Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

म जे छु, ठीकै छु !

Posted on June 17, 2024June 18, 2024 by Salokya

अघिल्लो ब्लग ‘कहाँ हराएँ म ?’ लेख्न सुरु गर्दा मलाई थाहा थिएन, यस्ता व्यक्तिगत विषयहरु लेखेर मैले ठीक गरिरहेछु कि गलत। त्यो ब्लग लेखेको पनि एक महिना पो नाघिसकेछ। अहिले लाग्दैछ, त्यो ब्लगमा आफ्ना कुराहरु खोलेर मैले नराम्रो गरेनछु। ब्लगमा अहिलेसम्म ७६ वटा कमेन्ट आए। प्रत्येक कमेन्टका हरेक शब्दले मलाई नयाँ उत्साह, थप ऊर्जा दिएका छन्।

खासमा म डराएको थिएँ। यसरी मनका बह पोखेपछि यो नकारात्मकताले भरिएको वातावरणबाट मलाई पक्कै प्रहारहरु हुनेछन्। ‘मनको बाघले खान भएन, डरबाट अघि बढ्नु पर्‍यो’ भनी मलाई निरन्तर हौसला दिने हितैषी मित्रहरुको भर परेरै म मानसिक रुपमा तयार भएको थिएँ। तर, मेरो अपेक्षा विपरीत मलाई यति सकारात्मक शब्दहरुको उपहार तपाईँहरुले दिनुभयो कि मैले त्यो ‘अप्रिय निर्णय’ लिएको भए म गलत हुने रहेछु भन्ने महसूस भयो। ब्लगका कमेन्टहरु मात्र हैनन्, सामाजिक सञ्जालमा अनि प्रत्यक्ष/अप्रत्यक्ष भेटबाट म जस्तै र म भन्दा बढी पीडामा रहेकाहरुले ‘तेरो साथमा छौँ है’ भन्नु यो ब्लगको सबैभन्दा सुखद पक्ष रह्यो। मैले ठूलो शिक्षा पाएँ, बाहिरबाट हेर्दा जेजस्तो देखिए पनि यही समाजका, मेरो चिनजानकै धेरै व्यक्तिहरु कुनै कालखण्डमा म जस्तै वा मेरो भन्दा खराब परिस्थितिको सामना गरेर उठेका रहेछन्। तर म ‘कुवाको भ्यागुतो’लाई बाहिरको संसारको यो सत्य पत्तै थिएन।

सिद्धान्त र व्यवहार फरक हुने रहेछ। थाहा थियो, सुख र दुःख जीवनका अभिन्न अंग हुन्। दुःखमा आत्तिने र सुखमा मात्तिने गर्न हुन्न। जस्तोसुकै परिस्थितिमा पनि समता भाव राख्नु पर्छ। सिद्धान्तमा थाहा भएका कुरा व्यवहारमा उतार्न सकिने भए त बुद्ध नै भइन्थ्यो होला, किन यसरी बुद्धु बन्नु पर्ने परिस्थिति आउँथ्यो र।

बीचको समयको यो कालखण्ड धेरै कठिन रहेको थियो मेरो लागि। परिवारका सदस्यहरु र साथीभाइहरु कसैलाई पनि केही थाहा नहुँदाका पलहरुमा म कति पटक मरेर बाँचेको छु।

मनोचिकित्सकको सहयोग लिनुअघिका दिनहरु झन् अप्ठेरा थिए। अग्लो ठाउँमा जाँदा ‘हाम्फाल्दिउँ’ जस्तो लाग्थ्यो। कतै पल्टिएर माथि छततिर हेर्दा घाँटी कस्सिएको जस्तो महसूस हुन्थ्यो। रुमाल, डोरी, सल त केही देख्नै नहुने! त्यही घाँटीमा बाँधिए जस्तो हुन्थ्यो।

अझ चरम अवस्थामा मैले अन्तिम ठान्दै केही नोटहरु समेत लेखेको थिएँ।


चित्रहरु माइक्रोसफ्टको एआई इमेज जेनेरेटरबाट तयार पारिएको।

मलाई थाहा छैन, अरुलाई के हुन्छ यस्तो अवस्थामा। तर मलाई भने मेरो अवचेतन मनले रोक्दारोक्दै पनि चेतन मन भरी भने ‘सुसाइडल थट’हरु घुम्थ्यो।

खै कुन्नि केको बलले हो, त्यस्ता कुविचारहरुमाथि मैले नियन्त्रण कायम गर्न सकेँ। नत्र यी शब्दहरु लेख्न म बाँकी रहने थिइनँ होला।

कुविचारहरुमाथि विजय पाउन मैले आफूलाई निकै व्यस्त राख्ने प्रयत्न गरेँ। तर त्योभन्दा पनि मलाई सहज भने आफ्ना कुराहरु परिवारका थोरै सदस्य र सीमित निकट साथीहरुलाई सुनाउने आँटले नै गर्‍यो।

त्यसपछि थाहा भयो, मलाई बुझ्नेहरु पनि रहेछन्। तर धेरै कुराहरु बुझाएर बुझाउन नसकिने रहेछ।

यो बीचमा मेरो लाइफको स्क्रिप्टमा लेखिएको ‘हरर’, ‘सस्पेन्स’, ‘थ्रिलर’, ‘भायलेन्स’का प्लटहरु मेरो भोगाइमा नै सीमित रहनेछन्।

म आफूलाई जबर्जस्ती राम्रो देखाई अरुलाई नराम्रो देखाउन चाहँदिन। बरु म नै नराम्रो देखिउँ, त्यसमा मलाई गुनासो हुनेछैन।

यति धेरै वर्ष विपश्यनाको अभ्यास गरेपछि अहिले मेरो वास्तविक परीक्षा भइरहेको छ- मप्रति जस्तोसुकै व्यवहार भए पनि कसैलाई शत्रु भावमा व्यवहार नगरी मित्र भाव नै कसरी कायम राख्न सकूँ!

यो तथ्य मुखले वा शब्दले हैन, देखिने कुनै व्यवहारले हैन, अन्तरह्रदयबाट नै कसरी प्रकट होस् !

केही अघि त्रिवेणी धाममा बाबालाई भेट्दा पनि मैले यही प्रश्न राखेको थिएँ। उहाँले ‘मैले तिम्रो मनको सबै भाव पढेको छु, चिन्ता नगर, सबै मिल्दै जान्छ’ भन्नुभएको थियो।

यो बीचमा म अलि धार्मिक भएको छु। हनुमान चालिसा, गायत्री मन्त्र, युट्युबमा पनि मन्त्र वाचनहरुको भिडियो मेरो प्लेलिस्टमा रहेको छ।

धेरैअघि अनलाइनमा सम्पादक हुँदा कामले भेट भएका रमेश भट्टराईले यो विषयमा मलाई धेरै मार्गदर्शन गर्नुभएको छ।

उहाँ पनि आफ्नै परिस्थितिका बीच अहिले त्रिवेणी धामको एउटा मठमा सेवारत रही साधना गर्दै हुनुहुन्छ।

त्रिवेणीमा रहँदा जीवनमा कहिल्यै नगरिएका कर्महरु गरियो- बिहान सबेरै गंगास्नान, धोती लगाएर ध्यान, मन्त्र-पाठ….!

पहिले पटक्कै विश्वास नभएका कतिपय कुराहरु, अन्धविश्वास जस्ता लाग्ने तथ्यहरुलाई नजिकबाट हेर्दैछु, भोग्दैछु, तटस्थ भएर।

अघिल्लो ब्लग लेख्दाको अवस्थामा मलाई थोरै गाह्रो भएको थियो। किनभने अप्ठेरो यो परिस्थितिमा मान्छेको वास्तविक पहिचान हुने रहेछ।

नाताले आफ्नै परिवारका सदस्य भन्नुपर्ने केही पात्र र साथी, छरछिमेकी भनाउँदाको असली नियत र व्यवहार देखिनु र केही न केही नाताका र पहिले टाढिएका व्यक्तिहरु नजिकिनु, उनीहरुको निस्वार्थ सहयोग- यी मैले नसोचेका विषय थिए।

समयले यसरी असली परिचय पनि दिने रहेछ।

‘मैले पनि यो अवस्थामा यसरी सून्यबाट सुरुवात गरेको हुँ’, ‘म पनि लडेर धुलो टकटक्याउँदै उठेको हुँ’ जस्ता कुराहरु यस्तो अवस्थामा प्रेरणादायी स्रोत हुने रहेछन्।

अरु बेला त ठीकै हुन्छ। तर कहिलेकाहीँ अत्तालिन्छु- न घर छ, न बास छ, न सबै उही हो भनेर सम्पूर्ण सम्पति सुम्पिएको व्यक्ति आफ्नो साथमा छ। म सून्यमा छु।

सून्य भए त तैबिसेक ठीकै हुन्थ्यो, मैले नलिएको ऋणको बोझ बोकाइदिने हो भने सून्य मात्र हैन माइनसमा हुनेछु। त्यो पनि करोडको आँकडामा।

तर केही नहुनुको मजा पनि गजब हुने रहेछ। हुँदाको कष्टदायी जीवनभन्दा नहुँदाको खालीपनको ‘मजा’ अर्कै हुने रहेछ।

अघिल्लो ब्लग लेखिसकेपछि पनि मलाई सामान्य दिनचर्यामा फर्कन कठिन भइरहेको थियो। स्वास्थ्य अवस्थाले असहज बनाएपछि नेपाल फ्याक्ट चेकको सम्पादक पदबाट पनि केही महिनाअघि नै राजीनामा दिइसकेको थिएँ।

अरु नियमित कामहरु गर्न पनि सहज भइरहेको थिएन।

यही अवस्थामा म बागमती प्रदेश सरकारले आयोजना गरेको अनलाइन पत्रकारिताको ट्रेनिङका लागि धुलिखेलमा पुगेँ।

त्यहाँ मनोज गजुरेलले मलाई आफ्नै जीवनको उदाहरण दिई कम्तिमा मैले जस्तो तपाईँले भोग्नुपरेको छैन भनेर सम्झाए। डाउन भइसकेको ब्याट्री अलि चार्ज भए जस्तो भयो।

त्यो ट्रेनिङ राम्रैसँग सकाएर फर्किएँ।

केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रशिक्षण विभागले आफ्ना प्रदेश सभा सदस्यहरुका लागि सामाजिक सञ्जाल व्यवस्थापन : अवसर र चुनौति विषयको कार्यशालामा सहजीकरण गर्न निम्तो दियो। त्यहाँ पनि पुगेँ। राम्रैसँग त्यो जिम्मेवारी पूरा गरेँ जस्तो लाग्छ।

अघिल्लो शनिबार राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलनको ‘मिडियामा एआईले पार्ने प्रभाव’बारे एउटा सेसन मोडरेट गर्न साथी प्रवेश सुवेदीले जिम्मा दिँदा ‘सक्छु र’ जस्तो लागेको थियो। खासै तयारी पनि गर्न सकेको थिइनँ।

तर कार्यक्रम सकिएपछिको भिडियो हेर्दा त्यति नराम्रो त गरिनँ जस्तो लाग्यो।

 

राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन २०८१ को एउटा सेसन मोडरेट गर्दै। फोटो : कृष्पा श्रेष्ठ

कार्यक्रमका फोटोहरु हेरेँ। भित्र जे भए पनि ‘म जे छु, ठीकै छु’, लाइफ राम्रै चलिरहेको देखिने रहेछ। त्यति भए पुगिहाल्यो।

सामान्य दिनचर्यामा यसरी नै फर्कन सके जीवनमा गरिने संघर्ष त गरिन्छ नै। आखिर सहज, सजिलो, सरल रेखामा हिँड्ने लाइफमा के मज्जा, चुनौतिपूर्ण लाइफको चुनौति पनि भोगिहेरौँ न।

हो, अहिले म जे छु, ठीकै छु। खाली कोर्टमा अड्किएका केही लफडाहरु र मेरो जानकारीमा समेत नभएका, मैले लिँदै नलिएका ऋणहरुको भारले नबिथोलिदिए हुन्थ्यो।

त्यो भारीले थिचिनु नै नियति छ भने पनि चुपचाप स्वीकार्नु बाहेक के नै गर्न सकिन्छ र।

बस, एउटै इच्छा छ- अन्तरआत्माबाट कसैलाई नराम्रो भावले हेर्नु नपरोस्, सबको भलो होस्, सबको मंगल होस् भन्ने नै कामना सधैँभरी गरियोस्, शब्दबाट मात्र हैन, देखावटी मात्र हैन- ह्रदयबाट नै !

राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन २०८१ को एउटा सेसन मोडरेट गर्दै। फोटो : कृष्पा श्रेष्ठ

33 thoughts on “म जे छु, ठीकै छु !”

  1. जीतमान राई 'सबिन' says:
    August 12, 2024 at 4:36 am

    मित्र उमेष ( शालोक्य) म तपाईको मेरो संसार ब्लगको पुरानो पाठक हु। निकै भएको थियो तवाईको ब्लग अपडेट नियमित नभएको, आज यो कुरा थाहा पाउँदा दुख लाग्यो। खैर तपाईंले हार नमानि डड्नु भएको छ, यसले हामीलाइ पनि बाच्ने हिम्मत मिलेको छ। अगाडी बढनोस् साथमा हामी छौ, देशमा धेरै गर्न बाकी छ।

    Reply
  2. dhakaram sapkota says:
    July 19, 2024 at 2:31 pm

    आफुलाई संहाल्दै बलियो बनाउदै जानुस । तपाईको जय होस

    Reply
  3. Jayant Singh Bhat says:
    July 17, 2024 at 7:18 am

    प्रिय उमेश सर, धेरै खुशी लाग्यो, हजुरको जीवन लयमा फर्कदै छ । हजुरको शुन्यता एकदिन अवश्य भरिने छ, पल पलको नैराश्यता खुशीमा परिणत हुनेछ। प्रार्थना गर्छु अदालति झन्झट छिट्टै समाप्त होस र ऋणको भरी बोक्नु नपरोस । जीवन भन्नु यस्तै त हो… कहिले शुन्य.. कहिले खुशी.. कहिले हाँसो.. कहिले आँसु.. समस्या धेरै.. खुशी थोरै..”तर केही नहुनुको मजा पनि गजब हुने रहेछ। हुँदाको कष्टदायी जीवनभन्दा नहुँदाको खालीपनको ‘मजा’ अर्कै हुने रहेछ, म जे छु ठिकै छु…. ।” बस् यो स्वीकार्य भाव नै समस्याबाट बाहिर आउने कडि हो ।

    Reply
  4. Leo says:
    July 15, 2024 at 4:32 pm

    I can feel your pain, I am now in your shoes. Relations these days are measured in money and property.

    Reply
  5. बिनोद तिमिल्सिना,धरान says:
    July 4, 2024 at 3:12 pm

    यहाँ जिउँदै मार्न खोज्नेहरुको कमि छैन तर बाँच्न छोड्नु हुन्न,बाँचुञ्जेलीलाई।

    Reply
  6. Mekh says:
    July 2, 2024 at 1:02 am

    We HaVe The World to win!!!

    Reply
  7. Ram Raj says:
    July 1, 2024 at 11:51 pm

    कुनै पनि पल दिगो छै चाहे दुखको होस या सुखको धैर्य गर्नुस !!

    Reply
  8. जगदिश्वर बरुण says:
    June 30, 2024 at 4:34 pm

    धुलो टकटकाएर उठेको देख्दा खुशी लाग्यो।
    यहि रीतले बिस्तारै पाइला अगाडि बढाउदै जानु होला, शुभकामना !!
    समयले सबै घाउहरुमा मल्हम अवश्य लगाउने छ।

    Reply
  9. डा बच्चु कैलाश कैनी says:
    June 29, 2024 at 5:27 pm

    म तपाईको शुभ चिन्तक र नियमित पाठक हुँ। तपाई जस्तो निष्ठावान, निडर र निर्भिक पत्रकार हामी सबैको लागि सान र मानको कुरा हो। आफ्नो पेसागत लगनशीलता र आफूले लिएको सत्यको बाटो नछोड्नु होला, बाँकी सब समयको कुरा हो। सबै ठिक हुन्छ। मेरो शुभ कमामना छ।

    Reply
  10. Manoj says:
    June 29, 2024 at 5:10 pm

    Unfair games are played with nice people like you. That’s the bitter truth. It’s very painful to be innocent victim and pass through such stage, Good to know you are tackling and slowly coming out of the turmoil and that’s the only best way ahead.

    Reply
  11. अनुराधा says:
    June 28, 2024 at 9:49 am

    डियर सालोक्य जी,
    खराब लागेका कुरा र खराब लागेको मानिसलाई साथी सरह व्यबहार गर्नु र खराब लागेको मानिस संग संगतमा रहेर काम गर्नु भनेको उडुस संग रात विताउनु जस्तै हो । मन पोल्छ, मुटु पोल्छ तर समभावमा रहेर अगाडी बढ्नु भनेको चाहिं जीवनको अर्को थ्योरी स्विकार्नु हो जुन बहुतै कठिन छ । यो कठिन बाटो स्विकारेर अगाडी बढिसक्नु भएछ ल बधाई छ । तपाईको प्रमुख आई डी ईमेज ले तपाई सत्यताको खोजीमा हुनुहुन्छ भन्ने देखिन्छ र त्यसको गन्तव्यमा तपाई हुनुहुन्छ भन्ने देखिन्छ ।
    यसरि नै हो मानिस उठ्ने, तपाईको कथा प्रेरणादायि छ ।
    तपाईमा अरुमा नभएका कला कौशल छ जसले नेपाली मेडियालाई अरु सुन्दर बनाउंछ । अब अर्को व्लग पढ्न पाईयोस् जहां अर्को प्रेरणादायि कथा आओस्, तपाईले नलिएको रिन चुक्ता गर्नु पर्दैन भनिएको होस् ।

    Reply
  12. स्रोत says:
    June 27, 2024 at 9:00 am

    सरको जीवन लयमा आउँदैछ भन्ने पढ्न पाउँदा खुसि लाग्यो। जीवनमा अफ्ट्यारो पर्दा नै हामीलाई साथ र हात चाहिने हो। अध्यात्म, मनो परामर्श, बुजिदिने साथीभाइ, सबैको साथ र सहयोगले बाधाहरू छिचोल्दै जानु होला। यहाँको ब्लगको प्रतिक्षामा हामी पाठकहरू सधैँ हुनेछौँ।

    Reply
  13. Bikesh says:
    June 25, 2024 at 4:13 pm

    Stay strong

    Reply
  14. Shiva Kumar Timilsina says:
    June 24, 2024 at 10:14 am

    सालोक्य जि तपाइको यो ब्लगबाट मैले नोट गरेका केही वाक्यहरु
    1) “मप्रति जस्तोसुकै व्यवहार भए पनि कसैलाई शत्रु भावमा व्यवहार नगरी मित्र भाव नै कसरी कायम राख्न सकूँ!”
    2-) ‘पहिले पटक्कै विश्वास नभएका कतिपय कुराहरु, अन्धविश्वास जस्ता लाग्ने तथ्यहरुलाई नजिकबाट हेर्दैछु, भोग्दैछु, तटस्थ भएर। ”
    3) ” त्यो भारीले थिचिनु नै नियति छ भने पनि चुपचाप स्वीकार्नु बाहेक के नै गर्न सकिन्छ र।”
    4) “बस, एउटै इच्छा छ- अन्तरआत्माबाट कसैलाई नराम्रो भावले हेर्नु नपरोस्, सबको भलो होस्, सबको मंगल होस् भन्ने नै कामना सधैँभरी गरियोस्, शब्दबाट मात्र हैन, देखावटी मात्र हैन- ह्रदयबाट नै !”
    मैले यि टिपोटहरु मेरै लागि हरेक स्मरण हरेक पलको अप्ठ्यारोको लागि हाइलाइट गरेको छु ।

    Reply
  15. Guman Thapa says:
    June 23, 2024 at 4:03 am

    Dear Umesh ji,
    I’m very glad to read your latest blog after almost 5 weeks and very much relieved. Please keep up the positive thinking and keep yourself busy on any events that will give yourself satisfaction and happiness no wonder how trivial it is.
    I’m sure you will get through this unfortunate situation sooner or later. We are all looking forward to read your blog as it used to be and hear/see your happy days ahead. Regards.

    Reply
  16. sanumaya says:
    June 20, 2024 at 3:19 pm

    We are grateful that you fought and you are back. Tremendous joy that you keep up the spirit. May the Lord forgive you for your mistakes if any and bestow eternal bliss upon you. Please always remember that in this dark era of propaganda news, there is no one there for us to guide through this helplessness. So please live healthy and lively.

    Reply
  17. mukunda ghimire says:
    June 19, 2024 at 6:59 pm

    तपाइको ब्लग सुरुवाती समयदेखि नै निरन्तरको पाठक हुँ म । तपाइको ब्लगले साँच्चिनै सही तथ्यहरु दिएर शिक्षित बनाएको छ । i have learnt so much from you.love u always and expecting the same as before

    Reply
  18. Raju Adhikari says:
    June 19, 2024 at 11:40 am

    Glad that you are back from difficult time. It must have made you stronger. Difficult times always pass. Life has only one chance. Please do not take it for granted. As long as we are we are alive, everything has solution. This is the best part of life.

    Reply
  19. Ishwari Prasad says:
    June 19, 2024 at 10:42 am

    खुसि लाग्यो तपाईं ठिक बाटोमा हुनुहुञ्छ/ तपाइंको अहित भन्दा हीत चाहने र तपाइंको कर्मको प्रसंसकहरु अत्यन्त धेरै छौं ! सकारात्मक बाटो नाछोद्नुस, तपाइंको सदा भलो होस्!

    Reply
  20. sharmila Thakuri says:
    June 19, 2024 at 6:10 am

    जिन्दग यस्तै हो दाई समयले सवैकुरा ठिक गर्छ । यो समय भनेको आफूले आफैलाई चिन्ने हो । मानिस एउटा बटुवा हो । साथि, घर परिवार बाटाका साथि मात्र हुन् । यात्री त तपाई हो बाटामा भेटिएका साथिहरु छुटे वा छुट्छन् भनेर डराउने हैन ति त छुटीहाल्छन् नी कतिपरसम्म साथ दिन्छन् भन्ने मात्र हो । त्यसैले यात्रा निरन्तर गर्नुस् साथमा को छ र को छैन भन्नेसँग दुख मनाउ नगर्नुस् । बस् अव घना जंगलको यात्रा एक्लै गर्नुछ भन्ने सोचेर मानसिक रुपमा थप मजबुत बन्नुस् ।

    Reply
  21. Ashish Parajuli says:
    June 19, 2024 at 2:29 am

    Great! Keep up the positive thinking, you will surely overcome this difficult period.

    Reply
  22. Dilli Paudyal says:
    June 18, 2024 at 7:38 pm

    समस्याबाट भाग्दा देखिने समाधान कायरको र समस्यालाई डटेर गरिने समाधान वीरको हुन्छ । समस्या प्रकृतिको अभिन्न अंग पनि हो जस्ले व्यक्तिलाई बलियो बन्न सघाउँछ । समस्याको जग आफ्नो हातमा छ भने समाधान पनि आफ्नै दायित्वभित्र पर्छ र अरुको हातबाट उठेको समस्याको जगको समाधान आफ्नो बसमा वा दायित्वमा हुँदैन । कुनै दायित्व विहीन समस्यालाई समस्या मान्नु पनि हुँदैन । विपश्यनाले तपाईलाई मन सन्तुलित गर्न सिकाइसकेको छ । हालको अरु प्रयासले सतबाटोमा हुनुहुन्छ । विस्तारै मडारिरहेको कालो बादल हट्दै जान्छ ।

    Reply
  23. दिपक अधिकारी says:
    June 18, 2024 at 5:58 pm

    लेख्ने धेरै शब्द छैनन्
    तैपनि हिम्मत नहार्नुहोस् सत्यको सधैं जीत हुन्छ भन्न चाहन्छु ।

    Reply
    1. MAHARJAN Saroj says:
      June 19, 2024 at 2:13 pm

      Keep Fighting Umesh Jee. I am one of your early audience of Mysansar (since 2008).
      I know you are good person at heart and above all you are capable personality with unique expertise on media and journalism.

      Although, may be, I cannot feel the exact intensity what you are going through.
      I feel for your situation.

      Life is not fair Umesh jee. But, please don’t lose hope. If I have to give you one advice, it would be try to live and live one day and overcome one thing at a time.

      I am sure you will be able to overcome this situation.
      Looking forward to read the blog that will explain how you have succssfully overcame the situation and came out victorious.

      Best Regards !

      Reply
  24. vishwa malla says:
    June 18, 2024 at 3:25 pm

    जीवनमा मात्र एउटा कुरा याद राख्नु होला। रात सकिएपछी दिन पनि आउछ । मनको झोलामा धेरै कुराहरु हुन्छन । पिंडा मात्र कहा हुन्छ र, त्यहा भित्र अनेकौ खुसीहरु पनि हुन्छ । खोज्न सक्नु परयो । यहि कुराको वोध नभएर मान्छे जीवनमा अलमलिने गर्दछन । तपाइ एउटा हिरा हो । हाम्रो हिरा । धेरैले तपाइको मूल्य थाहा छैन । पख्नुहोस, जव यो कुराको ज्ञात मानिसलाइ हुनेछ अनि त तपाइको दिन उज्यालो उज्यालोनै भरिने छ । । शुभकामना ।

    Reply
  25. Rajkumar Rimal says:
    June 18, 2024 at 3:23 pm

    यत्ति कुरा विचार गर्नुहोस् कि तपाईंको कुनै समस्या तपाईं भन्दा ठूलो हुँदैन।

    Reply
  26. Rama Lama says:
    June 18, 2024 at 3:08 pm

    समस्या समाधान गर्ने तरिका र प्रयास गजब छ सर। आफ्नो लागि आफैंले गर्नु भएको यो कोशिस निरन्तर रहोस् ।

    Reply
  27. Madan Dhungana says:
    June 18, 2024 at 12:29 pm

    तपाइ ठीक हुनुहुन्छ र अझै ठीक हुनुस् । हामी साथमा छौँ ।

    Reply
  28. Krishna says:
    June 18, 2024 at 11:07 am

    पाठक लाइ तपाइको आबस्यकता छ/ब्लग लाइ निरन्तरता दिनुहोला, शुभकामना

    Reply
    1. JIWAN says:
      June 22, 2024 at 12:04 am

      तपाइको सुरुवाती देखिकै सुभचिन्तक हु । Mysansar सुरुवात देखि नै पढ्छु । नेपाल बाट यहाँ खै सात समुन्द्र पारी आइयो जीवनमा भोग्नु नभोग्नु सवै भोगियो अहिले यतिका धेरै सामाजिक संजाल हरु Online Media हरु आइ सके तर पनि mysansar को कुनै पोस्ट नछुटाइ पढ्छु । मेरो पनि परिवार छ साथिभाइहरु छन यो सवै सुन्दा पढ्दा घरी धरी डर लाग्छ मलाइ पनि ।

      तपाइको सुभचिन्तक हु हृदय देखिनै तपाइको भलो चाहन्छु , भगवान संग प्रथाना छ तपाईं यी सवै समस्या बाट चाडै निस्किनु हुनेछ । तपाईं प्रती कुकर्म गर्ने हरुको पनि भलाइ नै होस आखिर मरिलानु केहिछैन ।।

      Reply
  29. Janhabi Hamal says:
    June 18, 2024 at 4:47 am

    ”This too shall pass!” आंट, भरोसा, हिम्मत जे भने पनि कायम राख्नु होला❤️यहां धेरै मान्छे छन् जो तपाईंलाई पढ्न रुचाउॅंछन्, उनिहरूका लागि भए पनि। मेरो श्रीमानले २०११ तिर तपाईंको blog चिनाइदिनुभएदेखी हामी दुबै जना तपाईंको blog नियमित पढ्छौं। तपाईंले आफ्नो blog मार्फत जे जे दिनु भएको छ, त्यो अथाह छ। Mysansar is much more than a blog! तपाईं यो समाजलाई चाहिने मान्छे हो, आफ्नो ख्याल गर्नु होला। धेरैले तपाईंको कलम चलेको रूचाउॅंछन्, लेखीरहनु होला। अहिले दुःख लेख्नुभाछ, कुनै दिन फेरी खुशी लेख्नु होला, हामी पढ्नेछौं, सबै नबिराइकन, नछुटाइकन, शुभकामना 🙏

    Reply
  30. Santosh Sharma says:
    June 17, 2024 at 7:38 pm

    कहिल्यै नभेटेको, मौखिक वार्तालाप नभएपनि तपाईंहामीबीच इमेलमा, ब्लगमा कमेन्टमा, सामाजिक सञ्जालमा सन्देश आदानप्रदान भएका छन्। यो पनि काफी हुँदो रहेछ भावनात्मक जोडका लागि। अघिल्लो ब्लगपछि ट्विटरमा म्यासेज गरेको थिँए, केही सुझाव दिने मनसायले-त्यो चाहिँ हेर्नुभा’छैन जस्तो लाग्यो। खैर खुशी लागिरहेको तपाईं कर्ममा जोडिँदै हुनुहुन्छ-फल जति मिल्ने हो, जसरी मिल्ने हो मिलिहाल्छ नि हैन र?
    “जुन समस्या म समाधान गर्न सक्छु-चिन्ता किन लिने?- समाधान गरे भै गो।
    जुन समस्या म समाधान गर्नै सक्दिनँ-चिन्ता किन लिने?-समाधान हुने रहेनछ भनेर एकपल्ट भन्ने; छाडिदिने।” केही बर्षअघि कतै देखेका यि हरफ पनि मलाई विशेष लाग्छ।
    बाँकी त तपाईंहामी सबै यो प्रकृतिमा केही भूमिका, केही जिम्मेवारी र केही अवसर बोकेर आएका छौँ, त्यो पूरा गर्नुपर्छ, गरिरहेका छौँ र गरेरै मात्र प्रकृतिले बिदा गर्ला 😀

    Reply
  31. Kusan Sharma says:
    June 17, 2024 at 6:25 pm

    तपाई मिहिनेती, असल, आफ्ना कुरा प्रष्टसंग सर्बसाधारणलाई बुझाउन सक्ने र Technology मा राम्रो दक्खल भएको व्यक्ति हुनुहुन्छ l एक जना share मार्केटमा लागेको मेरो साथी थियो उसले तपाइलाई याद गरेको रहेनछ,तर जब तपाइले Nepal Republic Media Limited को IPO बारे ब्लग लेख्नु भयो, उ लगायत share मार्केटका धेरै मान्छे तपाइको सरल र स्पष्ट लेखाईले फ्याननै भएका रहेछन l

    मेरो कुरा गर्ने हो भने म शुरु देखिकै तपाइको सुभ-चिन्तक र प्रसंशक हुँ l के कारणले हो मैले यस अघिको तपाइको ब्लग पढ्न छुटाएछु, नढाँटि भन्नु पर्दा शिर्षक हेरे र पछि फुर्सतमा पढ़ौला भनेर मैले पढिन l किनकी मैले सोचेको थिए तपाई विपश्यना लगायत ध्यानमा धेरै गई रहने मान्छे, त्यसै सम्बन्धि लेख्नु भएछ भनेर मैले अड्कल काटे l तर आजको ब्लग पढे लगत्तै त्यो ब्लग पनि पढी हाले l

    तपाई जस्तो मान्छे किन देश चलाउनेहरुको आँखामा पर्दैनन ? संचार मन्त्रालयले विषेशज्ञको रुपमा किन तपाइको ज्ञानको प्रयोग नगर्ने ? PABSON / NPABSON हरुले पनि तपाइसंग धेरै कुरा लिन सक्छन l

    अन्तमा उमेशजी तपाई हिम्मत नहार्नुस, बिपषेनाबाट सिकेको ज्ञान र प्राप्त गरेको उर्जालाई,
    अहिले भोगी रहेको यातनासंग जुध्नमा प्रयोग गर्नुस, हामी तपाइलाई कहिल्यै गलत सम्झने छैनौ,
    सधै तपाइको भलो चिताउने छौ l

    छिट्टै तपाईका झमेलाहरु सल्टीदै गएका कुरा पनि, तपाईकै ब्लगमार्फत पढ्न पाइयोस् l

    आगामी दिनको लागि धेरै धेरै सुभकामना उमेशजी !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme