता बनेको छ।

2. **Lufthansa**: जर्मनीको लुफ्थान्सा एयरलाइन्सले पनि यात्रुहरुलाई विशेष चकलेटको वितरण गर्छ। विशेषगरी लामो दूरीको उडानमा यो चकलेट पाउन सकिन्छ।

3. **Finnair**: फिनएयरले पनि आफ्नो यात्रुहरुलाई फिनल्यान्डको विशेष चकलेट प्रदान गर्छ। उनीहरुको उडानमा यात्रुलाई मीठो अनुभव दिनका लागि यो चकलेट वितरण गरिन्छ।

4. **Turkish Airlines**: टर्किश एयरलाइन्सले पनि आफ्नो उडानमा चकलेट र अन्य मिठाइहरु बाँड्ने गर्छ।

यी उदाहरणहरुले देखाउँछ कि धेरै एयरलाइन्सले आफ्नो यात्रुहरुलाई चकलेट लगायतका विभिन्न स्न्याक्स र मिठाइहरु वितरण गर्छन्। चकलेटको वितरण यात्रुको सन्तुष्टि र उडानको अनुभवलाई राम्रो बनाउन महत्वपूर्ण भूमिका खेल्छ।

यसै विषयमा खोज्ने क्रममा उड्ययनपारखीहरुको एउटा फोरम फ्लायरटकमा पुगेँ। त्यहाँ एउटा फोरमको प्रश्न थियो- BEST CHOCOLATE SERVED ONBOARD?

त्यसमा छलफल गर्नेहरुले डेल्टा एयरलाइन्स, फिन एयर, स्विस एयर, एयर इन्डिया, युनाइटेड एयर, युएस एयर, अर्जेन्टिनी एयरलाइन्सका नाम लिएका छन्। हेर्नुस् फोरम।

यसबाट पनि विश्वका धेरै एयरलाइन्सले उडानमा चकलेट बाँड्ने गरेको देखिन्छ।

अनि मेरो टिकटको निर्णय फेरियो…

खर्च घटाउनका लागि चकलेट बाँड्न बन्द गरिएको सामान्य बोली भएको भए ‘हो त नि’ भन्ने हुन्थ्यो होला। तर उनले यात्रुलाई नै लाञ्छना लगाउने काम गरे।

साथीले टिकट काट्ने क्रममा मेरो दिमागमा झट्ट त्यही कुरा आयो। अनि मैले भनेँ, यस पटक बुद्ध हैन यति एयरलाइन्सको टिकट काटौँ है।

मेरो निर्णय परिवर्तनमा यही चकलेटी अन्तर्वार्ता कै हात रह्यो। हुन त दुई वटा टिकट बुद्धको नकाटिँदैमा एयरलाइन्सलाई केही असर पर्दैन। तर यात्रुको मनमा कस्तो असर पर्छ भन्ने संकेत त हो नि यो।

हुनत धेरैले सुरक्षा राम्रो भनेर पनि बुद्ध एयर रोज्ने गर्छन्। ठीकै हो त्यो पनि।

तर हामी आउनुभन्दा केही दिनअघि त्यही भैरहवाको विमानस्थलमा राति बुद्धको विमान रनवेमा चिप्लिएको थियो। धन्न कसैलाई केही भएन।

नेपालमा हवाई सुरक्षाको विषय त ‘ढुक्क हुनुस्, केही नहुन्जेल केही हुँदैन’ भन्ने मनोज गजुरेलकै सिद्धान्त अपनाएर लिने हो।

हामीकहाँको पत्रकारिता नागरिक उड्डयनको क्षेत्रमा पनि अरु क्षेत्रमा जस्तो गज्जब छ। यहाँ कुनै एयरलाइन्सको छिसिक्क केही भएर ठूला समाचार बन्ने र कुनैको ठूलोसानो घटनाको पनि समाचार नै नआउने पनि हुन्छ।

यतिको यात्रा कस्तो रह्यो त ?

चकलेट चाहिँ दिने रहेछन्। उडान सुरु भएको केही समयमा नै एयरहोस्टेस चकलेट बाँड्दै आइपुगिन्। एक रुपैयाँ जति पर्ने क्यान्डी थियो त्यो।

बुद्धका साहुको अन्तर्वार्ता सम्झिएरै हो कि किन हो एक मुठी चकलेट लिने आँट कसैलाई नआए जस्तो पो देखियो त।

चकलेट बाँड्न सकिएपछि फेरि सानो एप्पल जुस र बदामको सानो प्याकेट पनि बाँडियो-

समग्रमा यात्रा ठीकै भो।

चकलेट बाँड्दैमा वा नबाँड्दैमा कुनै एयरलाइन्सका यात्रुको संख्या बढ्ने घट्ने नहोला। तर यात्रुलाई लाञ्छना लगाउने गरी बोलेका कारण कम्तिमा दुई वटा सिट भने प्रतिस्पर्धी एयरलाइन्सतिर गयो है। तर, यति जाबो कुरालाई बुद्धले के ध्यानमा राख्थ्यो होला र !

 

 

 

3 thoughts on “‘चकलेट’ अन्तर्वार्ता काण्डले मेरो हवाई यात्रामा पारेको प्रभाव”

  1. Bishal Ranamagar says:
    July 29, 2024 at 11:07 pm

    हजुरका लेख पढेपछि मलाई पनि बुद्ध एयरले बाड्ने गरेको चकलेटको याद आयो । यो एउटा चिनिको डल्लो मात्र नभएर बुद्ध एयर चढ्नेको लागि सम्झनाको पोको थियो ।

    Reply
  2. नेपालयन says:
    July 23, 2024 at 3:21 am

    बुद्ध एअर लोभम् करुते,
    बुद्ध एअर के हावा खुस्कते !!

    Reply
  3. डिल्ली says:
    July 22, 2024 at 8:55 pm

    चकलेट अर्थात चिनीका डल्ला हाम्रो देशका आन्तरिक उडानहरूमा दिने ‘परमपरा’ रहिआएको छ । उहिले हाम्रा तिर चिलगाडी चढी फर्किनेले खल्तिबाट झिकेर दिएको चिनीको डल्लो ख्याल मिठो मानी खाइएको होइन । एक दुइ त दिनेले पनि बजाएरै आए होला । उस माथी पिलेन चढी आएको झोलोमा झुण्डेको लुर्कोले शान र मान बढेको पनि देखेकै हो । एयर होस्टेस बैनिको एक थाल ‘चकलेट’ नै उठाउँने मर्दाना\जनाना पनि देखियो । एउटै नलिने पनि भेटियो । २-४ गोटासम्म आफैँले पनि कोहीबेला उठाइयो । अरु त अरु फिलिममा झैँ कानमा ठोस्ने कपास एक मुठी उठाको पनि देखियो ।

    मैले चाहिँ यात्रा गरेका केही विदेशी राष्ट्रका आन्तरिक उडानमा कुनै मा कुकि, पानी\जुस\कोकाकोला लगायतका झोल दिएका थिए भने कसैले २०० मिलिलिटरको पानीको एउटा बोतल दिएका थिए । तर न चिनीको डल्ला पाइयो न चेप्टे\डल्ले\छिर्बिरे वा ध्वाँसे कुनै गुलिया खानेकुरा खान पाइयो न पानी नै। छिमेकी राष्ट्रको इण्डिगोले आन्तरिक उडानमा चकलेटको त के कुरा पानी पनि दिएन ।

    अन्तरराष्ट्रिय उडान बढेमानका चिलगाडीमा कुरा गर्दा कुनै कुनैमा “दारु” समेत ठोस्न पाइन्छ भने बजेट एयरलाइन्समा सबै कुरा किनेरै काम चलाउनु पर्ने पनि हुने रहेछ । धेरैले गफ दिने अम्रिकाका “जेट” चिलगाडीमा ६ घण्टा उड्दा पनि पानी\जुस\चिया\कफी मध्ये कुनै र कुकी दिए चिनीको डल्लो दिएनन् ।

    अर्थात भनौँ चिनीको डल्लो वा चकलेट मलाई चाहिँ नेपाली आकाश बाहेक कतै दिएनन् भविष्यमा दिए भने राम भरोसा ।

    अब विरेन्द्र सरको टिकटको भाउ उहाँकै तजविजको कुरो त हो । सौ रुप्पे दाम बढाएर २-४ डल्ला चिनी बेचे “सावाँ र दश पुस्ते ब्याज” उठिहाल्ने !!!!! यो टोलटोलको ‘ट्रोल’ भन्दा !!!!!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme