Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मिडिया सञ्चालकको दादागिरी र अकर्मण्यताको शिकार : सोझा पत्रकार

Posted on June 7, 2023June 7, 2023 by mysansar
  • भरत कोइराला –

संघीय राजधानी काठमाडौंबाट प्रसारण हुने चल्तीको टेलिभिजनमा पोखराबाट काम गर्ने एकजना बहिनीले तलब नपाएको ९ महिना भयो । त्यसअघि उनी पोखराकै एउटा टेलिभिजनमा काम गर्थिन् । महिना बितेपछि तलब हात लाग्थ्यो, आफू र परिवारको गर्जो टारेकी थिइन् उनले । देशभर नाम चलेको टेलिभिजनमा काम गर्ने अवसर पाउँदा उनी पछि हट्ने कुरै भएन । बडेमानको क्यामेरा बोकेर कहिले सार्वजनिक गाडी र कहिले साथीभाइसँग लिफ्ट माग्दै उनले रिपोर्टिङ गर्दै आइन् । त्यो क्रम अहिले पनि जारी छ । मिडिया एड्भोकेसी ग्रुप (म्याग) ले पोखरामा क्रियाशील पत्रकार महिलाका लागि २१ जेठमा वैदेशिक मामिला रिपोर्टिङ सम्बन्धमा तालिम गरेको थियो । तालिममा २० जनाभन्दा बढी पत्रकार महिलाले भाग लिएका थिए । तीमध्ये पत्रकारिताबाटै जीविका चलाउने चाहिँ निकै कम थिए । तिनै कममध्येमा पर्ने ती बहिनी मन अमिलो पार्दै तालिममा बसेकी थिइन्।

भरत कोइराला

दिउँसो २ बजे गण्डकी प्रदेश सभामा प्रदेश प्रमुखले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम थियो । त्यो कार्यक्रमको रिपोर्टिङ गर्न जान नभ्याइला कि भन्ने चिन्ता उनमा थियो । आफूसँग सवारीसाधन छैन । सार्वजनिक गाडीमा जाँदा १ घन्टा लागिहाल्छ ।

लेकसाइडको होटलमा कार्यक्रम भइरहेका बेला नजिकै आएर उनले भनिन्, ‘सर तपाईं संसद जानुहुन्छ होला, मलाई पनि लैजानु है ।’

मैले ‘हुन्छ’ भनें ।

खाना खाइवरि सवा १ बजेतिर ती बहिनीलाई लिएर म स्कुटरमा संसदतिर लागें । नदीपुरस्थित संसद भवन पुग्ने बेलासम्म उनले धेरै दुखेसो पोखिन्, ‘दाइ असोजदेखि त्यो टिभीमा काम गरेको, बिरामी पर्दाबाहेक बिदामा बसेको छैन, समाचार पठाउनुस् भनेर तारन्तार फोन गरिरहन्छन्, तर तलबको कुरा गर्दा एउटाले अर्कोलाई देखाएरै टारेका छन् ।’

‘आमा हुनुहुन्न, बुवाले अर्को बिहे गरेर बस्नुभएको छ, डेरा भाडाका लागि दिदीको भर पर्नु परेको छ । अरुसँग कति दुःख पोख्ने हो र ? देख्नेलाई त बिहानदेखि साँझसम्म काममा कुदेकी भन्ने छ, अनि पत्रकारको कमाइ त टन्नै हुन्छ भन्ने भ्रम पनि छ, तर आफूसँग गाडीभाडा पनि नहुँदाको पीडा मलाई मात्रै थाहा छ’, उनको गुनासो थियो ।

उनले यसो भनिरहँदा मलाई पनि निकै असहज महसुस भइरहेको थियो । उनका कुरा सुनिरहें, अनि केही सोधें पनि । बुबाले कहिलेकाहिँ रासनका लागि खर्च दिँदा रहेछन् । केही महिना अघि कोठामा ग्यास सकिएछ । दिदीसँग मात्रै कति दुःख पोखौं भनेर चिउरा खाएर कति दिन बिते । एक दिन त दिदी कोठामा आउँदा ग्यास नभएको थाहा पाएपछि गाली गर्दै ग्यास ल्याइदिएको उनी सम्झन्छिन् ।

उनीसँग एकमात्र विकल्प बाँकी छ, त्यो हो पत्रकारिता पेसा छाड्ने । पोखरामात्रै होइन देशभरका धेरै पत्रकारहरूको प्रतिनिधिपात्र हुन्, उनी ।

हो, पत्रकारले समाजका विकृति विसंगतिबारे आवाज उठाउँछन् । अन्यायमा परेकाहरूलाई न्याय दिलाउन पुलको भूमिका खेल्छन् । तर पत्रकारकै पीडामा मलम लगाइदिने कसले ?

फेरि भन्नुहोला, विधागत संस्था छन्, राजनीतिक दल सम्बद्ध संस्था छन् । प्रेस काउन्सिल छ । श्रम अदालत छ । छन त छन् नि तर जब काम गर्नुपर्ने संस्था र निकाय बेकाम बन्छन् अनि कसको के लाग्छ ? जसरी मुलुक राजनीतिक र आर्थिक चक्रब्युहमा फँसेको छ, पत्रकारिता पनि त्यसैमा जेलिएको छ ।

एकातिर आर्थिक मन्दी त छँदैछ अर्कोतिर मिडिया सञ्चालकको दादागिरी र अकर्मण्यताको सिकार सिधासादा पत्रकार भएका छन् । कोभिडका बेला मिडियाहरू बन्द हुँदा, पत्रकारले तलब नपाउँदा विभिन्न संघसंस्था निकै तातेका थिए, घरघरमा चामलका बोरा, चाउचाउ, चिउरा, नुनतेल र ग्यास समेत पुर्‍याइदिए ।

त्यसलाई नराम्रो मान्नै मिल्दैन तर अहिले पत्रकारको अवस्था त्यो भन्दा निकै दयनीय छ । अहिले पनि त्यस्ता पत्रकार खोजेर सहयोग अभियान थाल्ने हो कि पत्रकार महासंघ ?

काठमाडौंका हुन् या त्यो खाल्डो बाहिरका सबै मिडियाको हालत त्यस्तै छ । व्यापार छैन, बिक्री छैन, विज्ञापन छैन, अनि उनीहरूलाई गज्जबकै बहाना मिलेको छ, श्रमजीवी पत्रकारलाई छक्याउन ।

काठमाडौंमा चलेका केही अनलाइन बाहेक पत्रिका, अनलाइन, टिभीहरूले अहिले पत्रकारलाई समयमा तलब दिएका छैनन् । ६ महिना भयो तलब आएको छैन भन्ने पत्रकारहरू बग्रेल्ती छन् ।

२ दशकभन्दा बढी काम गरेका स्थायी कर्मचारीहरूलाई समेत राजीनामा दिनका लागि हठात् फोन आउन थालेका छन् । ४ जना पत्रकार बसेका ठाउँमा अहिले समसामयिक राजनीति र समाजका विषयमा चर्चा हुँदैन, मिडियाको जागिरको ठेगान छैन, अब के गर्ने भन्नेमै समय बित्छ । उज्यालो भएदेखि राति अबेरसम्म मिडियाकै काम भनेर खट्ने पत्रकारको हालत यस्तो हुँदा छाता संस्था एकपाने विज्ञप्ति निकालेर बस्छ ।

अचम्मलाग्दो त के छ भने, नेपाल पत्रकार महासंघले अहिले शुद्धीकरण अभियान चलाएको छ । जसमा पूर्णकालीन पत्रकारलाई प्राथमिकतामा राखेर अन्यत्र क्रियाशील सदस्यहरूलाई हटाउने भनिएको छ । महासंघकै सदस्यता टिकाउन गरिएका भित्री चलखेल हेर्ने हो भने भनिसाध्य छैन । स्कुल पढाउनु पनि परेको छ । राजनीतिक दलको झोला बोक्न अगाडि सरेकै छ, एनजिओ आइएनजिओको खेतीमा लागेकै छ । मिडियाका नाममा विज्ञापन एजेन्सी चलाएको छ, उसलाई सबैभन्दा पहिला चाहिएको छ, नेपाल पत्रकार महासंघको सदस्यता । राजनीति दलसम्बद्ध संस्थाहरूको चुनाव आओस् त जिल्लादेखि माथिसम्म पदाधिकारी बस्नेको लर्को कति लामो हुन्छ ?

शुद्धीकरण अभियानले उसलाई छुन भएको छैन, टिकीराख्नु परेको छ महासंघमा । किनकि पत्रकारको कार्ड देखाएर उसलाई खेतीपाती गर्नु परेको छ, आफ्नो तुजुक देखाउनु परेको छ, पत्रकारिताको शक्ति देखाउनु परेको छ ।

यो लेख तयार गरिरहँदा पोखराकै एक पत्रकार साथीको फोन आयो, सोधे, ‘आज के छन् समाचार ?’ मेरो उत्तर थियो, ‘संसद छ आज, नीति तथा कार्यक्रममा छलफल हुन्छ, त्यही होला ।’

हो, कार्यक्रम छन्, समाचारका विषयवस्तु पनि छन् तर सम्पादक र समाचार प्रमुखले कुन मुखले काम लगाउने भन्ने अवस्था छ । साह्रै थोरै अंकको तलब छ । त्यही पनि नपाएको ४ महिना कटिसक्यो, खर्चपर्च चलाउनै गाह्रो भयो भन्छन् रिपोर्टर । कार्यक्रममा पठायो गाडीभाडा खर्च हुन्छ, रिपोर्टरको खल्ती खाली छ । नपठायो, पत्रिका नभरिएला भन्ने टन्टो । यस्तो अवस्थामा कस्तो मनोबल लिएर त्यो पत्रकारले काम गर्छ होला ।

पोखराका न्युजरुमको हालत खराब देखिरहेको म २ साता अघि काठमाडौं पुग्दा त्यहाँको हालत झन् खराब थियो । साथीहरू मानसिक तनावमा छन् । तलब आएको छैन, डेराभाडा, बच्चाबच्चीको स्कुल खर्च, अनि साँझबिहान छाक टार्ने कसरी भन्ने पीर । यो समस्या भर्खरै पत्रकारितामा लागेका साथीहरूको मात्र हैन, अढाइ दशकदेखि निरन्तर क्रियाशील र पत्रकारिताको क्षेत्रमा राम्रै नाम कमाएकाहरू अहिले यो समस्याबाट गुज्रिरहेका छन् ।

होला एकातिर कर्पोरेटलाई रिझाएर, अनि प्रशंसामूलक समाचारको बाहुल्य हुनेगरी अनलाइन चलाएर अनि धाकधम्की देखाएर गर्जो टार्ने पत्रकारको संख्या पनि बाक्लै छ । उनीहरूले ‘स्वतन्त्र’ र ‘व्यावसायिक’ पत्रकारिताको भाषण भने लामै छाँट्छन् । तर लेखेरै बाँच्ने पत्रकारले खेपेको दुःखका बारेमा उनीहरू जानकार हुँदैनन् र हुन पनि चाहँदैनन् ।

विश्वव्यापीरुपमा फैलिएको आर्थिक मन्दीकै कारण नेपाली मिडिया यो हालतमा पुगेका हुन् त ? हो, एक हदसम्म यो पनि प्रमुख कारण हो । तर विगतमा बजार चम्केका बेला कमाएको रकम कता गयो ? भन्ने प्रश्न सम्बन्धित मिडियामा कार्यरत कर्मचारीले गर्दा लगानीकर्ताको जवाफ के हुन्छ होला । तपाईं हामीले देखेजानेकै हो, आम्दानीको रकम अन्य व्यवसायमा लगानी गरेर मिडिया सञ्चालकको आर्थिक हैसियत चुलिएको छ । तर त्यही मिडियामा कार्यरत कर्मचारी र पत्रकार हरेक दिन विकल्पबारे सोच्न बाध्य छन् ।

आखिर यो अवस्था किन आयो त ? यसको पछाडि पत्रकार आफैं पनि दोषी छन् । मिडिया सञ्चालकका स्वार्थअनुसारका सामग्री खोजी गरेर उनीहरूकै ढुकुटी भर्ने काममा सघाउने अरु कोही होइन, पत्रकार नै हो । ढुकुटी भरिएर ताला ठोकेपछि अहिले आर्थिक मन्दीको बहानामा तिनै पत्रकार ‘जागिर खाने तर तलब नपाइने’ सञ्चार संस्थाका साक्षी भएर बस्न विवश छन् ।

पत्रकारिता अर्थात् समाजले सम्मानित मानेको पेसामा आबद्ध पत्रकारको मर्म बुझिदिने र समस्याको समाधान खोजिदिने कोही होलान् ?

(कभर फोटो वास्तविक पात्र नभई लियोनार्डो एआईले बनाएको हो)

1 thought on “मिडिया सञ्चालकको दादागिरी र अकर्मण्यताको शिकार : सोझा पत्रकार”

  1. Bimal Nepal says:
    June 9, 2023 at 4:41 am

    फरक तरिकाले सोचौं- अरू पेशामा तलब पाइएन भने तुरून्त काम छाड्छन मानिसहरू, पत्रकारितामा ९-१० महिना तलब नपाउदा पनि किन झुन्डिन पर्ने? केहि गडबड दुबै तिर छ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme