Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बाघले घाँस खान्छ कि खाँदैन? के भन्छन् वन्यजन्तुविज्ञ?

Posted on May 26, 2023May 26, 2023 by राजु आचार्य

नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमबारे छलफलको क्रममा संसदमा ‘बाघ भोकै मर्छ, घाँस खाँदैन’ भनेको प्रसङ्ग अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। झण्डै दुई घण्टा लामो समय बोलेका उनको यही भनाईलाई मिडिया र सोसल मिडियाले धेरै महत्त्व दिए। उनको भनाईलाई पत्याउने हो भने बाघले फिट्टिकै घाँस खान्न भन्ने अर्थ लाग्छ। के साँच्चै यस्तै हो त ? हामीले केही वन्यजन्तुविज्ञसँग सोध्यौँ।

लेखक तथा संरक्षणकर्मी ददि सापकोटालाई यो कुरा चित्त नबुझेपछि फेसबुकमै फरक मत लेखेका छन्। उनले लेखेका छन्, ‘बाघ, वन बिरालो, चितुवा र बिरालाले पनि खान्छ घाँस। पाचन प्रक्रियालाई सहयोग पुग्ने हुनाले घाँस खान्छ।’

के साँच्चै बाघले घाँस खान्छ त ?

मैले यो प्रश्न नेपालका वरिष्ठ वन्यजन्तुविज्ञ प्राध्यापक करणबहादुर शाहलाई सोधेँ। उनी भन्छन्, ‘हाम्रो समाजमा उखान टुक्काको रूपमा ‘बाघ भोकै बस्ला, तर घाँस खान्न’ भन्ने गरिन्छ। तर प्रकृतिमा हुने मांसाहारी जीवहरूले घाँस पनि खान्छन्। बिरालो प्रजातिहरूले पनि थोरै मात्रामा घाँस तथा अन्य वनस्पतिहरू खाने गर्छन्।’

बाघ बिरालो परिवार (Felidae) अन्तर्गत पर्दछ।

घाँस खाने चाहिँ किन त ?

उनी भन्छन् ‘किन खान्छन् भन्ने बारेमा विज्ञानमा अझै अन्यौलता छ।’

करण सरले भने जस्तो किन घाँस खान्छन् भन्ने थाहा नभए पनि औषधिको रूपमा तथा भोजन नली/भुँडी सफा गर्नको लागि पनि यिनले घाँस खान्छन् भनेर धेरै मानिस तथा वैज्ञानिकहरू विश्वास गर्छन्। कारण यही हो भन्ने ठोकुवा गर्न चाहिँ सकिन्न।

शाहले थपे, ‘यिनको शरीरमा पानीको मात्रा कमी भयो भने पनि घाँस खान सक्छन्। मांसाहारी जीवहरूको शरीरभित्र रहेको परजीवीहरु (जुका तथा अन्य कीटाणुहरू)लाई शरीर बाहिर निकाल्न घाँसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने मानिन्छ।’

बाघविज्ञ डा. चिरञ्जीवी पोखरेलले पनि बाघले थोरै मात्रामा घाँस खान्छ भन्ने कुरामा सहमत हुँदै भने, ‘नियमित खानाको रूपमा नभई कहिलेकाहीँ यिनले थोरै मात्रामा घाँस पनि खाने गर्छन्। औषधिको रूपमा प्रयोग गर्न खाएको हुनुपर्छ।’

साना हड्डी तथा रौँहरूलाई पाचन प्रक्रियाबाट बाहिर निकाल्न पनि यस्ता वनस्पतिहरूले सहयोग गर्ने विश्वास गरिएको छ। बाघले विशेष गरी साना तथा नरम मुनाहरु, फलहरू पनि खाने गरेको भेटिएको छ।

हेर्नुस् बाघले घाँस खाएको यो भिडिओ

तर जे भए पनि बिरालो प्रजातिले आफ्नो जीवन निर्वाहको लागि मासुमा नै भर पर्ने गर्छ। त्यही भएर यस्तो भनाई चलेको होला। उनको बोलीको आशय र यस मामिलामा केपी ओलीले भनेको कुरा ठीकै हो। तर घाँस पनि खान्छ है भन्ने विषयमा चाहिँ धेरैलाई जस्तै उनलाई पनि जानकारी नभएको भेटियो।

सन् २०२१ मा भारतको सतपुरा टाइगर रिजर्भमा एउटा बाघले घाँस खाँदै गरेको भिडियो भाइरल हुँदा इन्टरनेट प्रयोगकर्ताहरु छक्क परेका थिए। यसबारे जी न्युजले समाचारै बनाएको थियो। पढ्न यता क्लिक गर्नुस्।

यो विषयमा इन्टरनेटमा थुप्रै सामग्री पाइन्छन्। उदाहरणका लागि-

वाइल्ड एनमिल्स सेन्ट्रलले लेखेको छ- Do Tigers eat Plants? A Tiger’s Diet Mystery Solved!

एनिमलियाफ्याक्टसले बाघले खरबुजा खाएको समेत भिडियो राखेर लेखेको छ- Why Do Tigers Eat Plants? Let’s Discover

(राजु आचार्य वन्यजन्तु संरक्षणको क्षेत्रमा लामो समयदेखि क्रियाशील छन्। हाल उनी ‘प्रकृतिका साथीहरु’ नामक संस्थाका कार्यकारी निर्देशक छन्। माइसंसारमा उनले लेखेका पुराना ब्लगहरु यहाँ क्लिक गरी पढ्न सकिन्छ)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme