फेब्रुअरी महिनाको एक बिहान, मैले लगभग एक वर्ष बाँकी रहेको पासपोर्टको म्याद नवीकरण गर्न काठमाडौँको जिल्ला प्रशासन कार्यालय पुगेँ। अनलाइन फारम भरेर लाइनमा बसेपछि, मैले सोचेको थिएँ कि यो प्रक्रिया छिट्टै सकिन्छ। तर पहिलो झ्यालमै रोकिएँ—अनलाइन फारमको प्रिन्ट नभएको, एक वर्षभन्दा बढी म्याद भएको, र कर्मचारीका असहज प्रश्नहरूले मलाई स्तब्ध बनाए। मैले नवीकरण प्रक्रियाका जटिलताहरू, असहज प्रश्नहरूको उत्तर दिनुपर्ने, र खाजा ब्रेकको समयमा सेवा बन्द हुने लगायतका थुप्रै पाठ सिक्दै थिएँ, जब मलाई थाहा भयो कि अझै धेरै कुरा बाँकी छन्…
पासपोर्टको म्याद सकिन लगभग एक वर्ष बाँकी छ। ६ महिनाभन्दा कम समय बाँकी रहँदा त ट्राभल गर्नै दिन्न। पछि हतार हतारमा बिर्सिएला, सम्झिएको बेला गइहालौँ भनेर गएको फेब्रुअरीमा अनलाइन प्रिइनरोल्मेन्ट फर्म भरी सिडिओ कार्यालय (जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा) लाइन बस्न गएको थिएँ। तर पहिलो झ्याल, जहाँ हामी आफैले अनलाइन भरेको फाराम रुजु गरिन्छ, मै बाधा आइलाग्यो। अनलाइन भरे पनि त्यो प्रिन्ट गरेर लानु पर्छ देखाउन। त्यहाँ भनियो- तपाईँको एक वर्ष भन्दा बढी म्याद रहेछ। त्यसैले अहिले मिल्दैन। ‘अर्को हप्ता आउनुस्। लौ न, यत्रो लाइन बसेँ। एक हप्ताको कुरा त हो, मिलाइदिनु न’ भनेँ। माने पो! फेरि अर्को बहाना बनाएँ, ‘म अर्को हप्तादेखि लामो समय काठमाडौँ बाहिर जानुपर्ने काम छ के’। अहँ, हुन्न। हुन्न भनेपछि हुन्न।
त्यति बेलै सिकियो पहिलो पाठ- पासपोर्टको म्याद एक वर्षभन्दा बढी छ भने बढी जान्ने भएर रिन्यु गर्न जानु हुन्न रहेछ।
दोस्रो पाठ : असहज प्रश्नको जवाफ तयार पार्नुपर्ने रहेछ
पासपोर्टको फाराम भर्दा आपतकालीन अवस्थामा सम्पर्क गर्ने मान्छेको नाम र ठेगाना अनि भए मोबाइल नम्बर समेत भर्नुपर्ने हुन्छ। पहिले भए त्यसमा नाता पनि खुलाउनु पर्ने थियो। तर अहिलेको फाराममा नाता खुलाउनु पर्दैन। अर्थात् आपतकालीन सम्पर्कमा परिवार वा निकट नाता राख्नै पर्ने जरुरी छैन।
तर त्यो झ्यालले त्यसो नभन्ने रहेछ। मभन्दा अगाडि एक महिला हुनुहुन्थ्यो। उनलाई झ्यालभित्रका कर्मचारीले सोधे- यसमा कसको नाम भर्नुभएको ?
उहाँले भन्नभो, ‘मेरो छोराको’।
‘श्रीमानको किन नभर्नुभएको?’
‘नमिल्ने भएर।’
‘किन नमिल्ने?’
‘नमिल्ने भनेपछि बुझ्नुस् न’
‘छोरोको नागरिकता देखाउनुस्।’
‘नागरिकता त छैन, डिजिटल कपी छ। हुन्छ ?’
त्यसपछि उनी मोबाइलको ग्यालरी खोतल्न थाल्छिन्।
झ्याले कर्मचारीले किन यस्तो झेली गरेको, मलाई अचम्मै लाग्यो। छोराको नाम राख्यो त के बिग्रियो ?
त्यसपछि मेरो पालो आयो। मलाई पनि त्यही प्रश्न दोहोरियो नै। त्यसमाथि नागरिकताको डिजिटल प्रति (CIMS को स्क्रिनसटसहितको प्रिन्ट कपि) ल्याउन पनि भने। सब कुरा जुटाएर लगेपछि हुन्न म्याद बाँकी छ भनेर फर्काए।
तेस्रो पाठ : लाइन बसिहाल्न पर्ने रैछ
यो पाठ पहिलो प्रयास असफल भएपछि दोस्रो पटक पासपोर्ट रिन्यु गर्न जाँदा पाएको हो। तीन ठाउँमा लाइन बस्नुपर्ने भएकोले साथीसहित जानु भएको भए लाइन बसिहाल्न पर्ने रहेछ भन्ने अर्को पाठ सिकेको हुँ।
यता तपाईँ पहिलो झ्यालमा लाइन बस्दै गर्दा तपाईँ सँगै आएको साथीलाई राजस्व तिर्ने ठाउँमा लाइन बस्न पठाइ हाल्नुपर्ने रहेछ।
पहिलो झ्यालले तोक नलगाइदिएसम्म दोस्रो झ्यालले राजस्व तिर्ने फाराम दिँदैन तपाईँलाई फेरि।
तर केही छैन, त्यो साथी राजस्वको लाइन बस्दासम्म तपाईँको पालो आएको हुँदैन। पालो आइहाल्यो भने पनि पछाडिको मान्छेलाई अघि सारेर आफू एक दुई स्थान पछाडि बस्ने।
राजस्व फाराम कसरी भर्ने भन्ने कुरामा भने चिन्ता लिन पर्दैन रहेछ। त्यहाँ भित्तामा नमूना टाँसिएको हुन्छ, त्यही हेरेर भर्ने। राजस्व तिर्न भने अचेल क्युआर कोड पनि चल्ने रहेछ।
अनि तपाईँले फाराम भरिसकेपछि तपाईँसँग आएको साथीलाई तेस्रो लाइनमा पठाइदिने जहाँ बायोमेट्रिक्स लिइन्छ।
चौथो पाठ : अनलाइन पेमेन्ट किन नभएको होला ?
त्रिपुरेश्वरको राहदानी विभागमा अनलाइन पेमेन्ट भए पनि यता काठमाडौँ सिडिओको कार्यालयमा भने अनलाइन पेमेन्टको व्यवस्था छैन।
पछिल्लो समय ट्राफिक जरिवाना, कर, एनओसी लिँदा, प्रहरीले दिने चालचलन सर्टिफिकेटको भेरिफिकेसन जस्ता विषयमा अनलाइन पेमेन्टले निकै सजिलो बनाएको छ।
तर नयाँ पासपोर्ट बनाउने, नवीकरण गर्ने सेवाहरुमा भने सिडिओ अफिसहरुमा अनलाइन पेमेन्टको व्यवस्था छैन। बैँकले एउटा शाखा नै खडा गरेर त्यहाँबाट शुल्क संकलन गरिरहेको छ।
अनलाइन पेमेन्टमात्र गर्ने होइन कि अनलाइन पेमेन्ट पनि स्वीकार गर्ने व्यवस्था गरिए कम्तिमा एक ठाउँमा लाइन बस्न पर्दैन थियो। यो काम गर्न धेरै गाह्रो पनि होइन। तर किन गरिएन कुन्नि।
पाँचौँ पाठ : खाजा ब्रेक हुन्छ भन्ने ध्यान दिनुस्
कर्मचारी रोबोट हैनन्, उनीहरुलाई खाजा खान पनि पर्छ। खाजा खाने ब्रेक ठ्याक्कै एक घण्टा हुने रहेछ।
म लाइभ इनरोल्मेन्टसहित फोटो खिच्ने ठाउँमा पुग्न दुई जना अगाडि बाँकी रहँदा साढे १ बज्यो र खाजाको ब्रेक भयो। त्यसपछि बन्द ढोका अगाडि मलामीले लाश कुरे झैँ कुर्नुको विकल्प थिएन। अर्को तिर लागे आफ्नो पालो मिचिएला भन्ने डर। यहाँ पनि साथी ल्याउनु भयो भने फाइदा हुन्छ। साथीलाई एक छिन लाइनमा राखेर तपाईँ आफू खाजा खान जान पाउनु हुन्छ।
आज भोलि पासपोर्ट साइजको फोटो चाहिँदैन पासपोर्ट बनाउन। त्यहीँ फोटो खिचिन्छ, त्यहीँ बायोमेट्रिक्स लिइन्छ, त्यहीँ सबथोक हुन्छ।
छैटौँ पाठ : राष्ट्रिय परिचयपत्रको नम्बर राख्ने बाहेक अरु काम रहेनछ
पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य गरेको धेरै भइसक्यो। यही कारणले मात्र पनि मान्छेले राष्ट्रिय परिचयपत्र बनाउनै पर्ने अवस्था आइलाग्यो।
मैले अलि पहिले नै राष्ट्रिय परिचयपत्रका लागि विवरण दिएको भएर परिचयपत्र नै हात परिसक्यो। तर त्यसको काम भने पासपोर्ट रिन्यु गर्न केही पनि नलाग्ने रहेछ।
नागरिकताकै आधारमा राष्ट्रिय परिचयपत्र बनेको भए पनि (नागरिकता भेरिफाइ नगरी राष्ट्रिय परिचयपत्र बनाइँदैन) त्यो देखाएर हुन्न रे। नागरिकता नै चाहिन्छ रे। नागरिकता देखाउँदा पनि के चित्त नबुझेर हो CIMS (नागरिकताको डिजिटल अभिलेख)को प्रिन्ट ल्याएर बुझाउनु पर्ने रे।
त्यति मात्र हो र, दश औँलाकै औँठाछाप र रेटिना स्क्यान समेत गरेर राष्ट्रिय परिचयपत्रमा विवरण राखिसके पनि फेरि पासपोर्टका लागि दुई औँलाको डिजिटल औँठाछाप दिन पर्ने रे। त्यसैको डेटालाई लिङ्क गरे त भइगयो।
त्यत्रो रिसोर्स खर्च गरेर बनाएको डेटा, त्यत्रो दुःख गरेर हामीले दिएको डेटा- सब आखिर केही काम लागेको देखिएन। हैन त ?
तपाईँका पनि यस्तै केही अनुभव छन्?
“”त्यसमाथि नागरिकताको डिजिटल प्रति (CIMS को स्क्रिनसटसहितको प्रिन्ट कपि) ल्याउन पनि भने। सब कुरा जुटाएर लगेपछि-…””
कसरी जुटाएर लाने हो यो – प्लिज भन्दिनुस न..-सालोक्य जी? यसको वेबसाईट भेटिन, कुन कार्यलय, कहंाबाट हेर्ने? प्रिन्ट कपि निकाल्ने? त्यही नागरिकता शाखा कि अन्तै ? बाहिर जिल्लाको कहां हेर्ने ? कसरी सबै जुटाएर ढुक्क संग काम हुनेगरी जाने ? अग्रिम धन्यवाद।
सिडिओ कार्यालयमा नै हुन्छ CIMS निकाल्ने ठाउँ। त्यहीँ जाने
लाभदायक ब्लग|
दुइटा कुरा थप्न मनलाग्यो|
१) के सबै नेपाली यसरी लाईनमा वसेर परिचय पत्र वा नवीकरण गर्न परने हुन? होइनन| सबैलाई यो नियम लागु हुँदैन|
सबैलाई लागु हुने भए यो नियम सरल, सहज र छरितो हुने थियो| सधैं चारपाङ्रामा सवार हुनेले सडकको पेटिको दुरावस्था
देख्दैनन, भोग्ने अवस्था नै आउँदैन| त्यै भएर अवस्था समयमा सुधार हुँदैन|
मैले थाहा पाए अनुसार धेरै सुविधाभोगीहरुले अरु मान्छे पठाएर वा फोन गरेरै उक्त कार्य गर्छन् गराउछन| सवारी चालक
लाईसेन्स पनि त्यसरी लिन्छन, छोराछोरी बिदेशमा जाने भेपछी यहीबाट लाईसेन्स लिनपर्छ भनेर फोन गरेर पहुंचवालले घरमै लाईसेन्स मगाउछन|
२) एक घण्टा खाजा खाने समय अर्को रिलिभर ल्याएर सेवा प्रदान निरन्तर गरे हुन्न?
मेरो एकजना मित्र अध्यागमनमा भिसा रिन्यु गर्न जाँदा त्यही अफिस स्थित बैंकको काउन्टरमा बुझाउन जाँदा खाजा खाने समय भनेर लिन मानेनन ‘रे|
हाम्रो नेपालमा जबसम्म priviledged लाई आम मान्छे भन्दा भिन्नै तरिकाले सेवा प्रदान गरिने चलन चलिरहन्छ, पैसा वा घुसको आधारमा सेवा दिने काम भईरहन्छ, सुधार आउने होइन|
डेढ दशक अघि होला, सुजाता परराष्ट्र मन्त्री थिईन| नारायणहिटी दरवारमा पासपोर्ट अड्डा थियो| पश्चिम ढोका अघि लाजिम्पाट जाने बाटोमा पास्पोर्ट आवेदकहरुको लामो लाईन हुन्थ्यो| ९५% बढी आफ्नो भविष्य बनाउन बिदेश जाने हुन्थे| बिहान ३ बजे देखी घण्टौ घण्टौ लाईनमा बस्थे| भोक, तिर्खा र मुत्रत्यागले आकुल हुन्थे| कतिले दरवार कै पर्खालमा वाध्य भएर मुत्रत्याग गर्थे|सानोतिनो खोलै बग्थ्यो| जाडो, पानी झरी घाम सहेर लाईनमा बस्न पर्थे| एउटा टोइलेट, पिउने पानी र क्यान्टिनको ब्य्वस्था गर्ने, कुपन सिस्टम गर्ने बारे धेरैले अनुरोध गरे| तर भित्र सिसाका आरामदायी कोठामा बस्नेले सुनेनन|
सेवाग्राहीको पक्षमा सुन्ने हाम्रा नेपालका कर्मचारी र मन्त्रीहरु कोही छैनन| पछिबाट उपेन्द्र यादव आए, उनी पनि ड्याङका थिए|
हाम्रा पदमा रहेका नेता र ब्युरोक्राटहरुका आँखामा घोडाका आँखामा लगाउने ढुङ्रो लगाई दिएका हुन्छन भन्ने सुनिन्छ| आफुले हेर्न चाहेका मात्र देख्छन, अघिपछी देख्दैनन|
तर हाम्रा कर्मचारी र नेताहरुलाई अनेक थरिका सिर्जनात्मक विचारहरु आउछन| पर्खालमा पिशाब नगरून भनेर भएभरका देवदेवतका रङीन फोटोहरु पर्खालका भित्ताभरी टाँसिदिए| किन भन्दा यसो गरे पिशाब गर्दैनन ‘रे| के रोकिन्थ्यो र?
हाम्रो मेडियामा यसले थोरै मात्र प्रकाश पायो|सम्भवत राजनैतीक सामग्री यति धेरै थिए यो कुनै हाईलाईट गर्न पर्ने इस्यु नै बनेन| युट्युबले त्यो बेला भर्खरै मात्र पाईला टेक्न् थालएको थियो|
यस्ता अनुभव त कति छन कति, साच्चै भन्नु पर्दा यस्ता सेवा दनिे ठाउहरुमा एकले होइन दुइले होइन सवै जसो नेपालीले दिनहु यस्ता छन्द न मन्दको हेलचेक्रयाई सामना गर्न परिरहेको हुन्छ। लौ त भन्नु पर्दा प्रत्येक नेपालीले आफ्जो आत्मकथा लेख्ने हो भने तपाइकै जस्तै ब्लग बन्ने छ ।
मेरो पनि पासपोर्टको अवधि लगभग १ वर्ष बाँकी छ । यो अनुभव सेयरिङले मलाई पनि लाभै भयो । धेरैको अनुभव त यो भन्दा नमीठो हुन सक्छ । सेवाप्रवाहमा संवेदनशीलताको अभाव भएको छ । सरकारी कार्यालयहरूमा मात्र होईन हिजाेआज त निजी संस्थाका पनि काम गराई यस्तै किसिमका हुन थालेको अनुभव हुन्छ। बस चढ्नुहोस् वा खानेपानी ट्यांङ्कर बोलाउनुहोस्, तरकारी बजार होस् वा बैङ्क होस्, सबैले सामान्य स्तरको सेवाग्राहीको उल्टै सातो खाईरहेको हुन्छ । मान्छेको जुनी हुनुको दुःख सम्झाउँछन् बरै सबैले । सरकारी कार्यालय त नमूनै भईहाले । कर्मचारी नै पनि कामविशेषले अर्को अफिस पुग्दा उत्तिकै रनभुल्ल परेको हुन्छ । कामको चाप त हुने नै भयो, फ्रन्ट डेक्समा पनि ज्यादाजसो सिकारू, कम जानकार वा यस्तै किसिमका कर्मचारीहरू राखिन्छन्। तिनले कुनै निर्देशन, माण्डेड बिना परम्परागत रूपमा त्यसै शाखा हाँकिरहेका हुन्छन् । सरकारी सेवामा आईटीको प्रयोग त हाँसको चाल न बकुल्लाको चाल भएको छ ।
यो भन्दा बढी नभनौँ । आँ गरेकोमा अलङ्कार बुझ्नुहोला।
यसै सन्दर्भमा मेरो अनुभव यस्तो छ:
https://amaaba.org/blog-details.php?blog_id=25
Govind ji, thank you for the excellent write up. Unfortunately, I do not have much leeway to help improve the bureaucracy in Nepal. I will definitely look into the initiative on education of children.
सरकारले चेतोस । नगरिकलाई दुख नदेवोस ।
१) खाजा खान १ घण्टा किन?
२) ५बटै बनाए पनि राजश्व बढी लिएर बनाईदिदा के हुन्छ?
३) अरूको अनियमितता निरिक्षण, कारवाही गर्ने कार्यलयकै हालत यस्तो, अनि शुशासन भएन भनेर गुनासो गर्न कहा जाने?
गज्जब अनुभव! अन्यत्रको पनि जानकारी राखौ!