Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

स्वीडेनले सेक्सलाई खेलको मान्यता दिएको भाइरल समाचार यसरी सच्याए नेपाली अनलाइनहरुले

Posted on June 7, 2023 by Salokya

पृष्ठभूमि : स्वीडेनले सेक्सलाई खेलको मान्यता दिएको समाचार नेपालमा भाइरल भयो। खास कुरा के हो नै नबुझी भारतीय मिडियामा आएको समाचारका भरमा नाम चलेका नेपाली अनलाइन मिडियाहरुले यसलाई समाचार बनाए। यसबारे हामीले फ्याक्ट चेक गरी स्वीडिश खेल महासंघ र स्वीडिश सरकारकै भनाई सार्वजनिक गर्‍यौँ। छुटाउनु भएको यहाँ क्लिक गरी पढ्नुस् फ्याक्ट चेक। फलोअप अर्को ब्लग यता क्लिक गरी पढ्नुस्।  त्यसपछि नेपाली अनलाइन मिडियाहरुले यसलाई कसरी सच्याए, रेकर्डका लागि यहाँ अर्को ब्लग लेखेको छु।

बाह्रखरीले नेपालतथ्यजाँचलाई समेत क्रेडिट दिई समाचार हटाएको छ। पाठकमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै आगामी दिनमा थप सजग रहने प्रतिवद्धता पनि उसले गरेको छ। उसले समाचारको शीर्षकसमेत परिवर्तन गरी ‘स्विडेनले यौनलाई खेलको दर्जा दिएको दाबी गलत’ राखेको छ।

हेर्नुस् अर्काइभ लिङ्क। 

बाह्रखरीले भन्दा अलि बेग्लै अभ्यास गरेको छ नेपालखबरले। उसले समाचारको शीर्षक ‘सेक्स’लाई खेलअन्तर्गत राखेर प्रतियोगिता गर्दै स्विडेन  लाई परिवर्तन गरेको छैन तर समाचार भने हटाएको छ। ‘केही अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित उक्त समाचार भूलवश सम्प्रेषण भएको’ भन्दै ‘पाठकवर्गमा पर्न गएको असुविधाप्रति क्षमा’ पनि मागेको छ उसले।

हेर्नुस् अर्काइभ लिङ्क। 

अन्यथा भएको बताउने रातोपाटी

रातोपाटीले भने यी दुई अनलाइनले भन्दा फरक अभ्यास गरेको छ। ‘स्विडेनले सेक्सलाई खेलकुदको श्रेणीमा राख्यो’ भनेर हुँदै नभएको कुरालाई शीर्षक बनाएर समाचार लेखेको रातोपाटीले समाचार पूरै हटाएर अर्को समाचार लेखेको छ र शीर्षक पनि परिवर्तन गर्दै लेखेको छ- के स्विडेनमा यौन प्रतियोगिताको आयोजना हुन लागेकाे हाे ?

आफूले पहिले गलत लेखेकोमा स्वीकार नगरी टिपिकल नेपाली पत्रकारिताको पुरानो शैलीलाई पछ्याउँदै तारा दिएर लेखेको छ *यसअघि अन्यथा हुन गएकोमा सच्याइएको छ।

नेपाली पत्रकारहरुले गल्ती गर्दा पनि आफूलाई माथि राख्न र के गल्ती गरेको भनेर लुकाउन प्रयोग हुने वाक्य हो यो- यसअघि अन्यथा हुन गएकोमा सच्याइएको

यसअघि के लेखेको र हुनुपर्ने के थियो भन्ने कुरा पारदर्शी रुपमा खुलाएर गल्ती स्वीकारेर माफी मागे आफू तल परिन्छ भन्ने भ्रमले यस्तो हुन्छ। खै त बाह्रखरी र नेपालखबरले त्यसै गर्‍यो त। उसको विश्वसनीयता गुम्यो त? झन् बढ्यो- ए, गल्ती भइहाल्यो भने पनि सच्याउने रहेछ भन्ने त भयो। बरु रातोपाटीको चाहिँ गल्ती गरे पनि नस्वीकार्ने रहेछ भन्ने छवि बस्यो।

अचेल पत्रकार भन्दा पाठक बाठा छन् भन्ने कुरा पत्रकारहरुले भुल्नु भएन के 🙂

अर्काइभ लिङ्क

शिलापत्रको भने रमाइलो छ। उसले यो समाचार राख्दा जुन टाइम्स अफ इन्डियाको न्युजको लिङ्क राखेको थियो, त्यो लिङ्क नै अहिले खुल्दैन। अर्थात् टाइम्स अफ इन्डियाले नै त्यो न्युज डिलिट गरिसकेको छ।

अहिले शिलापत्रले स्रोत टाइम्स अफ इन्डिया त लेखेको छ, तर लिङ्कब्याक गरेको छैन 🙂

शिलापत्रले पनि सच्याएको त लेखेको छ तर के सच्याएको भन्ने उल्लेख छैन। खासमा शिलापत्रले ‘सेक्स’ अर्थात् यौन सम्पर्कलाई स्वीडेनले खेलको मान्यता दिएको छ । यससँगै स्वीडेन सेक्सलाई खेलको मान्यता दिने विश्वकै पहिलो राष्ट्र बनेको छ ‘ लेखेको थियो, जुन गलत थियो। तर गलत लेख्दा पनि उसले न माफी माग्यो, न पारदर्शी रुपमा नै त्यसलाई सच्यायो।

हेर्ने हो भने त यो समाचारको शीर्षकमा अझै गल्ती छ। पहिले उसले ‘स्वीडेनले सेक्सलाई दियो खेलको मान्यता, च्याम्पियन्सिप आयाेजना गर्ने’ शीर्षक राखेको थियो। अहिले ‘स्वीडेनले सेक्स च्याम्पियनसीप आयोजना गर्ने’ राखेको छ।

स्वीडेनले कहाँ गर्ने हो त ? स्वीडेनको त सरकारले नै होइन भनिसक्यो। स्वीडेनमा हुने भनेको भए कुरा अर्कै।

अनलाइन मिडिया र सोसल मिडिया इन्फ्लुएन्सरको फरक

यी माथिका उदाहरण नाम चलेका अनलाइन मिडियाको मात्र हो। अरु थुप्रै कपिपेस्टे अनलाइनहरुको यहाँ उदाहरण हेरिएको छैन। उनीहरु जिम्मेवार पनि हुन्नन्।

कम्तिमा यी माथिका अनलाइन मिडियाहरुले जिम्मेवारीबोध गरे र सच्याए।

सोसल मिडिया इन्फ्लुएसरहरु जस्तै फेसबुकको मोटेग्याङ पेज, ताजा खबर पेज र इन्स्टाग्रामको नो नेक्स्ट क्वेस्चनले अहिलेसम्म पनि मिथ्या सूचनालाई नै राखिरहेका छन्।

‘No Next Questions’ अकाउन्टले पनि यही मिथ्या सूचनालाई राखेर ५ हजार लाइक पाइसकेको छ। गल्ती सच्याउने तर्फ उसले केही ध्यान दिएको छैन। हेर्नुस् लिङ्क।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme